आईफल टावरको नाक हेर्दै पत्रकारले सम्झे नेपाल

krishna-gopal-paris-052

(देब्रेतिरका क्रिष्णज्वाला देवकोटा र दाहिने गोपाल खनाल)

 

कान्तिपुर दैनिकका पत्रकार साथी गोपाल खनाल र नयाँ पत्रिकाका सम्पादक साथी क्रिष्ण ज्वाला देवकोटा पेरिस घुम्न आउने भने । प्राय पत्रकार साथीहरु यूरोप आउने भएपछि सम्झन्छन् रमाइलै हुन्छ । देशका पीडा, बेदना र यथार्थता यि सित यति धेरै हुन्छ्न् कि यिनले त्यो न त लेख्न पाउँछन् न लेख्न सक्छन् नै । नेताका वास्तबिकता । राजनैतिक दलका भित्रि खेल । बिदेशीहरुका चलखेल । नेपाली सेनाका आफ्नै स्वार्थ र दाउपेच । माओवादीका अप्ठेरा, सजिला र गर्न हुने, नहुने सबै भित्रि गाठो फुकालेर हेर्न अनि सुन्न पाइन्छ । पत्रकारिता क्षेत्रमा भए गरेका सबै नयाँ नौला आयाम । बौद्दिक गफगाफ । हरेक क्षण यि सित उपयोगि छलफल गरेर बित्छ । बौद्दिक तिर्खा मेट्न पाइन्छ ।

 

गोपाल र क्रिष्णज्वाला बिहानै रेल स्टेसनमा आउँछौं भनेपछि हुत्तिदै गएँ । यता र उति खोजे अहँ फेला परेनन् । पछि थाह भो-साथीहरु अघिल्लो साँझ बेल्जियममा खुब जमेछन् । बिहान चढ्नुपर्ने रेल बाटो लाग्ने बेलासम्म साथीहरु त बिस्तारामै मस्ति निन्द्रामा । सबैका दिल हाँसेर थाकेका कसले उठाइदिने ? यूरोपको खान्की र जलले पक्कै केहि साथ दियो होला रेलको टिकट बिर्साउनेगरि रेल छुटेपछि अर्को टिकट काटेर आए दिउँसो । बस्ने अवधि त जम्मा आधा दिन र एक रात मात्रै हो भन्छन् । अनि पेरिस कहाँ घुम्ने त यार भनेर सोधें । सबै घुम्ने भन्छन् । आधा दिनमा यत्रो शहर कहाँ घुमाउने ? सुटकेश घरमा पुर्‍याउन जाउँ भने त्यहि समयपनि छप्किने भो । अनि समय जोगाउने लोभले सुटकेश दशैंको खसी झैं घिच्याउँदै हिँडियो नेपालीको तिर्थस्थल तिर । आईफल टावर यहाँ आउने हरेक नेपालीको तिर्थ स्थल जस्तै हो । एक घण्टालाई आएपनि त्यो नहेरि कोहि फर्किँदैन ।

 

krishna-gopal-paris-050

 

उनीहरुलाई पाएसम्म पेरिसका अन्तरकुन्तर आँखामा साँच्ने धोको । आफुलाई उनीहरुबाट पत्रपत्रिकमा नआउने, रेडियोमा नसुनिने र टिभीमा नदेखिने देशको वास्तबिक चित्र तिनका मुखबाट छर्लङ्ङ देख्न सुन्न पाइने लोभ । रेल स्टेशनमै क्रिष्णज्वालालाई सोधें, अब फेरि ग्रिह युद्द हुने अवस्था छ कि छैन क्रिष्णजी ? फेरि माओवादी सेना ब्यारेकबाट हतियार उठाएर अर्को युद्द गर्न हिँड्ने स्थिति छ कि भनेर । उनले त्यो संभावना सजिलो देखेका रहेनछन् न माओवादीलाई जंगल धपाउन सजिलो छ नत माओवादी नै जंगल भाग्न सहज छ ।

 

माओवादीले शुरुदेखि केहि गर्न खोजेपनि सहमतीका नाममा एकपछि अर्को घुँडा टेक्दै गएकाले भनेका काम गर्न नसकेको सुनाए उनले । उनीहरु बैधानिक हुन खोज्दा बिदेशीका अगाडि बढि झुकेकाले एकपछि अर्को सहमतीका नाममा जनताका पक्षमा केहि गरेर देखाउन नसकेको सुनाए । उनले एउटा कुरो चाहिँ निकै घतलाग्दो भने बिदेशीका आँखामा असल हुन नालायक हुनुपर्छ । तिनले भनेको मान्नुपर्छ । जति नालायक भयो उति त्यो सरकारले बैधानिकता पाउँछ उनको यो कुरो असाध्यै जायज लाग्यो।  बरु जनता र देशका पक्षमा शुरु देखिनै पेलेर राम्रो काम गर्दै गएको भए बाधाहरुलाई चिरेर अगाडि बढ्न सकिन्थ्यो । केहि काम गरेर देखाउनपनि सक्थे उनीहरुले भन्दै थिए उनी ।

 

krishna-gopal-paris-124

 

देशको राजनिति कता जाँदै छ त क्रिष्णजी ? मेरो जिज्ञासा थियो । शुरुमा जनजाति, पिछडिएका, अछुत भनेर हेपिएका, महिला, मधेसी सबै आआफ्नो अधिकार लिन उठे । तिनलाई जगाउने कामपनि जनयुद्दकालमा मुलत माओवादीलेनै गरेको थियो । पछि त्यसले जातिय रुप लिँदै गयो । उनको चिन्ता थियो-स्थिति जटिल छ, किनभने राजनितिक द्वन्दबाट देश जातिय द्वन्दतिर गैरहेको छ । राजनितिक द्वन्दलाई राजनितिक ढंगले हल गर्न जति सहज हुन्छ जातिय द्वन्द त्यति खतरा ।

 

तैपनि उनी निराशाबादीनै भने थिएनन् । यस्तै हो, देशले दुई वर्षमै ठुलो रगतको खोलो नबगाई राजतन्त्र किनारा लगायो । संबिधान सभाको निर्वाचन भयो । दशक भन्दा लामो हिंसात्मक राजनितिको शान्तिपूर्ण बाटो अपनायो । यति छिट्टै विश्व चकित पार्ने यत्रा सफलता हतपती कुनै देशमा पनि हातलागि भएको छैन । अब जति लडेपनि राजनितिक दलहरुले गणतान्त्रिक संबिधान नबनाई सुखै छैन । देशले यत्रो परिवर्तन खेपिरहेका बेला अलि अलि धमिलो पानीमा सल्बलाउनेहरु हुन्छन् नै । तर ति बिस्तारै पाखा लाग्छन् र देश सहि मार्गमा पुग्नै पर्छ। यसै भन्दै थिए उनी ।

 

गफ गाफका क्रममा देशको राजनैतिक घटनाक्रम जुन पत्र पत्रिकामा आउँदैनन् ति सुनाउने क्रममा उनले भने-सर मा साँच्चिकै धेरै जान्दछु नि । मैले लेख्ने भन्दा धेरै जान्दछु । के गर्ने जानेको, देखेको, थाह पाएको सबै लेख्न नमिल्ने र नपाइने रहेछ। बडा हाँसियो । हुनपनि हो, उनी साँच्चिकै धेरै जान्दछन् । उनको नाम जस्तै उनी भ्रष्टाचारीका मनमा ज्वाला दन्किने गरि लेख्छन् । घुसखोरी प्रशासनका चस्मा खस्ने गरि लेख्छन् । नालायक नेताका आँत काम्ने गरि कलम बजार्छन् । बेथिति र अत्याचारमा उनको कलम साँच्चै ज्वालाझैं दन्कन्छ । त्यहि भएर उनको लेखनका प्रशंसक म जस्ता धेरै छन् । उनमा आफ्नै स्पष्ठ द्रिष्टिकोण छ । पत्रकारितामा उनले नयाँ पत्रिका चलाएर नयाँ स्वाद, नौलो प्रस्तुती र बेग्लै पहिचान थप्न सक्नु उनको त्यहि स्पष्ठ द्रिष्टिकोणलेनै संभव तुल्याएको हो ।

 

भूमिगत रेलबाट आईफल टावर तिर निस्कनै लाग्दा उनले नेपाली पत्रकारिताको क्षेत्रको एउटा रमाईलो वास्तबिकता पनि सुनाए । कान्तिपुर प्रकाशनबाट ज्ञवाली समूह छुट्टियो । नारायण वाग्लेले कान्तिपुरका निकै पत्रकार लगिदिए । कान्तिपुरमा राम्रो लेख्ने भनेर चिनिएकाहरु । लगत्तै फेरि त्यहि समूह ज्ञवाली समूहबाट छुट्टिएर दैनिकी निकाल्न गयो । बजारमा जति पत्रकार छन् तिनले पुगेन । पत्रकारको भाउ यति चुलियो कि चाहिने जति पत्रकार बजारमै छैनन् । अनि एउटा प्रकाशन ग्रिहले अर्को प्रकाशन ग्रिहका पत्रकार तानातान गर्न लागे । त्यहि मेसोमा एक दिन नारायण वाग्लेसित क्रिष्णज्वालाको भेट भएछ । प्रसंग चलेछ लौन गतिला पत्रकार नै पाइएन । संकट पर्‍यो। अनि क्रिष्णज्वालाले नारायण वाग्लेलाई सुझाव दिएछन्-दाई अब ट्याम्पोमा बसेर फलाक्ने । जति मानिस ट्याम्पो नजिक आउँछन् ति सबलाई तपाई पत्रकार हो ? भनेर सोध्ने। असाध्यै हँसाए उनले ।

 

 krishna-gopal-paris-032

 

गफ गर्दा गर्दै आईफल टावरको नाकैमा आइपुगिएछ । थ्रोकादेरो भन्ने अलि उच्च ठाउँबाट आइफल टावर हेर्नेको घुईँचो लाग्छ । अनि त्यो टावरलाई छोएर, अंगालोमा राखेर फोटो खिच्नेहरुको भिडमभिड हुन्छ त्यहाँ । क्रिष्णज्वाला त पहिलेपनि आएका । रहरै त नहुँदो हो नै  तर जिन्दगिमा कहाँ कहाँ घुमियो फोटै छैनन् यार । कहिल्यै खिचिएन आफ्ना फोटा । अहिलेत खिच्नु पर्‍यो, यसो कुनै दिन कहाँ कहाँ पुगियो स्मरण गर्नपनि भन्न थाले । यहाँ चाहिँ कमै बोल्ने गोपालले खुब हँसाए। ददिजी आइफल टावर सँगको फोटो त नखिचि हुन्न यार ? किन र ? ‘ प्रमाण भएपनि लग्दिनुपर्छ बुढीलाई । नत्र मलाई तपाई जानु भयो कि भएन के थाह, के छ प्रमाण भनीभने के गर्ने यार ?’ लौ त साथी भनेर पोज पोजका फोटा खिचियो ।

 

 krishna-gopal-paris-051

 

आइफल टावर हेरेर मात्रै त के पुग्नु ? त्यो नचढि त मनले मान्नेनै होइन । टिकट किन्ने लाईन रहेछ लामो न लामो नागबेली । गर्मीयाममा नेपालमा ढुंगेधारामा पानी थाप्ने लाइन लागे जस्तो । म सुटकेश कुरेर तलै बसें । गोपाल र क्रिष्णज्वाला घ्यात्र्याक घ्यात्र्याक गर्दै लाइन सरेर पुगे टिकट काउन्टरमा ।

 

krishna-gopal-paris-069

 

म यसो त्यहाँको चर्तीकला हेर्दै छु । हातामा क्यामरा छ । एउटा फ्याङ्ले बुढो कर्कलाको पात झैं हल्लिन थाल्यो । भत्भतिलो आगोमा खुट्टा परेर उचाले जस्तो । जति खेरपनि त्यत्ति एउटा खुट्टो उचालेको छ त्यत्ति । त्यो नाचेको रे ! ओहो हो मान्छे झुम्मिएका । यि गोराका जातलाई साँच्चै कछाड बाँधेर, खुकुरी भिरेर छ्याम्का छ्याम नेपाली नाच देखाइदिन पाए दाँत च्यातेर कति हाँस्दा हुन् भन्ने लाग्यो । सुरक्षामा खटिएका सैनिक समेत जिल्ल परेका । एक तमासले हेरेर हाँस्दै थिए

 

krishna-gopal-paris-064

 

विश्वकै सात अश्चर्य मध्येको एक आइफल टावर । त्यहाँ आश्चर्यका कुरा कति कति ! गैह्र कानुनीरुपमा बसेका अफ्रिकी, पाकिस्तानी, भारतिय र बंगलादेशीको झन् गज्जबकै चर्तिकला देखिने । ति हातमा चाँदीका गर गहना र उपहारका वस्तु लिएर छर्लङ छर्लङ हलाउँदै आउँछन् । प्रहरीको काम तिनलाई लखेट्ने, धपाउने । प्रहरीले तिनलाई देख्नु भन्दा एक कोश परबाटै तिनले प्रहरीलाई देख्ने रहेछन् । हामी आइफल टावर पुग्नासाथै त्यस्तै भयो । सुरक्षाकर्मीबाट छलिन ति बाघदेखेपछि म्रिग भागेझैं ज्यान बत्ताउँदै भाग्छन् । ति झोला हल्लाउँदै भागभाग गरेको देखेर क्रिष्ण र गोपाल छक्कै परेर सोध्दै थिए । प्रहरी हिँडेपछि फेरि ति पर्यटकलाई घेर्न आइपुग्छन् । ति गैह्र कानुनी रुपमा काम गर्ने र प्रहरीको लुकामारी दिनभरि यसैगरि चल्छ ।

 

krishna-gopal-paris-059

 

तल साथीहरुका सुटकेश कुरेर बसेको म कम्तिमा एक दर्जन भारतियहरु मलाई भाईसाप, ये लेना, बहुत सस्ता है, मिलाके देंगेयस्तै भन्दै आए सोध्न । कोहि खुब बडिया हैभन्थे । कोहि भने आइफल टावरको चाबी झुण्ड्याउने (कि होल्डर) देखाएर एक यूरोका पाँच ठो मिल्ति हैभन्थे । त्यसैगरि सोध्दै आएको एउटा त्यस्तै १२, १३ वर्षे भारतिय ठिटोलाई तिन चार पटकनै फर्काएँ नहिँ चाहिएभन्दै । अलि बेरमा उ फेरि पर्यटकहरुलाई सोध्दै फेरि आयो । यस्सो लुकाएर फोटो खिचेको त बाफ रे बाफ ठोटो त किन फोटो खिचिस भन्दै राँको झैं भयो । कापी कलम च्यापेर स्कूल जानुपर्ने उमेरको त्यो भारतिय ठिटो मैले सामान नकिनेकोले उ रिसाएको प्रष्ठै बुझिन्थ्यो । मैले तेरो फोटो खिचेको होइन, आईफल टावरको हो, तेरो फोटो मलाई के कामभनेर पन्छिएँ । तरपनि नपत्याएझैं गरेर उ मलाई आँखा तर्दै थियो । उ मसित गलफत्ति गर्दो हो अझै केहिबेर । तर प्रहरीहरु साइकलमा आउँदै रहेछन् । त्यो देखेको ठिटो युद्दक बिमानझैं बोर्कुसी मार्दै भाग्यो ।

तपाइँको प्रतिक्रिया