कसले बाँध्यो फ्रान्सको जंगलमा रक्षा बन्धन ?

Geneva-14-August-2014 128

गत सालको तस्विर हो यो । सालेभ भन्ने फ्रान्सको भाग । स्विजरल्याण्डबाट नजिक पर्छ । अग्लो डाँडामा भएकाले खासगरि स्विजरल्याण्डको जेनेभा शहर हेर्न यो डाँडो पुग्छन् धेरै मानिसहरु । यो डाँडोमा एउटा बौद्द गुम्बापनि छ । यहाँ पुग्न जंगल हिँड्नुपर्छ अलिकति । हो यहि जंगलमा गत सालको जनै पूर्णीमका दिन एउटा रुखमा यस्तो धजा र धागो बाँधेको भेटियो ।

Geneva-14-August-2014 121

Geneva-14-August-2014 153

जेनेभाबाट बस लाग्छ यो डाँडाको फेदीसम्म । त्यसपछि केबल कारले माथि पुर्‍याउँछ । त्यहाँबट जेनेभा शहर, जेनेभा ताल मनमोहक देखिन्छ । त्यो सालेभ डाँडाको टुप्पामा फ्रान्सेलीहरुले धरहरा बनाएका छन् । त्यस धरहराको टुप्पोमा थुप्रै एन्टेनाहरु देखिए । त्यहाँबाट वरिपरिको जासुस र निगरानी गर्छन् फ्रान्सेलीहरुले । घुम्न गएका मानिसहरुले यसै भने ।

Geneva-14-August-2014 131

यो धरहरा (टावर) पुग्नु अघि बौद्द गुम्बापनि रहेछ । त्यहाँ गौतम बुद्दको जन्मदिनका दिन ठूलो मेला लाग्दो रहेछ । टाढा टाढा बौद्दमार्गीहरु त्यो मेलामा आउँदा रहेछन् ।

Geneva-14-August-2014 138

Geneva-14-August-2014 180

यो टावर पुग्न खोज्दा जंगलको बाटो हिँडियो । यहि जंगलमा गत साल यस्तो धजा र डोरी बाँधीको देखिएको हो । अचम्म लाग्यो । जनै पूर्णीमाकै दिन कसरि भेटियो ? जनै पूर्णीमाकै अवशरमा कसैले बाँधेको होला ? नत्र युरोपेलीहरुको त यस्तो धजा, धागो बाँध्ने चलन त हुन्न । यो हिन्दूहरुकै हो चलन । कि यहि बुद्द गुम्बा जाने कोहि बौद्दमार्गीले बाँधीदिएको होला ? बाटो चिन्नपनि यस्तो लगाए भनौं भने यहाँ धेरै बाटा छैनन् । एउटै गोरेटो छ । त्यसले टावरसम्म पुर्‍याउँछ । फेरि त्यहि एउटै गोरेटो केबलकारसम्म आउँछ ।

युरोपभरि रक्षा बन्धन

Tek-Gigi

(फोटो स्रोत -टेक गिरीको फेसबूक)

नेपालीहरु जहाँ छरिएका भएपनि तिनले जनै पूर्णीमा मनाएका छन् । हिजो जनै पूर्णीमा, रक्षा बन्धन, क्वाँटी खाने दिन भनेर चिन्छन् । नयाँ जनै लगाउने चलन छ ब्रामणहरुले । हातमा रक्षा बन्धन अर्थात् धागो बाँध्ने चलन छ । जनै लगाउनेहरु कम देखिएपनि रक्षा बन्धन गर्ने नेपालीको संख्या भने निकै देखियो युरोपतिरपनि । यो तस्विर नर्वेमा रक्षा बन्धन गर्दै गर्दाको हो । टेक गिरीको घरमा । दाजु र बहिनीबिच धागो बाँध्ने काम भैरहेको छ । यो रक्षा बन्धन बन्धन स्विजरल्याण्ड, फ्रान्स, बेलायत, स्पेन, इटाली, नर्वे, बेल्जियम लगायत युरोपका धेरै देशमा नेपालीले मनाए । क्वाँटी बनाएर खाए । बिदेशमा जन्मिएपनि यसैगरि आफ्ना अभिभावकहरुबाट नेपाली चाडपर्व र संस्क्रिति सिकिरहेका छन् नेपालीका वालवालिकाले ।

“मैले बुझेको जनैको महत्त्व”

डा.मतिप्रसाद ढकाल

म सानो छँदा ‘बर्तबन्ध गरेसि नुआउनुपर्च’ भन्ने सुनेको थिएँ । व्रतबन्ध भएपछि हाम्रा पालामा व्रतबन्ध गरेका व्यक्तिले मात्र दिनहुँ नुहाउने, गायत्री जप्ने, दिसा जाँदा अनिवार्य रूपमा पानीको प्रयोग गर्नुपर्ने, दिसापिसाब जाँदा कानमा जनै राख्नैपर्ने, सिलाएका सबै लुगा फुकालेर चोखो गम्छा वा धोती फेरेर चौकामा बसेर खानुपर्ने जस्ता नियमहरू पालना गर्नुपथ्र्यो । व्रतबन्ध गरेको आठदश दिनभित्रै म संस्कृत पढ्नका लागि घर छाडेर ललितपुरको संस्कृत विद्यापीठमा पुगेँ । त्यसपछि मैले बिहान दशपटक मात्र जप्तै आएको गायत्रीमन्त्र बिहान, दिउँसो र बेलुकाको त्रिकालसन्ध्यामा १०८ का दरले जप्न थालेँ । घरमा दुई मिनेटमा सकिने सन्ध्यालाई हामीले संस्कृत गुरुकुलमा सन्ध्योपासनाविधिका आधारमा सन्ध्या गर्दा करिब एकघण्टा लाग्ने गर्दथ्यो ।

ललितपुरको महर्षि वेद विज्ञान विद्यापीठ खारेज भएपछि अन्यत्र त्यस्तो गुरुकुल भेटिएन । हामीलाई गुरुकुलको बन्धनमा राख्ने वातावरण नभेटिएपछि हामी स्वतन्त्र भयौं । हाम्रो सन्ध्योपासनाको अवधि पनि आपूmखुसी लामोछोटो हुनपुग्यो । धरानको पिण्डेश्वर क्याम्पसमा पढ्दा भानुभक्त पोखरेलको ‘बोध, शैली र अभिव्यक्ति’ नामक पुस्तकमा उल्लिखित ’मान्छेले कति के गर्यो पिइसक्यो ब्रह्माण्ड नै तन्तनी, हाम्रो बाहुन छामी मख्ख छ अभैm टुप्पी जनै कन्धनी’ भन्ने कवितांश मेरा लागि निकै मर्मस्पर्शी रह्यो । हामीले टुप्पी, जनै र कन्धनी छामेर बस्ने होइन, आधुनिक हुनु आवश्यक रहेछ भन्ने सम्झेँ । कन्धनी त व्रतबन्ध गरेको केही दिनपछि लगाउनै छाडेको थिएँ । आधुनिक हुने नाममा टोपी नलगाउँदा र लामो टुप्पी देखेर सबैले गिज्याउने ठानेर त्यसलाई सानो बनाउन थालेँ तर टुप्पी नै काटेर अत्याधुनिक हुने रहर ममा कहिल्यै पलाएन ।

ललितपुरमा पढ्न बस्ता एकपटक मेरा एकजना साथीले मलाई पनि सँगै लिएर आफन्तीको डेरामा पु¥याए । डेरामा बस्ने साथीका आफन्तीले ‘मैले जनै त धोएर बाकसमा राखेको छु, घर जाँदा लगाएर जानुपर्ला’ भनेको सुन्दा म निकै आश्चर्यमा परेँ । घर छाडेपछि यसरी जनैलाई बाकसमा थन्क्याउने र घरमा आमाबुबाको डरले लगाउनेहरू त्यतिबेला थोरै थिए होलान् तर अहिले विदेश गएका र सहर पसेका धेरैजसो युवाहरूको शरीरमा जनै भेटाउन मुस्किल पर्दै गएको होला भनेर अड्कल काट्नु पनि अस्वाभाविक नहोला । आजकलको युवापुस्तालाई व्रतबन्ध र जनैको महत्त्व बुझाउन नसक्ता व्रतबन्धपछिको कर्तव्य र जनैप्रतिको आस्था क्रमशः घट्तै गएको हुनसक्छ ।

प्रत्येक वर्ष जनैपूर्णिमा आउँथ्यो, जान्थ्यो तर त्यस दिन विशेष स्नान गर्नुपर्छ भन्ने कुराको सर्वप्रथम जानकारी मैले २०५३ भाद्रमा चुँदीरम्घाको क्याम्पसमा पढाउन थालेपछि पाएको हुँ । त्यतिबेला पहिलोपटक चुँदी खोलामा करिब डेढघण्टाजति खोलामैं रहेर श्रावणी स्नान गर्ने अवसर पाएको थिएँ । त्यसपछि केही वर्ष त्यसलाई निरन्तरता पनि दिएँ तर चुँदीरम्घामा पनि श्रावणी स्नानको लामो विधि पनि दुब्लाउँदै गयो भने दाङमा पनि त्यसरी नै एकपटक लामो विधि अपनाएर श्रावणी स्नान गर्ने मौका पाएको थिएँ । त्यसबाहेक अन्यत्र श्रावणी स्नानका लागि अग्रसर हुने साथी नपाएर सामान्य नित्य स्नानपछि नयाँ जनै फेरेर पुरोहितका हातबाट रक्षाबन्धन बाँधी जनैपूर्णिमा मनाएको अनुभूति गर्न म बाध्य छु ।

महिलाहरूका लागि तीजमा र पुरुषहरूका लागि जनैपूर्णिमाका दिन महास्नानको व्यवस्था गरिएको रहेछ भन्ने कुराको बोध मलाई निकै पछि आएर मात्र भयो । महिलाले झैं पुरुषले ३६५ दिनको दैनिक स्नानको स्मरणका रूपमा स्नान गर्नुपर्ने व्यवस्था कतै उल्लेख भएको नदेखिए पनि वास्तवमा पुरुषले गर्ने महास्नान पनि त्यस्तै प्रकृतिको देखिन्छ ।

श्रावणी स्नानको महासङ्कल्प पढ्दा लेह्यालेह्य, गम्यागम्या आदि सबै किसिमका पापहरू श्रावणी स्नानले नष्ट हुँदा रहेछन् भन्ने कुराको छनक पाइन्छ तर अज्ञानतापूर्वक गरिएका पापहरू पापको बोध भएपछि र जानाजान गरिएका पापहरू वज्रलेप हुने हुँदा त्यस्ता वज्रलेपी पापहरूको प्रायश्चित्त हुन नसक्ने भएकाले अनजानमा गरिएका पापहरूलाई मात्र महासङ्कल्पमा समेटिएको हुनुपर्छ ।

श्रावणी स्नान गर्दा माटो, गोबर, भस्म, कुश, अमामार्ग (दतिवन) र दूबोले शरीरभरि स्नान गर्नुपर्ने रहेछ । निश्चय नै यी सबै चीजले स्नान गर्नाले हाम्रो शरीरमा स्वस्थता प्रदान गर्ने वैज्ञानिक केही न केही कारणहरू हुनसक्छन्, जसप्रति आजसम्म पनि हाम्रो ध्यान आकृष्ट हुन सकेको छैन । माटाले स्नान गर्नाले हाम्रा शारीरिक रोगहरू निराकरण हुन सक्छन्, भस्मले हाम्रो छालासम्बन्धी रोगलाई निर्मूल पार्न मद्दत गर्दछ, गोबरले शारीरिक दुर्गन्ध हटाउँछ भने कीटाणुको सङ्क्रमण हुनबाट बचाउँछ । त्यस्तै कुश, दूबो र दतिवनले हाम्रो शिरलाई मार्जन गर्दा हाम्रो मस्तिष्क शीतल हुन्छ ।

श्रावणी स्नान गरेपछि तर्पण गर्नु, सूर्यको उपस्थापन गर्नु र अरुन्धतीसहित सप्तर्षिको पूजा गरी जनै एवम् रक्षाबन्धन मन्तरेर नयाँ जनै र रक्षाबन्धन धारण गरिन्छ । रक्षाबन्धनले पनि हाम्रा सबै रोगलाई र अशुभ कर्महरूलाई केही न केही मात्रामा निराकरण गर्न मद्दत पुर्याउँछ । ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल’ अर्थात् जुन रक्षासूत्रले दानवहरूका महान् शक्तिशाली राजा बली पनि बाँधिए, त्यस्तो रक्षासूत्रले मैले तिमीलाई पनि बाँध्छु, त्यसैले तिमी आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि अविचलित भएर बस भन्ने आशयको रक्षासूत्र बाँध्ने मन्त्रले हाम्रो अस्थिर मनलाई एकाग्रता प्रदान गर्न सघाउँछ ।

हामीले लगाउने छ सराको जनैको एउटा सरामा नौ वटा ससाना सरा हुन्छन् । काँचो धागाबाट तीन तेब्रे सङ्लिनु, तीन तेब्रेलाई बाटेपछि पुनः तीन तेब्रेका रूपमा मोटो बनाएर बाट्नु र तीन तेब्रे जनैको स्वरूप निर्धारण गर्नुको तीन सङ्ख्याले देव ऋण, पितृ ऋण र ऋषि ऋणको प्रतिनिधित्व गर्दा रहेछन् । ब्रह्मचर्यको पालनाद्वारा ऋषि ऋण, यज्ञद्वारा देव ऋण र जनता वा सन्ततिको पालनपोषणद्वारा पितृ ऋणबाट मुक्त हुन सम्भव हुँदो रहेछ । यी विभिन्न ऋणबाट मुक्त हुन सकौं भनेर पनि हामीले जनै धारण गरेका रहेछौं । त्यस्तै जनैको एउटा मोटो सरामा रहने नौ वटा ससाना सरामा विभिन्न नौ वटा देवता बस्ता रहेछन् र नौ वटा सरा धारण गर्नुको उद्देश्य भनेको ती नौ वटा देवताका तेज, धैर्य, शीतलता, स्नेह, प्रजापालन, स्वच्छता, प्रताप, समदर्शनजस्ता गुणहरू अवलम्बन गर्नु रहेछ ।

दाहिने कानको नशा मूत्राशयसँग र देब्रे कानको नशा मलद्वारसँग सम्बद्ध रहेकाले पिसाब फेर्दा दाहिने कानमा र दिसा गर्दा देब्रे कानमा जनै राख्ने गरिएको रहेछ । त्यसरी कानमा जनै राख्ता कानमा दबाव पर्ने र सरलतापूर्वक मूत्रत्याग र मलत्याग गर्न सकिने भएकै कारणले मात्र नभई मलमूत्रत्याग गर्दा नाभिमाथि पवित्र र नाभिमुनिको भाग अपवित्र (मनुस्मृति १।९२) रहने भएकाले जनै कानमा राख्ने परम्परा चलिआएको रहेछ ।

हामीले जनै धारण गर्नुको मात्र होइन हाम्रा सबै परम्पराहरूको शास्त्रीय र वैज्ञानिक कारण के हुनसक्ला ? भन्ने बारेमा गम्भीर विचारविमर्श गर्नु आवश्यक छ । (२०७२ भाद्र ११ गते रातको ११:३० बजे, गैंडाकोट नगरपालिका-१, विकासचोक, नवलपरासी)

(ढकालको लेख लक्ष्मण देवकोटाको फेसबूकबाट लिएको हो)

तपाइँको प्रतिक्रिया