मानव सागरमा नेपाली झण्डा
- ददि सापकोटा
‘स नेपा पोसिब्ल, से आँखोइयाब्ल ‘यो हुन सक्दैन, बिश्वासै गर्न सकिन्न ।’ बर्बाद भएछ । चितवनका साथी रवीन शर्माको आतिथ्य मान्न गएको थिएँ । बिहान एकाएक ठ्याक्कै पौने १२ बाजे रवीनको नेपालीको रेस्टुरेन्ट पुग्दा प्रशान्त उप्रेती कराउँदै थिए । रवीन ‘स ने प्लुस ला फँस को** भिभे ‘हामी बाँच्ने गरेको फ्रान्स, फ्रान्स रहेन’ भन्दै टिभीमा हेरेर कराइरहेका फ्रान्सेलीसितै दु:ख मनाउ गर्दै थिए । भान्छामा काम गरेकाहरू बाहिर निस्किएर ‘लौ बर्बाद लौ बर्बाद’ गर्दै थिए । एकैछिनमा रवीनको फोन बज्यो ‘आजको फूटबल खेल हुन्न ।’ उनको फुच्चे हरेक बुधबार फूटबल खेल्थ्यो, एक क्लबमा । स्कूलले आतंकतकारी हमलाले गर्दा रद्द गरेको जानकारि दिएको रहेछ । रेस्टुरेन्टमा खान आएका ग्राहक प्लेट र खान्कीतिर आँखा लगाउनुपर्नेमा टिभीको स्क्रिनमा झुम्मिएका थिए । मलाई लागिहाल्यो ‘लु केही बर्बाद भो ।’ नभन्दै नौ पत्रकारसहित अन्य दुई जना मारिएको खबर देखें । त्यस साँझ त्यहिँ बसौंला, दुखसुखका गफ गरौंला, चितवनका पूरा साथीहरू संझौंला भन्ने सोचेर गएको । ‘रवीन अब बस्दिन यार जान्छु म ।’ यति भन्दा उनकी छोरि र छोरोले ‘नाई अंकल बस्नु न’ भन्दै म हिँड्ने भन्दा रुन खोजे । तीनलाई संझाएर म तत्कालै हिँडें । लाग्यो, दुखसुखका गफ त फेरि गरौंला नी । यत्रो घटना भएको छ, राजधानीमा के भएको छ हेरौं न ।’ राजधानीको काँठमा विश्वबिध्यालयको साहारा भनिने इभ्रीबाट म हिँडें । रविनलाई घर जान्छु भनेर ढाँटें । तर मन शहरको केही भाग हेर्ने थियो ।
रेल लिएर म शहरको भित्रि ठाउँ र त्योपनी हमलाभएकै सार्ली एब्दो ब्यंग्य साप्ताहिकको कार्यालय नजिक गएँ । रबीनको रेस्टुरेन्टबाट हिँड्दा रेलहरू खाली जस्तै थिए । हमलाको खबरले मान्छेको मन डढाइसकेछ । कति छिटो थाहा पाएका सबैले ? फ्रान्सेली भएपनि बिदेशि मूलका नागरिक आतंककारी भएको पत्तो लागेकाले बुर्का लगाएका, अफ्रिकी मुलुक अल्जेरिया, ट्युनिशियातिरका जस्ता लाग्ने मानिसहरू रुन्चे अनुहारमा देखिन्थे । कोहि शिर झुकाएर रेलमा बसेका थिए । बस चढ्दा उसैगरी दुखि देखिन्थे । सरकारले तीन दिनकालागी स्कूल बन्द गरिदिएको घोषणा गरेकाले स्कूलमा आफ्ना वालवच्चा लिन मानिसहरू तर्सिँदै पुगेका थिए । इभ्री प्रधानमन्त्री मानुएल भालको गाउँ । पहिले उनी रबिनकै रेस्टुरेन्टमा आएर हप्तै पिच्छे जस्तो नेपाली र इन्डियन खाना खान्थे । प्रधानमन्त्रीको गाउँ भएकालेपनी सुरक्षा दह्रो हुन्छ भन्ने मेरो अनुमान थियो । तर आतंककारीको अगाडी कसको के लाग्छ भन्दै मानिसहरू तर्सिरहेका थिए ।
त्यत्रो आतंककारी हमला भएको छ । तर अँहँ मेडियामा चासो नदिएकाले त यो घटना भएकोपनी थाहा पाउने अवस्था देखिन्न । किनभने रेल थोरै गुडेपनि उसैगरी गुडेका छन् । मानिसहरूलाई कतै रोकिएको छैन् । झोला खोतल्ने, बच्चा च्यापेका महिलालाई सास्ती दिने । बसबाट ओरालेर बुढाबुढीको हुर्मत लिने । सुरक्षाकर्मीले गाली गर्ने र तर्साउने । अँहँ केही छैन् । नागरिकलाई दु:ख नहोस्, र आतंककारीको त्रास भोगेका बेला आफ्ना नागरिकलाई थप दु:ख नहोस् भनेर सरकारलेनै आव्हान गरेको रहेछ । हाम्रोमा भए हमलाकारी एकातिर भागिसक्थे । सडकमा हिँड्ने फुटपाथे, कतै जाँदै गरेका सर्वसाधारणलाई बसबाट झारेर थर्काई थर्काई थप हुर्मत लिईन्थ्यो । प्रजातन्त्र र मानव अधिकार भनेको त यस्तो पो हुने रहेछ भन्ने मलाई त्यतिबेला लाग्यो ।
शहरको मुख्य भाग पुगेपछि पक्कैपनि आतंक भोगिने भो । कति ठाउँमा झोला खोतल्ने हुन् । आज हैरान परिने भो भन्ने सोच्दै रविनको रेस्टुरेन्टबाट हिँडेको म पेरिसको मुख्य रेल स्टेशन पुगें । त्यहाँ मानिसहरू त्रसित थिए । सुरक्षाकर्मी परिचालित थिए । तर फाट्टफुट्ट । शहरमा केही भएको छ भन्ने आभास सर्वसाधारणको अनुहार र मानिसको पातलिएको उपस्थितीले जनाउँथ्यो, सरकारी ब्यवहार र सुरक्षाकर्मीको त्रासले होईन ।
सार्ली एब्दो पत्रिकाको कार्यालय के पुग्न पाइन्थ्यो । सडक पुरै जाम गरेका थिए । हजारौं सुरक्षाकर्मी परिचालित थिए । तर के भएको छ ? के हुँदै छ ? घटनाको द्रिष्य कस्तो छ । कसैलाई अनुमानपनी थिएन । कसैले त्यो द्रिष्य देखाएकोपनी थिएन । अग्नि नियन्त्रक, एम्बुलेन्स र कमाण्डो प्रहरी, तम्तयार सेनाको गाडी त कति हो कति । आकाशमा हेलिकोप्टले फन्को मारिरहेको थियो । सुरक्षाकर्मीलाई केही सोध्दा यता नेपालमा झैं डराउनु पर्दैन । सोध्दैमा शंकास्पद ब्यक्ति ठानिन्न । सुरक्षाकर्मीका ब्याज र फुली हेरेर दर्जा नचिन्ने मैले अली निर्देशन दिएजस्तो लाग्ने प्रहरीका एक अधिकारिलाई सोधें ‘के भाको छ अहिले ? लास लगे की लगेनन् ? नलगेको भए कतिखेर उठाउँछन् ?’ आफूहरुलाईपनि कुनै जानकारि नभएको उनले बताए । ‘जे छ सरकारलाई थाहा छ, हामीले त निर्देशन मान्ने मात्रै हो’ उनले भने ।
त्यसपछि पेरिसका केही ठाउँ पैदल घुमें । मानिसहरू साँच्चिकै त्रसित थिए । पसलका सटर ड्यामडुम बन्द । सरकारले उच्च सुरक्षा अपनाउन भनिसकेको थियो । झ्याल ढोका बन्द गरेर बसिदिन र कुनै शंकास्पद गतिबिधि देखिए तत्कालै प्रहरीलाई खबर गर्न भनेको थियो । त्यसैले मानिसहरू घरघरमै थुनिए । स्कूलका बालबच्चा ल्याउनकालागी सरकारले तत्कालै उच्च सुरक्षा दिएर बस सेवा दियो । सार्ली एब्दो भन्ने नाम सुन्नासाथ मुर्छा पारेर हाँस्ने गरेकाको नियति त्यस दिन उल्टिएको थियो । यसदिन मानिसहरू रोइरहेका थिए । ‘हाम्रो हाँसो खोसियो । हाम्रो मुस्कान चुँडियो । हामीलाई हाँस्नपनि बन्देज गर्न खोजे आतंककारीले’ गुनासो गर्दै केही निन्यारो बनेका थिए ।
सरकारले आतंककारी पत्तोपनि लगायो । तर दिउँसो साँढे एक बजे अर्को आतंककारीले सुपरमार्केटमा केही सर्वसाधारणलाई बन्धक बनाइदिएपछी त हरेक फ्रान्सेलीले आफूलाई असुरक्षित महसुस गरे । सरकारका अगाडि ठुलो चुनौती देखा पर्यो । ‘फ्रान्समा सुरक्षा छैन् । अब फ्रान्स साँच्चै आतंककारीको तारो बन्यो । फ्रान्सको जतापनी आतंककारी जमेर बसे । अब जहाँ जतिखेरपनी हान्न सक्छन् । कहाँ कतिखेर परिने हो भनेर मानिसहरू त्रसित भए । सरकारले आतंककारी पत्तो लगाएर दुबैतिरका आतंककारीलाई एकै पटक मारिदियो । आव्हान गर्यो ‘जनवरी ११ का दिन आइतवार राष्ट्रिय मौन जुलुस मनाउने ।’ सबै फ्रान्सेलीलाई यो राष्ट्रिय एकतामा सामाहित भएर मानव अधिकार, गणतन्त्र फ्रान्स, आफ्नो सभ्यता, संस्क्रिती र अभिब्यक्ति स्वतन्त्रताको लागि एक हुन ।’
देशभरी एक लाख ५१ हजार् एक सय ५० सुरक्षाकर्मी परिचालित गर्ने घोषणा सुनायो । यो मौन जुलुसमा सरकारले ब्यापक सुरक्षा दिने बताएर घर बाहिर निस्किन असुरक्षित महसुस गरेका नागरिकलाई सुरक्षा दिने आश्वस्त पार्यो । ज सुइ सार्ली (म सार्ली हुँ, मपनि सार्लीको, यो पत्रिकाको पक्षधर हुँ) भन्ने लेखिएको ब्यानर एक युवाले बनाएर फेसबुकमा राखिदिए । लाखौं लाखले त्यसलाई साझेदारी गरे । आफ्ना राजनीतिक माग, राजनीतिक तानातान र स्वार्थमा लड्ने गरेका फ्रान्सका राष्ट्रिय पार्टीहरू एकै थलोमा आए । एक्स्ट्रीम राईटिस पार्टी भनेर चिनिएको फँ नास्सियोंनाल बाहेक ।
अभिब्यक्ति स्वतन्त्रतामाथि हमला भएपछि यसैपनी विश्वको ध्यान तानियो । हामी नेपालीकालागिपनी यो सहनसक्ने कुरो थिएन । यस्सो हेरें सामाजिक सञ्जालमा । नेपालीहरूले चासो र दु:ख त ब्यक्त गरेका थिए । तर जुलुसमा सहभागी हुने कुरो कतै थिएन । मैले फेसबुकमा स्टाटस लेखेर यो मौन जुलुसमा सहभागी हुने नेत्रित्व गर्न संस्थाहरुलाई आव्हान गरें । संस्थागत प्रयास त भएन । तर नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय र नेपाली एकता समाज फ्रान्सका संरक्षक तप्त भण्डारीले तत्कालै चासो देखाए ।
लौ संस्थागत प्रयास नभएपनी सामूहिक प्रयासमै जाउँ भन्ने सल्लाह भो । मैले ठूलो नेपाली झण्डा बोकेर आउन आव्हान गरें । रेवत पुरी, उपाध्याय र म एक ठाउँमा भेट भयौं । उता अर्कोतिर दिलिप गुरुङ, सुशिला पुन, दिलिप गुरुङ, सुरेश लामा, तप्त भण्डारीलगायतका केही साथिहरूको अलग अलग टोली बनेछ । त्यो समुद्र जस्तो ठाउँमा कसरी छरालिएका नेपालीहरू एक ठाउँ हुने ? संभव भएन ।
जो जहाँ छ त्यहि कुनोबाट भित्र पस्यौं । हामीले नेपालको झण्डा उचालेर । संसारका मानिस सबै त्यहिँ भेला भए जस्तो थियो । कमिलको गोलो जस्तो । मानिस मानिसमै टाँस्सिए जस्तो । झण्डापनी कति हो कति देशका । हेमन्त उपाध्यायले बोकेर ल्याएको नेपाली झण्डा । हिमाल् जस्तो यो झण्डा कहिँ कसैकोसित मेल नखाने । आकर्षणमा परिहाल्थ्यो । मानिसहरू झण्डा समातेर भन्थे ‘एक पोज हानौं न है ?’ कोहि चाहिँ यो कुन देशको झण्डा हो भनेर सोध्थे । झण्डा नचिनेपनि नेपाल भन्ने देश नचिन्ने चाहिँ अफ्रिकी मुलुकका नागरिकबाहेक कोहि भेटिएनन । धेरैले नेपाली झण्डासित फोटो खिचाए । मेडियाहरुलेपनी हाम्रो झण्डतिर क्यामरा सोझ्याए । फुच्चे देशको अड्मिल्दो झण्डा हजारौं मानिस सहभागी भएको देशको भन्दा बढि आकर्षणमा पर्यो । जुलुसको निगरानी आकाशबाट हेलिकोप्टरलेपनि गरिरहेको थियो । सरकारले बढीमा चारा लाख सहभागी होलान् भन्ने आशा गरेको रहेछ । तर आइदिए करिब १७ लाख मानिस । कसरी नियन्त्रण गर्ने ? सडकपेटी सुरक्षाकर्मीकालागी भनेको थियो । भिड नअटाएपपछी त्योपनि जुलुसमा सहभागिकै मोर्चामा पर्यो । झ्याल झ्यालमा ज सुइ सार्ली, फ्रीडम अफ स्पिच, नो टेरोरिजम जस्ता नाराहरू लेखेका ब्यानर राखेर मानिसहरू समर्थन गरेका थिए । तीन किमीको दूरी पार गर्न आठ घण्टा जति लाग्यो ।
र्यालीमा मानिसहरू कोहि रोइरहेका थिए । जुलुसमा आप्रवासीहरूको संख्यापनी बाक्लो थियो । तिनमा त्रास थियो ‘अब यहि आतंककारी घटनाले गर्दा कतै बस्न असहज त बनाउँदैन सरकारले ?’ उता फ्रान्सेलीहरूको चिन्ता फेरि अलग थियो ‘अब कति सुरक्षित भईएला ? सरकारले कस्तो निति लेला आप्रवाशीहरुमा ?’ तिनले फ्याट्ट भनिहाल्न त रंगभेदीको आरोप लाग्ने डरले मिल्दैनथ्यो । तर अनुहारमा ‘आप्रवाशीहरूलाई मनपरि खुला गरेकाले यो समस्या आएको हो’ भन्ने तिनको अनुहार र प्रस्तुतिले देखाउँथ्यो ।
मानव अधिकार, अभिब्यक्ति स्वतन्त्रताकालागी भन्दापनी धेरै मानिसहरू आफूहरू सहभागी नभए आतंककारीले आफ्नो ठान्छन । झन् हौसिन्छन । त्यसैले आतंककारीलाई ठाउँ दिनुहुन्न भन्ने मानेरपनि सहभागी भए । वास्तवमा यहि मनोभावनाले गर्दा फ्रान्सका बिभिन्न शहरमा गरेर ४० लाख मानिसले सहभागिता जनाए । लियों शहरकी नेपालप्रेमी सिल्भियन दला फामीले फेस बुकमा लेखिन् ‘म सामान्य महिला हुँ रपनि नडराई जुलुसमा सहभागी हुन्छु । किनभने त्यो ठाउँ म आतंककारीकालागि छोड्न चाहन्न ।’
(हिजो बुधवार जनआस्था साप्ताहिकमा प्रकाशित )
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus





