एक घण्टामै बिवाहको प्रस्ताब

-पुष्कर शाह

pushkar_shah1.jpg म हङकङमा भएको बेलामा हो । त्यहाँ त अनौठै भयो झन त्यतिखेर मैले १५ वटा देश घुमिसकेको थिएँ। हङकङमा हुँदा खेरि मेरो थुप्रै प्रचार प्रसार भएको थियो। रेडियो, टिभी, पत्रपत्रिकाहरुमा थुप्रै छापिएको थियो। त्यो समाचार पढेर एक जना केटी मलाई भेटन आएकि थिइ। उसले मलाई साँझको खाना खानपनि बोलाई। गतिलो रेस्टुरेन्टमा लगि। खाना साना खाइयो गफसफ गर्दै। त्यसपछि त उसले म तिमिसँग बिवाह गर्छु भन्दै प्रस्ताव राखी। ए बा ! म त चित खाएँ। भरखर एक घण्टा मात्रै भको छ भेट भाको। यति छिट्टै हत्त न पत्त बिवाहको प्रस्ताब ?

मलाई असाध्यै अचम्म लाग्यो। अनि मैले तँ किन मसित बिवाह गर्न चाहन्छेस भनेर सोधेँ। उसले “आइ लाइक एडभेन्चरस गाइज (मलाई साहसिक यात्रागर्ने ठिटाहरु मन पर्छ) ” पो भन्छे। मैले पनि सोधेहालेँ-भरखरै बिवाह गर्ने? भनेर उ त अँ भरखरै बिवाह गर्ने भन्छे। लौ त्यसो भए मेरो पनि तिमिसित एउटा प्रस्ताब छ मसँग बिवाह गर्ने भए भने।  उसलेपनि सोधी हतारिएर-के हो त त्यस्तो प्रस्ताब ? मैले भने-अर्को एउटा साइकल किन्ने अनि दुबै जना विश्व भ्रमणमा जाने साइकलमा हुइँकिदै। मैले त्यसो भनेपछि त्यो त डराइ । “माफ गर, म त तिमिसित जान सक्दिन साइकल चढेर विश्व भ्रमण ” भनि उसले।  त्यसो हो भने म पनि बिवाह गर्न सक्दिन किनभने म पनि त तिमिसित यहाँ भेट होला अनि बिवाह गरौंला भनेर विश्व भ्रमणमा निस्केको होइन भनेर जवाफ दिएँ।  मैले थप भने-मेरो पनि त उद्देश्य छ। लक्ष्य छन। अन्य ईच्छा र चाहनापनि हुने नै भए। म यहि हङकङमा खाँदिउँला भनेर निस्केको थिइन। यहाँसम्म पुगौंला, यसो गरौंला र यति देखौंला घुमौंला भन्ने छ । मसँग जान नसक्ने भए मपनि तिमिसित बिवाह गर्न सक्दिन, मलाईपनि माफ गर। 

मेरो उत्तर सुनिसकेपछि उ त के भन्छे- आइ विल वेट यू रे ( म तिलाई पर्खिबस्छु नि रे) “।

बाफ रे ! अचम्मै भो । किनभने एउटा मान्छे संसार घुम्न निस्कन्छ ११ वर्ष । अनि अर्को मान्छे त्यसलाई पर्खेर बस्छ ११ वर्ष त्यो नफर्किउन्जेल भने त्यो पनि ठुलै कुरा भयो। पर्खिन सक्छेस भने पर्खिन के भो र भने  त्यसपछि उ र म साथी भयौं । अनि हङकङमा बसुन्जेल मलाई अावश्यक जे थियो त्यो सबै पुर्‍याइदिइ। खान, बस्न, सुत्न, लुगा फाटो, होटेल सबैका सबै । उ धनी केटी रहिछे।

बिस्तारै जाने बेला पनि भयो। म बिमानस्थल गएँ। बिमानस्थलमा कुर्नुपर्ने थियो जहाज चढ्नकालागि। दक्षिण कोरिया उड्नुपर्ने थियो मलाई। उ पनि आइ मलाई बिदाई गर्न । उसले मलाइ सहयोग गरि हङकङ बसुन्जेल । आत्मियता देखाइ। साथी भइयो नजिकको । म हिँड्ने बेला भएपछि नरमाईलो लागेछ। बिमानस्थलमा रोइ उ । मैले नरोउ नरोउ भनेर सम्झाउने कोसिस गरे। उ रुने म नरो नरो भन्दै सम्झाउने भइरहेको थियो  अनि उसले मलाई अलिकति पैसा दिइ । म माग्ने मान्छे । कसैले मलाई एक पैसा दियो भनेपनि नाई भन्दिन। किनभने आफ्नो यात्रै त्यसरि चलेको छ । उसले दिएको पैसापनि नाई भन्ने कुरा भएन । पैसा लिएँ । पैसा थैलीमा घुसारेपछि धन्यावाद भने अनि त “यो पैसा तँलाई होइन नी “पो भन्छे।त्यसो भए किन दिएको यो पैसा मलाई ? भनेर मैले सोधेको त “तँ जुन जुन देश जान्छस त्यो त्यो देशबाट मलाई टेलिफोन गर्नु यो पैसा ले, तैले खर्च गर्ने होइन” अरे। उसले दिएको पैसा रहुन्जेल मैले फोन गरिरहें बेला बेलामा । त्यो पैसा सकिनै झण्डै झण्डै तिन वर्ष लागेछ । पैसा सकिएपछि मैले उसलाई सोधें-फेरि फेरि पनि फोन गरौं कि ? त्यसपछि उसले “पुग्यो अब त” भनी। (पुष्कर शाहका दैनिकीहरु क्रमश: प्रकाशित हुँदै जानेछन-नेपालप्लस)

तपाइँको प्रतिक्रिया