बेल्जियममा ल्याए नेपालीले ममभित्र धनियाँ क्रान्ति

                 बेल्जियनका जिब्रो जिब्रोमा गड्दै छ नेपाली स्वाद

‘हाम्रो नेपाली चिया नितान्त फरक हुन्छ । ल्वाङ, सुकमेल र अन्य प्राक्रितिक जरीबुटीको हरर वासना आउँछ ‘।

बेल्जियम भ्रमणका क्रममा हामी त्यहाँ नेपाली खानाबारे जिज्ञासा राख्न पुगेका थियौं यति हाउस रेस्टुरेन्टमा । नेपाली रेस्टुरेन्ट खोज्दै टुप्लुक्क आइपुगेका एक बेल्ज नागरिकलाई यति हाउस रेस्टुरेन्टका सञ्चालक युवराज गुरुङ जुरुक्क उठेर यसरी अर्थ्याउन पुगिहाले । मेरो भ्रमणका सहयात्री थिए बेल्जियम मेख्लेन शहर निवासी बागलुङे शेरबहादुर छन्त्याल ।

(युवराज गुरुङको यति हाउस रेस्टुरेन्ट ।  नेपाली संस्क्रिति, बिभिन्न जनजातिका स्वाद, न्रित्य र संस्कार चखाउने थलोपनि बनेको छ यो) ।

गुरुङ आफ्नो रेस्टुरेन्टमा आउने हरेक बेल्जियन ग्राहकलाई सोध्ने रहेछन्- कहाँ बाट आ’को ? कसले दियो जानकारी ? नेपाल जानु भा’को छ कि नाई ? गएको भए कहिले ? कहाँ कहाँ, कति पटक ? त्यही बेला नेपाल गैसकेकालाई नयाँ ठाउँको जानकारी र नगएकालाई नेपालको हिमाल र पहाड, नाचगान र चाडपर्व सारा ब्याख्या गर्ने । खानाका पारखीलाई जाति जातिका हिमाली उच्च भागका वनस्पति हालेर बनाएका परिकार बारे गफ सुनाइहाल्ने रहेछन् । गफगाफ गर्दा गर्दै उनी मग मग वासनादार नेपाली चिया चखाइहाल्ने रहेछन् । अनि बाँकी बेलीबिस्तार ।

(आन्तरपेन लुभेन शहरमा रहेको पुष्प अधिकारीको हिमालय रेस्टुरेन्ट । बुद्द, नेपालका अनेक देवी र देवता। घण्ट र झल्लर नेपालीका पहिचान । यसैले त्यहाँका स्थानियलाई आकर्षण गर्छ)

लामो समय देखि नेपाली खाना र नेपाली वस्तु फैलाउने उद्देश्यले बेल्जियमको व्यापारमा घोत्लिएका उनले बेल्जियन नागरिकको जिब्रोमा नेपाली खाना भिज्दै, फैलिँदै गएको अनुभवपनि सुनाए । त्यस्तो अनुभव सुनाउनेमा उनी एक्ला थिएनन् । थिए बेल्जियममै पहिलो नेपाली रेस्टुरेन्ट खोल्ने हिमालय रेस्टुरेन्टका क्रिष्ण अधिकारीपनि । 

बेल्जियमका नागरिकले नेपाली खानाको स्वाद पाउन थालेको धेरै भएको छैन । चार पाँच वर्ष मात्रै भयो नेपाली रेस्टुरेन्ट शुरु भएको । शुरु गरे लुभेन शहरमा पुष्पराज शर्माले । उनले अर्को शहरमा भर्खरै अर्को नेपाली रेस्टुरेन्ट खोलेका छन् । नेपाली रेस्टुरेन्ट नै खोल्ने किन नेपालीले ? गुरुङ भन्छन्- त्यो सँगै नेपाली खाना, नेपाली संस्कार, नेपाली संस्क्रितिमा आफूपनि रम्न पाइयो ।

पुष्पराजले लिएको जोखिमबाट धेरै नेपालीलाई प्रेरणापनि मिलेको छ । उनी सफल भएकोले अरू नेपालीलेपनि सिको गर्न थाले । अहिले नेपाली रेस्टुरेन्टको संख्या झण्डै दर्जन पुग्न लागेका छन् । बढिरहेको छ । तरपनि बेलायत र लक्जमवर्गमा झैँ नेपाली खाना बेल्जियमका स्थानीयमा अझै भिज्न नसकेको जानकारी दिन्छन् उनी । तैपनि प्रमुख शहरहरुमा नेपाली रेस्टुरेन्टहरु देखा पर्न थालेको छ ।

(नेपाली खाना मात्रै होइन। नेपाली पहिरन, आफ्नै आतिथ्य र सत्कारलेपनि एक्कैछिन नेपालतिरै डोर्‍याउँछ । त्यसैकालागिपनि नेपाली रेस्टुरेन्टमा स्वदेशी र बिदेशीको आकर्षण हुने गरेको हो)

बेलायतमा गोरखा सैनिकहरू धेरै पुरानो भएको र भारत उनीहरूको उपनिवेश भएकालेपनि भारतीय स्वादसित परिचय छन्, बेलायती । भारतीय खानासित नेपाली खाना मिल्छ भन्ने ठान्छन् उनीहरू ।

नेपाली खाना भनिएपनि ठ्याक्कै नेपाली परम्परागत खाना मात्रै बेचेर धानिन गाह्रो छ । त्यसैले नेपाली रेस्टुरेन्टहरुमा अक्सर भारतीय र नेपाली खानालाई मिश्रण गरिन्छ नेटसेट, यताउतीबाट । भारतीय खानाको बारेमा यिनलाई मोटामोटी थाह छ । त्यसैलाई अलिकति ढालेर भारतीय र नेपाली खाना जस्तो बनाइन्छ ।

उनको आफ्नै रेस्टुरेन्टमा पनि सबै नेपाली खाना छैन । भारतीयपनि छ । मिल्दो जुल्दो भएकोले नेपाली खानालाईपनि परिचित गराउँदै लैजान सजिलो हुन्छ भन्छन् युवराज गुरुङ ।

तर नेपाली खाना खोज्दै आउनेलाई सहजै चित्त बुझाउन सजिलो भने छैन । स्थानीयहरू नेपाली रेस्टुरेन्टमा छिरेपछि जिज्ञासा राख्छन्- नेपाली र भारतीय खानामा के फरक छ त ?

 हाम्रो कम मसलादार, कम पिरो, चिल्लो कम हुन्छ । अलि ताजा हुन्छ । उनीहरूले नरम (माईल्ड) स्वाद थाह पाएपछि मन पराउँछन् । भारतीय खानामा एकदम धेरै पिरो, चिल्लो, र मसला हुन्छ । त्यो पचाउनै गाह्रो हुन्छ यिनीहरुलाई । “त्यो कारणलेपनि यहाँ क्रमिक रूपमा नेपाली खानाको आकर्षण बढेको हो ” गुरुङ सुनाउँछन् ।

नेपाल जाने पर्यटकहरूले यो कुरा फाट्टफुट्ट जानिराखेको हुनाले तिनले प्रचार प्रसार गरिदिन्छन् । यहाँका नागरिकसित बिहे गरेर बस्नेले हप्तामा यस्सो एकाध पटक नेपाली खाना खुवाउन ल्याउने आदि गरेर बिस्तारै बिस्तारै प्रचार भैरहेको छ । गत तिन वर्षदेखि लगातार रूपमा नेपाली मेला आयोजना गर्दै आएको छ एन आर एन बेल्जियमले । त्यसमापनि नेपाली खानाका विविध परिकार पस्कने गरिएको छ । त्यो मेला नेपाली खाना फैलाउने महत्वपूर्ण माध्यम बनेको छ । 

       ममका डल्लाभित्र नेपालीको धनियाँ क्रान्ति

 नेपाली खाना मध्येमा स्थानीयले तुरुन्तै बुझिहाल्ने चाहिँ मम हो । किनभने चिनियाँहरुले यस्तै खालको बनाउँछन् । त्यही मम सँगै बेल्जियममा नेपालीले खानाको क्षेत्रमा एक खाले क्रान्तिनै ल्याइदिएका छन् । त्यो हो धनियाँ । चिनियाँ, थाइवालासित यिनीहरुको धेरै संबन्ध विवाह सिवाहका कारण भएकाले देख्नासाथ दिप्सुङ भनिहाल्छन् । त्यसलाई फेरी ब्याख्या गर्नुपर्छ नेपालीले । अनि नेपालीले चाहिँ यो त्यस्तै नै हो, तर हामी यसरी बनाउँछौ, किमा राखेर, धनियाँको स्वाद हुन्छ भन्दै ब्याख्या गर्छन् ।

चिनियाँ र थाइ मममा धनियाँको स्वाद हुँदैन । “हामी शुरु शुरुमा सन् २००० तिर वरिपरि यहाँ आउँदा धनियाँ भन्ने यहाँ हुँदै हुँदैनथ्यो । कतै कतैमात्रै पाइन्थ्यो । किन्दापनि किन्दैनथे । अहिले धनियाँ नभएको पसलै छैन । हाम्रो कारणले गर्दा धनियाँको स्वादले एक खालको क्रान्ति ल्याएको छ यो देशमा ” उनले सुनाए ।

 (चौथो र पाँचौं बाहेक सबै तस्विर शेरबहादुर छन्त्याल (बेल्जियम) ले खिचेका हुन् ) ।

तपाइँको प्रतिक्रिया