“सामाजिक परिवर्तनकालागि हुनुपर्छ सिनेमा” उपाशना नेम्वाङ

भर्भराउँदो उमेरकी कलाकार हुन् उपशना नेम्वाङ । उनीसित युवा अवस्थामै कलाकारिता क्षेत्रका थुप्रै अनुभव छन् । झन् एउटी युवतीले सानै उमेरमा गरेको मेहनत र संघर्षको प्रतिफलकी नमूनापनि हुन् उनी । अर्धवैंशे उमेरतिर ढल्किनपनि नपाउँदै उनले चालिस भन्दा बढि म्युजिक भिडियो र एक दर्जन भन्दा बढि सिनेमामा आफ्नो कलाकारिता प्रस्तुत गरिसकेकि छन् । नम्र बोली, सकारात्मक सोच र महत्वाकांक्षाबाट टाढै बस्न रुचाउने, सिनेमा क्षेत्रलाई सामाजिक परिवर्तनको माध्यमका रुपमा लिने उपाशना नेम्वाङले पहिलो पटक सिनेमाकै लागि बिदेश भ्रमण गरेर फर्केलगत्तै नेपालप्लस प्रतिनिधीले लिएको छोटो अन्तर्वार्ता हेर्नुस् ।

12804191_235229870155220_2114774970_n

के हो सिनेमा ? कस्ता सिनेमा मन पर्छन् तपाईलाई  ?

चलचित्र भनेको ठुलो रुपमा समाजको एउटा ऐना नै हो । यसले समाजमा भएको बिकृति र बिसङगती, बिभिन्न घटनाक्रम र परिवर्तनका सकरात्मक पक्षहरुलाई हूबहू चित्रण गर्ने कोशिश गर्छ । काल्पनिक कथाहरु पनि प्रचलनमा छन आजकल । त्यसको अलग ब्याख्या होला। बिशेष मलाई चाहिँ त्यस्तो चलचित्र मन पर्छ जहाँ समाजलाइ सुधार र परिवर्तनतिर उन्मुख गराओस । आशा उमङ्गहरु जगाओस । खुशीहरु प्रदान गरोस र सबैमा सकरात्मक सोच बृद्दी गराई समाज र समग्र राष्ट्रलाइनै नयाँ बाटो, नयाँ संसार देखाउन सकोस । यो सबै सिनेमाको माध्यम बाट सम्भव पनि छ।

नेपाली सिनेमा क्षेत्रमा कलाकारको भविष्य कस्तोछ ? सिनेमा खेलेर बाँच्न सकिन्छ ?

12788109_234789800199227_948591861_n

महत्वपूर्ण प्रश्न शुरू मा नै गरिदिनु भयो। सबैको आआफ्नै भोगाइ र त्यस अनुसारको ब्याख्या होलान । म चाहिँ के भन्छु भने कुनैपनि काम लगनशीलता, मेहनत, परिश्रम चिन्तन मनन गर्दै निरन्तरता दिदै आत्मसात गर्दै अगाडी बढ्दै गयौ भने सिनेमा मा मात्र नभएर अन्य जुनसुकै क्षेत्रमा पनि सफल बन्न सकिन्छ । धैर्यता गुमाउनु भने हुँदैन । सिनेमा खेलेर बाँच्न अवश्य सकिन्छ । यो सबै आफ्नो प्रतिभा, मेहनत, कामप्रतीको लगनशीलताले कमाइने कुरा हो ।

सिनेमा क्षेत्रमा प्रवेस गरेको यतीका वर्ष बित्दा पनि अझै स्थापित कलाकार तपाई बन्न सक्नु भएन नी?

तपाईले मेरो लागी एकदमै महत्वपूर्ण प्रश्न राखिदिनु भयो । प्रथम कुरा त म यहाँ कसैसंग प्रतिस्पर्धा गर्न आएकै होइन । म त ममा प्रतिभा छ भने त्यो प्रतिभाको माध्यमबाट, नेपाली सिनेमाको माध्यमबाट समाज र राष्ट्रलाइ केहि सकरात्मक सन्देश प्रवाह गर्न सक्छु की भन्ने सोचले मात्र यो क्षेत्र चुनेकी हुँ । अब स्थापित हुनु नहुनु समयको कुरा होला । म प्रख्यात बनुला नबनुला त्यो पनि समय कै कुरा होला । त्यसलाई म नकरात्मक तरिकाले सोच्दिन । समाज र राष्ट्रकोलागि एउटा असल र सफल सिनेमा दिन सकुँ भन्ने चाहिँ छ । आशा विहीन चाहिँ होइन । तर ममा चरम महत्वकांछी सोच चाहिँ छैन । म सधै केहि कुरा सिक्ने प्रयासमा हुन्छु । त्यसो हुनाले स्थापितको चाहना भन्दा असल कलाकार बन्न सकौं भन्ने बिश्वास राख्छु ।

कलाकारिता बाहेक अन्य कुनै पेशा गर्नुहुन्छ ?

12835033_234494426895431_1667757741_n

त्यस्तो खासै आधिकारिक पेशा नै त छैन । अहिले हाम्रो आफ्नो कम्पनी क्लाईमेक्स इन्टरनेशन प्राली छ जहाँ मेरो बाबा प्रमुख हुनुहुन्छ । म त्यही कम्पनीमा आवद्द् भने छु ।

भर्खरै बिदेश भ्रमण पनि गरेर आउनु भयो हैन ?ब्याक्तिगत भ्रमण थियो की सिनेमा संग सम्बन्धित थियो ?

हजुर म भर्खर हङकङ गएर आएँ । यो मेरो सिनेमा सम्बंधित भ्रमण नै हो । हामी हाम्रो सिनेमा “खुर्पा” को प्रीमियर शोको लागी गएका थियौं । त्यो एकदमै सफल पनि भयो । दर्शक हरुले प्रशंसापनि गरिदिनु भयो । हामीलाई धेरै माया र हौसला पनि दिनुभयो । अबिस्मरणीय भ्रमण रह्यो त्यो ।

पहिलो बिदेश भ्रमण अनुभव कस्तो रह्यो त ?

12834866_235230063488534_432179195_n

बिदेस भ्रमण धेरै कठिनाइहरुले मात्र त्यो सम्भव भयो । प्राविधिक कुराहरुले गर्दा भिसाको काम ढिलो हुनपुग्यो । तैपनि त्यहाँ पुग्दाको क्षण मेरो लागी अत्यन्तै रमाइलो, हर्षित र ज्ञानवर्धक लाग्यो । त्यहाँको दर्शक श्रोताहरु प्रति उहाँहरुको न्यानो स्वागत सहयोग प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु ।

नेपाल बाहिरको नेपाली समुदायबारे कस्तो अनुभव गर्नु भयो ?

सबै राम्रो लाग्यो । मलाई माया साथ सहयोग सुझाव दिनुभयो। देश बाहिरको नेपाली समुदायमा एक अर्का विच धेरै माया र एकता पाएँ । जून हाम्रो देश भित्र हट्दैछ । देश प्रति निरन्तर चासो र चिन्तन पाएँ । साथै आफ्नो भाषा, संस्कृति र परम्परालाइ संरक्षण गरेको पाएँ । नेपाल भित्र नेपाल हराइरहेको बिदेशमा नेपाल बाँचेको पाएँ ।

खुर्पा कस्तो चलचित्र हो ? यसमा तपाईको भूमिका कस्तो छ ?

12822130_235229996821874_702625718_n

“खुर्पा” शब्द ले नै नारीको सन्देश दिएको आभास गराउँदछ । यो चलचित्र मुख्यतय नारी प्रधान नै हो भन्न रुचाउँछु । नारी प्रधान चलचित्र कमै बन्छ । यो दुखद पक्ष छ । आधा आकास ढाक्ने नारीहरुको विषय मा चलचित्र बन्नु पर्दछ । खुर्पामा चाहिँ एउटा नारी गाउँदेखि शहरसम्म आईपुग्दाको कठिनाई, भोगाइ र संघर्षलाइ देखाईएको छ । संगसँगै यो ‘एक्सन मुभी’ पनि हो । मैले चाहिँ यसमा एउटा भूमिका गितमा पुरा गरेकी छु । नृत्य मेरो शौख हो ।

तपाईको आउने सिनेमाहरु के के छन कुनै निश्चित छ ?

मेरो चलचित्र खुर्पा यही फाल्गुण १५ बाट देश ब्यापी रुपमा चलिरहेको छ । सफलता पनि पाइरहेको छ । अन्य चाहिँ सूरज सुब्बा नाल्बो द्वारा निर्देशित “रातोघर” र अर्को “कावेली” चलचित्र छन ।

मन र्ने नायक, नायिका र निर्देशक ?

मलाई सबै अग्रज नायक नायिकाहरु मन पर्दछ ; उहाँहरुले नेपाली सिनेमा मा जुन योगदान गर्नु भएको छ त्यसको बारेमा जति बोले पनि कम नै हुन्छ । सबैको आआफ्नै पहिचान छ । आआफ्नै इतिहास बनाउनु भएको छ । तर अब नाम लिनै पर्दा नयाँहरु त सबै उत्तमनै छन । सीनियरहरुमा नायिका गौरी मल्ल र नायक राजेश हमाल मन पर्दछ। निर्देशकहरुमा कामको हिसाबले मलाई सूरज सुब्बा नाल्बो जी मनपर्छ ।

देशको अवस्था बारे कलाकारले केहि बोल्नुपर्दा ?

जहाँ सम्म मेरो अनुभवले के भन्छ भने अहिले देशको अवस्था एकदमै नाजुक छ । भाई भाईबिच लड़ाई छ । एकअर्कोमा तेरो मेरो भन्ने भावना जागृत भएका हरेक राजनितिक दलहरु असफल भएका छन । देश र जनतालाइ सही दिशातिर लैजान असफल भएका छन । नेपाली जनताले पनि दिनानुदिन राजनितिबाट हरेश खाएको अवस्था देखिन्छ । बिभिन्न बहानामा देश र देश बाहिरबाट हामी जनता ले सास्ति भोग्नु परेको छ । संबिधान कार्यान्वयन नहुँदा, नियम र कानून दर्हो नभएको कारण मानिसमा हिंग्शा जागिरहेको छ । अपराधी र कालो बजारी बढिरहेको छ । मानिसहरु केहि लालचमा गलत काम गर्न अघि सरेका छन । दुखद पक्ष यस्तै छन । अब नेता ज्युहरुले आन्दोलित जनताहरुको सही माग बुझेर शांतिपूर्ण रुपमा छलफल गर्दै समस्या समाधान गगरेर राष्ट्रलाइ अघि बढाए सुख पाइन्थ्यो की ? हा हा हा

नेपालप्लस मार्फत आम दर्शक लाइ केहि भन्नु हुन्छ की ?

सर्व प्रथम त मेरो कुरा राख्ने मौका नेपालप्लसले दियो । नेपालप्लसलाइ धेरै धेरै धन्यवाद । मलाई यहाँसम्म ल्याउनुमा मेरो दर्शक र मेरो श्रोताहरुको ठुलो सहयोग छ । उहाँहरुमा हार्दिक आभार ब्यक्त गर्दछु । र भविष्यमा पनि यही माया र सहयोगको अपेक्षा राख्छु । तपाईहरुको सल्लाह, सुझाव, माया र हौसलालेनै मलाई अघि बढ्ने मार्ग दर्शन मिल्नेछ । मेरो फेसबुक पेज छ त्यहाँबाट सम्पर्क भैदिन सबैलाई आग्रह गर्दछु । हामी सधै सकारात्मक सोचको साथ अघि बढौं । नेपाली सिनेमालाइ माया गरौ । सिनेमा हलमै गएर हेरौं । यसले नेपाली सिनेमा र कलाकारलाई स्थापित गर्न सहयोग पुग्छ । हाम्रै भाषा संक्रितिको उत्थान हुन्छ । सधै सुखी रहौं । ख़ुशी रहौं भन्न चाहन्छु । अन्त्यमा पुनः एकपल्ट नेपालप्लस टोलीलाइ धेरै धेरै धन्यवाद । सेवारो ।

कलाकरको परिचय

नाम – उपाशना नेम्बाङ

बुबा – नबीन सुब्बा नेम्बाङ

आमा- उमा लेछिवो नेम्बाङ

दाई- बिप्लव नेम्बाङ

स्थायी ठेगाना-विर्तामोड,झापा

अस्थायी ठेगाना-काठमाण्डौ शिक्षा – प्लस टु म्यानेजमेन्ट

कलाकारिता शुरुवात – पहिलो डेब्यू चलचित्र- सम्बन्ध

पहिलो म्यूजिक भिडियो-फिदिम बजार …।

हाल सम्म अभिनीत चलचित्र -एक दर्जन

हाल सम्म अभिनीत म्यूजिक भिडियो – ४० भन्दा बढी

तपाइँको प्रतिक्रिया