गोरखाका नेपाली कतारमा बेलायत खोज्दै
आज दोहा आइपुगियो । पेरिसमै विमान एक घण्टा ढिलो भयो । १० किलोको झोला ढाडमा बोकेर मान्छेका चर्तिकला हेर्छु भनेर यताउती हिंड्दै थिएँ । एक जना बाजे देखे । परैबाट । पाल्पाली ढाकाटोली लगाएका । आँखा खिचियो । एकछिन हेरें । उनी चर्पी खोज्दै हिँडेका रहेछन । मपनी त्यहि खोजिमा थिएँ । एउटा कुनामा अर्की महिला थिईन चर्पी अगाडि उभिएकी । पटुका फुकाल्दै थिईन । सेतो रङको । बाजे लुखुर लुखुर आए । ‘ओ ए के भो? जा न जा केही हुन्न जा ।’ बज्यै झर्कीईन ‘के पो भन्छ, मान्छे गाको छ ।’ बज्यैलाई चर्पीमा एकै पटक धेरै मान्छे जान हुन्छ कि हुन्न थाहा नभएर जस्तो लाग्यो । ‘बाजेले भने ‘आबो मान्छे त जान त केरे । त्याँ सप्पैलाई त हुन्छ दिसा बस्ने ठाम ।’ ‘ए, के था तोनी’ भन्दै बज्यै पसिन, पटुका बाजेलाई राख्न दिएर ।
निस्किए उनीहरु । बाजेसित कुरो गरौं कि भनेर पछि लाग्दै थिएँ म । अली पर त एउटा हुलनै रैछ । सप्पै बाजे जस्तै । कोही सानो झोला नाम्लो बोके जसरी टाउकोमा बोकेका थिए । कसैले उनीको टोली, मक्खल र ससमे समेत बेरेका । सबै खसोखास गाउँले । हराएछन दोहाको विमानस्थलमै । ‘नपढ्ने मुन्छेलाई त गाह्रो पो रैछ’ बाजेले भने । नेपालीहरुले सहयोग गर्न खोजे । ‘कता जाने हो था पो पाएन’ बाजेले भन्दै थिए ।
‘कहाँ जान लाग्नु भाको ? नेपालीहरुले सोधे । ‘हामी त बेल्यत (बेलायत) जान लाको बेल्यत’ एक जना बज्यैले बाजेलाई उछिनिन् । नेपाली ठिटाहरु हाँसे । बाजे ‘बाबु हो आबो काता जानी हो लु न भन’ भन्दै थिए । बेल्यत जाने पिलिन (प्लेन) खोजेका । ठिटाहरुले बाजेको टिकट हेरे, बोर्डिङ पास मागे । हेरे । अर्थ्याइदिए ।
‘यस्तो उमेरमा के बेलायत जानी त बाजे ।’ ठिटाले बाजेका कुरा रमाइलो मानिमानी सोध्दै थिए ।’
‘आबुइ बाबु हो झन्डै मरेको नी जमिन हल्लेर । घस खसो। नजाने भनेर बसेको । आबो ज्यान भन्दा ठोलो के रछ र । झन्डै मोरेन । उता गएपछी ज्यान त जोगिन्छ ।’ छोरा छोरीले उतै आउ । नेपाल बह्नेर क्यार्ने ? ज्यानऐ नजोगिने भ्यासी’ भनेका छन । ‘ बाजेहरु लागे बाटो ।
दोहामा गज्जब छ । जतापनि नेपाली बोलेको सुनिन्छ । यहाँ अरु भन्दा नेपालीनै बोलेको सुन्दा नेपाल हो कि जस्तो लाग्ने । तर नेपालीका दु:ख यतापनि कम छैनन । सुकिला लुगा भित्र धेरै पीडा लुकेका छन । ‘एजेन्टहरुले मासिक सात आठ हजार रियलमा सम्झौता गर्छन् । बिचौलिया र दलालले खाइदिएर नेपालीलाई जम्मा हजार १५ सय रियाल भन्दा दिदैनन् । बिरोध गर्यो भने तत्कालै उही दिन नेपाल फर्काइदिन्छ । बोल्ने ठाउँ छैन । बोलिदिने कोही हुन्न । कतारमा पैसा छ । तर गरीब र नेपालबाट काममा आउने श्रमिकलाई यतापनि शोषणनै छ । ताप्लेजुङका भिम राइइ र नवलपरासीका केशब तिम्सिनाले सुनाए । कतारको सरकारको काम भैरहेकै छ । श्रमिकहरु पाइरहेकै छ । एजेन्टले भनेको कुरो पत्याउँछ, दुखियाका मर्का सुन्दैन, साह्रै अपराध जस्तै नगरेसम्म ।
‘यिनै मनकारीले मलाई कम्प्युटरको ब्यवस्था गरिदिए ।
आएर फेसबुक हेरेको । दोहाका पत्रकार साथी दिपक पुडासैनीले सम्झेका रहेछन । ‘कता हो तपाईं ?’ कता भन्ने ? ‘यही दोहाको मूर्ती जस्तो रहेछ । ‘टेडी बेयर (भालुको प्रतिमूर्ती । मैले भनें ‘भालुको मूर्ती अगाडि ।’
‘ए ए’ दीपकजीले बुझिहाले । ‘मा पाँच बजे तपाईंलाई भेट्न आउँछु ।’ लौ गज्जब भो । जता पुगेपनि जुन देशमापनि कोही न कोही चिनेजानेका, मित्र भेट हुने । यो प्रतिमूर्ती त नेपालीको लागी भेटघाटको थलो बनाउन प्रसिद्द पो रहेछ ‘टेडी बेयरको अगाडि, आसपास आउनुस् त्यहीँ भेटउंला ।’ दोहामा आएपछि फेरी थाहा भो ‘विमान सात घण्टापछि बल्ल उड्ने छ ।’








