बलात्कृत सोच’ माथि मेरो दृष्टिकोण

  • शारदा शर्मा

Sharada Sharma narhari aacharya wifeप्रिय देवकीजी,

म कानूनमन्त्री नरहरि आचार्यकी पत्नी हुँ । कानूनमन्त्रीको समेत सन्दर्भ जोडेर तपाईंले लेख्नु भएको लेख पढें, साह्रै मार्मिक रहेछ । यो दुःखद समाचार पहिला पनि पढेकी हुँ । एघार वर्षको उमेरदेखि आफ्नै हजुरबाबु र बाबुद्वारा बलात्कृत हुँदै आएकी ती युवतीको दुःख अकल्पनीय छ । मुलुकको कानूनमन्त्रीका लागि त यो झन ठूलो दुःखको कुरा हो ।

म मेनका थापालाई धन्यवाद दिन्छु, उनको आँट र परिश्रमले धेरै पीडित बच्चीहरुले पुनर्जीवन पाएका छन् । उनीजस्ता खटेर काम गर्ने मान्छे समाजमा थोरै छन्, तर धेरै ठूला काम गरेका छन् ।

यतिखेर यो प्रस्तावित विधेयक मेरा अघिल्तिरै छ, कानून सम्बन्धित कितापहरु पढ्ने अवसर अचेल बढी हुन्छ। बलात्कारको विधेयकसंग सम्बन्धित लेख भएकाले विधेयकमा प्रस्ताव गरिएका केही तथ्यहरु म यहाँ राख्न चाहन्छु । 

१. बाबुले छोरीलाई बलात्कार गरेमा जन्मकैदको प्रस्ताव छ।

२. जबर्जस्ती करणीमा निम्न चरणहरु छन्-

* १० वर्षभन्दा कम उमेरकी बालिका भए बलात्कारीलाई १०-१५ वर्ष कैद

* १० देखि १४ वर्षसम्मकी बालिका भए बलात्कारीलाई ८-१२ वर्षसम्म कैद

* १४ वर्षदेखि १६ वर्षसम्मकी बालिका भए बलात्कारीलाई ६-१० वर्ष कैद

* १६ देखि १८ वर्षसम्मकी महिला भए बलात्कारीलाई ५-८ वर्ष कैद

* १८ देखि माथि उमेरकी महिला भए बलात्कारीलाई ४-७ वर्ष कैद

बलात्कृतको उमेर हेरेर बलात्कारीलाई औसतमा ४ देखि १५ वर्षको सजायँ यहाँ प्रस्तावित छ । यही विधेयकका अनुसारै पनि तपाईंले उल्लेख गर्नुभएकी बलात्कृत युवतीको बलात्कारी बाबु जन्म कैदको भागी हुने देखिन्छ ।

यहाँ बलात्कारीको सजायँ घटेको कसरी भयो र ?

यस्तै खण्डित सूचना भएको एउटा लेख अनलाइन खबरमा त्यसैका सम्पादक अरुण बरालको छापिएको पढेकी थिएँ । तर ठूल्ठूला कुरा गरेर नथाक्ने हामी लेखक, पत्रकार, मानव अधिकारवादी, महिला अधिकारकर्मीहरु आठ वर्षसम्म एउटी निरीह बालिका बलात्कृत भइरहँदा कहाँ थियौं ? हाम्रो यसमा कुनै जिम्मेवारी थिएन ? यतिखेर आएर सम्पूर्ण असक्षमताको दोष एक्लो कानूनमन्त्रीलाई लगाएर हामी उम्कन सक्छौं ?

कानूनमन्त्रीबाटै थाहा पाएकी हुँ- विधेयक छलफलको क्रममा छ । विधेयकमाथि संसद्‌मा हुने दफावार छलफल बाँकी नै छ । विधेयकमा सच्याउनुपर्ने, थप्नु मिलाउनुपर्ने कुराहरु होलान् । तर म देखिरहेकी छु – यो विधेयकमा धेरै राम्रा कुराहरु पनि छन् । नयाँ कुराहरु छन्, पहिलाभन्दा प्रगतिशील कुराहरु पनि छन् ।

छिद्रहरु नभएका होइनन्, छन् । यहीं गरिएको उमेर अनुसारको सजायँको चार तहको वर्गीकरण छोट्याउनुपर्छ जस्तो मलाई लागेको हो । चौध वर्षभन्दा मुनिका बालिका बलात्कार गर्नेलाई १० देखि १५ वर्ष कैद र त्यो उमेरभन्दा माथिका महिलाको बलात्कार गर्नेलाई ८ देखि १० वर्षसम्म कैद सजायँ राख्नु उपयुक्त हुने हो कि ?

विधेयकका साना छिद्रलाई कोट्याएर ठूला बनाउने र त्यसैमा अल्झिरहनेभन्दा संसद्‌मा छलफल सुरु हुनु अघि नै विधेयकलाई समग्र रुपमा बलियो बनाउन कसरी सकिन्छ, सुझाव दिएर त्यसमा योगदान गर्नु उपयोगी हुनेछ भन्ने मलाई लागेको छ । यो विधेयक संसद्‌मा पेश गरेपछि नरहरि आचार्यले लगत्तै पत्रकार सम्मेलन गरेर यसलाई सार्वजनिक छलफलमा लैजान अनुरोध गर्नुभएको पनि थियो। यससम्बन्धी जानकारीहरु भने सञ्चार माध्यममा त्यति आएनन् । तर नरहरि आचार्यले बलात्कारीलाई उम्काउने कानून बनाउन लागेको भन्ने कुरा भने हास्यास्पद छ ।

कानून मन्त्रीले आफ्नो फेसबुक पेज मार्फत विधेयकमाथि सार्वजनिक रुपमा सुझाव माग्नुभएको छ । अरु छलफलहरु चलिरहेको पनि मलाई थाहा छ । यो मुद्दा धेरै महत्वपूर्ण र सबैको चासोको भएकाले कानूनमन्त्रीको ‘सुझावनिम्तिको अनुरोध’ मैले मेरो यही फेसबुक पेजमा पनि हालेकी छु । विधेयक फेलापर्ने लिंक पनि त्यहीं राखेकी छु । यसैको तल छ, कृपया हेर्नुहोला ।

सबै मन्त्रीले मन्त्रालय सम्बन्धित विषय पढेका हुँदैनन् । कानूनमन्त्रीले कानूनै पढेको हुनुपर्छ भन्दा पनि न्याय र कानूनको चेत चाहिं भएको हुन पर्छ जस्तो मलाई लाग्छ । विधेयक पनि सरकारले सम्बन्धित मन्त्री मार्फत संसद्‌मा पेश गर्छ, तर विधेयक लेख्न र बनाउन विशेषज्ञ र सरोकारवालाहरुबीच चरणबद्ध रुपमा प्रशस्त छलफल र अन्तरक्रिया हुन्छन् । यतिखेर पनि भैरहेका छन्। सुनेकी छु- यतिखेर ‘केही नेपाल ऐन संशोधन’ को प्रस्ताव संसद्‌मा गएको छ, जसमा सामूहिक बलात्कारीलाई अन्य थप पाँच वर्षको सजायँ प्रस्ताव गरिएको छ । यो ऐन पास भयो भने तत्काल लागु हुनेछ ।

मुलुकी ऐनको संशोधन प्रस्ताव टुङ्गोमा पुग्न अझै प्रशस्त समय लाग्नेछ, किनकी विधायन समितिमा गएको यो प्रस्तावित विधेयकमाथि छलफल गर्न संसद्‌भित्रकै कानूनविद्हहरुको संयोजनमा चारवटा समिति बनाएर विज्ञहरु सहित विस्तारित छलफल गराउने तयारी हुँदैछ भन्ने कुरा पनि कानूनमन्त्रीबाटै सुन्दैछु ।

देवकीजी, कानूनमा सजायँ थपेर मात्रै  बलात्कारका घटना कम हुन्छन् भनेर पनि कहाँ भन्न सकिन्छ र ?  तपाईंलाई थाहै हुनुपर्छ, दिल्लीमा बसभित्र भएको भयानक बलात्कार र पीडितको मृत्युपछि बलात्कारीलाई फाँसीको सजायँ भयो, तर त्यहाँ बलात्कार रोकिएको छैन । मोदी सरकारले महिलाहरुलाई सुरक्षा दिन नसकेको आरोप लगाउँदै निकालिएको महिला जुलुशको एउटा समाचारसहितको फोटो आजैको अन्नपपूर्ण पोष्टमा बिहानै देखेकी हुँ ।

केही दिन अघि मेरो घरमा कानून मन्त्रीसंग दुखेसो पोख्न महिला अधिकारका लागि सधैं लडेकी एउटी राजनीतिकर्मी आफ्नी एउटी उद्यमी महिला साथी लिएर आएकी थिइन् । आफ्नो कारखानामा काम गर्ने हाकिममाथि त्यहीं काम गर्ने महिलाले लगाएको बलात्कारको आरोप झुटो र प्रतिशोधपूर्ण रहेको ती उद्यमीको जिकिर थियो । आफ्नो भाइमाथि झुठो बलात्कारको आरोप लागेकी एउटी दिदीको मार्मिक कथा पनि यही बीचमा सुनें । महिला आफैं उपस्थित भएर मलाई बलात्कार भएको छ भन्नसक्ने हो भने नेपाली कानून महिलाप्रति सहानुभूतिशील रहेको पनि यसका जानकारहरु बताउँछन । यस्ता पक्ष पनि छन् । निर्दोष पुरुषहरुले पनि सजायँ पाउन हुँदैन । कानून बनाउनेले यी सबै पक्ष हेर्नु पर्ने  होला ।

त्यसैले महिलामाथिको बलात्कारजस्तो दुष्कृत्यको समाधान निम्ति सही कानून बन्न जति आवश्यक हुन्छ, त्यति नै आवश्यक पीडितप्रति घरपरिवार, समाज समुदाय, समाजसेवी र अधिकारकर्मीको सहानुभूति तथा निरन्तरको टेवा र साथ आवश्यक हुन्छ । सञ्चार जगतको सही भूमिका पनि यसमा अपेक्षित हुन्छ । बलात्कार नहुने र भए पनि पीडितलाई हानि नपुर्याइकन तुरुन्तै बोल्न भन्न सक्ने परिवेश समाजमा निर्माण गर्ने काम पनि साथसाथै हुनुपर्छ । बालिकाहरुलाई बलिया बनाउन पर्छ । उपलब्ध भएका कानूनी सेवासम्म पीडितको पहुँच पुर्याउनु अर्को चुनौती हो । यी काममा सबैको प्रतिबद्धता र इमान्दारी चाहिन्छ । भएकै कानून कार्यान्वयन गराउन पनि त्यत्तिकै तदारुकता आवश्यक छ।नत्र देखिहाल्नुभयो, आठ वर्षदेखि निरन्तर आफ्नैद्वारा घरभित्र बलात्कृत भैरहँदा नेपालको मुलुकी ऐनमा ‘बलात्कारीलाई ‘पाँचदेखि आठ वर्ष’ तोकिएको सजायँ यी पीडित युवतीका निम्ति कुनै अर्थको रह्यो र ?

देवकीजी, पूर्ण र सही सूचना प्रवाह गरेर नै सञ्चार माध्यमले प्रजातन्त्रलाई सुदृढ बनाउन योगदान दिनसक्छ । दुर्भाग्यवश कतिपयले यसलाई जथाभावी लेख्ने र लेखेको कुराको जिम्मेवारी लिन नपर्ने विषय बनाएको पनि देखिएको छ । तर मुलुकका कम भाग्यमानी, कमजोर, पीडित, पछाडि परेका मान्छेहरुका निम्ति बोलिदिने सञ्चारकर्मीहरुले नै हो, तपाईंहरुले नै हो । तपाईंको यो जागरुक यात्रा निरन्तर अघि बढोस्, मेरो हार्दिक शुभकामना छ !

(यो लेख शर्माको फेसबुकबाट लिइएको हो) 

तपाइँको प्रतिक्रिया