मान्छे मुनि हिमाल !

Davos-01-Fev-2015 081

तिन हप्तादेखि खटाई । हरेक दिन जस्तो स्विजरल्याण्डमा रेल वा बस चढ्नुपर्ने । कहिलेकाहिँ त कम्तिमा सात आठ पटक बदलेर । बिहान म बाल्कोँ द जुरा भन्ने ठाउँमा थिएँ । स्विजरल्याण्डको फ्रान्ससित सीमा जोडिएको ठाउँ । त्यहाँबाट फेरि आल्प्स क्षेत्रको हिमाली भागमा बस्दै आएकी निकोल निकीसित अन्तर्वार्ता गर्न गएँ । स्विजरल्याण्ड आएपछि निकट भएका साथी पाथ्रिक जनेनले त्यो मिलाएका थिए । निकी स्विजरल्याण्डको सरकारले शताब्दिकी स्पोर्ट्स नारी घोषणा गरेकि पात्र थिईन्  । हिमाल र स्पोर्ट्सबारे चासो राख्ने उनलाई नचिन्ने कोहि रहेनछ स्विजरल्याण्डमा । नेपालको बिकट क्षेत्र खुम्बुमा स्कूल चलाएकी । नेपाली वालवालिकालाई उचित शिक्षा दिन । लुक्लामा निकोल निकी अस्पत्ताल चलाएर एक वर्षमा १५ हजार भन्दा दिनदुखिलाई स्वास्थ्य सेवा पुर्याउँदै आएकी । स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय गाइडको प्रमाणपत्र पाउने प्रथम महिलापनि यिनै रहिछन्  । दुई घण्टा उनीसित भलाकुसारी गरेपछी पुगियो, ग्रैय भन्ने  ईटालीसित सीमा जोडिएको क्षेत्र  । त्यहाँ अर्का प्रसिद्द हिमाल आरोही जँ थ्रोइयसित भेट गरियो । उनै पाथ्रिकले आफ्नै गाडीमा लिएर गए ।

Davos-01-Fev-2015 071

बाटोमा हिउँका खोच जस्ता लाग्ने सडक छिचोलियो। सडकमा हिउँ । वरिपरि रुख र बुट्यानका पात समेत हिउँले भरिएर सेताम्मे । चारैतिरका डाँडा हिउँले सेताम्मे भएर हिमाल बनेका थिए । पाथ्रिकले हामी पुगेका स्थानिय क्षेत्रबारे व्याख्या गर्दै लगे, डनी बेर्थोलेकहाँ । उनी रहेछन् राजा त्रिभुवनको खानपिनको निम्तोसमेत भोगेका स्विस फोटोग्राफर । उमेर ८१ पुगेका उनी नेपाल जाने पहिलो स्विस फोटोग्राफरपनि रहेछन् । उनले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसम्मका रोचका प्रसंग सुनाए । त्यो बेलाको नेपाल कस्तो थियो भन्ने उदाहरण दिए । हाम्रो त्रिभुवन विमानस्थल त बनेकै रहेनछ उनी नेपाल जाँदा, सन् १९६२ मा । साना विमान आलू बारीमा बस्थे रे । उडेपनि विमानस्थलमा टेन्ट टाँगेर यात्रु आगमनको कार्यालय चलाउँदा रहेछन् नेपाली सेनाले ।

Davos-01-Fev-2015 070

(माथिका तिन वटै तस्विरमा हिम चिप्लेटी खेल्न तयार स्विसहरु) 

अर्को दुई घण्टा उनीसित भलाकुसारी गरियो । उनले नेपालका त्यो बेलाका दूर्लभ तस्विरहरू देखाएर जिल्ल पारे । त्यसपछि पाथ्रिकले मलाई लँक्या भन्ने ठाउँमा हुइँक्याएर लगे । कारण थियो, रेल चढाउनु । दाभोस जाने । खासमा मलाई त्यता जान मनै थिएन । तर भाई निराजन श्रेष्ठले ‘दाई हामी स्की (हीम चिप्लेटी) खेल्न दाभोस जान्छौं । तपाईलाईपनि म डाँडाकाँडा देखाउँछु । उता अन्तर्वार्ता सकिएपछी दाभोस जाने रेल चढेर ओर्लिनु दाभोसमा । राती म लिन आउँछु’ भनेका थिए । जान मन थिएन । स्विजरल्याण्डमा हरेक दिनजसो म डाँडाकाँडा त हेरिरहेको छु । रेल, बस वा पैदल जता जसरि जाँदापनि सेताम्मे हिउँका पहाड त देखिरहेको छु । भिराला जमिनमा आँखा चिम्म गर्नुपर्ने गरि डराई डराई पहराबाटपनि ओर्लिने रेल चढिरहेकै त छु । के डाँडा हेर्न त्यति टाढा जानु पर्छ ? मैले स्विजरल्याण्डका डाँडा देख्या छैन् र ?’ मनमा यस्तो लागेपनि ‘बचन राखौं ।

Davos-01-Fev-2015 065

Davos-01-Fev-2015 012

(पहिरोले सताउला, घरहरुसम्म आएर दु:ख देला भनेर हिम पहिरो रोक्न बनाएका बार ) 

एक महिना जस्तो सँगै हुँदापनि गफ गर्न भ्याईन । ढुक्कले एक दिनपनि सँगै बसेर गफगाफ गरिएन । त्यो फूर्सदनै मिलेन । दुई दिन उता गए गफ होला, नयाँ ठाउँ देखिएला ।’ यस्तो सोचियो ।  फेरि म स्विजरल्याण्ड आउने खबर पाएपछि मलाई आफ्नो घरमा निशुल्क बस्न हार्दिकतापूर्वक प्रस्ताव गर्ने एन आर एन स्विजरल्याण्डका अध्यक्ष धर्म गुरुङसितपनि  भेटिने । चितवन मेघौलीका राम परियारसितपनि  भलाकुसारी हुने । यो पटक नभेटे यी दुबैसित भेट्ने संभावना कम थियो, यस पटक । तैपनि मन नलागी नलागी म दाभोस जाने रेल चढें ।

Davos-01-Fev-2015 083

Davos-01-Fev-2015 056

(अघिल्लो तस्विरमा मान्छे भन्दा अझ होचा देखिएका हिम श्रीङ्खला र हिम चिप्लेटी खेल्न सल्बलाएका मानिसको चर्तिकला हेर्न झुम्मिएका काग) 

‘त्यती टाढाबाट दाभोस पुग्ने त्यो मान्छे सामान्य होईन । तिमीहरुपनि सामान्य होइनौं’ भनेकी रहिछन् निकोलले । लौ असामान्य मान्छेनै परियो  के गर्ने त ? दाभोस राती ११ बजे पुग्यो रेल । त्यो अन्तिम रेल थियो । जुरिचमा सात मिनेट ढिलो भैदिएको भए त्यो रेल छुट्ने थियो । त्यो रेल छुटेको भए म राती रेल स्टेशनमा बास पर्थें । किनभने म बस्ने ठाउँ आराउ आउन सायद रेल पाइन्नथ्यो । रेल पाएको भए रेल स्टेशनबाट आराउकोपनि अर्को गाउँमा म बसेको थलो पुग्ने बस पाइन्नथ्यो । स्विजरल्याण्डमा अकस्मात होटेल बुक गरेर बस्न त संभवनै थिएन । किनकी तत्कालै होटेल बुक गर्दा यहाँ साँढे दुई सय स्विस फ्र्यांक भन्दा बढि पर्थ्यो । गोर्खेको कमाईले त्यत्रो पैसो कसरी तिर्न सक्नु ? त्योपनि एक रातकालागि ।

Davos-01-Fev-2015 116

Davos-01-Fev-2015 031

(हिम चिप्लेटी खेल्नकालागि हिमालका चुचुरामा पुर्‍याउने केबल कार र दोस्रो फोटोमा दाहिनेबाट निराजन श्रेष्ठ, राम परियार र धर्म गुरुङ । यि तिन नेपाली हिम चिप्लेटी खेल्न तयार गर्दै रहेका)  

जे होस दाभोस पुगियो, थकाईले चुरा भएर । गोडा फतक्कै गलेका थिए । टाउको भारि बनेको थियो । आँखाबाट तातो बाफ छुटे जस्तो भएको थियो । रेल स्टेशन पुगेपछि निराजनलाई फोन गरें । उनी लिन आए । सिधा होटेलमा पुर्याए, जहाँ उनीहरूले मेरोलागिपनि होटेल लिएका रहेछन् । होटेलको बार्दलीबाट समग्र दाभोस शहर देखिने । सिंगो गाउँलाई हिउँले लुकाएर राखे जस्तो, पुरै सेताम्मे । छतमा भिरालो पारेको हिउँ देख्दा घर हुन् भन्ने लाग्ने । यस्तो चिसोमापनि मानिसहरूको चहलपहल अपत्यारिलो । गाडीहरू कुदिरहेका । होटेल, बार, रेस्टुरा, डान्स पार्टी गर्ने थलोमा झिलिक र मिलिक चलिरहेको, ग्राहकहरुका आँखा तान्न । लाग्थ्यो, यति चिसोमापनि यो शहरमा कसैलाई कुनै प्रभाव परेकै छैन् हिउँले ।

Neuchâtel-Bern-19-feb-2015 026

(यस्तो भिरभिरै दगुर्छन् रेल । यस्ता रेलले हिमालका चुचुरोमा लागेर छोडिदिन्छन् र त्यहाँबाट चिप्लिँदै तल झर्छन् हिम चिप्लेटीका पारखीहरु)

आँखामा गाजल सिर्लिक्क तेर्सो धर्सो पारेका । कपाल परालको कुनियो झैं टम्म बटारेका । मुरली जस्ता खुट्टा । पुठ्ठासम्म अली बाक्लो जाँघेले छोपे जस्ता । त्यसमुनी पातलो ट्राउजर जस्तो । चकका जस्ता जुत्ताका खुट्टी टेकेका गोरा केटीहरूको चहलपहल लोभलाग्दो थियो । यिनका खुट्टा के हिउँ प्रुफ हुन् ? यिनलाई चिसोले छुन्न ?

Davos-01-Fev-2015 064

(यति अग्लो हिमालको माथि आधुनिक रेस्टुरेन्ट । यहाँबाट फरक फरक हिम चुचुरा देखिने । यहिँ बसेर खानपिन गर्दै धर्म गुरुङ र राम परियार । करिब दुई घण्टा चिप्लिएपछि यस्तै होटेलमा केहिबेर विश्राम लिन्छन् र फेरि चिप्लिन जान्छन्)

हामीले भित्र दह्रा टाउजर, छाती छोप्न स्विटर, गन्जी र दह्रो जाकेट लाएर मुखसम्म नचिनिने गरि छोप्दापनि जाडोले कुथुर पारेको थियो । सडकभरी हिउँ जमेको । चिप्लिएर एकैचोटी सडक पारी पुगिएला जस्तो । थकाईले चुर भएकाले साँझ सुतियो । बिहान चितवन मेघौलीका राम परीयार चिच्याए ‘ओए केटा हो, उठ्दैनौ ? यत्रो पैसा तिरेर तिमेरु सुत्न आको की स्की खेल्न ?’

क्रमश :

तपाइँको प्रतिक्रिया