युरोपमा नेपाली ममः को भाउ ओरालो

“सरहरु नेपाली हो ?”

हो

“नमस्कार है ? सरहरुको घर कता पर्‍यो कुन्नी”

ठ्वाँस्स परेका दाह्रीमा केहि फुलेका रौं । पहिले पहिले बैदारले बोक्ने जस्तो एउटा झोला काँधमा छेकाटे काटेर भिरेको । अनुहारभरि अनिश्चय र हतारोका बादल मडारिएको प्रष्टै देखिन्छ । साँढे दुई विस जती उमेरको एक अर्धवैंशीले हामीलाइ देख्नासाथ सोधिहाल्यो पोर्चुगलको राजधानी लिस्बोनस्थित घोडा चोकमा । रहेछन् गोरखा घर बताउने द्विप जंग थापा ।

लिस्बोनमा रहेका संचारकर्मी मित्र बाबुराम भुसाल र म अर्का संचारकर्मी भिम कमल केसीको प्रतिक्षामा थियौं । हप्ता अघि बेलायतबाट फ्रान्स हुँदै कागज पाइन्छ रे, काम पाइन्छ रे भन्ने हल्ला सुनेर उनी पोर्चुगल हाम्फालेका रहेछन् । गोरखाको खेत बेचेर दलाललाई लाखौं बुझाए । ‘यूरोपका रुखबाट पैसा टिप्न’ आएका । तर यूरोप टेक्नासाथ उनका सपना भासिए । नोट टिप्ने बोट त के पाउँथे बरु उनी ‘टिक्नत पर्‍यो सर’ भन्दै जे जस्तो काम पाइन्छ त्यसैमा भौंतारिएका थिए । ‘लौ न सर केही काम पाइन्न भन्या ? मेरो त बस्दा र खाँदा गोरखाको बारी नै उड्ने भो । जस्तो काम पाइन्छ नभै भएन सर लौ न’ बिन्ति बिसाउँदै थिए उनी ।

लथालिंग वर्तमान र अनिश्चित भविष्य देखेपछि दुई वर्षदेखि पोर्चुगल भासिएका सञ्चारकर्मी बाबुराम भुसालमाथि आशाका आँखा गाडे उनले । ‘सरहरु यहाँ बस्नु भा कति भो कुन्नी ? कागज सागज त पक्कै भैसक्यो होला ।’

‘ दुई वर्ष भयो ।’ भुसालले जवाफ दिए ।

“ए पुरानो भैसक्नु भएछ त । अब त यस्सो भनेको लाग्छ होला नी सरहरुको त । लौन सर भाँडा माझ्ने काम खोज्नुपर्‍यो । लाज मानेर भएन त । हामी नेपालीले आउनासाथ अरु काम पाइन्न । भाँडा माझ्दिन भन्यो भने भोकै मरिन्छ त ” सुनाए ।

“भाषा सिक्नतिर लाग्नुस् हेर्नुस भाषा । एक त काम गर्ने बैधानिक कागज छैन । भाषा पनि नजानेपछि त के काममा राख्थे । पहिले भाषा त जान्नु पर्‍यो अलि अलि भएपनि । भाषा जान्ने हो भने काम खोज्नपनि सजिलो हुन्छ” भुसालले सम्झाउन खोजे ।

“भाषा जानेर पेपर पनि भएपछि त कल्ले काम लाउन परो र ? आफैंले पाइन्छ नी । अहिले त्यो नभएर पो सहयोग चाहिएको त । किचनमा बसेर ल्वाइँ का ल्वाइँ भाँडा माझ्न के को भाषा चाहियो र ?” बाध्यता सुनाए थापाले । ‘लौन सरको फोन पाउँ, म त फोन गरेर दुख दिन्छु है सर’ फोन टिपे ।

साथी भिम कमल टुप्लुक्क  देखिएपछि बाटो लाग्यौं । उनले शेर्पा रेस्टुरेन्ट पुर्‍याए ‘भोक लागेको होला नी ददि जी’ भन्दै । ठ्याक्कै हाम्रै खिचापोखेरी तिरको कुनै मम रेस्टुरेन्ट छिरे जस्तो । साइनबोर्ड छैन । उहि पाराले काठका भर्‍याङ घडप घडप बजाउँदै माथि उक्लियो । उस्तै पाराले टेबल र कुर्चि सजिएका छन् । भित्तामा नेपाली फिल्म चलिरहेको छ । किचनमा मासुका लप्का उसैगरि झुण्डिएका छन् । “यहाँ त नपाइने केहि छैन” भन्दै युवतीलाई भिम कमल केसीले भने- ‘ल बहिनी साँधेको भटमास, सुकुटी र मम पाउँ त’। उस्तै स्वाद र त्यहि पारामा छिनभरमै ट्क्र्याए उनिहरुले । ह्याँमानको माने बोत्तलमा टक्र्याएको बीयरलाइ संकेत गर्दै भुसालले भने- याँ त बियर नेपालको भन्दा सस्तो छ नी सर । एक बोत्तलको डेढ यूरो । दुई सय’नी परेन । 

यो म म पसल नेपालीको अखडा हो । घोडा चोकमा जम्मा हुनेको लर्को देखि एकाध घण्टा सुस्ताउन राजधानीको केन्द्र भाग निस्कने र साथीभाई भेटेर मनका बह पोख्न आफ्नै मम, सुकुटी र बियरको चुस्की सम्झिँदै नेपालीहरु यहिँ छिर्छन् । कान रन्काउने पिरो नेपाली चाउमेन र टिमुरको अचारले यै शेर्पा रेस्टुरेन्ट संझाउँछ ।

‘ओ सोल्टी के छ यार ? कागज भो तपाईको ?’

‘के हुने यार । सँगैको साथीको ९ महिनामै भयो यार । मेरो त दुई वर्ष भैसक्यो अँ हँ अझै भाको छैन । साफै दुख पाइने भो नी त हो’ बियरको चुस्की र ममका डल्ला चप्काउँदै गरेका दुई युवा दुखेसो गर्दै थिए ।

‘लौ सर म त हिँडे । माटामुनी नपुगि भाको छैन ।’ पल्लो छेउको एक युवा उठेर भन्यो ।

‘धत काँ जानी यार अहिलेनै माटामुनी ? माटामुनी जाने बेला भाको भएपो जानी हो ।’ अर्कोले ठट्टिँदै जवाफ दियो ।

‘खास नाम त मार्टीमुनी हो के रे सर । तर नेपालीले आउनासाथ काम खोज्छन् । भाषा जान्दैनन् । अनि नेपाली भाषामा मिल्ने नाम बनाइहाल्छन्’ बाबुराम भुसाल सुनाउँथे ।

‘दिनभरी भाँडा धस्काको छ धस्काको छ सासै नफेरी । माटामुनी जान पो के भर छ र’ अर्कोले सुनाउँछ । सबैका उकुसमुकुस पोख्ने थलो हो यो शेर्पा रेस्टुरेन्ट ।

नेपालको तुलना गर्दा यहाँको म म महँगो छैन । तिन यूरोमै टिमुर राखेको ट्वाक्क परेको अचार सहितको म म पाइन्छ । दाल, तरकारी र अचार सहितको दालभात तिन यूरोमै थपी थपी । नेपालीको जनसंख्या बढ्दै जाँदा नेपाली म मको भाउपनि ओरालो लागेको छ । यहाँको एक्लो शेर्पा रेस्टुरेटमा तामाङ मम एण्ड रेस्टुरेन्ट थपिएपछि नेपाली ग्राहकपनि तानातान र भाउ घटाघटको सुबिधामा छन् अहिले । तिन यूरोको ममको भाउ घटेर अहिले दुइमा झरेको छ ।

‘सर काँ भेटम्त भन्नुस् न’ । ‘त्यहि घोडा चोकमा आउनु न । लिस्बोन आएर जुन नेपालीलाई सोधे’नी घोडा चोक देखाइदिन्छ ।’ फोनमा यसैगरि जानकारी दिन्छन् नेपालीहरु । बेलायतबाट पोर्चुगाल आउने मेसो मिलाउन होस् कि पोल्याण्डमा बिद्यार्थी भिसामा ओर्लेको ठिटो । लिस्बोनमा पहिलो सम्पर्क मिलाउने ठाउँ लगभग यहि हो भने हुन्छ । नेपाली कोहिपनि चिनेजानेको छैन भने ‘घोडा चोकाँ पुगेसि त नेपाली भेटभैहाल्छन् नी’ भन्दै ताकेर आउने गर्छन् नेपाली । लिस्बोनको मध्य भागमा रहेको ब्यस्त पर्यटकिय चोकमा घोडाको मूर्ती छ । त्यहि देखेर नेपालीहरुले घोडा चोक राखेका हुन् । पोर्चुगाली भाषामा ठाउँका नाम नजानेपछि नेपालीहरुले त्यसैगरि आफु आफु बिच चिन्न नेपाली नाम राख्ने गर्छन् ।

हरेक दिनभरिनै जसो यो घोडा चोकमा नेपालीहरुको जमघट हुन्छ । दुखका पोका फुकाउन र सुखका कहानी बताउने ठाउँ यहि हो । पत्नी भेट्न नपाएको रन्थनी सुनाउन र दलालले भिसा लगाउँदा खाएको छ्याकनको रिस पोख्ने थलोपनि यहि । रेस्टुरेन्टको पानी जहाज चलाएर मध्यान्हमा ३ घन्टा छुट्टि हुँदा बिताउने थलोपनि यहि हो धेरै नेपालीको ।

होटेलको भान्छाको डुँडमा पानी भरेर राखिएको हुन्छ । त्यसमा बडे बडेमानका डेक्चीहरु तैरिन्छन् । तिनलाई तरिका मिलाइ मिलाई आफुतिर सारेर माझ्ने हो । त्यसैले नेपालीहरुले अहिले पानी जहाज चलाउने भन्न थालेका रहेछन् पहिले डेक्ची पाईलोट भन्ने गरिएको भाँडा माझ्ने कामलाई ।

बिहे गर्ने उमेर भएको छ । घरमा बिदेश गएको केटो भनेर केटी दिनेको भिड छ । आजकालका केटी न हुन् । केटो को हो भन्दै केटो प्रस्ताव गर्नेसित ठेगाना सोधेर आफैंले सम्पर्क गर्छन् । काम केहो सोधिहाल्छन् । भाँडा माझ्ने भन्न भो ? भाँडा माझ्ने भन्नासाथ ति बिच्किहाल्छन् । “त्यहि भएर मैले त पानी जहाज चलाउने भन्दियाछु घरमा । घरकाले त्यहि भन्दिन्छन् केटीपनि मख्खै । ” बिहेका लागि नेपाल जाने तरखरमा रहेका एक युवा हामी आधा दर्जन नेपालीका माझ सुनाउँदै थिए । 

त्यसो त कोठा नपाएर भौंतारिने, जागिरको टेन्सनले पिरोलिँदै आएकालाई संगठित गर्न राजनीतिक पार्टीका जनवर्गिय संगठनका स्थानिय नेताले संपर्क गर्ने, कसका कोठामा दुई चार रात कोचारिएर बिताउन सकिन्छ भनेर पत्तो पाउने, नेपाल जाने बिमानको टिकट कहाँ सस्तो, कोसित यस्सो दुई चार सय यूरो घरतिर पठाउन सकिन्छ ? आलु, चामल र जिब्रो रन्काउने पिरो खुर्सानी कहाँ गए पाइन्छ भनेर साराका सारा मेसो पाउन पनि यहिँ जम्मा हुन्छन् । यो चोकले धेरैलाई आकर्षित गरेको छ । “केहि कामले यतातिर आउँदा अलिकति समय रयो भने यहाँ आए’सि कोइ न कोइ नेपाली फेला परिहाल्छ” भिम कमल केसी सुनाउँछन् ।

-ददि सापकोटा, पोर्चुगल (वर्ष १६, अंक ३०, असोज १३ गते २०६७ का दिन जनआस्था साप्ताहिकमा प्रकाशित) ।

यसको बाँकी भागपनि आउनेछ नेपालप्लस हेर्दै गर्नुहोला ।

तपाइँको प्रतिक्रिया