एनआरएन नर्वे -लज्जा कि गर्व !
- टेक बहादुर गिरि / नर्वे
केहि बर्ष अघिको कुरा हो,दक्षिणी नर्वेमा आयोजित एउटा कार्यक्रममा स-परिवार सहभागी हुने मौका जुर्यो |संयोगबश:त्यस कार्यक्रममा नर्वेका एकजना पुराना नेपाली भाषी अगुवा पनि टुपलुक्क देखिए |तिन दिने आवासीय कार्यक्रम अवधि भर पुर्व परिचित उनले एउटा हात छाती सम्म उचालेर हाम्रो अभिबादन ग्रहण र आपसी सन्चो -बिसन्चो सोध्ने बाहेक केहि कुराकानी भएन |समापनको दिन सोहि कार्यक्रममा दक्षिण भारतबाट आएका एकजना प्रसिद्ध आध्यात्मिक गुरुसंग सामुहिक भेटघाटको कार्यक्रम थियो |समयको निक्कै पावन्दी थियो |कार्यक्रम मा अभिभावक तुल्य ती नेपाली अगुवा संग आशा पलायो | उनको अगुवाईमा नर्वेमा बस्ने नेपाली भएर भेट माग्दा दर्शन -भेट सहज हुन सक्थ्यो कि भन्ने लाग्यो | त्यो हार्दिक आग्रहलाई उनले मुस्कुराउदै अस्विकार गरिदिए | अनि फूलको गुच्छा लिएर ` इन्डियन ` हरुको लाइनमा उत्साह पुर्वक सामेल भए | हामी पनि के कम ! पारिवारिक भेटलाई “नेपाली “नाम दिएर ति गुरुका सहयोगीलाइ ढोकामा नाम टिपायौं |नभन्दै २ मिनेट पछि हामीलाई भेटको लागि भित्रबाट बोलावट भयो |हामी बाहिरिदा उनि लाइनमा बसेकै थिए |संकोच र लज्जाबोध गरे क्यार ! हामीलाइ देखे नदेखे झैं गरे |हाम्रो भने नेपाली अभिमानमा गहिरो चोट लाग्यो |
पछि एकजना मित्र मार्फत थाहा पाएँ | उनि एनआरएन नर्वेका सारथि नै रहेछन | केहि समय पछि दलालको फन्दामा परि दक्ष जनशक्तिको भिसामा नर्वे भित्रिएर ठगिएका,थाकेका र दुख पाएका नेपालीहरु माझ तिनै एनआरएन नर्वे `भ्याट्रन `लाइ राजधानी ओस्लोको सेन्टरस्थित एउटा चौरमा पाएँ | ती शिक्षित र पिडित नेपालीको आशाका केन्द्र बनेका उनी चह्राइरहेको उनीहरुको घाउमा मल्हम लगाउने कुनै तरिका सुझाउदै थिएनन्, न त त्यो पिडामा एक्यबद्दता र सहानुभूति नै जनाउदै थिए | उनी त सेवक होइन | रवाफिलो र प्रशासकीय हाउभाउमा पिडितहरुको महत्वकांक्षा र अज्ञानतालाई धिकार्दै र पिडित हरुलाई अझ आहत र निराश बनाउदै थिए |
सन्दर्भ एनआरएन नर्वेको राष्ट्रिय समन्वय परिषद पदाधिकारी चयनको हो |प्रथम उपाध्यक्ष र महासचिव सहित अधिकांश पदाधिकारी निर्बिरोध चयन भै सके पनि अध्यक्ष सहित केहि पदाधिकारीको निर्वाचन अर्को साता हुदैछ | सर्वसम्मत हुन नसके पछि वा यसका लागि भएका प्रयासहरु विफल भए पछि निर्वाचन हुन लागेको हो | भनिन्छ, निर्वाचन नै प्रजातन्त्रको स्वर्णिम द्वार हो | तर भर्खरै खुट्टा टेक्न लागेको संस्थामा सहि ब्यबस्थापन भएन भने निर्वाचनको कम्पन ले ल्याउने असन्तुष्टि ,अहंकार , फुट र बिखन्डनको खतरा पनि उतिकै छ | आरोप र वैमन्यस्तापनि बढ्न थालेका छन् । ‘फलानो त नेपालमा फलानो पार्टीको रे, ढिस्कानु त झन ठूलै कार्यकर्ता रे’ नेपाली हुनुको परिचयमा राजनीतिक पार्टीको सिद्धान्त जोडिन थालेका छन् | यदाकदा उम्मेदवार स्वयम् नेपालमा छदाको राजनीतिक साइनोले अलंकृत हुन् थालेको चर्चा पनि सुनिन्छ |दार्शनिक अरस्तुले भने झैँ मानिस प्रकृतिले नै राजनीतिक प्राणी हो | राजनीतिक चेतना भएको र राजनीति बुझेको `बोल्ड `व्यक्तित्व ले नै सिंगो समाजको नेतृत्व गर्न सके प्रभावकारी हुन्छ | तर राजनीति लाइ दलगत र मागी खाने भाडोको रुपमा बुझियो , अनि प्रजातान्त्रिक चरित्र भएन भने नेता बन्नेको अहंकार अनि बन्न नपाउनेको रुष्ट पनले संस्थाको अस्तित्वलाई नै कम्जोर बनाउछ |
एनआरएनको केन्द्रिय मुद्दा बाहेक नर्वेका कुनै पनि उम्मेदवारले खासै स्थानीय छुट्टै एजेन्डा लिएर चुनाव लडेको व्यक्तिगत वा कुनै पनि सोसियल मिडियामा सार्वजनिक भएको छैन | लाग्छ ,पदस्थापन मात्र हो | सुनिन्छ ,केहि उत्साही साथीहरुलाई परिचय बनाउनु छ , अनि हामी आशेलाई शासक पात्र झैं आफ्नो परदेशी नेता चाहिएको छ |
एनआरएन विश्वका सबै डायास्पोराको अगाडि गर्व गर्न लायक संस्थाको रुपमा स्थापित भैरहेको छ | प्रवासमा रहेका हरेक नेपालीको लागि आपत विपतमा सहयोगी वन्ने यसको प्रमुख भूमिका हो | सबै वर्ग, जाति, क्षेत्रका नेपालीको साझा संस्थाको रुपमा मान्यता र स्नेह पाएको एनआरएन को उद्देश्य भनेको मातृभूमिको उत्थान नै हो । संस्थाहरुमा धनी र गरिव,कुन बर्ग र स्ट्याटस भन्ने भावना जागृत हुनुभन्दा हामी सवै नेपाली हौँ,| त्यही नेपाली भएको नाताले नै हामीहरुको भावना मुखरित गर्न एनआरएनले अगाडि सारेको `एक पटकको नेपाली सधैंको नेपाली ` भन्ने भावनाका आधारमा काम गर्नुपर्छ | यसो भएन भने एनआरएनको भविष्य नर्वे आइपुगेको पहिलो पुस्ताबाटै अन्त्य हुनेछ। किनकी एनआरएनका दोस्रो पुस्तालाई आफ्नो बाबुआमाको जन्म देशको माया र साइनो सम्बन्ध टुट्दै गएको छ।दोश्रो पुस्तामा प्राय: मातृ भाषा, संस्कार, संस्कृति ,हाउभाउ र भेषभुषा फ्युजन भैसकेका छन | दोस्रो पुस्ताका नेपाली प्रति न यहाँका एनआरएन कसैलाई चासो देखियो, न उनीहरुलाई एकीकृत पार्न सक्ने कुनै ठोस योजना नै छ।
सबै नेपाली अटाउने एनआरएनमा सबैको आकर्षण बढाउनु,यसलाई सबैको साझा ,बलियो र गरिमामय संस्थामा अपनत्व बढाउनुको सट्टा कुन बाटो,परिवेश र देश हुदै नर्वे आइपुगेर कुन `स्टाटस`मा टिकेका छन् भन्ने सम्मको आधारमा नेता बनिन आतुर गर्ने हरुले नै समाजलाई टुक्र्याउने चलखेल गरेको आभास मिलेको छ |
बिश्व समुदायको ध्यान मातृभूमिमा आइपरेको बिकराल बिपतमा छ | दुख ,पिडा र आशुको महासागरमा नेपाल डुबेको बेला बिदेशमा बस्ने हामी दुखि मनहरु भनेसिमित व्यक्तिको जुङ्गाको लडाइमा विभाजित हुदैछौं | यो त्रासदी र दुखमा एकजुट भएरै भर थेग गर्न सकिन्छ |एकता बाट नै सहकारिता ,सम्बन्ध र बिश्वास आर्जित हुने हो | त्यसैले निर्वाचन आयोग नै गठन गरेर मतदान गरि सकिएको ब्यालेट नेपालको असहज र बिशेष परिस्थिति वश नखोलौं | तिम्रो अनि मेरो होइन,सर्वसम्मति बाट हाम्रो नेता छनौट गरौँ | यसका लागि माथि भनिए जस्तो लज्जित हुनु पर्ने नेता होइन , गर्व गर्न लायक हाम्रो नेता छनौट गरौँ ,जसले मन र समय दिन सकोस | इच्छुक मध्ये बाट जो आर्थिक ,सामाजिक ,बैचारिक, भाषिक रुपमा सक्षम, सुझबुझ र नेतृत्व क्षमता भएको व्यक्तित्व होस् | सर्वसम्मति गर्न ` भ्याट्रन ` हरु बाट `टाक्स फोर्स `नै गठन गरौ | यो बेला मनकारी नर्वेली जनता र नेपालको प्रमुख दाता नर्वेली सरकार संग आवश्यक सहकार्य र लबिङ्ग गर्न आवश्यक छ |
नर्वे भरि छरिएर रहेका नेपाली हरुलाई समेट्न र सहि तथ्यांक तयार गर्नु छ |नेपालको बिधमान शान्ति प्रक्रियाको स्टक होल्डर ` शान्ति महाशक्ति ` कहलाएको नर्वेमा नेपालको दिगो शान्ति र बिकास राजनीतिका बारे सार्थक बहस चलाउनु आवश्यक छ |यहाँको सकारात्मक राजनैतिक, संस्कार र चरित्र अनि नर्वेली सिप र प्रबिधि ,पर्यटक र लगानी हरु नेपाल भित्राउन नेपालीको साझा र बैधानिक संस्था एनआरएन ले भूमिका खेल्न सक्छ |नर्वेमा गुमनाम रिटायर्ड जीवन बिताई रहेका नर्वे – नेपालको मित्रताका सुत्रधार ,नेपालको जल बिद्युत बिकासका एक शिखर पुरुष नेपालका मानार्थ नागरिक पाका उद् होफ्तुनलाइ एउटा नेपाली प्लेटफर्म बाट सम्झिनु कसलाई फुर्सद छ ? ४ दशक बढी दुर्गम नेपाली माटोमा आफ्नो रगत पसिना सिञ्चन गरेका नेपालका ती असल साथी उद् लाइ एउटा सामुहिक मंच बाट सम्मान गरिदिए मात्र पनि हामी नेपाली कृतज्ञ हुने थियौं | पाच सय अधिकको संख्यामा रहेका नेपाली भाषी भुटानी मध्ये दर्जनौं प्रौढ हरु नेपालमा बसी खान र कामकाजी हरु लगानी गर्न इच्छुक छन् | झन्डै सैयौं को संख्यामा ती पर्यटक बनेर बर्षेनी नेपाल जान्छन | उनीहरु लागि जटिल बन्दै गएको त्यो प्रक्रियामा एन आर एन ले समन्वय र सहजीकरण गर्न सके मातृभूमि र उनीहरुको समेत उपकार हुन् सक्छ |
यसो हुन सकेन भने एनआरएन को पदाधिकारीको खाली ठाउँ भरिएको मात्र हुनेछ |केहि सिमित व्यक्तिलाई पदाधिकारी बनेर परिचय बनाउने मात्र हठ भएको कलंक अवान्छनीय मानिने छैन | बाकि एनआरएन नर्वेका २ सय ६० अधिक मतदाताका लागि एनआरएन कागलाइ बेल पाक्यो हर्ष न बिष्मात हुनेछ |




