नेपाली र पोर्चुगाली उस्तै उस्तै

(दाहिनेतिरका बाबुराम भुसाल र देब्रेतिरका भिम कमल केसी। तिनै जना मेडियाकर्मी। शेर्पा रेस्टुरेन्टमा मम चप्काउँदै)

हिजो पोर्चुगाल आइपुगें म बिहानैको विमानबाट । अघिल्लो महिना देखिनै तयारी थियो यहाँ आएर दुई चार जना विशेष कथा र ब्यथा बोकेका नेपाली अनि नेपाल र नेपालीकालागि लामो समयदेखि चिने जानेका र नेपालको सेवा गरेका केहि पोर्चुगालीसित अन्तर्वार्ता गरौं भन्ने । पत्रकारिता र लेखन एकै भएकाले लामो समय देखि मित्रताको डोरीमा गाँसिएका म र पोर्चुगल निवासी भिम केसी कमलले सबै सहयोगको हात तन्काए । साथ दिने अर्का मैले यस अघि नदेखेका, नचिनेका बागलुङका पत्रकार मित्र थिए बाबुराम भुसाल । केसीजीले मैले खोजे जस्तै, सोचे जस्तै नेपाली र पोर्चुगालीहरु सित भेटघाटको मेसो ट्याक्क मिलाए । हिजो मेसो मिलाएर पोर्चुगलको राजधानी लिस्बोन आइयो । आउँदा आउँदै ट्याक्सीमा मलाई कता कता नेपालको पारा लाग्यो । ट्याक्सीवालाले उहि नेपालमा झैं सडक बत्तीको वास्तै नगरि बिच बाटोबाट यस्सो हात उठाएर अर्कोतिर मोड्यो आफ्नो गाडी । बेगमा आएका दुईतिरका गाडी अचानक घ्याच्च घ्याच्च रोकिए ।

विष्णुमती किनारमा जस्ता फोहोरका केहि कन्टेनर, भित्ता भत्किएका घर । घर बाहिर झुम्म झुम्म जम्मा भएर बसेका मान्छे । साँघुरा गल्ली । कता कता नेपालको झल्को पाएर म खुशि भएँ । कमल र भुसालजीले दिएको ठेगानामा उत्रिएर ट्याक्सीवालालाई पैसा तिर्दा चालकसित  फिर्ता दिने पैसा भएनछ । फ्रान्सेली भाषा बोल्ने उसले ‘एकछिन है’ भन्दै मैले दिएको नोट च्यापेर बाटो बाटो ‘खुद्रा होला?’ भन्दै नेपालकै पाराले सोध्दै हिँड्यो । सडकका दुबै तिर जिज्ञासु आँखा हुत्याएको छु । हाम्रो नेपालमै जस्तो साना साना किराना पसल हुने रहेछन् यतापनि । दुई चार बट्टा चुरोट, केहि पत्र पत्रीका । छेउमा दुई चार किलो आलु प्याज र यस्तै खित्रिङ मित्रिङ । गज्जब रहेछ पारा ।

भिम जी र भुसालजी मलाई भेट्न बाटोमा बसेका रहेछन् । ‘चिया खान जाउँ’ भन्दै लगे एउटा रेस्टुरेन्टमा । ”गज्जब लाग्यो यार, नेपालकै पारा रैछ त यहाँपनि’ भनें मैले । कमजीले थपे’ यहाँ त नेपाल जस्तै छ । त्यसै भएर त नेपाल संझेर कम अत्यास लाग्छ । नत्र त नेपाल संझेर मरिन्थ्यो यार ‘ ।

कफी सुर्काउन्जेल कमल र भुसालजीले सुनाए यहाँका पोर्चुगालीको पारा । धेरै ठुलो लगानी नगरिकनैपनि यहाँ उहि नेपाली पाराले किराना पसल खोल्न सकिने रहेछ । सानो कोठा लिएर दुई चार टोकरी आलु, प्याज र सागपात झुण्ड्याएर बस्न मिल्ने । ८, १० जना अटाउने ठाउँ भाडामा लिएर चिया नास्ता रेस्टुरेन्ट खोलेपनि भएकै छ । केहि थान पत्रीका र खबरपत्रिका तेर्स्याएर गुजारा चलाउँछु भन्नेलेपनि गरेकै छन् । साना साना घुम्तीमा पत्र पत्रिका र किताब पसल चलाउने यहाँका नागरिक त के नेपाली समेत भैसकेका रहेछन् ।

यो राजधानी शहर । तैपनि घरका झ्यालतिर र सडकमा जेलिएका बिजुलीका तारले आफ्नो पनको झल्को दिने रहेछ । पोर्चुगालीपनि यूरोपका अन्य ब्यस्त मुलुकमा भन्दा फूर्सदिला रहेछन् । घर बाहिर प्रशस्त समय बिताउने । सडकमा निस्किएर गफ गाफ गर्ने । भुसालजी ‘यहाँका मान्छे फूर्सदिला छन् नी’ भन्थे । किन होला भनेको त ‘पैसा कम भएर’ रे । पैसा बढि भएपछि मान्छेलाई बढि ब्यस्त बनाउँछ भन्थे ।

पोर्चुगाली नागरिकहरु धेरै जसो आफैं बिदेशी मूलका रहेछन् । त्यसको फाईदा नेपाली मनले लिन पाएको छ । किनभने यहाँ रंगभेद पटक्कै रहेनछ । सबै बिदेशीलाइ सहर्ष स्विकार गर्ने रहेछन् । बिदेशी भनेर हेला र होचो नगर्ने भएकोलेपनि नेपालीले यहाँको बसाई रुचाएको बताउँथे भिम कमलजी ।

‘मेरो त काम छ सर बेलुका भेटम्ला है’ भन्दै कमल जी बिदा भए । खाना साना खाइवरि बाहिर निस्कियौं भुसालजी र म । सडकमा निस्कनासाथ नेपाली पारा देखिहालियो- रातो बत्ती बल्दा बल्दै झ्यामका झ्याम सडक काटे हुलका हुल मान्छेले । घोडाको अग्लो स्मारक भएको चोकमा पुगियो । त्यो चोकको नाम घोडा चोक राखेछन् नेपालीले । घोडा चोक भनेपछि यहाँका सारा नेपालीलाई कण्ठै ।

त्यसको नजिकैको गल्लीमा दायाँ बायाँ दुबैतिर रेस्टेरेन्ट रहेछन् बिदेशीकालागि । उहि ठमेलको पारा रहेछ यहाँपनि । हात हातमा मेनु लिएर पर्यटकलाई बोलाईहाल्ने- हेलो सर लुक आवर मेनु, आवर फूड ईज लाईक दिस लाईक द्याट, डेलिसियस यस्तै यस्तै । ‘के हो यहाँपनि पर्यटक बोलाउँछन् ?’ भुसालजीलाइ सोधें । ‘अँ त सर, यहाँ त जसले फकाएर भित्र लान सक्यो पर्यटकलाई उसैले बेच्यो खाना, गर्‍यो ब्यापार’ उनले सुनाए । पसलका छेउ छेउमा बसेर पर्यटकलाई बोलाउने नेपालकै पारा रहेछ यहाँ ।

बाटोमा प्रहरीहरु हतमा लाठी बोकेर छपक्कै बसेका छन् तर । भिमजी सुनाउँछन्- यहाँ कहिल्यै रोकेर सोध पुछ सम्म गर्दैनन् । त्यहि कारणले गर्दा यहाँ बस्ने कानुनी अनुमती नहुँदापनि नेपालीहरु निर्धक्कले प्रहरीको नाकै मुनीबाट थमठमी हिँड्ने रहेछन् ।

पोर्चुगाली टेलि सिरियलमा खेलेका एक जना नेपालीसित अतर्वार्ता गरेर निस्किएपछि हामी एन आर एन पोर्चुगलको कार्यालय गयौं । ओ हो हो म त जिल्लै परें कति धेरै नेपालीको भिड । ३० जना जति नेपालीलाई पोर्चुगाली भाषा निशुल्क पढाउँदै रहेछन् एन आर एन पोर्चुगालका मेडिया हेर्ने झलक केसी । उनको नाम बारम्बार सुनेपनि आजै मेसो मिल्यो भेट्ने । एन आर एन पोर्चुगालले यहाँका नेपालीलाई धेरै सेवा दिएको रहेछ । त्यसबारे म छिट्टै अर्को ब्लग लेख्ने छु । जे होस्, झलकजीले उनका बिद्यार्थीसित परिचय गराए । अनि त्यहिँ आइपुगिन नेपाल र नेपालीलाई माया गर्ने, सहयोग गर्ने, नेपाल र नेपाली जाने बुझेकि एक पोर्चुगाली नागरिक । उनको नेपाली नाम रहेछ रोजी दिदी । उनीसित अन्तर्वार्ता गरियो करिब् २ घन्टा नेपाल र नेपालीका बारेमा । कस्तो खरर नेपाली बोल्ने रहिछिन् ।

त्यसपछि कमल जीले ‘ददिजी खाजा खानु भो ?’ भनेर सोधे । अनि लगे एउटा नेपाली रेस्टुरेन्टमा । ठ्याक्कै नेपालकै पारा । नाम शेर्पा रेस्टुरेन्ट रे । टिमुर हालेको पिरो पिरो ठ्याक्कै नेपालकै जस्तो अचार । उस्तै मम । सुकुटी अनि साँधेको भटमास । त्यो खाउन्जेल त असनकै गल्लीभित्र पुर्‍याए कमजीले । नेपालीलाई नै लक्षित गरेर यहाँ यस्ता दुई वटा मम र सुकुटी रेस्टुरेन्ट रहेछन् ।

अहिले एकाबिहानै उठेर यी हरफहरु कोर्दापनि उहि नेपालमा झैं सुइय सुइय डांङ्रे र सुगा कराएको आवाज झ्यालबाट आइरहेको छ । कहिले बिरालो म्याउँ म्याउँ गरेको आवाज पस्छ झ्यालबाट । असन टोलमा  ठेला गाडा गुडाए झैं खटररर आवाजपनि सुनिरहेको छु । असनको  जस्तो साँघुरो गल्लिमा रहेको साथीको अपार्टमेन्टमा बस्ने म  बाहिर हेर्दा झ्याल झ्यालमा लुगा झुण्डिएका छन् । एका बिहानै कतररर आवाज आएको छ आराले काठ काटे जस्तै । पर कतै टाढा बजेको रेडियोको संगितपनि सुनिरहेकै छु । महिलाहरु बिहानै उठेर छलफलमा जुटेको आवाजले कानलाई उत्तिकै जिज्ञासु बनाएका छन् । खाली सिसी पुराना कागज, आलू भण्टा करेला लिने हो ? भनेर तराई मूलको कुनै टोक्रेले सोधे झैं टाउकोमा टोकरी बोकेर एउटा मान्छे यहि साँघुरो गल्लीमा के के फलाक्दै हिंड्दा नेपालकै कुनै गल्लीमा भए झैं लागिरहेको छ । आज अर्को मार्मिक कथा ब्यथा बोकेका नेपालीसित अन्तर्वार्ता छ । त्यसै गरि अर्को एक पोर्चुगालीसितपनि अन्तर्वार्ता को मेसो मिलाउँदै छन् भिमजी । नेपालीसितको भेटघाट त बाक्लो हुने नै भैहाल्यो ।

तपाइँको प्रतिक्रिया