विमानलाई हार खुवाउने चरा

मानिसले चरा उडेको देखेर विमान बनाए । तिब्र गतिमा उड्ने विमान बनाए । असाध्यै आधुनिक भनिन्छ मानिसले बनाएका विमान । जतिसुकै आधुनिक बनाएपनि मानिसले बनाएका विमान कतै नरोकिइकन (नन स्टप) कति घण्टा उड्न सक्छन् ? कति दिन उड्लान ? मानिसले बनाएको असाध्यै आधुनिक भनिने विमान अहिलेसम्म ८२ घण्टा सम्ममात्रै आकाशमा लगातार (नन् स्टप) उडेको पाइएको छ । तर चरा ? लगातार आठ दिनसम्म उडेको उड्यै गरेको तथ्य हालसालै पत्ता लाग्यो ।

बार टेल्ड गडविट (bar-tailed godwit) भनिने पानी चरा (तस्बिरमा) ले आफ्नो बसाईसराईका क्रममा कहिँ कतैपनि नरोकिइकनै लगातार आठ दिनसम्म उड्ने रहेछ । यो चरा वर्षमा दुई पटक लामो यात्रा गर्छ । अमेरिकाको अलास्कादेखि न्युजिल्याण्डसम्म यात्रा गर्दा उसले ६८३५ माईल पार गर्छ ।

उसले हरेक जाडो याममा अलास्काबाट गएर न्युजिल्याण्डमा बिताउँछ र गर्मी याममा फेरी अलास्कानै फर्किन्छ त्यतिनै दूरी पार गरेर । गोडामा कुनै टायर नहुने यो चरा न त आठ दिनसम्म कुनै आहारा खान कतै रोकिन्छ नत आरामकालागि नै कतै सुस्ताउँछ । अहिलेसम्मको बैज्ञानिक खोज अनुसार बसाई सर्ने चरा मध्ये अन्य चराले यो यसको आधा मात्रै दूरी पार गरेको पाइएको छ ।

यो चराको बसाईसराई अध्ययन गरेका लुन विश्व बिद्यालयका एन्डर्स हेडन्स्ट्रोमका अनुसार अहिलेसम्म सबैभन्दा लामो उडान गरेको किनिक्ट जिफर (QiniteQ’s Zephyr) भनिने सौर्य शक्तिबाट चल्ने विमान हो । यो विमान तिन दिन र आधा मात्रै आकाशमा रहन सक्छ । यसरि आठ दिनसम्म आकाशमा निरन्तर उडिरहन सक्नुको कारण के होला ? किफायती तरिकाले ईन्धन खर्च गर्न सक्ने क्षमता । यो चराले लामो यात्राका क्रममा प्रति घण्टा आफ्नो शरिरको तौलको शुन्य दशमलव ४१ प्रतिशतका दरले मात्रै ईन्धन (चराको ईन्धन भनेको उसको शरिरमा जम्मा भएको बोसो हो) खर्च गर्छ । हेडन्स्ट्रोमको भनाईमा यो अरु बसाई सर्ने चराको तुलनामा असाध्यै कम हो ।

त्यसरि उड्न सक्नुको कारण के भने यो चराको शारिरिक बनावट एरोडाइनेमिक (हावामा उड्नकालागि अनूकुल) तरिकाले बनेको हुन्छ जसले गर्दा यसले हावालाई सजिलै पचाउन वा आफ्नो अनुकुल पार्न सक्छ । बोसो र प्रोटिनलाई बसाई सर्नु अघि उसले संचय गरेर राख्छ । अरु चरा र जिवको तुलनामा बार टेल्ड गडविट यसैपनि छिटो उड्ने चरा हो ।

यो चराका बारेमा धेरै प्रश्न र जिज्ञासाहरु रहने गरेका छन् । किनभने यो चरा कहिल्यै उडानका क्रममा हावामा हराउने गर्दैन । बैज्ञानिकहरुले के विश्वास गरेका छन् भने यो चराको शरिरमा भित्र एउटा दिशा सूचक (कम्पास) हुन्छ जसले प्रिथ्वीको ग्रुत्वाकर्षणलाई ग्रहण गर्न सक्छ । त्यसलाई उसले बसाईसराईका क्रममा एउटा आधार बनाउँछ ।

तपाइँको प्रतिक्रिया