“आफ्नो खाएर कहाँ जाने राजाको पढ्न ?”
धेरै समयपछि अकस्मात भेट भए पर्वतका विष्णु रिजालजी । सौम्य भाषा, मधुर बोली र तर्कयुक्त प्रस्तुति उनको चिनारी जस्तै हो । नेपाल जान खुट्टा जुरुक्क पारेर बसेका रहेछन् । ‘सर, म त लाग्ने भएँ नी नेपालतिर‘ भने । ओहो ! हो र सर ? किन होला ? जिज्ञासा स्वभाविकै लाग्ने भो । आएका हत्त पत्त फर्किने त कुरै हुन्न । फर्केर जानेलाई पनि गाउँमा “ओइ तँ किन फर्केर आको यस्तो ठाउँमा ? थुईक्क बुद्दी भुट्टिएको भन्दै उल्ली र बिल्ली पारेर बहुला पार्छन् । नेपालमा त्यस्तै छ, फर्किनेलाई आफ्नो चिन्ता भन्दा बाहिरकालाई बढि खसखस लाग्छ ।
उनी आजित भैसकेछन् । आएको तिन वर्ष भयो । छोराछोरीको मायाले सताउन थालेछ । पत्नीको संझनाले उत्तिकै पिरल्दो हो । उता स्वास्थ्य क्षेत्रको स्थायी जागिरलाई जे पर्ला पर्ला, गए जाला भन्दै खतराको घण्टी पहिराईदिएर यूरोप छिरेका रहेछन् । तर अहिलेसम्म बुझ्दा त्यो जागिर चुँडिइसकेको रहेनछ ।
नेपाली संस्कार, चलनचल्ती के भन्ने ? दशौं जना बिग्रेको, सयौंलाई दलालले दुख दिएको, दर्जनौले जागिर नपाएर झिंगा धपाउँदै बसेको चर्चा चल्दैन । सिंगो गाउँमा एउटाले पैसा कमाएको बखान गर्छन् ‘फलानाको छोरोले त यति पैसा ल्यायो नी‘ भन्दै । अनि गोठको भैँसीको दाम्लो फुकालेर, झुलीरहेको धान पाक्न नपाइकन मालपोतमा नामसारी गरेर वा चर्को ऋण काढेर लाखौं बुझाएर बिदेश हानिन्छन् । यहाँ आएपछि न त खोस्रेर दाम पाइन्छ । न त भर्याङ हालेर अम्बाका बोटबाट डलर टिप्न पाइन्छ । न त खस्छ धारोबाट डलर । यो पराई मुलुक त्यस्सै आफ्नो बन्दैन । सबै चाँजो मिलाउँदा मिलाउँदै जहाज डुब्ने होइन त्यहि बिलाउँन बेर मान्दैन ।
के के मिलेन बिचरा विष्णुजीपनि हिँड्ने भएछन् । अनि उनको त साह्रै मर्कामा परेर साहुले भैंसी तान्ने र बैंकले फित्ता लिएर घर नाप्न आउने अवस्था पनि रहेनछ । उता सरकारी जागिरलेपनि नेटो काटेको रहेनछ । अनि जाने निधो गरेका रहेछन् । कुरो ठिकै हो । यहिँ भएका पो को कतिनै हाँसेर बसेका छन् र ?
हामी पाँच सात जना थियौं । यसपटक नेपाल जाँदा मैले घुमेको धादिङ जिल्लाको चेपाङ बस्तीको प्रसंग उठ्यो । उनले खुब रसिलो र यथार्थ कहानी सुनाए चेपाङ बारे जसले अझैपनि नेपालका ग्रामिण भेगमा जनताको चेतनाको स्तर कस्तो छ भन्ने देखाउँथ्यो । प्रसंग चितवनको भरतपुरस्थित दियालो बंगाला बनाउँदाको हो । त्यो बनाउँदा राजा महेन्द्र हेलिकोप्टरमा गएका रहेछन् चितवन । वरिपरिका ठाउँ घुमे । अनि थाह पाएछन् चेपाङहरु निकै पिछडिएका छन् । बालबच्चा स्कूल पठाउँदैनन् भनेर । अनि उनीहरुले भात कहिल्यै देख्न पाएका हुन्नन् । जंगलका गिठा र भ्याकुर खानु उनीहरुको नियती हो ।
राजाले चेपाङहरुलाई भेट्ने भए । राँगा काटियो । भात खड्कँराका खँड्करा पाक्यो । अनि सबैलाई मासु र भातको भोज खुवाए राजाले । र चेपाङहरुलाई पढ्नुपर्छ भनेछन् । त्यतिबेला ‘हस् सरकार‘ भन्दै स्वाद मानीमानी मासु भात भएर हिँडेछन् । कछाड सछाड लुगाफाटोपनि के के पाए । झन दंगदास परिहाले । तर भोज खाएर गएपछि कसले पठाउने बालबच्चा स्कूल ? कसैले पठाएन ।
राजाले फेरि चेपाङका घर घरमा वालवच्चा स्कूल पठाउनुपर्यो, किन नपठाएको स्कूल भनेर सोध्न पठाएछन् । अनि चेपाङहरुले जवाफ दिएछन् “आ, आफ्नो खाएर राजाको पढ्न कहाँ जाने ? जाँदैन आफ्नो खाएर राजाको पढ्न त” । साँच्चिकै यस पटकको दशैंमा म धादिङ जिल्लाको चेपाङ बस्ती पुगेको थिएँ । त्यहि महेन्द्रको पालामा जस्तै अवस्था छ त भन्न अलि मिल्दैन । तर धेरै टाढापनि लाग्दैन त्यो अवस्थाभन्दा ।




