घर धान्ने महिला

सम्पन्न परिवारको प्रसंग अलग होला । धनाढ्यहरुको परिवारमा सायद महिलाहरु आर्थिक आय आर्जनमा कम भूमिका खेल्दा हुन् । पुरुषहरुले मनग्गे कमाएर घरको आर्थिक पाटो पुरा गरिदिँदा हुन् । तर मध्यम र न्युन वर्गका परिवारमा भने घर धान्ने महिलाहरु रहेछन् । यो वर्गका परिवारमा पुरुषहरुको कमाईले मात्रै घर धानिन्न । पुरुषहरुले घर खर्च धान्नेगरि कमाउन सक्दैनन् । त्यसैले मध्यम र न्युन वर्गका परिवारको घर धान्ने महिलाहरु हुन् ।




मध्यम परिवारका धेरै पुरुषहरु सानोतिनो काम गर्नपनि रुचाउँदैनन् । इज्जत जाला भनेर सानोतिनो आय आर्जनको काम गर्दैनन् । नाङ्लामा चुरोट, बिँडी र सुर्ती बेच्नु, सडकमा सुन्तला र स्याउ, तरकारि बोकेर हिँड्नु तिनका लागि ईज्जत जाने विषय बन्छ । सडकमा पोलेको मकै, फूल बेच्ने र सेल रोटी पकाएर दुइ चार पैसो कमाउनु तिनकालागि प्रतिष्ठाको विषय बन्दैन । त्यसैले ति यस्ता काम गर्दैनन् । महिलाहरु भने घर खर्च चलाउन, घरको गर्जो टार्न बढि चिन्तित हुन्छन् । त्यो किनपनि भने घरका केटाकेटाले सताउने भनेकोपनि महिलाहरुलाईनै बढि हो । त्यसैले महिलाहरु सानोतिनो काम गर्न हिच्किचाउँदैनन् ।


यस्तो काम गर्न थोरै लगानी भए पुग्छ । बिहानदेखि साँझै सम्म खट्नुपनि पर्दैन । कसैको निर्देशमा बस्नुपनि परेन । ठूलो सिपपनि चाहिएन । बालबच्चा स्कूल गएपछि यस्सो नाङ्लामा केहि पानीका बोत्तल राख्यो । बजार निस्कियो । केहि सुन्तला, स्याउ, तर्कारी र पान, सुर्ति र चुरोटका पाकेट लिएर सडकमा पुगेपछि ग्राहक भेटिहालिन्छ । दिनभरि बेच्यो । साँझ वालवालिका स्कूलबाट नफर्किँदै घर फर्कियो । फेरि तिनको हेरचाह गर्यो । यिनले कमाएको पैसाले घर खर्च चल्छ ।

हेर्दा सामान्य, थोरै लगानीको, अलिकति सामान देखिएपनि यसबाट महिलाहरुले राम्रै बचत गर्ने गरेका छन् । तिन देखि ५० प्रतिशतसम्म नाफ अहुन्छ, हरेक सामानमा । दिनभरि बेच्दा १०, १२ हजारको सामान्य जागिरे पुरुषले भन्दा बढि यिनै महिलाले कमाउँछन् । परिवारपनि हेर्छन् ।
तराई होस कि पहाड, मधेश होस कि ठूला शहर । जतापनि यस्तो सामान्य ब्यापार गरेर घर धान्ने महिलाहरुनै देखिए । मध्यम र न्युन परिवारको घर धान्नेनै महिलाहरु रहेछन् ।

पुरुषहरु फूर्सदिला हुँदापनि धेरैले तास, क्यारेमबोर्ड खेल्ने गर्दा रहेछन् । चौतारो वा पाटीमा बसेर पत्रपत्रिका पढ्ने, गफ गर्ने, चेस र बाघ चाल खेलेर समय कटाउँदा रहेछन् । महिलाहरु भने खेतदेखि धारोपानी, गाइभैंसी पालनदेखि सानोतिनो ब्यापार, रक्सी पारेर बेच्ने, तरकारी टिप्ने, माछा मार्ने, बाख्रा पाठा र कुखुरा, हाँसको दाना खोज्न जाने, क्रिषी र अनेक सिपमुलक काममा लागेर घर धान्ने रहेछन् । महिलाहरुलाई बेक्कारमा समय फालेको देख्न पुरुषहरुको तुलनामा निकै मुस्किल हुने रहेछ ।









