२१ वर्षमा बल्ल साईकल देखेको हुँ

 

nepal-world-cyclist-pushkar-shah-nepalplus-1.jpgविगत दश वर्षदेखि म साईकलको माध्यमबाट संसारलाई परिक्रमा गरिरहेको छु। यो अवधिमा मैले ११७ वटा मुलुकको यात्रा पुरा गरे। संसारका सबै महादेशहरुको। र त्यो यात्राको क्रममा मेरो साईकलको पंाग्राले १ लाख ८६ हजार किलोमिटर दूरी पार गरेको छ। नापेको छ भन्नु पर्छ। लगभग झण्डै संसारलाई पाच फन्को दूरी लगायो भन्दापनि हुन्छ ।


हाल संसारमा भईराखेको जातिय युद्द
, धार्मिक युद्द र राजनीतिक युद्द जस्ता कुराहरुले संसारको सन्तुलन बिग्रीराखेको अवस्थामा नेपाल जस्तो एउटा सानो मुलुकबाटपनि शान्तिको फिलिंगो बोकेर संसारलाई शान्ति बाँड्न सकियोस भनेर म हिँडिराखेको छु।


मैले अनुभव गरिराखेको कुरा हो कि साईकलबाट यात्रागर्न सजिलो रहेनछ। कठिन छ, चुनौतिपूर्ण छ र जोखिमपूर्ण छ भन्ने अनुभव गरेरपनि मैले आफ्नो जिवनलाई, जिवनका सुनौला वर्षहरुलाई सडकमा डोर्‍याएर हिडिराखेको छु। हरेकदिन नेपाललाई, सगरमाथाको उचाईलाई, गौतमबुद्दको जन्मस्थललाई चिनाएर हिडिराखेको छु।


यात्रा आफैमा कठिन हुन्छ। हरेक दिन बदलिईरहने हावापानी
, वातावरण, प्रक्रिति, भाषा, खानेकुरा, मानिसका ब्यवहार र संस्क्रितिले हरेक दिन यात्रालाई चुनौति दिईराखेको हुन्छ। साँच्चिनै भन्ने हो भने यो एउटा एकदम कठिन कामनै हो। तरपनि म अहिले आफ्नो यात्राको लगभग लगभग अन्तिम पाईलामा आईपुगेको छु। म अझै एक वर्ष हिँड्छु। अब यो एक वर्षको अवधिमा अझै ३२ वटा मुलुक पार गर्छु भन्ने छ मेरो सोच अनुसार।


मेरो एक सय ५० वटा देशको यात्रा पुरा गर्ने लक्ष्य हो। यताबाट शुरु गरेर म पूर्वी यूरोप हुँदै पूर्वी सोभियत गणराज्यहरु पार गरेर म तिब्बत भएर नेपाल फर्किन्छु । अर्को वर्ष अर्थात् २००९ को अप्रिल, मे तिर म नेपाल पुग्छु।


सर्वप्रथम हामी नेपालीहरु। एडभेन्चर लाईफ (साहसिक यात्रा) मा पुगिसकेकै छैनौं भन्दापनि हुन्छ । म दोलखा जिल्लाको एउटा एकदम दूर्गम गाउँमा जन्मिएको मान्छे। माध्यमिक विद्दालय उत्तिर्ण गरेर २१ वर्षको उमेरमा काठमाडौं आएपछि बल्ल मैले साईकल देखेको
, छोएको, समातेको अनी सिकेको। त्यस्तो मान्छेले साईकलमा संसार कसरि हिँड्यो भन्ने ठान्नुहोला। अचम्मै लाग्दो कुरा।


त्यसमाथिपनि हामी नेपाली। भनौं न आर्थिक हिसाबलेपनि कहिँ भ्रमण गर्न सक्दैनौं । म बिना पैसा संसार घुम्न निस्किएको भन्दापनि हुन्छ। २०५५ साल साउन १६ गते। त्यो दिन आजपनि संझिन्छु म। मेरो आमाले मलाई यात्रा शुरु गर्दा
, यात्राको पहिलो दिन एक सय रुपियाँ दिनु भएको थियो। र त्यो एक सय रुपियाँ आजपनि म सित सुरक्षित नै छ। मेरो आमाले मलाई आशिर्वादस्वरुप दिनुभएको त्यो पैसा। एक जनाले भन्दै हुनुहुन्थ्यो-नेपाली पैसा कहिँपनि चलेन होला अनी सुरक्षित त भईहाल्छ नी !!!

क्रमश:
(
उहाँका यात्राका असाध्यै चाख लाग्दा अनुभव र तस्विरहरु नेपालप्लसमा लगातार आउँदैछन। हेर्न र आफ्ना प्रतिक्रियाहरु लेख्न नभुल्नुहोला-नेपालप्लस)


तपाइँको प्रतिक्रिया