आफ्नै टाउकामाथि बञ्चरो हान्ने तरखरमा एन आर एन

राजतन्त्र मिल्किएर गणतन्त्र आएपछि नयाँ संविधान बनाउने विषयमा गैह्र आवासीय नेपालीहरू निक्कै सक्रिय देखिएका हुन् । गैह्र आवासीय नेपाली संघ (एनआरएन) ले सरकारलाई समयमै संविधान बनाउन सचेत गराउँदै आएको हो । संघका तर्फबाट कार्यदलनै बनाएर संविधानका विषयमा केके समेट्ने भन्ने सुझाव पनि दियो । संविधान बनाउने समय अब पाँच महिना भन्दा बढि छैन । यो समयमा सबै दलले एक ढिक्का भएर संविधानका अन्तर्वस्तुमा सहमति नगरे अब संविधान बन्दैन ।

संविधान सभाका अध्यक्ष र राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्य र संविधानका बुँदाहरूमा सहमति नगरि प्रधानमन्त्री र मन्त्रीहरूलाई कुनै देशपनि घुम्न नजान बिन्ती गरिरहेका छन् । अध्यक्ष र राष्ट्रपतिले गम्भीर रूपमा त्यसरी आग्रह गर्दा गर्दै परराष्ट्र मन्त्रीलाई विदेश घुम्ने निम्तो दिएर एनआरएनले के गर्न खोजेको हो ? के सिंगै एनआरएनलाई संविधान सभा विरोधी देखाउन खोजिएको हो ? सबै प्रवासी नेपालीहरूलाई गणतान्त्रिक संविधानका शत्रु बनाउन खोजिएको हो ?

गैह्र आवासीय नेपाली संघको पाँचौं क्षेत्रीय सम्मेलन यही जनवरी १४ देखि १६ सम्म संयुक्त अरब इमिरेट्सको दुबाईमा हुँदै छ । त्यसैका लागि एन आर एन दुबाईले परराष्ट्र मन्त्री सुजाता कोइरालालाई निम्तो गरेका भनाई छापा मार्फत बाहिर आएका छन् । एनआरएनले भने यसलाई स्पष्ट पारेको कतै देखिन्न । परराष्ट्र मन्त्रीको निम्तोका बारेमा जतिपनि छापामा आएका छन् त्यसको खण्डन नगरेकाले एनआरएनले परराष्ट्र मन्त्रीलाई निम्त्याएको बुझिन्छ ।

यो बेला मन्त्री त के कुनै पनि दलका नेता र सभासद् विदेश भ्रमण जाने अवस्था होइन । अझ सुजाता कोइराला त परराष्ट्र मन्त्री । उनको भूमिका झन् बढि हुन्छ । आफ्ना पार्टीका नेता, सभासदहरुलाई परिचालन गर्नु, छलफल र बहस गर्नु, अन्य दलसित सहमति बनाउनु उनको महत्वपूर्ण भूमिका हो । अहिले देशलाई चाहिएको नयाँ संविधान हो । सारा जनताले त्यही चाहेका छन् । संविधान बनेन भने व्यवस्था त के देशकै राष्ट्रियता खतरामा पर्न सक्ने अवस्था छ ।

यस्तो बेला विदेशमा बसेका नेपालीले आफ्ना नेता, दल र संविधान सभा सदस्यहरूलाई विदेशबाटै भएपनि दबाब दिनुपर्ने हो । नेताका विदेश भ्रमणलाई विरोध गर्नु पर्ने हो । पहिले संविधान बनाउ अनि बल्ल स्वागत गरौंला भनेर सचेत पार्नुपर्ने हो । उल्टो क्षेत्रीय सम्मेलनका नाममा परराष्ट्र मन्त्रीलाई नै निम्तो दिएर विदेश भ्रमण गराउन कति सम्म जायज हो ? देशको राष्ट्रियता, हाम्रो गणतन्त्र, नयाँ संविधान र दीर्घकालीन शान्ति भन्दा के एनआरएनकालागि क्षेत्रीय सम्मेलन प्यारो हो ? महत्वपूर्ण हो ?

अधिकांश प्रवासी नेपालीपनि हाम्रा नेताको विदेश भ्रमणदेखि सन्तुष्ट छैनन् । हाम्रा नेता देशमै बसुन् संविधान नबनुन्जेल । बहस गरुन् । छलफल बढाउन् । सहमतीको प्रयास गरुन् । सबैले संविधान बनाउनमै समय खर्चिउन् भन्ने चाहन्छन् । तर प्रवासी नेपालीको यस्तो धारणा हुँदा हुँदै किन निम्या दि इयो त एन आर एन भेलामा ? कसको स्वार्थले काम गर्‍यो ? के एन आर एनका केहि सिमित व्यक्तिहरुको स्वार्थकालागि अपजसको भारी सबै प्रवासी नेपालीका थाप्लोमा झुण्ड्याउन खोजिएको हो ? एउटा मन्त्रीलाइ निम्तो दिएको कुरो त हो, सामान्य जस्तो लाग्छ । तर यो गम्भिर विषय हो । आम नेपालीको भावना र भाग्यसँग जोडिएको गम्भिर विषय हो ।

अहिले नै एनआरन भनेको धनीहरूको, हुनेखानेको संगठन हो भन्नेहरू धेरै छन् । देशमा जेसुकै होस् यीनलाई मतलब छैन । विदेशमा बसेर मोज गर्छन् । दाम कमाउँछन् । नेपालबाट फाइदा बाहेक केही लिँदैनन् । यी स्वार्थ प्रेरित छन् । आफ्नो स्वार्थ पूरा गर्न मात्रै एक दुई लाख यस्सो धूलो छर्किए झैँ गर्छन् । नत्र यीनले साँच्चै देशको माया गर्दैनन् । राष्ट्रिय हित हेर्दैनन् भनेर अरोप लगाउनेको संख्या प्रशस्तै छ । थुप्रै नेता र पार्टी समेत सशंकित छन् । एन आरएनले उठाएका मुद्दा र मागेका अधिकार दिने पक्षमा छैनन् । झन् जानी जानी संविधान बनाउने बेलाका नेतालाई राष्ट्रपति र संविधान सभाका अध्यक्षको आग्रह विपरीत निम्तो दिएर एनआरएनले त्यसैलाई प्रमाणित गर्न खोजेको देखिएको छ । आफ्नै खुट्टोमा बन्चरो हान्न लागेको छ ।

समय अझै घर्किसकेको छैन । राष्ट्रिय हित सोच्ने हो, देशको भलो चाहने हो, आम नेपाली जनताको चाहनाको आदर गर्ने हो र देशमा दीर्घकालीन शान्ति चाहने हो भने परराष्ट्र मन्त्री सुजाता कोइरालाको भ्रमणको निम्तो तुरुन्त रद्द गर्नु पर्छ । नत्र तयार भएर बसे हुन्छ – एन आर एन बन्न लागेको नयाँ संविधानको विरोधी हो । उसलाई देशको दीर्घकालीन शान्ति र संविधान भन्दा सम्मेलनको बढि सरोकार लाग्छ ।

तपाइँको प्रतिक्रिया