एन आर एन स्विजरल्याण्डको अध्यक्ष पद कसको पोल्टामा ?

एन आर एन स्विजरल्याण्डको आगामी कार्यकालकालागि निर्वाचन हुने लगभग निस्चित देखिएको छ । अध्यक्ष पदमा वर्तमान कार्य समितिका महासचिव भूमी गुरुङ र उपाध्यक्ष पदकी सिमा गौतम छन् । दुबैले आआफ्नो उमेदवारीलाई सफल र सक्षम देखाउन प्रयासरत छन् । दुबैले आआफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । सानो देश भएपनि स्विजरल्याण्ड भनेपछि धेरैको ध्यान आकर्षित हुनाले यहाँ कसको नेत्रित्व छानिन्छ भन्ने विषयले युरोपमा महत्व राख्छ ।

शुरुमै अध्यक्ष पदको उमेदवारी सार्वजनिक गरेकाले भुमी गुरुङले प्रचारप्रसार, भेटघाट र उमेदवारीलाई स्थापित गराउन पहिलेदेखिनै लागेका थिए । सिमा गौतमले भने पछिल्लो समयमा तिब्रता दिन खोजेकि छन् । गुरुङले आफू अध्यक्ष पदको उमेदवार भएपनि अन्य पदहरुमा क्षेत्र, समूहहेरि समावेशी तरिकाले उमेदवारहरु उठाएर जानुपर्ने तर्क गर्दै आएका थिए । उनले स्विजरल्याण्डका जुरिच, बर्न, बासेल, जेनेभा लगायतका शहरमा सामूहिक र छुट्टाछुट्टै बसेर साझा सहमतिको प्रयासपनि केहि पटक थालेका थिए । कुनैपनि दल, राजनितिक बिचार, आस्था र समूहबाट अलग रहेर सबै स्विसबासीलाई एकसाथ एकताको शुत्रमुनी गाँस्दै एन आर एन स्विस जानुपर्ने भन्ने तर्क उनले भेटघाटमा दिँदै आएका थिए । सकेसम्म साझा सहमतिमा निर्वाचन नगरिकनै नेत्रित्व छान्नुपर्ने भन्ने उनको भनाई थियो ।

यस्ता बहस, भेटघाट र छलफल आयोजना नगरेपनि सिमा गौतमलेपनि अध्यक्ष पद बाहेक अन्य पदमा मिलाएर सहमतिका आधारमा जान सकिने बताउँदै आएकि छन् । उनले पनि आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेकि छन् । सामूहिक छलफल, भेटघाट र प्रभावका आधारमा भुमी गुरुङ हालसम्म अगाडि देखिएका छन् । निर्वाचन हुने दिनसम्म कसले कसरि मतदाता, प्रभावकारि ब्यक्तिहरुलाई तान्न, प्रभाव पार्न सक्छ भन्ने कुराले नेत्रित्व छनौटमा भूमिका खेल्ने छ । हेर्नुस् भुमी गुरुङ र सिमा गौतमको चुनावी एजेण्डा कस्तो छ ।

भूमी गुरुङका एजेण्डा

एन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा मेरो उम्मेद्वारी घोषणा

एन. आर. एन. ए. स्विट्जरल्याण्डका अग्रजहरु, स्विट्जरल्याण्ड स्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु, एन. आर. एन. ए स्विट्जरल्याण्डका सदस्यहरु एवं नेपाल र नेपाली लाई माया गर्ने आदरणीय स्विट्जरल्याण्ड बासी नेपाली जन समुदायहरु।

२००८ सालमा एन. आर. एन. ए. स्विट्जरल्याण्डको राष्ट्रिय समन्वय परिषद्को स्थापना पश्चात् एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई संस्थागत विकास संगै छाता संगठनको रुपमा निरन्तरता दिदै आउनु भएकोमा, एन. आर. एन. ए. स्विट्जरल्याण्डका अग्रजहरु, यो अभियानमा साथ दिनु हुने सबै एन. आर. एन. ए. स्विट्जरल्याण्डका सदस्यहरु र नेपालप्रेमी महानुभावहरुलाई ह्रदय देखिनै धन्यबाद दिन चाहान्छु।

एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई सबै नेपाली  जनसमुदायहरुको छाता संगठनको रुपमा अझै व्यबस्थित, संगठित र आर्थिक रुपले सबल बनाएर अगाडि लैजाने दृढ सोच र संकल्प सहित मैले एन. आर. एन. ए. स्विट्जरल्याण्डको २०१७-२०१९ कार्यकालको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेको छु।

२००५ दखि स्विट्जरल्याण्डमा आयोजना हुने बिभिन्न नेपाली कार्यक्रमहरुमा सहभागी जनाउनको साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बिभिन्न संघ-संस्थाहरु र एन. आर. एन. ए. स्विट्जरल्याण्डमा आवद्ध हुदै २०१५-२०१७ कार्यकालको महासचिव पदमा रहि कामगरेको अनुभवले पनि म लाई २०१७-२०१९ कार्यकालको लागि  नेतृत्व लिन सहज हुने विश्वास लिएको छु।

आदरणीय स्विट्जरल्याण्ड बासी दाजु-भाई तथा दिदि-बहिनीहरु,

म सन् २००५ देखि स्विट्जरल्याण्डको  यूरा कान्टोनको डेलेमो शहरमा मेरी श्रीमतिका साथमा बस्दै आएको छु। समाज सेवामा अझै सहजरुपमा क्रियाशिल भएर अगाडी बढ्नको लागी घर परिवारको पूर्णरुपमा सकारात्मक सहयोगका साथै तपांईहरुको सल्लाह, सुझाव, समर्थन र सहयोगले मलाई अगाडी बढ्न थप हौसला प्रदान गरेको छ।

एन. आर. एन. ए. स्विट्जरल्याण्डको २०१७-२०१९ कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरे लगत्तै स्विट्जरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकार मित्रहरु, वुद्दीजिवी वर्गहरु, एन. आर. एन. ए. स्विट्जरल्याण्डका सदस्यहरु र स्विट्जरल्याण्ड बासी नेपाली जन समुदायहरु संग प्रत्यक्ष भेटघाट गरी वहांहरुको सल्लाह, सुझावहरुको मूल्यांकन र बिश्लेषण गरी निम्न लिखित प्रतिवद्दताहरु जाहेर गरेको छु।

१, एन. आर. एन. ए. स्विट्जरल्याण्डलाई संस्थागत विकास संगै संगठानिक र आर्थिक रुपमा सबल र सक्षम बनाउन स्रोत र साधनको खोज तथा अनुसन्धान गरी व्यवहारीकतामा ल्याउने प्रयास गर्नेछु।

२, स्विट्जरल्याण्डमा आयोजना गरिने नेपाली कार्यक्रमहरु (बिशेष गरी नेपाली चाडपर्वहरु) को लागी यहां स्थित सबै संघ-संस्थाहरु र जन समुदायहरुको सल्लाह र सुझाव लिई, कार्यक्रमको बार्षिक क्यालेण्डर तयार गर्नेछु।

३, स्विट्जरल्याण्डवासी नेपालीहरुलाई आईपर्ने अफिसियल कामहरुलाई छिटो छरितो र सरलीकरण गर्नका साथै नेपाल र नेपालीको लागी गरिने कार्यक्रमहरुको लागी सबै संघ-संस्थाहरु र स्विट्जरल्याण्डका अनलाईन मिडियाहरु सित हातेमालो गरी नेपाली राजदुतावास जेनेभासंग  सहकार्य र समन्वयनको पहल गर्नेछु।

४, स्विट्जरल्याण्डमा बसोबास गर्दै आएका नेपाली तथा नेपाली स्विस परिवारका साना बालबच्चाहरुलाई नेपाली भाषा लेख्नपढ गर्ने स्कुल व्यबस्थापनको बारेमा अबिभावकहरु, संघ-संस्थाका प्रतिनिधिहरु र स्वयंसेवक गर्न ईच्छुक महानुभावहरुसंग छलफल गरी संभावनाहरुको खोजी गर्नेछु।

५, नेपालको पर्यटन विकासको लागी स्विट्जरल्याण्डका लागि नेपाली पर्यटन दुतहरु र नेपाली राजदुतावास जेनेभा संग सहकार्य र समन्वय गर्नेछु।

धन्यबाद।

तपांईहरुको सहयोगको अपेक्षा सहित,

भूमिराज गुरुङ

अध्यक्ष पदको उम्मेद्वार

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्ड कार्यकाल २०१७-२०१९

सिमा गौतमका एजेण्डा

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको १०१७-१९ को कार्यकालका लागि अध्यक्षमा मेरो उम्मेदवारी  सहित मेरो अनुरोध

सम्पूर्ण स्विसवासी नेपाली दिदीबहिनि र दाजुभाईहरुमा हार्दिक नमस्कार ,

म  सिमा गौतम  विगत १७ वर्ष देखि यहा बसोवासं गर्दै आईरहेकी  छु र यस क्रममा यहाको नेपाली समाज भित्र कुनै न कुनै रुपमा तपाइँहरु सग हातेमालो गर्दै अगाडी बढिरहेको यहाहरु सबैलाई थाहा  नै छ | स्विजरल्याण्डको नेपाली समाजमा तपाइहरु सगै हातेमालो गर्ने क्रममा अराउ समाजले गरेका हरेक क्रियाकालापमा हातेमालो र जिम्मेवारी बहन गर्दै  २०११ – १३ मा कार्य समितिको सदस्य , २०१३ – १५ मा कोषाध्यक्ष .२०१५ – १७ मा उपाध्यक्ष हुदै गैर आवासीय नेपाली संघ स्विजरल्याण्डमा आबद्ध रहेर आजसम्म निरन्तर गतिबिधिहरुमा  सहभागी र जिम्मेवारी लिदै अगाडी  बढिरहेकी  छु | यस अवधिमा विभिन्न पदमा  जिम्मेवारी बहन गर्ने सुवर्ण अवसर दिनु भएको  म आफुलाई गौरवान्वित  महसुस गरेकी छु।यसै त् विदेशको व्यस्त जीवनशैली त्यहि माथि पनि म  महिला जसले   काम गरेर बाच्न्नु पर्ने यहाको परिस्थिति ,समाज , घर परिवार सबैलाई जोड्दै यिनै अनुभव र तपाईहरुको स्नेह ,माया र साथले समग्र स्विजरल्याण्डको नेपाली समाजको नेतृत्वगर्ने आटका साथ् गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्डको आगामी कार्यकाल २०१७ – १९ का लागि अध्यक्ष  पदमा आफ्नो उम्मेदवारीका साथ् तपाइहरुको सामु आएकी छु |

स्विजरल्याण्डमा सशक्त र पहुच स्थानमा धेरै नेपाली महिलाहरु पनि कार्यरत हुनुहुन्छ । बिभिन्न माध्यमबाट वहाँहरुले यहाको नेपाली समाजका साथै नेपाल र नेपालीका लागि उल्लेख्य काम गर्दै आउनु  भएको छ । यति हुदा हुदै पनि हामि महिलाहरु सक्षम भएर पनि सामाजिक संघ संस्थाको नेतृत्व तहमा हाम्रो उपस्थिति निकै कमजोर अवस्थामा रहेको म लगायत हामी सबैले  महसुस गरेको कुरा हो । एनआरएनए जस्तो साझा संस्थामा महिलाहरुको नेतृत्वमा मात्र होईन कि सहभागिता समेत निकै कमजोर र न्यून  अवस्थामा छ । एनआरएनए एनसीसी प्रति नेपाली महिलाहरुको आकार्षण र सहभागिता बढाउन पनि मेरो उम्मेदवारी  जरुरी देखेकी छु । मेरो उमेदवारी हामि महिलाहरुको  सहभागिता मात्रै नभएर पुरुषले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउदै  महिला पुरुष समान भन्ने मान्यतालाई स्थापित  गर्दै हामीले पनि नेतृत्व गर्न सक्छौं भन्ने दावीदारी पनि हो । एनआरएनए भित्र  ३३ प्रतिशत महिलाको सहाभागीताको जोडदार रुपमा उठिरहेको र बैधानिक रुपमा  पनि अगाडी बढी सकेको यो समयमा एनआरएनए स्विजरल्याण्डको ईतिहासमा  पहिलो पटक  म एक महिलाले अध्यक्षमा  दावी गरेकी छु । यो केवल दावी  मात्रै नभएर अनिवार्य पनि देखिएकोले स्विजरल्याण्डवासी  सबैको साथ र सहयोगको अपेक्षा सहित आफनो उमेदवारी घोषणा गर्दछु ।

किन मेरो उम्मेदवारी ,

१ ,व्यक्तिगत  सोच र स्वार्थ बन्दा माथि उठेर  सस्थाको हितमा लाग्दै आगामी दिनमा गैर आवासीय नेपाली संघ स्विजरल्याण्डलाई सबै नेपालीको  साझा संस्था बनाउदै एकताको  सूत्रमा गास्ने पहिलो प्रयास हुनेछ |

२ , अब को १०/ १२  बर्षपछि एनआरएन एनसिसीमा सक्षम व्यक्ति ल्याउनका लागि अहिले नै नेतृत्व विकाश गर्न जरुरी छ । त्यसैले युवाहरुलाई जतिसक्दो सहभागी गराउदै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै उनीहरुलाई  हाम्रो भाषा संस्कृतिसँग जोडने कार्य योजना ल्याउने छु  ।

३ , हाम्रो भाषा संस्कृति रहेमा नै हामी नेपाली रहने हो , त्यसको  जगेर्ना गर्नका लागि सबैको साथ सल्लाह र सुझाव अनुसार अगाडी बढ्ने छु |

४ ,स्विजरल्याण्ड र नेपालका विच भावानात्मक , सास्कृतिक , भौगोलिक  र पारिवारिक सम्वन्ध भएकोले यसलाई नेपालसग जोडिएका स्विस नागरिक र यस क्षेत्र लाग्नु भएका नेपालीहरुको पहिचान गरि उहाहरुका विच समन्वय गर्दै सिप , ज्ञान र पुजीलाई एनआरएनए मार्फत नेपालमा उपयोग गर्न पहल गरि सम्बृद्ध नेपाल निर्माणमा टेवा पुर्याउने प्रयास गर्ने छु  |

५ , साधरण सदस्यका लागि परिचय कार्डको व्यवस्था गर्दै  स्विजरल्याण्ड भित्र सामुहिक रुपमा जादा सेवामा सहुलियत प्राप्त   क्षेत्र जस्तै – सवारी विमा , स्वास्थ्य विमा जस्ता ठाउमा सस्थागत रुपमा जाने (जस अनुसार  साधारण सदस्यले आर्थिक लाभ लिन सक्ने छन )  |

६ , नेपाल दुतावास , नेपाल पर्यटन बोर्ड ( स्विजरल्याण्डमा नियुक्ति हुनु भएका पर्यटन ज्यु हरु ) सग समन्वय र सहकार्य गर्दै सम्पूर्ण स्विस स्थित संघ , सस्था , समुह ,नेपाली मिडिया साथै  सम्पूर्ण स्विस वासी नेपालीको सहयोग र साथ लिएर सजिलो र सम्भव हुने स्विजरल्याण्डका ठुला शहर मध्य कहिँ नेपाली भाषा सस्कृति , पर्यटनको पर्वर्द्दन गर्नका  नेपाल फेस्टिवलको आयोजाना गर्नेछु |

७ . सदस्यता नविकरण र प्रत्यक पटक फारम भर्ने झन्झटिलो प्रथाको अन्त्य गर्दै एनआरएनए आईसिसिको संसार भरिका सदस्यलाई एकै ठाउमा राख्ने उद्देश्यले शुरु गरेको अनलाईन सिस्टमलाई समावेश गर्दै घर बाटै सदस्य बन्ने  व्यवस्था मिलाउने छु |

अन्तमा नेपाली समाजको नेतृत्व गर्दै गर्दा  माथि लेखेका प्रतिवद्दता सगै मैले धेरै जिम्मेवारी यो नेपाली समाजका लागि गर्नु पर्छ भन्ने चुनौतीलाई आत्मसाथ् गर्दै यहाको नेपाली समाजलाई एकै ठाउमा उभ्याउनका लागि मेरो सहकार्य ,आत्मसम्मान र  सहअस्तित्व सहित अगाडी  बढ्न  तयार रहेको पनि जानकारी गराउदै

तपाइँ हरु सबै स्विसवासी दिदीबहिनी एवम दाजुभाइहरुमा आगामी सेप्टवर ३ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको अधिवेसनमा आफ्नो अमुल्य मत दिई बिजयी गराउनु हुन् हार्दिक अनुरोध गर्दछु |

सिमा गौतम

अध्यक्ष उम्मेदवार

१०१७-१९

गैर आवासीय नेपाली संघ स्विजरल्याण्ड

तपाइँको प्रतिक्रिया