नेपालप्लस प्रभाव : समाचार आएलगत्तै भूकम्प पिडितलाई उठाएको साठी लाखबारे सार्वजनिक

1234

भूकम्प पिडितलाई उठाएको रकम बारे नेपालप्लसमा समाचार निस्किनासाथ भूकम्प पिडितका नाममा रकम उठाउने ‘स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियान’ ले अकस्मात बैठक बसेर उठाएको रकमबारे मुख खोलेको छ । यहि फर्वरी १२ का दिन नेपालप्लसले ‘नेपालमा भूकम्प जाँदापनि कतिपयलाई त भगवान भेटिए जस्तो’ शिर्षकमा स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानले नेपालमा भूकम्प पिडितका नाममा ६० लाख अज्ति उठाएको र भूकम्प पिडितलाई भने नदिएको बारे समाचार लेखेको थियो । त्यस अलग्गै स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानको बैठक बसेको भन्दै रकम बारे मुख खोलेको हो । यस अघि भूकम्प गएको दश महिना हुँदापनि तिनका नाममा उठाएको रकम कहाँ के गर्ने भन्ने स्पष्ठसित खुलाएको थिएन । नौ महिनासम्म चुपचाप लागेर बसेको देखिएको थियो ।

नेपालप्लसमा समाचार आउँनु अघिनै गाईगुइँ सुनिएको थियो । किनभने नेपालप्लसले एन आर एन सित सम्बद्द भएका ब्यक्ति र सरोकारवालासित सोधपुछ गर्दै थियो । यहि मेसोमा अब समाचार आउँछ भन्ने भएपछि ‘स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियान’ले हतारमा बैठक राखेको हो ।

स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानले हिजो फर्वरी १६ का दिन सार्वजनिक गरेको बिज्ञप्तीमा  भनिएको छ ‘पुन:निर्माण प्राधिकरण र गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले पुन:निर्माणका लागि आवश्यक पुर्वाधारहरु तयार पारेपछि मात्र स्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानले संकलित अर्थ अभियानभित्रै ब्यापक छलफल चलाएर गैर-आवासीय नेपाली संघको उक्त योजनाका खातिर नेपाल पठाउने रणनीति अंगालेको छ ।’ तर अभियानले प्रेस बिज्ञप्तीमा चलाखिपूर्वक आफूहरुले राहत दिनकालागिपनि स्विजरल्याण्डमा रकम उठाएको विषयमा भने केहि बोलेको छैन । बरु बिगतको गल्तिलाई स्विकार नगरेर लुकाउने र बच्ने प्रयास गरेको छ । राहत दिन किन सकिएन भन्ने विषयमा कहिँ कतै उल्लेख छैन ।

बिज्ञप्तीको सकारात्मक पक्ष के भने अब छाहिँ मेडियामा चर्को बहस हुन थालेपछि सो रकमका बारेमा मुख खोलेको छ । यो रकमबारे आम चासो बढेको छ । दबाब स्रिजना भएको छ जसले गर्दा अभियानकर्ताहरुलाई बोल्न बाध्य पारेको छ । अभियानकर्ताहरुले सार्वजनिक रुपमा उठेका प्रश्नहरुलाई स्पष्ठ पार्नपनि सकेको छैन । जे होस स्वीस-नेपाली भूकम्पपिडित पुनर्निमाण अभियानको प्रेस बिज्ञप्ती हेर्नुस् जस्ताको त्यस्तै।

स्वीस-नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानको प्रेस विज्ञप्ती 

आदरणीय स्विटजरल्याण्डबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

स्वीस नेपाली भुकम्प पिडित पुनःनिर्माण अभियानलाई सहयोग गर्ने मनकारी ब्यक्त्तित्वहरु,

सर्वप्रथमत: स्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानलाई तपाईहरु बाट भएको सबै प्रकारका सहयोगका लागि हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। यस अभियानले गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको प्रस्तावित एक हजार आवास निर्माण गर्ने योजना अन्तरगत आवास निर्माण गर्न अर्थ संकलन गरेको सबैमा बिदितै छ। यो अभियान त्यहि लक्ष्यका साथ अधि बढि रहेको छ। नेपाल सरकारले भरखरैमात्र भुकम्प पुन:निर्माण प्राधिकरण गठन गरी यस सम्बन्धमा नीतिनियम बनाउने तरखरमा छ। यसैबीच गैर-आवासीय नेपाली संध, अन्तराष्ट्रिय समन्वय परिषदपुन:निर्माण प्राधिकरणसंग संपर्क र छलफलमा रहेको जानकारी हामीलाई प्राप्त भएको छ। हालसालै गैर-आवासीय नेपाली संघका अध्यक्ष श्री शेष घले र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञावलीबीच प्रस्तावित आवास निर्माणलाई तिब्रता दिन छलफल हुँदा पुन:निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञावलीले हाल क्षतिको पुनविवरण लिने काम भइरहेको र कुनैपनि क्षेत्रको पुनविवरण नलिई पुन:निर्माण कार्य संचालन गर्न नपाईने जानकारी दिनुभएको थियो। साथै कार्यकारी अधिकृत ज्ञावलीले प्राधिकरण हाल कार्य सम्पादन नीति तथा कार्ययोजना तयार पार्न लागेको र यो छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको थियो। प्राधिकरणले पुनविवरण लिने कार्य र नीति तथा कार्ययोजना तयार पार्ने कार्य छिटै सम्पन्न गर्ने र पुन:निर्माण कार्य सिघ्र सुरु हुनेमा हामी आशावादि छौं।

हामी प्रस्तावित आवास पुन:निर्माणका संबन्धमा गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदसंगप्रत्यक्ष-अप्रत्यक्ष रुपमासंपर्कमा छौं। पुन:निर्माण प्राधिकरण र गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले पुन:निर्माणका लागि आवश्यक पुर्वाधारहरु तयार पारेपछि मात्र स्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानले संकलित अर्थ अभियानभित्रै ब्यापक छलफल चलाएर गैर-आवासीय नेपाली संघको उक्त योजनाका खातिर नेपाल पठाउने रणनीति अंगालेको छ। संकलित रकम योजनाका लागि रकमान्तर गर्नु भन्दा पहिले अभियानले गैर-आवासीय नेपाली संघसंग प्रस्तावित एक हजार घर निर्माण योजनाका बारेमा(घरको डिजाईन, योजना स्थल र लागत आदि) बिस्तृत जानकारी लिने छ।

नेपालमा लक्षित योजनाको प्रारम्भ नभई कनै अर्थ पठाएर मात्र कुनै उपलब्धि हासिल नहुने अभियानको विश्लेषण हो। अभियानले संकलित रकम आफ्नै बैंक खातामा राखी अन्तराष्ट्रिय मापदण्डअनुसार अद्धाबधिक लागत राखेको छ र राख्ने छ। हामी संकलित अर्थको प्रभावकारी प्रयोगमा सजग छौं। संकलित रकमको सहि सदुपयोग बाहेक अभियानको अर्को लक्ष्य छैन। नेपालमा पुन:निर्माणका लागि नीतिनियम बनेर यसका लागि आधारभूत पुर्वाधारहरु तयार भएपछि संबन्धित संस्था र निकायसंग छलफलगरी पारदर्शि तबरले लक्षित योजनाका लागि संकलित रकम नेपाल पठाईनेछ। प्रस्तावित एक हजार आवास निर्माण योजना प्रारम्भ नहुँदासम्म र आवश्यकता अनुसार प्रारम्भ भएपछि पनि अभियानले यस उदेश्यका लागि अर्थ संकलन अभियानलाई निरन्तरता दिनेछ। अझै पनि अभियानको कोषमा लक्षित उदेश्यका लागि अर्थ संकलन गर्न सकिनेसबैमा बिनम्र जानकारी गराउन चाहन्छौं।

हामी स्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानलाई आर्थिक वा अन्य सहयोग गर्ने तपाई सम्पुर्ण माहिला तथा सज्जनबृन्दमा पुन: हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।

भवदिय,

पितम गुरुङ, संयोजक, स्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियान, स्विटजरल्याण्ड

१५ फेब्रवरी २०१६, जुरीख

तपाइँको प्रतिक्रिया