हतारोलाई हराउँदै भेट गरायो ब्लगरसँग ब्लगले

nepali-blogger-kp-dhungana.jpgहामी नेपालीमध्ये धेरै जसोको बानी हो अन्तिममा हतार गर्ने । मपनि त्यसैमा परें । फर्कने असाध्यै हतारो थियो । देख्नु, भेट्नु, हेर्नु, जम्मा पार्नु र टिपनटापन पार्नुपर्ने धेरै कुरा थिए । हाम्रो ब्लगका केपीले दाई नेपाल आएरपनि नभेट्ने भनेर लेखेको पाठक प्रतिक्रिया सम्झें । गफ गरौं गरौं लाग्यो । फोन दबाएँ । वास्तबमा म ब्लगको दुनियाँमा केपीको प्रशंसक थिएँ पहिल्यैदेखि । कम्तिमा हप्तामा पाँच दिन उनको ब्लग क्लिक गर्थें म ईन्टरनेटमा छिरेका बेला । अनि हामी अनु र म उनको ब्लग देखेर बिचरा गर्थ्यौं-यति राम्रो छ यो मान्छेको ब्लग, यहि ब्लग पढ्दैनन किन ? भनेर। धेरैनेपाली पाठकहरु टाईफाई र हल्काफुकामै रमाउने खालका छन भन्ने गर्थ्यौं हामी । वास्तबमा खसो खास ब्लगको विशेषता बोकेर चलेको छ उनको हाम्रो ब्लग । उनको लेखाई र नयाँ पत्रिकामा समाचार ल्याउने कलाको म प्रशंसक झनै थिएँ ।  

फोन गरेको त उनको बोलीमा यति मिठास र सहयोगी भावना रहेछ कि भेटौं प्रत्यक्षनै जस्तो लाग्यो। भेट्न उनको कार्यालय नया पत्रिकामा गएँ । असाध्यै सहयोगी रहेछन । तुरुन्तै नेपालप्लसको एडमिन खोल्न लगाए आफ्नै कार्यालयको कम्प्युटरमा । अनि त्यहाँ भित्र गएर आफ्नो चाहना अनुसार जुन मितीमा निकाल्न मन लाग्ने हो त्यहि मितीमा प्रकाशित गर्न सकिने, आफ्ना रचनाहरुलाई गुगलले कसरि पढ्न सक्ने बनाउने, कसरि त्यहिँ थन्क्याएर राख्ने रचनाहरुलाई, आफ्नो ठाउँ प्रयोग नगरि कसरि लेख रचना पोस्ट गर्ने भन्ने थुप्रो कुरा देखाए । तर म कम्प्युटर ज्ञानमा गोज्याङ न परें कहाँ टिप्न सक्नु केपीले एकै छिनमा सिकाएका त्यत्रा कुरा !  

जे होस, मैले केहि महत्वपूर्ण कुरा भने जानें । उनीसँगको भेट मेरा लागि उपयोगिपनि भयो ब्यवहारिकरुपमा । उनले मलाई समस्या पर्दा सहयोग गर्नेकम्प्युटरमा ज्ञान भएको एक जना पत्रकार साथीसँग परिचय गराइदिने वचनपनि दिए । उनकालागि रमाईलो मात्रै भयो होला मसँगको भेट । तर मैले त केहि सिकेंपनि उनीसित । 

बिहानै खाना खाएको । भोक लागिसकेको थियो । खाजा खान गईयो केपी, म र नयाँ पत्रिकाकै अर्का पत्रकार श्रीधर खनाल । उनको तगडा तगडा रिपोर्टिङको त झन प्रशंसक थिएँ म । खनाल रहेछन शाकाहारी । केपी र म परेछौं सर्वहारी । काठमाडौंको गर्मीमा चिसो बियरले साथ दियो केपी र मलाई । केपीले ब्लगमा पाठकहरु धेरै आकर्षित गर्नकालागि उपाए सुझाए । सकेदेखि बिहान, दिउँसो र साँझ गरि तिन पटक प्रकाशित गर्नु रे । अनि निरन्तररुपमा पाठकहरु ल्याउन सधैं एकै समयमा प्रकाशित गर्नुपर्छ भन्ने पनि बताए । मैले सन्कि चलेका बेला मात्रै नेपालप्लसमा लेख रचना राख्छु भनेको त केपीले बडो मजाको जवाफ दिए “दाई तपाईले सन्कि चलेका बेला मात्रै अपडेट गर्नु भयो भने पाठकपनि सन्कि चल्दामात्रै तपाईको ब्लग हेर्न आउँछन” । असाध्यै मन पर्‍यो उनको भनाई । 

बिदेशमा नेपालीहरु कसरि बिताउँछन । अवस्था कस्तो छ भन्ने जिज्ञासा थियो उनको । मैले जानेको उत्तर दिएँ । अनि शुरु भयो एनआरएनका कुरा । केपीको भनाई एनआरएनले गफ धेरै गर्‍यो काम कम्ति भन्ने थियो । समग्रमा एनआरएनको आलोचक देखिए उनी । तर मैत्रिपूर्ण देखियो किनभने उनले उपेन्द्र महतोले गरेका कामको प्रशंसा गरे । मैले एनआरएनको क्रियाकलाप, काम र तिनमा लाग्ने मानिसहरुको आआफ्नै स्वार्थका प्रसंग सुनाएँ । सरकारले एनआरएन दर्ता गरिदिनु पर्थ्यो भन्ने मेरो तर्क दिएँ । तर एनआरएनलाई सरकारले कानुनीरुपमै मान्यता दिईसकेको कुरा खुलाए केपी र श्रीधर दुबैले । त्यो बारेमा मलाईपनि थाह नभएको देखियो । 

श्रीधर अलि बढि आलोचक देखिएका थिए। गाउँघरमा एनआरएनले बिदेश जानकालागि बढि प्रेरित गर्ने गरेको । एनआरएनले बिदेश जान बढि चर्चा गर्ने गरेकाले बिदेश नजानेहरुलाई कमजोर पात्रकारुपमा हेर्ने रहेछन मानिसहरुले । अनि जो बिदेश गएका छैनन ति हेपिने रहेछन । मैले यो कुरा थाह पाएको थिईन । यदि त्यो वातवरण एनआरएनको तर्फबाट स्रिजना भएको छ भने सोह्रै आना गलत हो । त्यसलाई तुरुन्तै रोक्नु पर्छ भन्ने मेरो भनाई रह्यो । आफ्नो इच्छा, आकांक्षा, रहर, अवसर र बाध्यताले जाउन । स्वदेशमै आफ्नो भविष्य खोज्ने, आफ्नै देश बनाउन लाग्ने, कठिन अवस्थामापनि आफ्नै आँगन कुरि बस्नेलाई बिदेशमा बस्नेले हेप्नु हुन्न । तिनको अधिकार नै छैन भन्छु म त । श्रीधर उठेर हिँडे केहिबेरमा । केपी र म बसिरह्यौं । म कति हुस्सु रहेछु भने हामी तिन जना सँगै हुन्जेल फोटो खिच्ने दिमाखमै आएन । जब श्रीधर हिँडे तब केपीको फोटो मात्रै ट्यास्स पारें । श्रीधरकोपनि फोटो राख्न पाएको भए कति मजा हुन्थ्यो अहिले ! केपी नेपाली पत्रकारिता गरिरहेका सक्रियतापूर्वक । उनले भनेका धेरै कुरा मेरा लागि नयाँ हुने नै भए । नेपाली कांग्रेस, एमाले र माओवादीभित्रका केहि चाख लाग्दा पक्षपनि सुनाए । मलाई उनीसँग बसेर गफ सुन्ने धित नै मरेन । आफैंले भने-थईक्क यो मान्छेसित त कम्तिमा एकदिन बिताउनुपर्ने रहेछ । 

केपी ब्लगरहरु संगठित भएनन भन्नेमा चिन्तित थिए । अब केहि गरौं भनियो । पैसा मात्रै ठूलो कुरा होइन । पैसा नभएर नै काम अड्किँदैन भन्ने मेरो सोचपनि सुनाएँ । संस्थागत सोच राखेर काम गरे हामी ब्लगहरुले थुप्रै गर्न सक्छौ । फ्रान्समा दैनिक पत्रपत्रीका र बिद्दुतिय माध्यमलाई पनि प्रभुत्व जमाउन सफल केहि ब्लगका बारेमा सुनाउँदा उनी खुशी भए । हाम्रै नेपाली ब्लगमा लेखिएका कतिपय सामाग्रिहरु साप्ताहिक पत्रिकाहरुले श्रोत उल्लेख नगरि प्रकाशित गर्ने गरेको उनले मलाई सुनाए । 

यो ब्लग नभएको भए केपी सित भेट हुन्थ्यो होला र ? बेलायतमा माईला लामा, सिंगापुरमा रेवती थापा मगर लगायत देश बिदेशमा ददिजी हामी बसेको ठाउँमापनि आउनुस है भन्ने थुप्रै साथी र शुभ चिन्तकहरु हुन्थे होला त ?

 

मैले नयाँ पत्रिकाको कार्यालय अगाडि बोलाएको थिएँ नेपाल एफएमका पत्रकार साथी बिनोद ढुंगेललाई । उनी टुप्लुक्क भएपछि लौ है केपी कम्तिमा बिद्दुतिय पत्रमा भएपनि संपर्कमा बस्नुपर्छ नि भन्दै हामी छुट्टियौं । त्यो भेटका बारेमा केपीको ब्लगपनि हेर्ने भए तलको लिंकमा जानुहोस- धन्यावाद ब्लग, धन्यावाद ददिरामदाई

 

तपाइँको प्रतिक्रिया