बाकी प्रेमिका खोज्न हिँड्दा रेल भित्र किस

 -महेन्द्र पौडेल

गुहवाटीबाट रेलचढेपछि झुप्रा बस्तीहरु प्रशस्तै देखें रेलका लीग वरिपरी । ती झुप्रा बस्तीहरुमा मानिसहरु कसरी बस्दाहुन् ? झ्यालबाट ती झुप्राबस्तीबासीहरुको दैनिकी हेर्दा म भावुक बनेँ । फोहोरो पानी, वरीपरी जमेको छ । प्लाष्टिक र अन्य फोहोरका डम्पिंगहरु । चिसो । त्यैँमाथी सिमसिमे पानी । उफ् । बाँच्नका लागि मानिसहरुले केके गर्नुपर्दछ ।

सेकेण्ड क्लासको १२ नम्बरको मेरो डब्बामा एउटा पंजाबी आयो बस्न । त्यतिबेलासम्म म एक्लैँ थिएँ । उसले जुत्ता खोल्यो । आफ्नो झोला माथिल्लो बेडमा राख्यो । कस्तो ह्वास्स गन्हाएको ! सायद धेरैदिनसम्म उसले जुराफ नधोएको हुनसक्छ । मलाई हेर्यो ।

किधर जाने है भाइसाहेब ?

मैले भनें ‘आसाम ।’

क्यूँ ?

घुम्नेके लिए ।

चलो ठिक हे ।

उसले झोला खोल्यो । एउटा स्टिलको टिफीन निकाल्यो । त्यसमा केही तरकारीहरु र रोटी रहेछ । दुइटा रोटी खाइवरी पानी पियो । लामो डकार लगाएर सुत्यो । मैले उसको जिन्दगीलाई नियाँलेर हेरेँ । खुशीको जिन्दगी, यात्राको जिन्दगी ।

प्रत्येक स्टेशनहरुमा रेल रोकिन्थ्यो । पानीपुरी । चना ,चिया । तरकारी, पुरी आदि बेच्नेहरु चिच्याई चिच्याई आफ्ना सामानहरु बेच्न रेलमा आएका हुन्थे । हजारौ, लाखौंले पनि यसरी आफ्नो जीविका चलाएका हुँदारहेछन् । भारत भनेर के भन्ने मान्छेहरु कति इमान्दार हुँदारहेछन् भने थर्ड क्लासको डिब्बामा मान्छेहरु सकिनसकी उठेर झुण्डिएर यात्रा गरेका छन् भने अर्को सेकेण्ड क्लासको डिब्बामा कोही पस्ने रहेनछन् ।

उनीहरुको यो इमान्दारीता र हरेक काम गर्ने, कुनै काम पनि सानो ठूलो नसोच्ने बानी देखेर म दंग परिरहेँ । हामीकहाँ आएर तरकारी बेच्ने, हजाम काम गर्ने आदि सबै भारततीरका मान्छेहरु छन । हामी नेपालीहरु काम गराउने होइन गर्ने बानी भएका रहेछौं, त्यो पनि अर्काको ।

एउटा नेपाली सगरमाथाको देशमा जन्मेको हुन्छ । तर उसमा सगरमाथा जस्तो ओझिलो अग्लो टाउँको र स्वभिमानमा रहन सक्दैन किनकी ऊ साहुको जी हजुरीमा आफ्नो शीर झुकाउन बाध्य छ । एउटा नेपाली गाईलाई माता मानेर पूजा गर्ने देशमा जन्मेको हुन्छ तर ऊ त्यही गाउँको मासु दिनरात बेचेर छोराछोरी पाल्न बाध्य भएको छ । एउटा नेपाली बुद्द जन्मेको देशमा जन्मेर बुद्दले जस्तै संसारमा ज्ञान बाँडेको सगर्ब सुनाउँछ ।  तर ऊ मालिकका अगाडि अज्ञानी, मुर्ख र उदण्डको नामाकरण लिएर छाती खुम्चाएर बस्न बाध्य छ परिवारका लागि । संसारमै कहिल्यै अर्काको अधिनस्थ नभएको देशमा जन्मेको हुन्छ । तर ऊ अरु देशमा गएर अरुको अधिनस्थ बसेर जीविको पार्जनका लागि मेहनत गरिरहेको हुन्छ । किनभने कामलाई उसले बुझेको हुँदैन । लाहुरे हुने प्रवृत्ति ऊ बेला अंग्रेजहरुले प्रत्येक नेपालीको दिमागमा घुसाइदिएका कारण उसले विदेशमै जे गर्न पनि पछि पर्दैन । तर देशभित्र ऊ लाज मान्छ । यही कुरा रेलयात्रामा दिमागभरी सोचिरह्यो ।

ठ्याप्प, ठ्याप्प गर्दै हात बजारेर तेश्रोलिंगीहरु माग्न आउँने रहेछन् । हातखुटृा नभएका माग्नेहरु रेलमा कति हो कति । भारतको रेलमा यात्रा गर्दा जहिलेपनि खुजुरा पैसा लिएर यात्रा गर्नुपर्दोरहेछ । माग्नेहरुले हैरान पार्ने रहेछन् मागेर ।

नवरत्नको हल्का तेल शीरमा लगाएको थिएँ । कामाख्या मन्दीर दर्शनको टिका निधारमा थियो । मसिना ठुटा दारीहरु । निलो रंगको ज्याकेट र स्पोर्टस् सुज । खुटृालाई अर्कोसिटतीर तेसारेर हल्का हावा आउनेगरी झ्याल खोलेर सुतीरहेको थिएँ । क्यानडाकी एकजना केटी साथीले पठाइदिएकी हल्का गोल्डेन रंगको घडी थियो हातमा । म ल्यापटपबिना बाँच्न नसक्ने मान्छे हुँ । मलाई केही न केही लेखिराख्ने बानी बुझेकी एकजना इजराइलकी केटी साथीले ल्यापटप पठाइदिएकी थिई । त्यसलाई झोलामा राखेको थिएँ । मनलाग्दा रेलमा त्यो ल्यापटप चलाउँथे भने मन नलाग्दा त्यसलाई झोलामा प्याक गरिदिन्थें ।

त्यस्तै एउटी तेश्रो लिंगी म निदाएको मौका छोपेर उसले किस गरी । उसको किसले ब्युँझिएँ । ओठभरी लगाएकी उसको राता लिपिष्टिक मेरो अनुहारमा लाग्यो । मेरो अनुहार दुवैतीरबाट रातो भयो । लिपिष्टिक र लाजले । उसले मुसुक्क हाँसेर भनी ‘बुरा मत मान्ना । मुझे राह नहि गया ।’

मैले उसलाई १०० को नोट थमाइदिएँ । ऊ अर्को स्टेशनमा झरी । माथी सुतिरहेको पंजाबीले कतै देखेनछ ।

आसामका प्रत्येक रेल्वेस्टेशनमा बुढी एकल महिला देखेँभने कतै यिनै पो हुन कि बा की प्रेमिका भन्ने दिमागमा सोच आउँथ्यो । मैले घोरिएर हेरी राख्थेँ । उनको फेसलाई हेर्थें । आँखा, नाक, जिउडालहरु हेर्थें । सायद कतैकतै भौँतारिएर हिँडीरहेकी, वा माग्न बसेकी यिनै पो हुन कि ! मेरा दिमाग त्यतातिर घुम्थ्यो ।

पीता सुख, पितृ सुख दिमागमा घुमिरह्यो । बाको आत्माले पक्कैपनि मलाई साथ दिनेछ । मनले यही सोचिरह्यो । मैले जीवनमा सिकेको कुरा के हो भने मनको सुन्नु मनको अपनाउनु । त्यो लहडले यहाँसम्म ल्याएको हो मलाई, भन्नै परेन ।

सपना देख्ने बानीहरु टुटीसकेका छन् । टुट्ने सपनाहरु देख्न पनि नपरोस भन्छ यो मनले ।

म कतै घुमेंभनेँ त्यस ठाउँको वरिपरीको वस्तुस्थिति बुझ्ने प्रयास गर्दछु । नजिकका शहर र गाउँहरु हेर्ने प्रयास गर्दछु । मोवाइलको गुगल एप्लीकेसनमा त्यस ठाउँको नाम हालेपछि हिँड्दाखेरी म यतिबेला यस ठाउँमा आइपुगें भन्ने जानकारी सजिलो हुने गर्दछ ।

आसाममा नेपालका पुर्वीभेगका मान्छेहरुको छुट्टै बसोबास रहेछ । उनीहरु आफ्ना समुदायसँग मिलेर छुट्टै एरिया कब्जा गरेर बसेका हुँदा रहेछन् ।

अँ मैले बाकी प्रेमिका खोज्नु थियो । रनभूल्लमा दिनदिनै प्रताडित छु । समुद्रमा सियो खोजेजस्तै यताउता गरिरहेको हुन्छु ।

तपाइँको प्रतिक्रिया