अपहरणकारीलाइनै ढालेर जंगलै जंगल टाप

-पुष्कर शाह
तिनिहरुसित बन्दुक छैन पहिलो कुरा त । किनभने बन्दुक हुनेले छुरी देखाएर अपहरण गर्दैन । nepali-world-cyclist-pushkar-shah-nepalplus.jpgदोस्रो कुरा, छुरीले मानिसलाई बन्दुकले झैं एकैचोडी ड्याम्मै मार्न त सकिँदैन । तेस्रो कुरा उनीहरु चलाख छन, ट्रक भित्र मलाई मार्दैनन। ट्रक भित्र मार्ने भए तिन घण्टाको अवधिमा अघिनै मारिसक्थे ।  तिनिहरुले बाहिर मार्छन भन्ने भएपछि ल लडाई खेल्ने भन्नेमा पुगेँ म । मर्नु भन्दा अगाडि संघर्ष किन नगर्ने त ? बाँच्यो भने त बाँच्यो नि ! मर्छु भन्ने त यसै भयो उसै भयो । अब यसै मर्नु छ भने एक पटक फाईट खेल्नै पर्‍यो, बाँच्यो भने बाँच्यो भन्ने भएपछि निर्णय गरियो लडाई गर्ने ।

उनीहरु कुरा गरिरहेका छन । के भन्छन, के गर्दैछन केहि बुझिने होइन । बिचमा म बसिरहेको छु । शब्द नबुझेपछि यस्तो डर लाग्ने रहेछ कि झन ! यो बजियालाई कसरि मार्ने, हामिसँग चक्कु मात्रै छ भन्दा हुन । आफुले केहि बुझिएको छैन  । अनि ढोका खोल्यो । बाहिर लगेर मार्ने भएछ क्यारे अब भन्ने सोचेँ । छुरी लिएर गयो । अब धेरै ढिलो गरे मैले हान्नु भन्दा पहिल्यै मार्छन भन्ने भयो छुरी निकालेको देखेपछि। कतिखेर हानौं भनेर सोचिराखेकै थिएँ । अनि ढोका खोलेर त्यसले भुइँ छुन नपाउँदा नपाउदै एक लात्ती हानेँ । मजाले हानेछु । बल कसरि आएछ थाह छैन । लडेछ बजिया त । गर्लम्मै लडेछ । मपनि हाम्फाल्ने भएको त्यसैको अगाडि गएर लडेछु । अनि छुरी त छोडेको रहेनछ भुइँमा ढल्दापनि। हातैमा रहेछ। हानीहाल्यो एकचोटी ।
 
 छुरीको टुप्पाले लागिहाल्यो । छुरीको टुप्पोले छोएपछि त मलाई झटटट्ट बिद्दुत लागेजस्तो भएछ । अनि त मैलेपनि बजियालाइ त्यहिँ हाने । ढिलो अलिकति मात्रै भयो भनेपनि त्यहाँ खत्तम छ । किनभने अर्को ब्यक्ति गाडी बाट आयो भने त दुई जना मिलेर खत्तम पारिहाल्छन । त्यो आइपुग्नु अघिनै यो बजियालाई यहिँ सोत्तर नपारे खैरियत छैन भन्ने लाग्यो । १० सेकेण्ड भन्दापनि छोटो समयमा मैले भकाभक मुड्कीले त्यसलाई भकुरेर टाप कसे । लौ त, मेरो साइकल, महत्वपूर्ण वस्तु, यात्राका सामाग्री लगायत सबै बाई बाई ! जिवन भन्दा ठुलो साइकल र चिजबिज हुन र ?
 
त्यसपछि कुदेको कुदेइ कुदेको कुदेइ गरेँ ! निकै बेरपछि यसो हेरेँ, पछाडी कसैलेपनि पछ्याएको छैन भन्ने भएपछि बल्ल ठ्याक्क रोकिएँ । पुरै २० मिनेट कुदेछु म । हाफ कमिज, हाफ पाईण्ट लागएको थिएँ। जंगल पुरै सिउँडि (क्याक्टस) नै सिउँडीको थियो । त्यसको काँडाले पुरै घोचेर शरिर त पुरै रगत नै रगत भएछ। अरु केहि थाह पाइन खाली रगत बगेको मात्रै थाह पाएँ । त्यस्तो घनघोर जंगल छ । त्यहिँ माथि अँध्यारो न अँध्यारो । केहि देखिने होइन । खाली टाढा मात्रै देखिन्छ । तैपनि पछाडी फर्किने कुरा भएन । हिँडेको छु हिँडेको छु अनि हिँडेको छु । अनि धन्यावाद चाहिँ दिएँ है मैले आफैंलाई । आफैंलाई बचाए नि !
 
कहाँ आइयो कहाँ आइयो पत्तो छैन । तिन घण्टाजति हिँडेपछि अँध्यारो भुईमा कतै प्रकाश को केहि भाग आइइपुगेजस्तो, नजानिँदो रमरम, हो कि होकि, कतै वस्ति छ कि जस्तो भयो । तर निर्क्योल छैन अझै । त्यस्तो लागेपछि लौ बाँचियो क्यारे । बाँचे त हिँड्दै रहे पुगिएला नि त भोलि पर्सि सम्म कहि न कहि भन्ने भयो । तिन घण्टा हिँडिसकेपछि एउटा पुलिस स्टेशनमा पुगेँ । सहयोग गर्नु पर्ने पुलिस मलाई देखेपछि त उनीहरुनै डराउँछन बा ! मेरो शरिरभरि रगतै रगत देखेपछि डराएका रहेछन । मैले अंग्रेजी बोलेपछि ए यो त बिदेशी पो रहेछ भनेर बोल्न थाले ।

म्रित्यु बाट बचेको भन्नु पर्‍यो । अथवा साहसले बचाएको पो भनौ कि ! आ, दुइ जना छन । म भन्दा जब्बर छन । यिनलाई सबै कुरा थाह छ, मलाई छैन । दुइ जनाको अगाडी मेरो के सिप ? उनीहरुसित छुरी छ म रित्तो छु । लौ जे गरुन गरुन । अब मर्नु बाहेक अर्को उपाए छैन भनेर लत्तु छोडेको भए मलाई त्यो दिन त्यहिँ मार्ने थिए । क्रमश :

तपाइँको प्रतिक्रिया