बिरोध पत्रको बिरोध र आरोही सम्मानको गाँठी कुरो

पेरिसस्थित नेपाली दुतावासले फ्रान्सेलीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्दा प्रत्येक पटक नेपालका प्रथम आरोही मोरिस हेर्जोगलाई निमन्त्रणा गर्थ्यो । उनी सधैं “हुन्छ ” भन्ने तर कहिल्यै आउने गर्दैनथे । उनको त्यस्तो ब्यवहार देखेर तत्कालिन कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठ खल्लो मानिरहेका थिए । यसको कारण के हो ?  दुतावासलाई थाह थिएन । अघिल्लो वर्ष हेर्जोगसित मेरो भेटघाट हुँदा कता कता नेपाल सरकार प्रति उनको खल्लो भाव रहेको मैले बुझे जस्तो लाग्यो । यहि मेरो बुझाई जिवन सर समक्ष साझेदारी गर्दै हेर्जोगलाइ सरकारका तर्फबाट कदर गरे कसो होला भन्ने सुझाव दिएको थिएँ जिवन प्रकाश श्रेष्ठलाई ।

नेपालप्रति किन गुनासो रहन दिने ? अनि उनको कार्यक्रम भनेपछि यहाँका माथिल्लो तहका फ्रान्सेली र मेडियालेपनि चासो दिन्छन् । त्यसलाइ हामी नेपालको प्रचार प्रसार गर्न प्रयोग गरौं । असाध्यै खुशि भए उनी । एवं रितले नेपालको लागि योगदान गरेका अन्य फ्रान्सेलीलाइ पनि सम्मान गरौं, त्यसको लागि म मिलाउँछु भने उनले । ककसलाई सम्मान गरे राम्रो होला ? पहिलो लटमा ककसलाई गरौं ? भनेर उनले सोध्दा मैले त्यसपछि फ्रान्सेलीका तर्फबाट पहिलो पटक सगरमाथा चढ्ने पियर  माजोलाई र अनुसन्धानदाता कोर्नेइ जेस्तको नाम लिएँ ।

सम्मान सिफारिसका लागि चाँजोपाँजो मिलाउनकालागि जिवन सरसित मोरिस हेर्जोगको आरोहणबारे केहि छलफल गरियो । यति सम्म कि मोरिस हेर्जोगको फोन नम्बरसम्म मैलेनै दिएको थिएँ । अस्ति मोरिस हेर्जोगको सम्मान गर्दा मोरिस हेर्जोगले लेखेको आफ्नो अन्नपूर्ण आरोहण बारेको पुस्तक २७ भाषामा प्रकाशित भनियो । त्योपनि मेरै लेखको आधारमा थियो । जुन मैले गल्ति ले २७ लेखेकोरहेछु २६ हुनु पर्ने ठाउँमा । दुतावासले त्यहि हेरेर सम्मान कार्यक्रममापनि २७ भाषामै भन्यो । मैले गरेको गल्तिपनि सच्चिएन । 

अब दुतावासले दोस्रो सम्मानको ब्यक्ति पियर माजोलाई छानेको छ । उनलाई सम्मान गर्ने सल्लाह पनि म र जिवन सर बिचनै भएको थियो । उनलाई सम्मान गर्न कूटनीतिक र प्रशासनिक काम जिवन श्रेष्ठलेनै अगाडि बढाएका हुन् । पियर माजोको सम्पूर्ण नालीबेली मैले नै तयार गरिदिएको थिएँ । उनको बायोडाटा तयार बनाएर पठाइदिएको थिएँ  जिवन सरको व्यस्तताको करणले गर्दा ।

नेपालको सानो दुतावासमा थोरै कर्मचारी छन् । सरकारले पर्याप्त मात्रामा कर्मचारी दिन सकेको छैन । दुतावासले चाहेर पनि धेरै काम गर्न भ्याउँदैन, सक्दैन । त्यसैले यहाँका नेपालीले नै सहयोग गर्नुपर्छ दुतावासलाई । त्यो सहयोग न त जिवन प्रकाश श्रेष्ठलाइ गर्ने हो । नत राजदूत मोहन क्रिष्ण श्रेष्ठलाइ । देशको लागि हो भन्ने सम्झेरै नेपालीले सहयोग गर्दै आएका हुन् ।

तर अस्ति मोरिस हेर्जोगको सम्मानमा राजदूत श्रेष्ठले मैलाई अपमान गरे। चोर औंलो ठड्याउँदै छाती पिटेर भने- तपाइले जे पायो त्यहि नलेख्नु होला खबरदार ददीजी ! मैले भन्दियाछु । उनले भन्न सक्नुपर्थ्यो ददिजीले के जे पायो त्यहि लेख्यो ? कुन विषयमा कहिले के लेख्यो ? दुतावासको कुन कार्यक्रममा कहाँ गलत सूचना गयो ? म राजदूत श्रेष्ठलाई यहि स्मरण गराउन चाहन्छु- ददिजीले जे पायो त्यहि लेख्ने भए किन म र मेरो साईटको प्रशंसा गर्नु भो हेर्जोगलाई सम्मान गर्ने दिन बिहानपनि ? तपाइले “साह्रै मिठो भाषामा लेख्नुहुन्छ” किन भन्नु भयो ? आरोप जे पनि लगाउने हो भने हामीले पनि त्यस्तै आरोप लगायौं भने कसो होला ? के मान्छेका जिवनमा गल्ति कमजोरी पटक्कै भएका हुन्नन् ? तपाईको कुटनितिक कार्यकालमा तपाईमाथि प्रश्न उठाउन ठाउँ कहिल्यै कतै भएका छैनन् होला ? लागि परौं भने त्यसको खोजि गर्दै हिँड्न सकिन्न होला र ?

नत्र के देशकै प्रतिनिधित्व गरेर बसेको ब्यक्तिले त्यति तल ओर्लिएर बोल्न मिल्छ ? म उत्तर चाहन्छु कुन दिन, के विषयमा, कुन कार्यक्रममा कसरि तपाईमाथि मैले नाजायज गरें ? यसको उत्तर दिन सक्नुहुन्छ ? यहाँलाई कुन दिन असहयोग गरेछु भन्ने याद गर्न नसकेर संझाइदिन अनुरोध गरेको हुँ । यहाँको उत्तर नपाएसम्म त्यसले घोचिरहने छ ।

राजदूत श्रेष्ठले झोक्किँदै भनेका थिए-मैले यत्रो ठुलो कार्यक्रम गरें । यसभन्दा अगाडिका दश जना राजदूतले के गरे ? अरु कुनै माइकलालले गर्न सक्यो ? तिन महिनामा मलाइ नेपाल पठाउँछु भन्नेहरु छन् । लौ त पठाएर देखाओस् त । नेपालीमा एउटा उखान छ- आची गर्नेलाई भन्दा देख्नेलाई लाज । बास त्यस्तै लाग्यो मलाई त । सम्मान गर्ने सल्लाह र बिचार दिने, सम्पर्क नम्बर र बायो डाटा बनाइदिन र तिनका नालीबेली खोजिदिने कै अगाडि के छाती पिट्नु ? जसले गरेपनि देशले गर्‍यो । नेपाली दुतावासबाट जे कार्यक्रम भएपनि समग्र देशको हित हुने हो । र त्यसको पहिलो जस राजदूत श्रेष्ठलाई नै जाने हो । यि सबै यावत कामहरु जे जसरि भए मैले कहिल्यै कसै समक्ष भन्न आवश्यक ठानिन । यहाँ चाहिँ मलाई उल्लेख गर्न जाति लाग्यो वास्तबिकता बुझुन् भनेर । किन भने अन्याय नै भएपछि त बोल्नै पर्छ होइन र ?

कम्तिमा उनले हामीले यत्रो कार्यक्रम गर्‍यौं । दूतावासका कर्मचारी मित्रहरु सबैले सहयोग गरे । यसमा तपाई बाहिर बस्ने नेपाली दाजुभाईहरुको पनि साथ र सहयोग पाएँ । फेरी फेरी पनि यसैगरि कार्यक्रम गरौं, हामीलाइ यसै गरि सल्लाह सुझाव दिनुहोला भन्दिएको भए महामहिम मोहन सरको ब्यक्तित्व के खिईन्थ्यो होला र ? दुतावासलाई मैले भन्दा अझ बढि सहयोग धेरै ब्यक्ति र संघ संस्था छन् । तिनले मैले यसो गरें भन्दै हिँडेका छैनन् । नेपालीलाई त्यति भन्दिँदा यो कार्यक्रम अरु कसैले गर्‍यो भनेर उहाँको इज्जत घट्थ्यो होला र ? बरु सबै नेपाली रमाउँथे । भविष्यमा अझ धेरै सहयोगी हात फैलाउँथे । तपाई आएदेखि अहिलेसम्म जसरि सकारात्मक आँखाले हेरेका थिए त्यसमाअझ विश्वस्त बन्थे, रमाउँथे । मोरिस हेर्जोगलाई सम्मान गरेको कार्यक्रमपनि असाध्यै छोटो, मिठो, ब्यवस्थित र प्रशंसायोग्य थियो । त्यो कार्यक्रम कसले नराम्रो भनेको छ र ?

बिरोधको आशय

राजदूतको आवास भनेको आफ्नो अभिभावकको निवास हो । बिहे गरेर दिएकी चेली माईत आए जस्तो । त्यहाँ आफ्ना दुख पोख्न पाइन्छ । मनका बह कहन पाइन्छ । उकुसमुकुसहरु लगेर बिसाउन पाइन्छ । समस्या भए सुझाव पाइन्छ भन्ने आसा हुन्छ । त्यो दिनपनि साथीहरुमा के भावना थियो भने जनताले रगत र पसिनाको समुद्र बगाएर ल्याएको गणतन्त्र कमजोर हुँदै छ । शान्ति संझौता धरापमा पर्ने छनक छ । जनताले संबिधान बनाउ भनेर पठाएका दल मारमुंग्री गरिरहेका छन् । देशमा समस्याका पहाडै पहाड छन् । ति सबै समस्याबाट पार पाउन देशमा पहिले गतिलो संबिधान हुनुपर्छ । त्यसले राजनीतिक स्थिरता ल्याउँछ । देशमा राजनीतिक स्थिरता भयो भने धेरै समस्या हल हुन्छन् । त्यसैले अहिले देशमा संबिधान बनाउनतिर लागुन देशका नेता । यो पत्नी बोकेर बिदेशका गल्ली चहार्दै घुमफिरमा रमाउने बेला होइन ।

नेताले गल्ति गरे भने तिनलाई सचेत पार्ने कर्तब्य हामी बिदेशमा बसेर स्वदेशको चिन्ता गर्ने नेपालीकोपनि हो । गलत कुरालाई कम्तिमा हामी प्रजातान्त्रिक भनिने मुलुकमा बसेका नेपालीले प्रोत्साहित गर्न नपरोस् । हाम्रो देशको ईज्जत र प्रतिष्ठा सँगै हामी नेपालीकोपनि ईज्जत र प्रतिष्ठा, मान सम्मान र भविष्य गाँसिएको हुन्छ । त्यसैले संबिधान नबनुन्जेल हामी देशका कुनैपनि नेतालाई बिदेश भ्रमण गर्न आउँदा स्वागत नगरौं बरु बिरोध गरेर पठाउँ । जुनसुकै दलका जो कोहि नेता आओस तिनलाई त्यसै गरौं । बास यहाँ उद्देश्य यत्ति थियो ।

त्यति गुनासो गर्न जाने साथीहरुलाई जे जसरिपनि थुम्थुम्याएर पठाउन सकिन्थ्यो । अथवा यो यति सानो प्रसंग राजदूत स्तरमा आउनुपर्छ र ? ल जिवन जी उहाँहरुको समस्या सुझाएर पठाउनुस् त भनेर छोडिदिनपनि सक्थे । आ यति सानो कुरा मा के टाउको दुखाउने ? ल भोली फोन गर्नुस् अनि समय मिलाउँला । कि छोडेर जानुस् म दिहाल्छु नी ! राजदुतले यत्ति भनेको भए कुरा जटिल थिएन । र त्यहाँ कुरा राख्न जाने मध्ये कोहिपनि रक्सीको नसामा थिएन । बरु त्यहां कुरा राख्न जाने मध्ये कसैले पनि रक्सीको थोपो सम्म छोएका थिएनन् ।

त्यो यति सानो विषय थियो कि दूतावासका तेस्रा सचिव खनालजीलेपनि सहजै समाधान गर्न सक्थे । तर राजदूत स्वयंले विवादास्पद बनाए । पहाडलाई तिल बनाउनुपर्ने उनको पेशा र पद हो । तर तिललाई पहाड बनाइयो जस्तो हामीलाई लागेको छ । अनि विषयलाई अन्यत्रै मोड्ने प्रयास । आफ्ना कुरा राख्नै नपाइ राजदूत श्रेष्ठ जंगिए । कम्तिमा के हो भनेर उपयुक्त तरिकाले समाधान गर्न कुरा सुन्नु पर्ने होइन र ? के आफ्ना राजदूतलाई नेपालीले आफुलाई लागेर कुरा सुनाउन पनि नपाउने त ?

हुन त कुटनितिज्ञ कस्ता हुनु पर्छ र कूटनीति के हो म पटक्कै बुझ्दिन । तर मेरो लाटो मनमा कस्तो लाग्छ भनेराजदूत भनेको यस्तो पेशा हो दुई देशबिच लडाईको अन्तिम अवस्था हुनै लाग्दापनि दुई देशका राजदूत सिमा क्षेत्रमा बसेर हाम्रो संबन्ध राम्रो छ, हामी आफ्नो संबन्धलाई अझ मजबुत बनाउँछौं भनेर हाँस्दै हात मिलाउन सक्नुपर्छ । राजदूत सर, के यति सानो विषयमा यस्तै आवेगमा आइरहनु भयो, छाती पिटी पिटी उफ्रेर झन गन्जागोल पार्नु भयो भने यहाँलाईनै अप्ठेरो नपर्ला र ?

दुतावास सधैं चाकरी, चाप्लुसी र चम्चागिरी गर्न पल्केकाहरुको कब्जामा पर्ने गर्छ । नयाँ काउन्सिलर वा राजदूत आउनासाथ तिनले त्यसै गर्न थाल्छन् र आउने कर्मचारीलाई अनेक तरिकाले घेराबन्दि गरेर फराकिलो दाहेरामा सोच्न सम्मपनि दिँदैनन् । पेरिसको नेपाली दुतावासमा पनि भएको त्यहि हो । यहाँका केहि चाकरीबाजले सबैलाई त्यसैगरी नचाउन हुन् । र त्यो नचाईमा अरुणप्रसाद धितालसम्म परेर गए भ्रष्टाचारको आरोप टाउकाभरि बोकेर ।

अब त्यस्तै आउरे बाउरेका कुरा सुनेर बस्ने की ? हजुर भनेको हजुर हो नी सर ! हामी छौं नी भनेर छाती पिटेकै भरमा तिनका कुरा सुन्ने की ! त्यसरि छाती पिटेर बस्नेले नेपाल र नेपालीका लागि के गरे ? अघिल्ला राजदूतकालागि के कस्ता रचनात्मक सहयोग गरेर नेपालको लागि काम गरे । यो हेरेर आफुले सकारात्मक काम गर्न खोज्ने कि ? यो महामहिम कै हातमा छ । यहाँकै बिबेकमा छ । भिर खोज्दै हिँड्नेलाई लौ है होस् गर्नुस् भन्न सकिन्छ । जानी जानी गए मै जान्छु तँलाई के मतलव भन्नेलाई राम राम भन्ने मात्रै हो । यसमा मेरो कुनैपनि पूर्वाग्रह छैन । बिनम्रता पूर्वक भन्छु -अन्तर्मनको आग्रह र तपाई असफल नहुनुहोस् भन्ने आशय हो ।

चम्चेहरुलाई चेतावनी र घाटा कसलाई ? अर्को ब्लगमा पढ्नुस् ।

तपाइँको प्रतिक्रिया