ढल्यो भन्ने सुन्छु (गजल)
-भुवन पाठक / पर्थ, अष्ट्रेलिया
भाई भाई लडेरै घर, ढल्यो भन्ने सुन्छु ।
सिमानामा रुवाबासी, चल्यो भन्ने सुन्छु ।।
छिमेकीलाई मार्न भनी, बनाएको बम ।
आँगनमै पड्की घर, जल्यो भन्ने सुन्छु ।।
देश बनाउनु पर्छ भन्दै, साथ दिनु साटो ।
बिरोधका राँको दिउँसै, बल्यो भन्ने सुन्छु ।।
बलो चिरेर भाटा, भाग लगाउँदा खेरी ।
मुल खाँबो नै आज, गल्यो भन्ने सुन्छु ।।
जन्ताको तेत्रो मतलाई, बुझ्न नसकेर ।
आफ्नै भाइले बिचमा, छल्यो भन्ने सुन्छु ।।