संस्कारहीन लोकतन्त्र

  • आनन्दराम पौडेल

anandaram-paudel-33434“हतार-हतार पत्रकार सम्मेलन गर्नुभयो त ?” नन्दरामले सोधे । “किन हतारमा गरेको भन्नुभयो ?” डा.बाबुराम भट्टराईजीले उल्टै सोधे । “प्रचण्डले भ्रमण छोट्याएर रोल्पाबाट फर्किहालें भन्दैथिए । १ दिन मात्र पर्खँदा प्रचण्ड आइपुगिहाल्थे ।” नन्दरामले कारण खुलाए ।

“हतार-हतार गर्नुपर्ने दुइटा कारण पर्नगयो । एउटा कारण त कांग्रेस, एमालेले विदेशी कुटनीतिक प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय मेडियाका रिपोर्टरहरुको भेला गरेर आफ्नो प्रस्तावको बिषयमा अगत गराए । ‘एनेकपा माओवादीको कारणले मात्र सम्विधान निर्माण प्रकृया अवरुद्ध भयो’ भने । यस्ले गर्दा अन्तर्राष्ट्रिय जगतमा माओवादी भन्ने पार्टी त अचाडु रहेछ भन्ने सन्देश जानेभयो । पार्टीको छबि नै ध्वस्त हुनलागेको स्थितिमा पार्टी जोगाउनको लागि हाम्रो भनाई राखिहाल्न जरुरी भएकोले तुरुन्त पत्रकार सम्मेलन बोलाएका ह्वौं । प्रचण्ड रोल्पाबाट हिंडिसकेका थिए, १ दिन पर्खेको भए हुन्थ्यो भन्ने सवालमा भन्नुपर्दा, यहाँ अहिले सम्विधान निर्माणमा हामी लचीलो छौं भन्ने सन्देश प्रवाह गर्न आवश्यक थियो । सहमतिमा आउन १० प्रदेशको संख्या घटाउनपनि सक्छौं भन्नुपर्ने स्थिति थियो । प्रचण्ड आइपुग्नुभएपछि पत्रकार सम्मेलनमा प्रचण्डजीले नै बोल्नुहुन्थ्यो । उहाँ लचीलो नहुन सक्नुहुन्थ्यो । यिनै दुइटा कारणले नारायणकाजीजी र मैले सल्लाह गरेर यो पत्रकार सम्मेलन गरेका थियौं।”  बाबुरामजीले भित्री अन्तरकुन्तर नै निकाले । 

“तपाईंले नै सम्विधान निर्माण प्रकृयालाइ ब्रेक लगाइदिनुभयो भन्छन् त ?” “सम्वैधानिक तथा राजनीतिक सम्वाद र सहमति समितिको पहिलो प्रतिवेदन वुझाउने दिनसम्मको स्थिति सम्झनुहोस् । त्यसबेलाको मेरो खटाई र कृयाशीलतालाइ याद गर्नुहोस् । आफ्नो जिम्मेवारी पूरा गर्नको लागि दत्तचित्त भएर खटिरहँदा, ‘यस्मा धेरै नखट्नुहोस्’ भनेर मलाइ दबाब आइरहेको थियो । प्रतिवेदन वुझाउने बेलामा यो कुरो मैले सार्वजनिक गरेको थिएँ । सम्बिधान निर्माण प्रकृयामा नलाग्न दबाब आउँदाआउँदै पनि मेरो खटाईको मूल्याङ्कन गरिदिनुपर् यो  नि !”  बाबुरामले पीडा पोखे ।

“प्रतिवेदन वुझाउनुअघि तपाईंको खटाईलाइ त मूल्याङ्कन मात्र हैन प्रशंसा नै भएको हो । तर, अहिले पछिल्लो कालमा तपाईंको भूमिकालाइ लिएर प्रश्न खडा भएको छ । मेरो प्रश्न त्यतातिर हो ।” नन्दरामले प्रश्नमा जोडबल गरे।

“ब्रेक नै लगाएको कसरी भन्नुभयो ?”

“ब्रेक त लगाएकै हो नि ! सम्वैधानिक तथा राजनीतिक सम्वाद र सहमति समितिमा कांग्रेस, एमालेले राज्यसंरचना र शासकीय स्वरुपको खाका पेस गर्नासाथ त्यो प्रस्तावलाइ तपाईंले छलफलमै लैजानुभएन । त्यो प्रस्तावलाइ छलफलमा लानुपर्ला‘रे भनेर त्यस्लाइ छल्नको लागि तपाईंले मिटिङबाटै भाग्ने र मिटिङ नै नबोलाउने गरिरहनुभएको छ । हाम्रो चासो यस्मा हो ।”  नन्दरामले प्रश्नभित्रको अन्तर्निहित आशय प्रष्ट्याए ।

“हो, उहाँहरुले प्रस्ताव ल्याउनुभएको हो । उहाँहरुको प्रस्तावलाइ अघि नबढाउनु र छलफलमै नलानुको कारणपनि दुइटै रह्यो । त्यो प्रस्तावलाइ अघि बढाउँदा उहाँहरुकै प्रस्तावले स्थान लिने सम्भावना प्रष्ट भयो । हाम्रा एजेण्डाहरु ओझेलमा पर्ने देखियो । हाम्रा प्रस्तावहरु स्थापित गर्न सकिएनभने यत्रो धनजनको क्षति हुने गरी जनयुद्ध लडेको के अर्थ हुने भयो भन्ने सोचपनि हो । उसै त हामीले जनयुद्ध लडेको र यत्रो धनजनको क्षति पुर्याएको औचित्य साबित गर्न नसकेर सकस परिरहेको छ । सहकर्मी पार्टीहरुले हाम्रो सकसपूर्ण स्थितिलाइ वुझिदिएकोभए हुन्थ्यो । अर्को कारण त मलाइ पार्टीबाटै कति दबाब परेको होला तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।” बाबुरामजीले आफ्नो अप्ठेरा बताए ।

“सङ्घीय प्रदेश बनाउँदा १० ओटा भए नेपाल स्वर्गै हुने र सातवटा बनाउँदा नर्कै भैहाल्ने होकि जस्तोगरी तपाईंहरु प्रस्तुत भैरहनुभएको छ । एकदुइटा अङ्कको घटबढले ठूलै उपलब्धि वा नोक्सानि पर्नेचाहीं के रहेछ ?” नन्दरामले खोतले ।

“राष्ट्र र जनताको उन्नति, प्रगति, समृद्धि र उपलब्धिको हिसाबबाट र यो दृष्टिकोणबाट त हेरिएकै होइन । सङ्घीय राज्यसंरचनाले राष्ट्रलाइ समृद्ध बनाउनेपनि हैन। एकात्मक राज्यसंरचनाले अवनतितिर लान्छ भन्नेपनि यथार्थ होइन। भएको के होभने हामीले जनयुद्ध गरिहाल्यौं । उत्तरार्द्धमा आएपछि केही पृथक बिषयहरु प्रवेश गराउनपाए जनयुद्धको औचित्य पुष्टी गराउन सहज हुन्थ्यो भनेर यस्मा केन्द्रिकृत भएका ह्वौं । रह्यो संख्या बढीको कुरा। हेर्नुहोस्, हाम्रा कतिपय साथिहरुलाइ विचार, सिद्धान्त, दर्शन र आदर्शको राजनीतितर्फ पटक्कै इच्छा छैन । उनीहरुलाइ जनतामा भरोसा र आफैंभित्र आत्मविश्वास छैन । तर, उनीहरु कुनै-न-कुनै हिसाबले राजनीतिमा अल्झिरहन चाहन्छन् । तिनीहरुको लागि यही जातपात, धर्मसम्प्रदायको राजनीति बाहेक वैचारिक राजनीतिमा स्थानपनि छैन । त्यसैले, प्रदेशसंख्या बढी गराउनपाए पहिचानको नाममा जातपातको  राजनीति गर्न पल्केका यिनीहरुको लागि राजनीति गर्ने मैदान सुरक्षित भैरहन्थ्यो भनेर हामीले यस्मा जोडबल लगाएका ह्वौं।”  बाबुरामजीले भित्री रहस्य नै खोलिदिए ।

“प्रदेश संख्या बढाउनुपर्ने कारण र आशय त प्रष्ट भयो । तपाईंहरु नै २०६३ अगाडीको ‘प्रजातन्त्र’ भन्दापनि उन्नत यो ‘लोकतन्त्र’ भन्नुहुन्छ । लोकतन्त्र त विधि, प्रकृयामा चल्छ । विधि, प्रकृयाको कुरा गर्ने होभने वैठकमा पेस भएका प्रस्तावलाइ छलफलमा नल्याइ तर्काइराख्न मिल्छ र ?” नन्दरामले कस्सिएको गाँठो नै फुकाउन खोजे ।

“तपाईंले भन्नुभएको ठीक हो । ‘लोकतन्त्र’, ‘लोकतन्त्र’ भनेर हल्ला मच्चाउनेपनि हामी नै ह्वौं । लोकतान्त्रिक संस्कृतिलाइ अभ्यासमा नल्याउने र लोकतान्त्रिक संस्कारलाइ जीवनपद्धति नबनाउने पनि हामी नै हुन पुग्यौं । तर, के गर्नु ? ‘मरता क्या नहीं करता’ भनेझैं भैरहेछ । यहाँ पार्टीअस्तित्वको सवाल भयो । राजनीतिक भविष्यको सवाल भयो । हाम्रो सङ्कटलाइ वुझिसकेपछि नन्दरामजी, तपाईंले पनि अब यस्मा धेरै नखोतल्नुहोस् ।”

यति भनेर बाबुरामजी चुप लागे । अभिवादन गरेर नन्दरामपनि हिंड्दोभयो ।

तपाइँको प्रतिक्रिया