मह जोडीको एक साँझको मूल्य, तिन देखि पाँच लाख
यतिखेर नेपालका चर्चित कलाकार मह जोडी युरोपमा छन् । ति देश देश घुमीरहेका छन् । तिनको काम कला देखाउने हो । हँसाउने र रुवाउने दुबै हो । खुशि छर्ने र आनन्दित पार्ने हो । कलाकारको कलाको मूल्य हुन्न । त्यो अनमोल हुन्छ । मह जोडी त झन राष्ट्रका गौरव हुन् । ति विशिष्ठ छन् । तर मह जोडीलाइ यतिखेर हेक्का छ की छैन, तिनको हरेक साँझकालागि मूल्य तोकिएको छ । तिनको कला र गलाको मूल्य देश अनुसार फरक छ यद्दपी तिनले जुन देश गएपनि उस्तै र भेदभावरहित कला देखाउने हुन् ।
मह जोडी युरोप आएको राम्रो हो । जसले ल्यायो के शर्तमा ल्यायो होला ? यि पैसामा बिकेका, धन कमाउनैकालागि कुदेका कलाकार त होइनन् नै । पक्कै पैसाको बिटो र धनको लिटोमा टाँस्सिएर ‘हामीलाई यति रकम देउ’ भन्दै यिनले शर्त राखेनन् । तर तिनले नराखेर के भो ? यि जुन देश पुगेका छन् त्यहाँ यिनको मूल्य तोकिएको छ । देशनै पिच्छे, कार्यक्रम गरिने हरेक साँझका लागि फरक फरक मूल्य ।
कार्यक्रम गर्न जो इच्क्षुक छ उसलेपनि मह जोडीसित सम्पर्क गरेर तोक्न पाउँदैन । कसैले भाडामा लिए झैं मह जोडीलाई निम्ता दिन अन्य ब्यक्तिलेनै सम्पर्क गर्छ । मोल तोक्छ । मोलमोलाई, घटबढ चल्छ । विशेषत कार्यक्रमको पैसापनि तेस्रो वा कुनै बाहिरियाले लिन्छ । नेपाली कालकारमाथि कस्तो खालको ठेकदारी हो यो ? कस्तो खालको मौका छोपाई हो ? कुन खालको कमाई हो ? खादा ओढ्न, फूलका गुच्छा बोक्न र मह जोडीसितको निकटता अनि पहुँच देखाउने कुन तरिका हो यो ?
कुनै देशमा कार्यक्रम गर्नुपर्यो भने मह जोडीलाई सिधा सम्पर्क गर्न सकिन्न । त्यो मेसो र पहुँचनै छैन । त्यसैले बाहिरिया वा भित्रियासित सम्पर्क गर्नुपर्छ । तिसित सम्पर्क गरेपछि रकम तोक्ने काम अरुलेनै गर्छ । ‘एउटा कार्यक्रम गरेको पाँच हजार” । ‘हामी बसेको देशमा त उठाउन सकिन्न त्यत्रो रकम’ भन्यो भने ‘चार हजारमा झर्छ त्यो मूल्य । ‘त्यतिपनि सकिन्न’ भनेपछि तिन हजार युरो सम्म ओरालो लाग्छ मूल्य । त्यसपछि मह जोडीहरुलाई ‘यो दिन यो देशमा कार्यक्रम गर्ने’ भनेर लगिन्छ । मह जोडीका वरिपरि नेपालीको धुइरो लाग्छ, विमानस्थलदेखिनै ।
कार्यक्रम गर्न चाहनेपनि तल तालका छन् । नेपाली संस्थाहरुबिच कसले महजोडीको कार्यक्रम गराउने भनेर तानातान छ । कसले सबैभन्दा पहिले कार्यक्रम घोषणा गरिहाल्ने भनेर दगुरादगुर चलेको छ । जसले पहिले उछिन्यो ऊ पहुँचवाला देखिने मेसोपनि केहि ठाउँमा चलेको छ । नेपाली संस्थाहरुलाईपनि पर्व र अवशर परेको छ, नेपालमा यसो गर्छौं उसो गर्छौं, उठेको रकमले । नेपालमा भूकम्प गएका बेला भूकम्प पिडितका नाममा उठाएको राहतपनि पच पार्ने, खाने र बदनाम संस्थापनि छन् । केहि संस्थाले ‘मह जोडीको कार्यक्रमबाट उठेको रकमबाट बचत गराएर नेपालमा शिक्षा क्षेत्रमा सहयोग गर्ने’ भनेका छन् । कसैले अझैपनि भूकम्प पिडितकै सहयोगको नाम भजाएर महजोडीको कार्यक्रममा मान्छे तान्न खोज्दै छन् । कोहि यहि मेसोमा महजोडीलाई त्याएर कार्यक्रम गरेर ताली खाने र बिगतको दाग पखाल्ने दाउमा छन् ।
स्विजरल्याण्डमा मह जोडीका दुई वटा कार्यक्रम घोषणा भैसकेका छन् । जेनेभा विश्वकै सबैभन्दा महँगो शहर हो । यहाँ राखिएको कार्यक्रममा १५ स्विस फ्र्यांक प्रवेश शुल्क राखिएको छ । तर स्विजरल्याण्डको बेर्न (कसैले बर्नपनि भन्छन्) शहरमा भने ५० स्विस फ्र्यांक छ । मह जोडीको आकर्षणलाई भजाएर यतिखेर लोभ्याउने, रकम उठाउने र सकेजति चेपेर लिने मानसिकतापनि देखिएको छ । “प्रसिद्द कलाकार भएकाले मन मारिमारिपनि आ ईहाल्छन्, जतिपनि तिरिहाल्छन्, मौका यहि त हो सकेसम्म कसेर लिने” भन्ने मानसिकताले रकम तोकिएको छ ।
मह जोडीले एउटा कार्यक्रम गरे बापत पाउने कति हो ? तिनले भाउ तोकेका छन् ? कि छैनन् ? ति कुन उद्देश्यले आए ? सामाजिक हितकालागि रकम संकलन गर्न ? कि आफ्नो प्रसिद्दि अनुसार कमाउन ? कि कसैले यति दिनकालागि यति रकम भनेर फूटबल खेलाडीलाई झैं अनुबन्ध गरेका छन् ? कि ‘जहाँ जति पाइन्छ कसेर लिनुस्, नसक्दा हाम्रो भाउ घटाउँदै, झार्दै लैजानुहोला’ भनेर मोल तोक्ने स्विक्रिति दिएका छन् ? कि ‘नेपाली समूदायपनि हेरौं, बुझौं र आफ्नो कलापनि देखाउँ । यो मेसोमा एक पटक युरोपपनि घुमौं’ भन्ने उद्देश्य हो ? आम नेपालीका साझा कलाकार भएकाले के नेपालीले यो जान्न पाउनुपर्दैन ? के राष्ट्रका प्रसिद्द कलाकारलाई मूल्य तोकेर जसले जतिमा अनुबन्धित गराएपनि हुन्छ ?
नेपालमा शिक्षाका क्षेत्रमा सहयोग, भूकम्प पिडितकालागि सहयोग जस्ता नारा लगाएर आफू उपस्थित कार्यक्रमबाट उठेको रकम संवन्धित संस्थाले बिगतमाझैं हिनामिना गरे, खाए, लुकाए भने मह जोडी मोहोरा बने कि बनेनन् कसैको ? आफ्नो प्रसिद्दि, नेपालीको विश्वाश, सम्मान र उच्चतालाई मह जोडीले मोलमोलाई गर्न दिन मिल्छ ? के यसका बारेमा महजोडी जानकार छन् ?
सामाजिक सञ्जालमा छाएका केहि प्रतिक्रिया यस्ता छन् –
निराजन श्रेष्ठ
गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डले मह जोडीको कार्यक्रम गर्दैछ । गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले कार्यक्रमबाट बचेको रकमले नेपालमा शिक्षा क्षेत्रमा सहयोग गर्ने कुरा धेरै राम्रो योजना हो ? कार्यक्रममा सहभागी बनि कार्यक्रम सफल बनाउँ । तर गैर आवासीय नेपाली संघ स्विसलाइ स्विसबासि नेपालीहरुको एक प्रश्न रहेको छ । २५०० -३००० स्विस फ्रान्क खर्च गरि महजोडीको कार्यक्रम गरिंदैछ । जति खर्च गरेर कार्यक्रम आयोजना गरेपनि त्यो हाम्रो बिषय भन्दा बाहिर होला । तर जे जस्तो कार्यक्रम भएता पनि नेपालीहरुको संख्या कार्यक्रममा १०० -१५० सम्म मात्र हो । लगानी पैसा उठाउनका लागि भनेर प्रवेश शुल्क जुन तहमा (५० फ्रान्क) राखिएको छ त्यो राम्रो नभएको स्विसबासि नेपालीहरुको भनाइ रहेको छ । बचत रकम कसरि उठ्ला र सहयोग होला र ? हाम्रो देशका गहनाहरुको कला देखाउन खोजिएको हो या पैसा बटुल्न खोजिएको हो ? समयले बताउला ।
आशिश स्विस
होइन महलाइ ल्याउन त्यत्रो रकम खर्च गर्नु पर्ने ? त्यो पनि डिलिंग चहैँ अर्कै संग गर्नु पर्ने, बिचरा महले चै त्यो रकम पाउने हुन् कि होइनन ? जहाँसम्म शिक्षा क्षेत्र मा सहयोग गर्ने कुरा छ त्यो सर्हानिय छ । तर के सम्भब होला ? २५०० देखि ३००० प्लस ल्याउने लैजाने पनि त व्यहोर्नु पर्ला नि ? अनि हल भाडा, खाना खर्च इत्यादि कटाउदा कति रकम बाँकि बच्ला र सहयोग होला खोइ ?
श्याम सापकोटा
मह जोडी जस्ता वरिष्ठ कलाकारले ३००० स्विस फ्राङक दे, होइन भने हामि स्विसमा कार्यक्रम गदैनौ भने होलान जस्तो मलाई लाग्दैन । यो त उनीहरूको अघिपछि गर्दै यूरोप भरी डुली हिड्नेहरुको करामत होकि जस्तो मलाई लाग्छ। यो विषयलाई प्रष्ट पार्न जरुरी छ ।
अचुत प्रसाद फुयाल
मैले थाहा पाएसम्म स्विटजरल्याण्डमा संस्थागत रुपमा आयोजना गरियको । त्यसमा पनि गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको इतिहाँसमै अहिले सम्मको महँगो कार्यक्रम मह जोडीको । गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले आयोजन गर्न लागेको छ। शिक्षा क्षेत्रमा सहयोग गर्ने भनिएको छ, बाँकी रकम । किन गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले छुटै शिक्षा क्षेत्रमा सहयोग भनेर स्विसबासीहरुसंग रकम उठाउन सक्दैन र ? किन महकै कार्यक्रमको मैका पारी चर्को शुल्क असुल्नु पर्यो ? फेरि स्विटजरल्याण्डकै जेनेभामा व्यक्तिगत रुपमा आयोजना हुने महको कार्यक्रमको सस्तोमा आयोजना गर्न सकिने । तर सम्पूर्ण नेपालीहरूकै प्रतिनिधि गर्छु भन्ने संस्था गैर आवासीय नेपाली संघ गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डले नै यति धेरै चर्को शुल्क असुल्ने कोसिस गर्नु पक्कै पनि राम्रो हैन होला कि ?






