गाईजात्रामा नहाँसेको नगर र यसको बदलिँदो स्वरूप

  • इश्वर देवकोटा

11987012_10153212801419151_7188504812128763330_n

मल्लकालिन राजा प्रताप मल्लले पुत्र वियोगमा शोकमा डुबेकी आफ्नी रानीको चित्त बुझाउन सुरु गरेको हास्यप्रधान पर्व गाईजात्राको पछिल्लो संस्करण अस्ति आइतवार सम्पन्न भएको छ । मल्लकालदेखि आजका दिनसम्म आउँदा गाईजात्रा मनाउने तरिका र स्वरूपमा समेत विविधता र परिमार्जित हुदै आएको देखिन्छ । विशेषत नेवार समुदायमा बितेको एकवर्षको अवधिमा दिवंगत परिवारका सदस्यको सम्झनामा गाईको स्वरुपमा सिंगारिएर विशेष सांगीतिक बाजागाजा सहित समुहगत रुपमा नगर परिक्रमा गर्ने, दर्शकलाई हसाउन अनेक स्वरुपमा सिंगारिने, हास्य अभिव्यक्ति प्रस्तुत गर्ने, व्यंग्य प्रहार गर्ने आदि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने मौलिक पर्व हो । गाईजात्रा पर्वको प्रस्तुतिकरण पनि ठाउँ अनुसार अलि भिन्न देखिन्छ ।  गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा , कास्की र गोरखामा पनि मनाइन्छ । त्यसो त अहिले गाईजात्रालाई हास्यप्रधान र व्यंग्यपूर्ण बनाउन जात्राको स्वरुपमा मात्र नभई हास्यकलाकारहरुले मनोरन्जनात्मक कार्यक्रम पस्किएर दर्शकलाई व्यवसायिक रुपमै हसाउन थालेका छन् ।

11960068_10153212801414151_6169828275244076151_n

संस्कृतिक एवं ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालीन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । सोहि जनविश्वास प्रचलन अनुरुप राजधानी काठमाडौँमा बसन्तपुर दरबार क्षेत्रमा देखाइने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि जारी छ ।

भक्तपुरमा काठमाडौँको भन्दा केहि फरक प्रस्तुति हुन्छ । नेपाल भाषामा सापारु भनिने गाईजात्रा भक्तपुरमा आठ दिन सम्म देखाइने प्रचलन छ । भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । भक्तपुरको घिन्तांगघिसी र बाँदर नाच चर्चित छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा गाईजात्राको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ ।

गाईजात्राको फरक स्वरुप गोरखामा पनि देख्न पाइन्छ । मृतकको सम्झनामा गाई निकाल्ने, साना बालकलाई सिंगारेर गाईको नानी, युवाहरु घोडाको स्वरुपमा सिंगारिने, जनावर अनि  भुतप्रेतको रुपमा सिंगारिने, समाजका चर्चित पात्रहरुको नक्कल गरि  हास्य प्रधान पात्रहरुको स्वरूपमा सिंगारिने र एक साथ बाजाको तालमा हातमा सिमली लिएर उफ्रंदै नाच देखाउने चलन हेर्न लायक हुन्छ । गोरखाको ताकुकोटमा देखाइने गाईजात्रा (तस्विरमा) मा घोडा जुधाउने नाच र टाकटुके  (दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने घिन्ताङ्घिसी) को रौनक बेग्लै हुन्छ । दिनभरिको गाईजात्रा नाचपछि दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई आफन्त श्रद्दालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । तर काठमाडौँमा देखिने जात्रामा भने नगर परिक्रमा गरेकै बेला आफन्तको सम्झनामा सहभागीलाई खानेकुरा बाड्ने प्रचलन छ ।

11752468_10153212801314151_8303399102374735981_n

यसैगरी पछिल्ला वर्षहरुमा संस्थागत र समुहगत रुपमा आफूलाई प्रस्तुत गर्दै आएको तेर्सो लिंगीहरुको एक समुहले गाईजात्राका दिन बसन्तपुर क्षेत्रमा सिंगारिएर परिक्रमा गर्ने प्रचलन देखिएको छ । यो प्राचिन प्रचलन भने होइन । हास्यव्यंग्य र पहिचानका नाममा अर्धनग्न स्वरूपमा आफुलाई  सिंगारीदिएर दर्शकलाई आकर्षण गर्ने उनीहरुको शैलीलाई कतिपयले आलोचना समेत गर्ने गरेको पाइन्छ | यद्यपि स्वस्थ मनोरन्जनका निम्ति दर्सक हसाउन गरिने जतिसुकै अस्लिल प्रस्तुतिलाई हास्य सामग्रीका रुपमा लिने प्रचलनले गाईजात्राका कतिपय अपाच्य दृश्यहरु समेत सहर्ष स्वीकार गर्ने गरिन्छ ।

आधुनिक प्रविधिको विकास संगै गाईजात्रामा हास्यकलाकारहरुले विगतका वर्षहरुमा छापा सामग्री  अनि अडियो भिडियो प्रहसन उत्पादन, प्रकाशन, प्रशारण र प्रत्यक्ष प्रस्तुति समेत दिने गरेका छन् । वर्षभरि  समाज र राजनीतिमा घटेका उल्लेख्य घटनाहरुमा माथि व्यंग्य प्रहार गरि दर्शक हसाउने कलाकारहरुको प्रयास पहिले व्यक्तिगत रुपमा हुन्थ्यो भने अहिले सामुहिक रुपमा हुन थालेको छ ।

त्यसो त गाईजात्रालाई आफ्नो महान पर्वको रुपमा लिने हास्यकलाकारहरुले यसलाई व्यवसायिक रुपमा नै प्रस्तुत गर्न थालेका छन् । त्यस्ता कार्यक्रमको माग अहिले नेपाल बाहिर समेत हुने गरेको छ । अहिले कलाकारहरु आफ्ना व्यंग्य सामाग्री लिएर नेपाली समुदाय भएका विश्वका कुना कुनामा समेत पुग्ने गरेका छन् । अहिले हाँस्यव्यंग्यलाई स्वस्थ मनोरन्जन र सचेतना सामग्रीको रुपमा समेत लिइन्छ । चित्र, लेख, गीत. कविता, अन्य श्रब्य र दृश्य सामग्रीको स्वरुपमा समेत गाईजात्रे प्रस्तुतीहरु आउन थाले पछि हाँस्नकै लागि वर्ष दिनको गाईजात्रा नै कुर्नु पर्ने आजको अवस्था छैन । रेडियो टेलिभिजनमा समेत हास्यव्यंग्य सामग्री अहिले अत्याबश्यक जस्तै बन्न थालेको छ । मौलिक पहिचान र संस्कृतिक महत्व बोकेको गाईजात्राको दिनको बिशेष महत्व जोगाई राख्नु नेवार समुदाय मात्रको कर्तब्य नभई सम्पूर्ण नेपालीहरुको जिम्मेवारी  हो । यो पर्व संसारका अरु कुनै देश वा समुदायले मनाउने गरेका छैनन् ।

गाईजात्रामा नहाँसेको नगर

नेवार समुदायको बाहुल्यता रहेको राजधानी काठमाडौँ लगायतका उपत्यकाका तीनै शहर गत बैशाख १२ गतेको विनासकारी भूकम्पले तहसनहस बन्यो । हजारौको संख्यामा मानिसहरुले जीवन गुमाए । शोकको घाउ पुरानो नहुदै आएको गाईजात्राले फेरी एक पटक ती आफन्तहरुको आँखामा आफ्ना परिवारका दिवंगत सदस्यहरुका तस्विर आँशु स्वरुपमा छल्किए । भग्नावशेषमा परिणत भएका मठमन्दिरहरुका बीचबाट नगर परिक्रमाका लागि अघि बढेका गाईजात्राको ताँतीले भूकम्पले खोसेका ती निर्दोष प्रियजनहरुलाई सम्झाए झैँ लाग्थ्यो । एक भन्दा बढीको संख्यामा परिवारका सदस्य गुमाएका आफन्तहरुले कुन हर्षले यो गाईजात्रामा हाँस्न सक्थे र परम्परा धान्नकै निम्ति पनि कतिपयका परिवारमा त पितृको प्रतिनिधित्व गर्ने समेत कोहि रहेनन् । गाईजात्राको रौनकमा रमाउने दर्शकहरु बस्ने रम्ने दरबार क्षेत्र विरूप असुरक्षित बने पछि यस पटक दर्शकको उपस्थिति समेत राजधानीमा निकै कम देखियो । शोकै शोकमा डुबेको यो नगर यसपटक गाईजात्राको दिनमा समेत हाँस्न सकेन ।

तस्विर स्रोत : ताकुकोट (फेसबुक पेज)

तपाइँको प्रतिक्रिया