उच्च रक्तचाप छ ? खानुस तर्बुजा

हपक्क गर्मीले छोपेर खलखली पसिना आउँदा तर्बुजाको याद निकै आउँछ । शरीर सित्तल बनाउँछ नै तर्बुजाले । त्यसैकालागि चिनिएको हो त्यो । तर वैज्ञानिकहरूले गज्जबको शक्ति फेला पारेका छन् तर्बुजामा । अमेरिकी वैज्ञानिकहरूले गरेको एक अनुसन्धान अनुसार तर्बुजाले उच्च रक्तचाप घटाउँछ ।

कसरी पत्ता लगाए त त्यो ? अमेरिकाको फ्लोरिडा स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले चार पुरुष र मासिकश्राव रोकिनुपूर्वका पाँच महिलामाथि अनुसन्धान गरेका थिए । ती सबै ५१ देखि ५७ वर्षका थिए । सबैमा उच्च रक्तचापको समस्या थियो । तिनलाई तर्बुजा खान दिइएको थियो । तर्बुजाको सेवनपछि सबैमा रक्तचाप घटेको देखियो । वैज्ञानिकहरूले ती माथि गरेको अनुसन्धानबाट उच्च रक्तचापका रोगीहरूलाई उपचार गर्न तर्बुजा गतिलो हतियार हुन सक्ने तथ्य पत्ता लगाए । त्यसैगरी, मुटु सम्बन्धी अन्य रोगहरूको निदानका लागि पनि तर्बुजा उपयोगी हुने देखियो ।

मानव स्वास्थ्यका लागि कस्तो कुन चीज आवश्यक हुन्छ भनेर वैज्ञानिकहरूले अध्ययन गर्दा उनीहरूले ६ ग्राम आमिनो एसिड एल सिथ्रुलिन (amino acid L-citrulline) र एल आर्जिनाइन (L-arginine) भन्ने तत्व झिके तर्बुजाबाट । यी तत्हरू तर्बुजामा अमिलो स्वादका हुन्छन् । त्यो प्रत्येक दिन ६ हप्तासम्म खाए रक्तचाप कम हुने उनीहरूले बताएका छन् । एल आर्जिनाइन (L-arginine) ले वाक वाक लाग्ने र पाचन संबन्धि रोगलाई बढावा दिन्छ् । पखाला लगाउन सक्छ । तर तर्बुजामा रहेको यही चीजले भने त्यस्तो असर नपार्ने बरु रक्तचाप घटाउने दाबी वैज्ञानिकहरूको छ ।

फ्लोरिडा स्टेट यूनिभर्सिटीका सह प्राध्यापक आर्तुरो फिगुरेओवाका अनुसार तर्बुजा खानाले रक्तचापलाई त घटाउँछ नै, मानिसको तनावलाई कम गर्छ । तनाव उच्च हुनु पूर्वनै त्यसलाई कम गर्न सहयोग पुर्‍याउँछ । ह्रिदयाघात (heart attack) हुनबाट बचाउँछ । रक्तचाप उच्च पार्ने नुनको मात्रालाई कम गरिदिन्छ । मानिसलाई स्फूर्त राख्न ९२ प्रतिशत सहयोग गर्छ । शरीरमा पानीको अभावलाई  पूर्ति गर्छ ।

अनुसन्धानकर्मीहरुका अनुसार तर्बुजामा विभिन्न रोगहरूसित लड्ने क्षमता राख्ने अन्य विभिन्न तत्वहरुपनि हुन्छन् । अमेरिकन जर्नल अफ हाइपरटेन्सनका अनुसार तर्बुजा एल सिथ्रुलिन (L-citrulline) पाइने सबैभन्दा उच्च स्रोत हो । यसमा भिटामिन ए, बि ६ र सि, फाइबर, पोटासियम र लाइकोपेनसमेत पाइन्छ ।

तर्बुजामा हुने रातो भाग लिकोपेन (lycopene) भन्ने तत्वबाट बन्छ । त्यो निराशा हुने रोगीको उपचारको लगि उपयोगी हुन्छ । त्यसले मुटुको स्वास्थ्य राम्रो बनाउँछ । रक्त सञ्चारलाई सक्रिय पार्छ । मानव उपचारका लागि गरिएका विविध खाले अनुसन्धानबाट के पत्ता लागेको छ भने तर्बुजामा पाइने त्यो लिपेन भन्ने तत्वले रोग निरोधक क्षमता बढाउँछ । धम्कीका रोगीलाई राम्रो बनाउँछ । मधुमेहका रोगीको उपचारमा सहयोगी बन्छ भन्ने विश्वासपनि वैज्ञानिकहरूले गरेका छन् । रगतमा ग्लुकोजको मात्रालाई कम गरिदिन्छ ।  घामले डढाउन बाट जोगाउँछ । घामले डढाइसकेको छालालाईपनि सन्चो पार्न सहयोग गर्छ । त्यसैले गर्मीमा मात्रै होइन पाएसम्म वर्षै भरि खानुस है त तर्बुजा ?

तपाइँको प्रतिक्रिया