मेरै क्यामरा पो बेच्दै रैछ बजियाले त !

-पुष्कर शाह

pushkar-shah-nepal-world-cyclist.jpgमेरो क्यामराको कहानीपनि त्यस्तै छ । हेर्दा क्यामरा जस्तो त देखिँदैन तर खास वास्तबिक क्यामरा नै हो । ओर्जिनल सोनी क्यामरा हो मैले बोक्ने गरेको । जापानमा बनेको । म कंगोको ब्राजभिलमा बाटोमा हिँडै थिएँ एक दिन । एउटा गाडी नजिकै आएर ढ्याक्क रोकियो । अनि गाडीबाट ओर्लनेहरुले भने- हामी प्रहरीहरु हौं । तपाइको परिचयपत्र देखाउनुस । पासपोर्ट दिएँ । तपाई प्रहरी कार्यालय जानुपर्छ, पछाडि बस्नुस गाडीको भने । गाडीमा बसे । मेरो पछाडि दुइ जना केटाहरु थिए । दुई सय मिटरजति पर पुगेपछि तिनले बन्दुक निकाले । तिनिहरु त कहाँ प्रहरी हुनु, लुटेरा पो रहेछन त । अगाडि बस्नेले त बन्दुक देखाइहाल्यो । पछाडि बस्नेले मेरो हत्कडी लगाइदिइहाल्यो । अपहरण भयो भन्ने भइहाल्यो । गाडि हुइँक्याइरहे । अपहरण गरेको त्यस्तै चार पाँच किमी पर लगेर गाडि रोके । अनि मलाई सोधे-के छ तिमीसित ? मसँग क्यामरा छ, मैले भने । अरु के छ ? मसँग घडि छ । अरु के के छ तिमीसित ? सित मोबाइल फोन छ । उनीहरुले सोध्ने मैले जवाफ दिने । मसँग २० डलर मात्रै थियो, त्योपनि दिएँ ।  तिनीहरुले धेरै धन्यावाद महाशय ! भन्दै मलाई छोडिदिए । भएको चाहिँ सबै लगिहाले धन्यावाद छोडेर के गर्नु ?  

अर्को दिन म कंगो रिपब्लिकको सिमा  क्षेत्रबाट फर्किँदै थिएँ । त्यहाँ कंगो रिपब्लिक र कंगो डेमोक्रेटिक भन्ने छुट्टाछुट्टै छन । म रिपब्लिकको दुतावासबाट फर्किँदै थिएँ ।  आउँदै गर्दा देखेँ-त्यहाँ त घडि, मोबाइल, क्यामरा, लुगाफाटो साराका सारा बाटोमा बिचिँदै रहेछ । त्यहाँ जेपनि पाइने रहेछ । एउटाले सोध्यो-सर, तपाईलाई रोलेक्स घडि चाहिन्छ ? कंगोको युद्दरत भुमीमा रोलेक्स घडि ? अचम्म लाग्यो मलाई । यसो हेरेको त साँच्चिकै रोलेक्स घडि जस्तै छ । कति हो मुल्य भनेर सोधें । पाँचसय डलर भन्यो । चाहिँदन तेरो घडि भन्ने भयो । पाँच सय भयो भने त यो साइकले तिन महिना बाँच्छ भने । त्यसैको छेउमा क्यामरा बेचिरहेका रहेछन । हिजै मात्रै क्यामरा लुटिएको मेरो । खाँचो त परिरहेकै छ । यसैपनि क्यामरा किन्नै छ भने काम चल्ने खालको पुरानो क्यामरा किन नकिन्ने ?

हेर्दाहेर्दै एउटा क्यामरा देखेँ जुन मेरै जस्तो रहेछ । सोधेँ-कति पैसा हो भनेर । एक सय ५० डलर भन्यो । कस्तो रैछ त भनेर समातेर फोटो खिचेँ । क्यामराभित्र त मेरै फोटोहरु रहेछन । मेरै क्यामरा पो बेच्दै रैछ बजियाले त ! ल भयो त ? के गर्ने अब ? प्रहरीलाई भन्ने कि के गर्ने के गर्ने । कस्तो अप्ठेरो पर्‍यो भने । बरु तिनलाईनै खुशि बनाएर क्यामरा लगौं भन्ने निर्णय गरें प्रहरीलाई खबर गरेर बबाल गर्नु भन्दा । किनभने म त बन्दुकै बन्दुकको केन्द्रमा न छु । कतै हतियार लुकाएर राखेको भए त बित्याँस पार्छन । सय, डेढ्सय डलरको लागि मार्दिए भने त गयो नी ज्यान ! किन प्रहरीलाई भनेर तिनलाई रिस उठाउने ? 

वादविवाद र घटाघट गरेर एक सय डलर तिर्ने मन्जुरी गरेँ । अनि सय डलर तिरेर आफ्नै क्यामरा किनेँ । अहिले मैले बोकिरहेको त्यहि क्यामरा हो । पैसा चाहिँ कहिलेकाहिँ म टायरमापनि हालेर लुकाउँछु ।  त्यो २० डलर बोकेर हिँडेको बेलामा चाहिँ म इन्टरनेट कहाँ पाइएला भनेर खोज्दै थिएँ । क्रमश :

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेख नगरि पठाउनु, झुक्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया