के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङ गढिमा ?
-रुपेन्द्र कर्माचार्य (फोटो, आलेख दुबै)
रत्ननगर,चितवन
प्राक्रितिक र सांस्क्रितिक महत्वका स्थान र भग्नावशेषहरुले आफ्नो गौरवमय इतिहासलाई उजागर गर्छन। चितवन जिल्लाको उत्तरी भागमा पर्ने दाहाखानी गा.वि.स.को उपरदाङ्गढीमा रहेको ऐतिहासिक किल्लाले विगतको गौरवशाली कथा बोकेको छ । समुन्द्र सतहदेखि लगभग १ हजार २ सय ७५ मिटरको उचाइमा रहेको यो किल्ला बाह्य शक्तिको आक्रमण विरुद्ध लड्न सन् १८०० को शुरुतिर बहादुर शाहको कान्छा छोरा शत्रु भञ्जन शाहले निर्माण गराएका हुन् (स्रोतः टि.आर.पि.ए.पी.) । अग्लो चुचुराबाट चितवन उपत्यका छर्लङ्ग देखिने भएकोले यो गढी रणनितिक हिसावले पनि महत्वपूर्ण थियो । घना जङ्गलले ढाकिएको र औलो जस्ता घातक रोगले संक्रमित चितवनको समथर भुभागमा पहाडियाहरुको बस्ती बस्नु पूर्व सन् १९६० को दशकको शुरुसम्म उपरदाङ्गगढी चितवनको सदरमुकाम थियो ।
चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुङ्गाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ । विच भागमा इनार र कोतघर (हतियार भण्डार गर्ने घर) छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशामा तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकि छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र वालकुमारी देवीको मन्दिर भने किल्ला भित्र छ ।
शक्तिखोरबाट हिडेर लगभग ३ घण्टामा पुग्न सकिने यो रमणिय स्थान चेपाङ, मगर र गुरुङहरुको पातलो बस्तीले घेरिएको छ । आर्थिक रुपले विपन्न तर सोझा र परिश्रमी यि विविध जनजातीहरुको आफ्नै मौलिक परम्परा, सस्कृति र रितिरिवाज छन् ।
उत्तरी भागमा अजंगका पहाड, आकाशै छेडुँला झैं गर्ने अग्ला हिमाल, दक्षिणी भागमा देखिने चितवन उपत्यकाको विहंगम दृष्यले यहाँ आउने जो सुकैलाई मन्त्रमुग्ध बनाइदिन्छ । आकाश सफा भएको बेला मनास्लु, बुद्ध हिमाल र गणेश हिमाल देखिन्छ ।
। त्यसैले,दिन वा रातको द्रिष्य हेर्न मानिसहरु चल्मलाईरहेका हुन्छन्।
बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणिय हिसावले पनि महत्वपूर्ण छ । पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुइँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु पाइन्छन् । पर्यटनको विकासको माध्यमबाट ग्रामिण जीवनस्तर उकास्ने उद्देश्यले टि.आर.पि.ए.पि. परियोजना मार्फत पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ्ग रुट) बनाइएको छ । पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ्ग, सिराइचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । पर्यटक र पथप्रदर्शककोलागि सम्बन्धित ठाउहरुमा होमस्टे (स्थानिय ब्यक्ति घरमा बस्ने खाने) को ब्यवस्था छ ।
हरेक दृष्टिकोणबाट रमणिय यि ठाउँहरुले पर्यटकिय विकासको थुप्रै सम्भावनाहरु बोकेका छन् । सही ब्यवस्थापन र प्रचार प्रसारको माध्यमबाट पर्यटन प्रवर्धन गरियो भने स्थानिय समुदायको आर्थिक स्तरमा पनि सुधार आउँछ । पर्यटकहरुलाई निश्चित ट्रेकिङ्ग रुटमा हिडाउने मात्र नभइ, तिनको बसाई लम्ब्याउन सक्यौं भने उनीहरुले सांस्कृतिक, भौगोलिक र जैविक विविधताको अनुभूति गर्न पाउँछन् । यसबाट स्थानिय जनताले पनि आर्थिक लाभ लिन सक्ने वातावरण सिर्जना हुन्छ ।
त्यसो त, यहि प्राक्रितिक छटा र चीत्ताकर्षक द्रिष्यथलो कहिलेकाहिँ समस्याको तगारोपनि बनिदिन्छ । यहाँ बहने तिब्र हावा र हुरीले म त्यो ठाउँ पुग्दा स्थानिय मानिसको छानो उडाइदिएर बिजोक पारेको थियो ।
थप जिज्ञासा भए लेखकसँग सिधै सम्पर्क गर्नुस–












