कस्तो उदाहरणिय हंगेरीको नेपाली समूदाय !
(तस्बिरमा दाहिनेबाट गाबोर, रेबिका पून,कौशिला गुरुङ, म, सुरेन्द्र श्रेष्ठ, आफ्नो वालकसहित पुष्पा र उनैका पती सोनाम) ।
हंगेरी भन्ने मूलुकले के अर्थ राख्छ आम नेपालीलाई ? न ब्यापार आदान प्रदान न त सांस्क्रितिक लेनदेन । न हाम्रो छिमेकि न त हंगेरियन पर्यटककै नेपालमा आकर्षण । यूरोपमै परेपनि मलाई समेत त्यसको उति वास्ता थिएन । गत साल यूरोप स्तरिय नेपाली महिलाहरुको भेला पेरिसमा हुँदा बल्ल त्यो देशमापनि नेपाली रहेछन् भन्ने बुझेको थिएँ मैले । त्यहाँबाट डा. राम रोक्का र सुनिता बस्नेत सहभागि हुन आएकाले । उनीहरु आए, भाग लिए, हामीसित भेट भयो, रमाइलो थपियो। अनि सकियो । जाने बेला निम्ता त दिएका थिए नै ‘लौ हंगेरीपनि घुम्न आउनुहोला’ भन्दै । तैपनि त्यहाँ जाउँला झैं लागेको थिएन । यसपटक यूरोपका केहि देश घुमेर अर्को पुस्तक लेख्ने जब सोच बन्यो अनि एक्कासि हंगेरी पुग्ने अकस्मात योजना बन्यो ।
अष्ट्रियामा वन विज्ञान अध्ययन गर्दै रहेका केहि साथीहरुले ‘लौ भियनाबाट हंगेरीको बुढापेस्ट टाढा छैन, अनि त्यहाँ एकदम सहयोग गर्नेपनि एनआरएन हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ छन्, जानुस् कि जानुस्’ भने । मेल लेखें सुरेन्द्रजीलाई अप्ठेरो मानी मानी । अचम्मै भयो, उनले यस्तो स्वागत गरे । यति खुला दिलले सहयोगको वचन राखे कि आफैं अचम्म परें ।
म हुस्सुले वास्तै नगरि दशैंको बेला पारेर टिकट लिएछु । जब थाह पाएँ त्यसलाई बदली गर्न ढिला भैसकेको थियो । अनि आफुलाई घुम्नु मात्रै थिएन कि नेपाल संबन्धि गहिरो चासो राख्ने कोहि हंगेरियन छ कि पत्ता लगाएर नेपालबारे अन्तर्वार्ता गर्नुपनि । अनि हंगेरीमा बस्ने त्यस्तै विशेष कथा बोकेको कुनै नेपालीसितपनि अर्को अन्तर्वार्ता लिनु थियो । सुरेन्द्रजीलाई यो कुरा सुनाएँ । उनले तुरुन्तै भने जस्तै प्रस्ताव गरे । खोजेको भन्दा अझ प्रभावकारी दुई पात्र ।
भियनाबाट साँढे दुई घण्टा जतिमा पुगिने रहेछ रेल चढेर । बुढापेस्ट पुग्ने दिन दशैंको बेला पर्यो। त्यहि बुढापेस्ट कहिल्यै पुगिएला जस्तो लागेको थिएन । त्यहिँ सुरेन्द्रजीले दशैंको प्रमुख अतिथि बन्ने प्रस्ताब पो गरे । छक्कै परें, सम्मान त हो तर आफैंलाई चित्त बुझेन । अनि सुरेन्द्रजीलाई लेखें, ‘म त्यस्तो प्रमुख अतिथि हुन लायकको मानिस होइन । त्यो स्तरमा म पुगिसकेको छैन । प्रस्तावका लागि धेरै धन्यावाद सम्मान साथ आग्रह गर्नु भएकोमा । म तपाईहरुसित सहभागि हुन मात्रै पाउँदापनि खुशि हुने छु एकदमै’। नाईनास्ती भएन ।
बुढापेस्ट म ओर्लिएँ । तर सुरेन्द्रजीले म आउने खबर निक्कै ढिलो पाएका रहेछन् । रेल स्टेसनमै तपाईलाई ट्याक्सी चाहियो ? शहरको मध्ये भाग पुग्ने हो ? भन्दै ट्याक्सी चालकहरुको ओइरो लाग्यो। हंगेरी यूरोपेली यूनियनभित्रै परेपनि मुद्रा आफ्नै चल्ने रहेछ।
एक घण्टा पर्खिँदापनि सुरेन्द्रजी नआएपछि साईबर खोजेर फोन गरें । त्यतिन्जेलसम्म केहि लजवालाहरु ‘ल मेरोमा सुत्नुस्’ भन्दै लजका कोठाका फोटा र ठेगाना देखाउँदै आइपुगेका थिए । हंगेरीमा कस्तो चलन रहेछ भने आफ्नै घर वा अपार्टमेन्टमा केहि कोठा लजको रुपमा पर्यटकलाई राख्ने। घरमा आफ्ना लागि पकाएको खाना मनासिव मूल्यमा बेच्ने। एक जना सुतेको एक रातको ३५ यूरो मात्रै हो भनेर प्रस्ताब गर्ने धेरै थिए । आफ्नै देशको मुद्रा हुँदा हुँदैपनि त्यहाँ यूरोको आकर्षण बढि रहेछ । अनि पसलेदेखि ट्याक्सीवाला साईवरवालाले पनि यूरोमै पैसा माग्थ्यो ।
दशैंको बेला । अघिल्लो दिनपनि साथी भाई बसेर दशैंको रमाईलो मनाएका रहेछन्। ‘हिजोपनि सुतेकै छैन यार’ भन्दै चिर परिचित पारामा कहिल्यै नभेटेका, नदेखेका सुरेन्द्रजी झुल्किए। सुरेन्द्रजीकोमा पुग्नासाथ कौशिला गुरुङ र सायद उजिर जी हुनुपर्छ त्यहिँ भेट भए । अघिल्लो दिनको जमघटको मेलोमेसो मिलाउँदै गरेका ।
सुरेन्द्रजी सित बसेर अन्तर्वार्ताकालागि छलफल गरियो । त्यहाँ सुरेन्द्रजीको प्रभाव देखेर लोभ लाग्यो । अन्यत्र अन्तर्वार्ताकालागि निकै मेहनतका साथ खोज्दापनि पात्र हत्त पत्त जुर्दैन । जसलाई प्रस्ताब गर्यो उ फुत्किन खोज्छ । तर अचम्म, सुरेन्द्रजीले प्रस्ताब गरेकि पुष्पा त्यहिँ आइन अन्तर्वार्ता दिन । उनले साथमा आफ्ना पती सोनाम र सानो छोरोपनि बोकेर ल्याईन । उनले आफ्नो पती भारतीय पासपोर्ट भएको तर आफु नेपाली हुँदा हुँदैपनि बच्चाले पासपोर्ट नपाउँदा बच्चाको उपचार गर्न समेत नपाएको, अनि आफु अस्पत्तालको सैयामा बच्चाको स्वास्थ्यको चिन्ताले छट्पटाएको पीडा सुनाईन । मैले करिब दुई घण्टा त्यहिँ सुरेन्द्रजीकैमा उनीसित अन्तर्वार्ता लिएँ ।
उनीसित अन्तर्वार्ता लिँदा लिँदै नेपालमा निक्कै समय नेपाली बौद्द धर्म, बौद्दका उपदेश, बौद्दमार्ग संबन्धि गहिरो अनुसन्धान गरेका अनि हंगेरिमा बौद्द धर्म संबन्धि अलि मिहिन रुपमा अध्ययन गर्न चाहनेलाई पढाउने गरेका गाबोर त्यहिँ आइपुगे। ति दुबै जनासित असाध्यै राम्रो संबन्ध रहेछ कौशिला र सुरेन्दजीको । पुष्पासितको अन्तर्वार्ता सकिएपछि मैले गाबोरसित अन्तर्वार्ता लिएँ त्यहिँ सुरेन्द्रजीकैमा बसि बसि । उनीसितको अन्तर्वार्ता यति चाख लाग्यो भयो कि यहाँ लेखेर संभवै छैन । अर्को कुनै दिन लेखौंला । उनी अब नेपालमै बस्छु भनेर आफ्नो देशै त्यागेर हिँडेका रहेछन् कुनैबेला । उनको हंगेरी त्याग्ने ईच्छा नेपाली चेली रेबीका भेटेपछि बदलिएछ र उनी आफ्नै नेपाली पत्नीकै सुझाव र रहरमा फेरि हंगेरी फर्किएका रहेछन् । (बाँकि अर्को पटक) ।




