सस्तो, राम्रो, सुलभ घर, भूकम्प पिडितकालागि

DSC04991

हिजो बेलुका म ढिलो आइपुगें चितवन, टाँडी बजार । साथी देवेन्द्र पर्खेर बसेका रहेछन् । कास्कीको मेरो यात्रा बारे छोटो कुराकानी भो । उता धादिङ सेम्जोङ गाबिसको ९ र ६  वडामा आजसम्म कोही सहयोग गर्न नपुगेको भन्ने खबर आयो । त्यता जाने योजना बुन्दै थिएँ । देवेन्द्रको बुवा बासुदेव श्रेष्ठले भन्नु भो ‘ बाबु भूकम्प पिडितका लागि सस्तो, एकदम राम्रो, सुबिधा सम्पन्न घर बनाएका छन् । हेर्नुस् न । काम लाग्छ ।’ मोटर साईकलमा अमिल्या भन्ने ठाउँ लिएर जानु भो । गज्जब रहेछ भूकम्प पिडितका लागि नमूना घर ।

DSC05009

प्रत्येक घरमा नौ वटा सिमेन्टका खम्बा । त्यसको छानो जस्ताको ।

DSC05024

जस्ताको तातो छेक्न मान्द्रा वा बाँसकै कप्टेराले टिनलाई छोपेको । हरेक घरमा दुई वटा झ्याल । सानो भान्छा । दुई वटा सुत्ने कोठा । र एउटा पिँढीपनि । हरेक घरका मोहडा मिलाएर बनाइएको ।

DSC05015

DSC05022

सबैलाई एक एक वटा चर्पी । त्योपनि बाँसबाटै बनाएको । बलेसीको पानी झार्न टिनकै पाताले पाईप जस्तो बनाएर पानी एकै ठाउँमा खस्ने बनाइएको छ । हेर्दा पर्यटकका लागि बनाएको रेसर्ट जस्ता होटेलका बंगाला जस्ता लाग्ने । दुई परिवारकालागि एउटा धारो । बाँसलाई नट बल्टुले अड्याएर बलियो पारिएको ।

DSC04992

यो बंगाला अमेरिकी पूर्व राष्ट्रपती जिमी कार्टरको संस्थाले बनाएको रहेछ । मानवताकालागी वास (ह्याबिटेट फर ह्युम्यानिटी) भन्ने संस्थाको तर्फबाट । यो बनाउन ४५० जना बिदेशी आँफै आएका रहेछन् । तिनैले सबै काम गरेका रहेछन् । ति मध्ये अमेरिका, न्युजिल्यण्ड लगायत बिभिन्न मुलुकका मानिस खटिएका रहेछन् । अमेरिकीहरुले बाँस नेपालको पूर्वी भेगबाट किनेर त्यसमा किरा नलागोस भनी पहिले रसायनिक पदार्थमा डुबाएका रहेछन् । यो घरको आयू कोही ३० वर्ष भन्छन् । कोही कम्तिमा दश वर्ष भन्दै थिए ।

DSC05003

DSC04995

कसैले ध्यान नदिएको कुरो के भने उनीहरुले बाँसमा चट्ट पारेर सिमेन्टलेनै पोतेका रहेछन् । बाँसलाई सिमेन्टले गज्जबसित अँठ्याएर राख्दो रहेछ ।

DSC04996

बाँसको दाम एक घरका लागि ३७ हजार । जम्मा लागत एक लाख ६० हजार । हरेक परिवारलाई ब्याजमा यो रकम दिएर बनाईेएको रहेछ । टाँडी बजारका सुकुम्बासीकालागि । यहाँ अहिले सडक पिच गर्ने योजना छ । ग्राभेल सडक छ अहिले । छरालिएर बसेकाहरु एकै थलोमा छन् । टोल सफा सुग्घर राख्ने प्रयास गरिरहेका छन् । यो घरको अर्को विशेषता के भने चोरले चोरी गर्न गाह्रो । बाँसको भित्ता, बाँसकै झ्याल हुनाले अलिकती हान्नसाथ ढ्वाङ ढ्वाङ आवाज आउँछ । त्यो आवाज आउनसाथ सारा टोलबासीलेनै थाहा पाउँछन । यो अमिल्या बस्ति टोल सुधारका अध्यक्ष बिजय लामा भेटिए । उनले पनि भूकम्प र बाढी पिडितका लागि यो घर एकदमै उत्तम, सस्तो, राम्रो र बलियो हुने अनुभव सुनाए । यो बस्ती निर्माणमा सक्रिए भएर लागेका उनले अन्यत्र भूकम्प पिडितका लागि यस्तो घर बनाएमा आफूले सहयोग दिन तयार रहेको बचन पनि दिए ।

तपाइँको प्रतिक्रिया