चिन्ता र तनावले बाघको शरिर घट्दै
विश्वमै अति संकटापन्न अवस्थामा पुगिसकेका पाटे बाघहरूको संख्या घट्दै गएको त सबैलाई थाह भएकै कुरो हो । विश्वभरि बेंगाल टाइगर भनेर चिनिने बाघमाथि झन् अर्को समस्या थपिएको रहेछ । जंगलमा हज्जारौं किमी क्षेत्र ओगटेर सारा जीवजन्तुलाई लघारेर, जितेर बस्ने सक्ने जिवलाई के समस्या होला ? के पिर ? केको चिन्ता ?
तर अचानोको पिर खुकुरीले जान्दैन भने जस्तै रहेछ । यी जीव तनावै तनाव र चिन्तामा पो रहेछन् । कति सम्म होला त तनावपनि ? शरीरको आकारै घट्दै गएको रहेछ पाटे बाघहरूको तनावकै कारण । जंगलमा स्वतन्त्र पूर्वक राइँदाइँ गरेर जिउने यस्ता अजंगका जिवलाई तनाव हुनुको कारण के होला ?
वैज्ञानिकहरूले बढ्दो वातावरणीय परिवर्तनबाट उत्पन्न समस्यालाई कारक मानेका छन् । भारतमा भएको एक अध्ययन अनुसार पाटे बाघको संख्या मात्रै घटेको नभएर अब बाघको आकारपनि घटिरहेको छ । विशेषज्ञहरुले बाघको शरीर र तौल तनावले गर्दा घटिरहेको बताएका छन् । बंगलादेशसित सिमाना जोडिएको भारतको सुन्दरवन बाघ आरक्षका बाघहरुको अध्ययन गर्दा त्यो तथ्य फेला पर्यो । वातावरणीय परिवर्तनको असरले गर्दा तिनको प्राक्रितिक वासस्थानमा प्रभाव पार्न जाँदा त्यसो भएको भनाई उनीहरूको छ । सुन्दरबनका बाघहरुको स्थितिबारे अध्ययन गर्दा त्यहाँका बाघको शरीर एक दशकभन्दा अघिको तुलनामा हलुंगो र सानो भएको पाइयो ।
यस्तो अध्ययन नेपालमा नभएकाले यसै भन्न सकिने अवस्था छैन । तर भारतमा फेला परेको यो तथ्यले हाम्रा बाघहरुको अवस्थापनि धेरै भिन्न छैन कि भन्ने संकेत गर्छ । किनभने नेपालमा पाइने बाघ र त्यहाँ पाइने बाघ एकै जातिका हुन् । तिनको आहारा, वासस्थान, आनीबानी र बाघ संकटमा पर्नुको कारणपनि दुबै देशमा समान छन् ।
“स्वस्थ देखिएपनि हामीलाई के अचम्म लाग्यो भने तिनको तौल जम्मा ९८ किलो मात्रै थियो” सुन्दरवन बाघ आरक्षका निर्देशक सुब्रत मुखर्जीले भने । सुब्रत मुखर्जीका अनुसार एउटा स्वस्थ बाघको तौल एक सय ४० किलो भन्दा कम हुनु हुँदैन ।
समस्याका थप कारण के के हुन सक्छन् । तिनको वासस्थानमाथिको अतिक्रमण त छँदै छ, प्राक्रितिक वातावरणमा आएको बदलीलेपनि प्रभाव पारिरहेको छ । बढि वर्षादले गर्दा समुद्री सतह बढिरहेको छ । त्यसको अर्थ ठूला नदी र गंगाहरूमा पनि बाढी बढ्छ । भारतको गंगा, ब्रह्मपुत्र र मेग्ना जस्ता ठूला नदीमा बाढी धेरै आउँदा त्यसले घाँसे फाँट र सिमसार क्षेत्र ढाकिदिन्छ ।
घाँसे फाँट चित्तलहरूको प्रमुख वासस्थान हो । बाघको प्रमुख आहारानै चित्तल र म्रिग हुन् । त्यस्तो बाढीले सानातिना पोखरीहरू पुरि दिने, ढाकि दिने गर्छ । त्यसता पोखरीहरूले बाघले आहारा बनाउने जीवहरूलाई आकर्षण गरेका हुन्छन् । बाघको प्रमुख आहारा भनेकै चित्तल (कतै कतै चित्रीपनि भन्छन्) हो । नदीमा बाढी आएर जंगल ढाकिदिनाले चित्तलहरुको संख्या घटिरहेकोपनि मुखर्जीले ए एफ पी समाचार संस्थालाई बताए ।
यी सबै समस्याका कारण गर्दा बाघ उचित आहाराको अभाव र कुपोषणबाट ग्रसित छन् । “त्यसैले गर्दा शारीरिक रूपमा बाघ तनाव र चिन्तामा छन् । भोकले लाग्दा आफ्नो वासस्थानमा आहारा नपाएपछि ती बाख्रा र गाइ गोरु खोज्दै मानव वस्ति पस्छन्” मुखर्जीले भने ।





