दाजुभाईका घूँडामा माटाका भाँडा फुटाउन लगाउने अनौठो पर्व
खासगरि पूर्वका थारु र मिथिलावासीहरुले मनाउने समा चकेवा पर्व अहिले धुमधामले मनाउँदै छन् । कात्तिक पूर्णिमाको साँझ मिथिलानी (महिला)हरुले सामा चकेवाको रंगरोगन गर्छन् । त्यो माटाको भाँडोलाई दाजु भाईको घुँडामा राखेर फुटाउन लगाउँछन् । त्यसपछि करिब दुई सातासम्म यो पर्व चल्छ ।
यो पर्व कात्तिक शुक्लपूर्णिमाको मध्यरातमा सधैं सामा खेलिने डालामा राखिएका आकृतिमध्ये वृन्दावनमा आगो लागेको दृश्य बनाइन्छ । त्यसपछि त्यसलाई निभाउँदै पर्व सम्पन्न हुन्छ । अन्तिम दिन मिथिलानीहरुले दाजुभाइलाई निमन्त्रणा गर्छन् । दाजुभाईहरुकै घुँडामा माटाका आकृति राखेर फुटाउन लगाउँछन् । ती फुटाइएका आकृतिलाई जोतेको खेतमा मिल्काउन लगाउँछन् ।
पर्व समापन गरेपछि दिदीबहिनीले दाजुभाइलाई दही, चिउरा, मिष्टान्न परिकार र सख्खर खुवाउने परम्परा छ । पर्वको समापनमा दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र बस्त्र आभूषण दिँदै आफूहरुबीचको प्रेम कसैले टुटाउन नसक्ने बाचा गर्छन् । उनीहरुप्रति कृतज्ञता दर्शाउँछन् ।
कात्तिक शुक्ल पञ्चमी अर्थात् बितेको छठ पर्वको खरनाका दिनदेखि मिथिलाका गाउँनगर र बस्तीमा दिदीबहिनीले यी भावका गीतबाट आफ्ना दाजुभाइको गुणगान गाउँछन् । प्रत्येक दिनरात बस्तीको चौबाटोमा जम्मा भएर यस्ता गित गाउँदै सामाचकेवा पर्व मनाउने गरिन्छ ।
(सबै तस्विर – देव आनन्द थारु)











