बच्चा रोएर हैरान पर्नु भो ? सुनाइदिनुस् चराका गीत!
अस्पत्तालमा बच्चाले औषधी खान मानेनन् ? उपचार गर्ने बेलामा ऐया र आत्था गरेर हैरान पारे ? शल्यक्रिया गर्नु पर्ने वालवालिका नर्सको सुई हातमा देख्नासाथ चार हात खुट्टा फालेर चर्किन थाले ? अरालेर अस्पत्तालनै थर्काउँला झैँ गरे ? ल गज्जबको तरिका पत्ता लगाएका छन् वैज्ञानिकहरूले । महँगो छैन । नपाइने पनि होइन । चराका गीत सुनाइदिने ।
हो, बेलायतका केही वैज्ञानिकहरूले उपचारका क्रममा बालबालिकालाई चराका गीत सुनाइदिए बढि शान्त हुने गरेको तथ्य पत्ता लगाएका छन् । यसलाई उनीहरूले प्रयोगमै ल्याइसकेका छन् । चिकित्सक र बिरामीका आफन्तलाई निकै सहज हुन थालेको तथ्य भेटिएको छ । बेलायतको लिबरपूल स्थित आल्डर हे अस्पत्तालमा हालसालै देखि यो तरिका अपनाउन थालिएको हो ।
अहिले उक्त अस्पत्तालमा चराका गीत, वर्षा र हावा हुरीका आवाज सुनाउन थालिएको छ । ती अस्पत्तालकै बालबालिकाले तयार पारेका हुन् । त्यसता गीतमा स्प्रिङफिल्ड पार्कमा लगेर त्यहाँका कलाकर्मी क्रिस वाटसनले संगित हालिदिएका थिए । र त्यसको मुख्य काम भने बालबालिकाले गरेका थिए । अहिले त्यो गीत आल्डर हे अस्पत्तालको सम्पूर्ण वालवालिका कक्षमा सुनाउने गरिन्छ ।
शल्यक्रिया गर्दा, सुइ दिँदा वा अन्य कठिन उपचार गर्ने बेला त्यो संगित सुनाइदिनाले वालवालिका शान्त हुने गरेको पाइएको छ । चिकित्सकलाई उपचारमा सजिलो हुने गरेको छ । वालवालिका बाहेक अन्यलाईपनि चराका त्यसता गीतले उपचारका क्रममा शान्त पार्ने गरेको तथ्य उनीहरूले सार्वजनिक गरेका छन् । अहिले मुख्यत: चाँचर, धोबिनी चरा, तितु र कल्चुँडेका गीत रेकर्ड गरेर सुनाएका छन् । यी मुख्य त गाउँघर वरिपरि पाइने र गीत गाउने चरामा पर्छन् ।
चराका गीतले अस्पत्तालमा बालबालिकालाई शान्त पार्न सकेको सफलता पाएपछि फाउण्डेसन फर आर्ट एण्ड क्रिएटिभ टेक्नोलोजीका कला कार्यक्रम निर्देशिका लाउरा सिलेयर्सले भनिन- प्राक्रितिक संसारलाई घरमा भित्र्याउन सक्दा अस्पत्तालका विरामीहरुले ठूलो फाइदा लिएको पाएका छौं । हाल उनीहरूले ती चराका गीत अस्पत्तालको गोरेटो र बिरामी तथा आगन्तुक हिँडडुल गर्ने अन्य क्षेत्रमापनि बजाउन थालेका छन् ।
त्यसको प्रभावले गर्दा घरमा लगेर बजाउनको निम्ति थुप्रै अभिभावकाहरुले ती गीत सिडिमा निकाल्न आग्रह गरेको र त्यसको माग बढ्दै गएको कार्यक्रम निर्देशिकाले बताएकी छन् । यसबाट प्रक्रितिको संगितलाई प्रयोग गरेर उपचार पद्धतिमा ठूलो सफलता हासिल हुन सक्ने दाबी उनीहरूको छ ।
यो सफलतापछि यसले दुखाई कम गर्न र रोग छिटो सञ्चो हुनपनि सहयोग गर्छ कि भनेर हाल चिकित्सकहरू खोजीमा लागेका छन् । चराका गीतले मानिसलाई आनन्द दिने, प्रफुल्लित बनाउने, गीत संगितमा प्रेरणा दिने काम त सयौं वर्षदेखि हुँदै आएको हो । तपाईहरुलाई पनि सुन्न वा सुनाउन मन लाग्यो भने ‘पाइन्न क्यारे नेपालमा त’ भन्दै नबस्नुहोला । बर्डसङ डट कम (birdsongs.com) टाइप गर्नुभयो भने सयौं चराका गीत र आवाज सितैमा पाइन्छन् । अथवा यहाँ जान पनि सक्नुहुन्छ । चरा संबन्धि अन्य जनकारी चाहिए नेपाल पन्छी संरक्षण संघ वा बर्ड एजुकेशन सोसाईटीमापनि संपर्क गर्न सक्नुहुन्छ ।
-चरा संबन्धि अन्य संबन्धित रिपोर्टपनि हेर्नुस्–
गित चोरिएर चरापनि हैरान





