घन्कियो पोर्चुगलमा मादल र सारङ्गी

– भीम के सी कमल / लिस्बन, पोर्चुगल

नेपालीहरुको गौरब र पहिचान,  मादलको घिन्ताङ् घिन्ताङ् र सारङ्गीको र्‍याईर्‍याई । सयौं संगीत पारखी । पोर्चुगीस् नागरिकहरुले खचाखच भरिएको शान्त हल ।  माथी नेपालका अवर्णनिय प्राकृतिक छटाहरुको दृष्यचित्र प्रदर्शन हुँदै गर्दा पोर्चुगलमा रहेका सारङ्गी उस्ताद एकिन्द्र हमाल भन्दै थिए- ठ्याक्कै नेपाल पुगेर धौलागिरीको छायामा बसी बिरहको धुन बजाएको सम्झना भयो ।

अबसर जुटाएको थियो, इन्ष्टिच्युट अफ् म्युजिक एण्ड आर्ट, पोर्चुगलले ।  कार्यक्रमलाई ब्यबस्थित गराउदै थिए, नेपाल र नेपाली खाना भन्दा मरिहत्ते गर्ने पोर्चुगीस् भलादमी पेद्रोले । कार्यक्रम पश्चात पंक्तिकारलाई भने – नेपाली खान जत्तिकै सुश्वादु रहेछ मादल र सारङ्गी सहितको नेपाली संगीत पनि ।

पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष एबं गैर आवासिय नेपाली संघ, पोर्चुगलका अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मकर हमालको सक्रियता र पोर्चुगल नेपाल मैत्री संघको संयोजनमा नेपाली टोली सम्मिलित भएको उक्त एसियाली संगीत संध्यामा नेपाली बाहेक पन्जाबी र गुजराती संगीत समेत प्रस्तुत भएको थियो ।

नेपाली लोक क्षेत्रका संगीत् पस्किएको उक्त कार्यक्रममा नेपाली संगीत् र परम्परा बारे पोर्चुगीसहरुले निक्कै जिज्ञाशा राखेका थिए । कलाकार प्रमोद कुमार श्रेष्ठको गायन तथा उदघोषण, तालबाजाका सिद्धहस्त भीम के सी कमलको मादल र सारङ्गी उस्ताद एकिन्द्र हमालको सारङ्गी सहितको सुमधुर सङ्गीत पश्चात बजेको लामो तालीको गड्गडाहटबाट नेपाली संगीत् प्रतिको अभिरुची बढेको सहजै महसुस गर्न सकिन्थ्यो ।

तपाइँको प्रतिक्रिया