कस्तो छ नेपालमा महिलाको स्थिति ?

-रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ

 My_family_photo[1][1]प्रिष्ठभूमी

 नेपाली समाज हिन्दु आर्यन संस्कृतिमा आधारित छ । कुनै पनि धर्मले महिलाप्रति भेदभाव गरेको तथ्य उल्लेख भएको पाइदैन् । तर धर्मको गलत व्याख्यागरी महिलाहरु प्रति भेदभाव धेरै वर्षदेखी चलनचल्तीमा भएको पाइन्छ । आज भन्दा करीब सय वर्षअगाडी महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । प्राचीन युगमा महिलाहरुलाई मानव अस्तित्व विहिन बनाइ दासका रुपमा समेत प्रयोग गर्ने गरिन्थ्यो । र पुरुषहरुमात्र मानव हुन् भन्ने धारणाले समाजमा व्यापकता पाएको थियो । महिलाहरुलाई पशुसरह बेचविखन गरिन्थ्यो । तर्सथ राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको अभाव नै पुरुषहरुले महिलाहरुप्रति असमान व्यवहार गर्नुको प्रमुख कारण देखिन्छ ।

 समयको साथ साथै महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि हरेक क्षेत्रमा आवाज उठ्न थाल्यो । जसको फलस्वरुप वर्तमानमा आधुनिक परिवर्तन भएको देख्न सकिन्छ । स्वास्नी मानिसहरु शारीरिक र शक्तिका दृष्टिले पुरुषहरु समान नहुँदा नहुदैपनि पुरुष प्रदान समाजले उनीहरुलाई घरधन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको छ । प्रकृतिले नै महिलाहरुलाई पुरुषहरुभन्दा शारीरिक रुपमा कमजोर वनाएकोले, यसैलाई विशेष ध्यानमा राखी उनीहरुलाई संरक्षण र सुविधा प्रदान गर्न सकिएमा नै राष्ट्र्को समग्र विकास हुन सक्छ भन्ने धारणको विकास भएको पाइन्छ । तर्सथ नेपाल अधिराज्यको अन्तरिम संविधान २०६३ मा महिला, बालक, बृद्ध, शारीरिक वा मानसिक दृष्टिले अशक्त व्यक्तिको संरक्षण वा विकासको लागि कानूनद्धारा विशेष व्यव्स्था गर्न सकिने छ भन्ने व्यवस्था गरेको छ । कानूनले समेत संवैधानिक व्यवस्था गरेपनि हामीले इमान्दारीपूर्वक समाजलाई  नियालेर हेर्ने हो भने महिलाहरु वास्तवमा नै पछाडि रहेको पाइन्छ ।

 परिचय

 महिलाहरुलाई घरपरिवार तथा कृषि उत्पादनमा प्रदान गरिएको स्थान तथा श्रेय उनीहरुको अमूल्य योगदानसँग पटकै मेल खाँदैन । ग्रामिण क्षेत्रहरुमा, महिलाहरुले वस्तुभाउ हेर्ने, खेती बाली उव्जाउने जस्ता धेरैजसो काम गर्ने गर्दछन् । उनीहरु खाना बनाउन, वच्चा हुर्काउन, वुढा वुढीलाई स्याहार गर्न समेत जिम्मेवार वनाइएका हुन्छन् । पुरुषहरुले घरको काममा नसघाउने हुनाले महिलाहरुले पानी, वस्तुभाउको लागि चारा तथा दाउरा जम्मा गर्ने जस्ता निकै समय लाग्ने कामहरुको निकै धेरै भारी बोक्दछन् । धेरै परिवारहरुमा, महिलाहरु सम्पूर्ण पुरुष सदस्यहरुले खाइसकेपछि मात्र खान्छन् । खानाको कमी हुँदा उनीहरु खानावाट वंचित हुने सम्भावना धेरै हुँदो रहेछ । महिलाहरुको पनि पुरुषहरु सरह समान अधिकार छ, राजनैतिक निर्णय प्रक्रियामा प्रभाव हुनुपर्छ, तथा शिक्षा, भूमि, एवं पूँजी जस्ता स्रोतहरुमा समान अघिकार एवं नियन्त्रण हुनुपर्दछ भन्ने धारणको विकास हरेका क्षेत्रमा भएको पाइन्छ।

 नेपालमा महिलाहरुको यथास्थिति

 नेपालमा महिलाहरुको अवस्था र स्थितिलाई नियालेर हेर्दा महिलाहरु पुरुषभन्दा धेरै पछाडि छन् भन्ने कुरा उनीहरुको शैक्षिक स्तर, राजनितिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै क्षेत्रमा भएको सहभागिता, स्कूलहरुमा छात्राहरुको संख्या आदि कुराहरुबाट प्रष्ट हुन्छ । वास्तवमा गाउँघरमा त महिलाहरुले आफ्ना घरमा खाना पकाउने, खाना खुवाउने, वच्चाहरुको स्याहार गर्ने भाँडा माझ्नेदेखि लिएर घरको अन्य सवै काम गर्नुपर्छ । त्यसको साथै आफूले नसक्ने काम समेत जिम्मा लिई पूरा गर्नुपर्ने, पूरा गर्न नसकेमा लोग्नेको कुटाइ खानुपर्ने वा भोकभोकै बस्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म पुरुषहरु आनन्दले गफ मारेर बस्ने वा अरु कुनै मनोरञ्जनात्मक काम गर्छन् । बिहान उठेर घरको सम्पूर्ण काम पूरा गरेपछि घाँस दाउरा र मेलापात गरी साँझ अध्यारो भएपछि पुनः घरधन्दा सम्पूर्ण सम्पन्न गरी पुगनपुग खाना खाइ सन्तुष्ट हुनुपर्छ महिलाले । यस्तै कारणले गर्भवती अवस्थामा पौष्टिक आहार नपुगी रक्त अल्पता वा खतराजनक प्रसुतिका कारण कैयौ महिलाहरुको अकालमै मृत्यु हुने गरेको पाइएको छ । अर्का तिर हेर्ने हो भने नेपालका दुर्गम गाउँहरुमा त घरका बुहारीहरुले दासको रुपमा जीवन बिताइरहेका छन् । यसरी हेर्दा यस पुरुष प्रधान समाजमा महिलाहरु घेरै शोषित छन् भन्दा अतियुक्ती नहोला ।

 २०४८ सालको जनगणना अनुसार मातृ मृत्युदरलाई हेर्दा प्रति १०,००० जीवित जन्ममा ५३.९ प्रतिशत र महिलाहरुको साक्षरता ३० प्रतिशत रहेको छ । निजामति कितावखानाको अभिलेख अनुसार ८०,००० सम्पूर्ण कर्मचारीहरुमा ५००० मात्र महिला कर्मचारी छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू कुपोषणबाट ग्रसित (ख्याउटे र कम  तौल)  छन् । राष्ट्रिय स्तरमा, पाँच वर्ष मुनिकाको बाल मृत्यु दर प्रति हजारमा ६४ अनुमान गरिएको छ । शिशु मृत्यु दर प्रति हजारमा ४८ अनुमान गरिएको छ । प्रति १,००,००० जिबित जन्ममा २८१ का दरले हुने मातृ मृत्यु दर ज्यादै उच्च छ । प्रजनन उमेरका महिलाहरूमा हुने गरेको सम्पूर्ण मृत्युको पाँच भागको एक भाग गर्भावस्था तथा सुत्केरी हुने अवधिका जटिलताहरूसँग गाँसिएको छ (DHS 2006) । नेपालमा सुक्ष्म पोषणको कमी पनि व्याप्त छ । ६८ प्रतिशत सामान्य महिलाहरू, ७५ प्रतिशत गर्भवती महिलाहरू र ७८ प्रतिशत विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू रक्त अल्पताले ग्रसित छन् (नेपाल माईक्रोन्युट्रियन्स स्टेट्स सर्भे १९९८) ।

 सिविन र न्यू एराको अध्ययन अनुसार नेपालवाट वर्षोनी ४-५ हजार महिला भारतको बिभिन्न शहरका कोठीहरुमा बिक्रि हुने गरेको तथ्य स्पष्ट देखिन आएको छ । त्यसैगरी आफ्नो जीविकोपार्जनको कुनै आधार नभएको कारण बाध्य भई देहव्यापारमा लाग्नेहरुको संख्या पनि लगभग ५ हजार पुगिसकेको छ । नवौं पञ्चवर्षिय योजनामा पनि महिलाहरुको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरुलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैंगिक भेदभाव हटाइ समानता प्रदान गर्ने, राजनैतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यहरुमा महिलाहरुको सशक्तिकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिइएको छ । तरपनि यसवाट खासै प्रगति भएको देखिदैन् । महिला र पुरुषबीच समानता कायम गर्न, पिछडिएका महिलाका उत्थानका लागि विशेष कानून बनाइ अगाडि बढाउने भनिएतापनि महिलाहरुको उत्थानका लागि खासै विशेष किसिमको कानून बनाइ प्रभावकारी रुपमा लागु भएको उदाहरणहरु पाइएका छैनन् ।

 जसरी महिलाहरुलाई प्रकृतिले शारीरिक रुपमा अतिरिक्त जिम्मेवारी दिएको छ,  त्यस्तैगरी कानूनले पनि संरक्षण दिन नसकि कमजोर बनाएको छ । विभिन्न कलकारखाना र उद्योगहरुमा पनि शुरुशुरुमा महिलाहरुलाई निम्न स्तरको काममा लगाउने, पारश्रमिक कम दिने गरिन्थ्यो । कुनै काम महिलाले गर्न सक्षम भए पनि महिलाले त्यस्ता काम गर्न हुँदैन भनी रोक्ने गरिन्थ्यो । तराइ क्षेत्रमा छोरीको विवाह गर्दा सकेर वा नसकेर केटा पक्षले मागे जतिको दाइजो पूरा गर्नुपर्ने, ज्यानै गुमाउनुपर्ने सम्मको अवस्था सृजना भई ज्यान गुमाएका महिलाको संख्या पनि अधिक नै छ । तर हाल आएर त्यस्तो खालको अवधारण विस्तारै घट्दै गएको पाइन्छ ।

 (यसै लेखको बाँकि अंशमा सुदूर पश्चिममा महिलाको अवस्थाबारे हेर्न प्रतिक्षा गर्नुहोला-नेपालप्लस)

तपाइँको प्रतिक्रिया