श्रममन्त्रीकै संलग्नतामा मानव तस्करी
- ददि सापकोटा
काठमाडौं मैतिदेवीका ४३ वर्षिय सुब्रत रिमाल यतिखेर पोर्चुगलको लिस्बोन शहरमा म्रिगौलाको उपचार गर्दै बसेका छन् । दुई चार वर्षमा गतिलो रकम कमाउँला, परिवारलाईपनि पोर्चुगलमै तानौंला भन्ने आश्वाशन पाएका उनी आफैंले ल्याएको कंपनीले यातना दिएर म्रिगौला खराब भएपछि उपचार गर्दै बसेका हुन् । बस्ने, खाने माध्यम र ठाउँ नभएपछि उनलाई त्यहिँको सामाजिक संस्थाले उद्दार गरेर अनाथलयमा राखेको छा । उता नेपालमा उनका पत्नी र वालबच्चा छन् । जागिर दिने आश्वाशनमा सात लाख लिएर पोर्चुगल ल्याएको कंपनीकै सञ्चालकहरूले कुटपिट गर्दै यातना दिएपछी उनी बिरामी परेका हुन् । टाइफाईडको ज्वरोले थलिएका बेला कंपनीका सञ्चालकले कुटपिट गर्ने र यातना दिने गरेपछी उनको म्रिगौला खराब भएको हो । कहिँ कतै बस्ने र खाने थलो नपाएका उनको स्वास्थ्य गम्भीर देखेपछि सामाजिक् संस्थाले उद्दार गरेर अक्टोबर २१ बाट बस्ने थलो दिएको थियो ।
यतिखेर उनीसित काम छैन् । भएपनि काम गर्न सक्ने अवस्था छैन् । अनाथ आश्रममा बसिरहेका उनलाई साप्ताहिकरुपमै सरकारले डायग्नोसिस गर्छ । उनको हातमा पैसा छैन् । हार गुहार गरौं आफन्त कोहि छैन् । बाहिर धेरै बिरोध गरौं उनलाई पोर्चुगल ल्याउने कंपनीकै मेनेजर र अन्य कर्मचारीले ज्यान मार्ने धम्की पटक पटक दिईसकेका छन् । पोर्चुगलमा उनले धेरै नेपाली र कन्सुलरसितपनि हार गुहार मागे । तर उनलाई सहयोग दिनु त परै जाओस, उनले भोगेको बेदना सार्वजनिक गरिदिने संस्था र मेडिया नपाएपछि उनले यो पंक्तिकारसित गुहार मागेका हुन् ।
रिमाल सन् २०१३ को मार्चमा मार्जिन फुटास भन्ने कंपनीको सिफारिसबाट पोर्चुगल आएका थिए । हप्ताको पाँच दिन काम गर्ने । छ महिनामा आवाशिय भिसाकालागी आबेदन दिएर पारिवारिक मिलान (फ्यामिली रग्रुपिङ) अन्तर्गत आफ्नो परिवार ल्याउन पाउने । दिनको आठ घण्टाको डरले स्याउ टिप्ने काम गर्नुपर्ने । तर यता आएपछि उनले त्यो कंपनी अहिलेसम्म देखेकापनि छैनन् । नेपालीलाई लोभ्याएर पोर्चुगल ओसार्न काठमाडौं जाने रोनी उनीसित ल्याएका अन्य नेपालीलाई अन्यत्रै काम लगाउँछन ।
छ महिनामा कार्ड हुन्छ । त्यसपछि फ्यामिली भिसा मागेर परिवार ल्याउन पाइन्छ भन्दै कम्पनीका मेनेजर रोनीले काठमाडौंमा रकम असुलेका थिए । तर यता ल्याइसकेपछी उनीहरूले कार्ड दिएनन । कामदारहरूलाई कार्डनै नदिने खेल खेलेर रोकिदिए । ‘हामीले यिनलाई विमा गरेर, विमान टिकट तिरेर नेपालबाट ल्याएका हौं दुई वर्षसम्मको मन्जुरीमा । यी मानिसलाई हामीले आवाशिय भिसा सहितको कार्ड दिनु भनेर पत्र नपठाएसम्म नदिनु” भन्दै उनीहरुलेनै कार्ड रोक्का गरिदिएका थिए । छ महिनाभित्रैमा हुनुपर्ने कार्ड नभएपछि त्यहाँका नेपालीले कंपनीले दर्ता गराएको जिल्ला बाहिर अर्कै जिल्लामा गएर आफूले काम गरेको अबै जानकारिसहित आवाशिय कार्डका लागि वकिलमार्फत आबेदन दिएका थिए । अर्को जिल्लाको प्रशासनले कार्ड दिनेबेला नेपालीहरूलाई ल्याउने कंपनीलेनै रोक्का गरिदिएको बताएपछि नेपालीले बल्ल फेर्नान्डेज, जेम्स, र रोनी भन्ने दलालहरूको ठगी र खेलका बारेमा मेसो पाएका थिए । अर्का दलाल रिकार्डो फिलिप द ओलिभियरा हुन् । रिकार्डोले चाहिँ इन्स फोर्मोस्ट कम्पनीबाट ओसार्ने गरेका हुन् । उनकी पत्नी आना इन्स चारुवा द ओलिभियरालेपनी रीकार्डोलाई साथ दिँदै आएकी छन् । नेपाल गएर नेपालीसित दलाली गर्ने, फकाउने र ओसार्ने काम गर्ने चाहिँ इजरायली मूलका रोनीलेगर्दै आएका छन् ।
नेपालीहरूले कार्ड पाएमा जुनैसुकै कंपनीमा गएरपनी काम गर्न पाउने अनुमति हुनाले सस्तोमा काम लगाएर शोषण गर्नकालागी रोनी र फेर्नान्डेजले त्यसरी कार्ड रोक्का गरिदिएको पोर्चुगलका नेपालीहरूले बताए । पोर्चुगलमा खेतीमा शारीरिक परिश्रमको काम लगाउँदा प्रतिघण्टा आठ युरोका दरले दिनुपर्छ । पोर्चुगलको नियम र कानुन् नबुझेका सोझा नेपालीहरूलाई नेपालबाट प्रति घण्टा दुई युरो ९८ सेन्स पाइन्छ भनेर ल्याएका थिए । यहाँको कानुनअनुसार त्यति सस्तोमा काम लगाउन पाइन्न । दिनेबेला त्यतिपनी नदिएर प्रति घण्टा दुई युरो ६५ सेन्स मात्रै दिएका थिए । उनीहरूले सहमती पत्रमा दैनिक आठ घन्टा काम गर्ने हप्ताको पाँच दिनका दरले भन्ने उल्लेख गरेर ल्याएका थिए । तर यहाँ ल्याएपछि शनिबार बिदाको दिनसमेत अन्य दिनसरह काम लगाएर शोषण गरे । बिदाको दिनमा काम गरेको सामान्य दिनभन्दा बढिका दरले तिर्नुपर्छ । तीनले पोर्चुगलमा हुने गरेका सरकारी बिदासमेत नदिएको रिमालले गुनासो गरे । उनीहरूले कतिसम्म ठगी गरेका छन् भने अन्तर्राष्ट्रिय मजदूर दिवस मे १ का दिनपनी काम लगाएर रकम दिएनन । सरकारी बिदाका दिन अन्य सामान्य दिन सरह काम लगाए । “पोर्चुगलमा सरकारी बिदा हुन्न । आइतवार मात्रै हो भन्दै काम लगाउने गरे ।” सुब्रत रिमालले भने । खेतीमा काम गर्नेलाई सरकारी नियम अनुसार पाँचदेखि आठ युरो खाना भत्ता दिनुपर्छ । त्योपनी तिनले कुनै नेपालीलाई दिनेगरेका छैनन् ।
त्यति मात्रै होइन, पोर्चुगलमा नाताल र फेताल भन्ने प्रचलन छ । एक महिना शारीरिक श्रमको काम गर्नेलाई केहिदिनको भत्ता दिनुपर्छ । उनीहरूले नेपालीलाई त्यसमापनि ठग्दै आएका छन् । काम भने हप्ताकै छ दिन घोटाएर लगाउने तर काम गरे अनुसार सरकारलाई देखाए कर तिर्नुपर्ने हुँदा पाँच सय युरो बराबरको मात्रै देखाउने गरेका छन् । पाँछ सय युरोसम्म मात्रै कमाई देखाउँदा कामको कर मिनाहा हुन्छ । यसरी तीनले कामदार र सरकार दुबैलाई ठग्दै आएका छन् । बोलेको, लेखेको कुरा किन नदिएको भनेमा मध्यराती कोठामै आएर सामान् मिल्काइदिएर कोठाबाटै निकालागरिदिन्थे । ‘मध्य राती कोठाबाट निकालिदिन्छु भनेर सामान, ओढ्ने ओछ्याउने मिल्काउन थालेपछि दुई हात जोडेर हस भनेको जेपनि मान्छु भन्न परेन ?’ रिमालले नेपालीका बाध्यता सुनाए ।
त्यो कंपनीले स्याउ टिप्न भनेर सिफारिस गरेको थियो । तर यता ल्याएपछि सिधा खेतमा लागेर काममा लगाउन थाले । ‘यता ल्याएपछि हामी मल्टिनेशनल कंपनी भएकोले जहाँपनी जानुपर्छ, जे कामपनी गर्नुपर्छ भन्दै खेतीका सबै काम लगाउने गरेका छन् । यी त काठमाडौंमा ढलान गर्ने बेला ईट्टा ओसार्ने कुल्ली खोजे जस्तै रहेछ, जताबाट जति मानिस बोलायो उतै पठाउने, कमिशन खाने’ रिमालले भने ।
पोर्चुगलको फारु भन्ने खेति हुने ठाउँ जुन राजधानी लिस्बोनबाट ३५० किमी टाढा पर्छ । रोनी र फेर्नान्डेजले सुब्रत रिमालको टोलीलाई त्यहिँ लागेर राखेका थिए । रिमाल बिरामी परे । उनले आफ्नो अधिकारबारे सोधपुछ गरेपछि उनलाई कुटपिट गरियो । भुइँमा लडाएर बैंक कार्ड झिकियो । गोजीमा भएको पैसा खोसेर लिस्बोन जाने बसमा कोचियो । खाने बस्ने कुनै ब्यवस्था नगरि जबर्जस्ती लखेटे । जसले आफ्नो अधिकारको कुरो गर्छन् तीनलाई जंगलमा लगेर थुन्छन । कोठाका झ्याल ढोका थुनेर अँध्यारो बनाई कुटपिट गर्छन् । तर्साएरै अत्याचार सहेको कतै उज्जुरी गर्न नसक्ने बनाउँछन ।
धेरै नेपालीलाई यसका बारेमा जानकारि छ । भोग्नेहरू धेरै छन् । तर कागज बिग्रिएला, कुटपिट गर्लान र ज्यान जोखिममा पर्ला भन्ने दरले मुख खोल्नै डराउँछन । ‘मलाई तकियाले मुख छोपेर कुटे, बेहोस बनाए । रगत आउनेगरि कुटेर यातना दिए । त्यसपछि गाडीमा हालेर किङहिल जंगलमा लगे । ओरालेर आजको घटना दुतावास, नेपाली समाज वा अरु कुनै नेपालीलाई सुनाईस भने ३०० युरो तिरेर काले केटोहरुमार्फत मार्न लगाउँछु र तेरो लास बाक्सामा हालेर नेपाल पठाइदिन्छु भनेर थर्कायो । युरोपमा यस्तो आमानविय ब्यवहार हुन्छ भनेर त मैले सपनामापनी सोचेको थिईन’ रिमालले आग्नो भोगाई सुनाए ।
तरपनी नेपालीहरूलाई नेपालबाट सात देखि १३ लाख रुपियाँ ओसारेर पोर्चुगल ल्याउने क्रम रोकिएको छैन् । बरु बढिरहेको छ । यी दलालहरूले श्रममन्त्री, अन्य कर्मचारीहरूलाई प्रयोग गरेर महिनै पिच्छे नेपालीहरू ओसारिरहेका छन् । जेम्स, रोनी र फेर्नान्डेज भन्ने यी दलालका बारेमा केही बिरोध भएपछि पछिल्लो समयमा ल्याइएका नेपालीको त झन् श्रम स्विक्रितिपनि छैन् । तीनले सिधा श्रममन्त्री र शरच्चन्द्र शाहकी कान्छी पत्नि लगायतका उच्च पदस्त नेपाली प्रयोग गर्ने, नेपालीलाई लोभ्याउने, कमिशन तिर्ने र दिल्लीस्थित पोर्चुगलको दुतावासबाट भिसा लिएर सिधा दिल्लीबाट उडाउने गरेका छन् ।
ती दलालहरूले सेप्टेम्बर २२ मापनि ८ जना नेपाली ल्याएका थिए । सेप्टेम्बर २१ मा १४ जना नेपाली श्रममन्त्री टेक बहादुर् गुरुङ्कै हिमाल मेन पावरबाट ल्याइएको हो । तिसित श्रम स्विक्रितिपनी छैन् । त्यसमा शरदचन्द्र शाहकी कान्छी पन्ती अन्जना चाकुबजीको समेत संलग्नता छ । स्रोतका अनुसार अधिकांश नेपालीहरू हाल यिनै चाकुबजी मार्फत् ल्याउने गरिएको छ । त्यसमा श्रमा मन्त्रीको मिलोमतो छ । श्रममन्त्री गुरुङलेनै हालसम्म करिब ४० जना नेपालीहरू चर्को रकम असुलेर ती पोर्चुगाली दलालसित मिलि पोर्चुगल पठाएका छन् । पोर्चुगालका दलाल रोनीले सरकारलाई कर नतिरी हाल ट्राब सोलुसन नामको कम्पनी बन्द गरेर वर्ल्ड लिंक नामको नयाँ कम्पनी खोलेका छन् । ट्राब सोलुसन कंपनीको मार्फत् काम लगाएर कतिपय नेपालीलाई सात महिनासममको तलब नदिई सो कम्पनी बन्द गरेका हुन् ।
रोनी नोभेम्बर २ का दिन फेरि नेपाल गएका छन् । उनले नेपालबाट फेरि ४० जना नेपाली उडाउने कोटा स्विक्रिति लिएका छन् । पछिल्लो समयमा आफ्नो कंपनी बन्द गरेपछी नयाँ कम्पनीबाट ओसारिएका नेपालीहरूलाई स्पेन लैजाने योजना रोनीले बनाएको नेपालीहरूले बताए । यो काममा सूर्य हमाल र निराजन सुबेदी लगायतका नेपालीको संलग्नता रहेको स्रोतले उल्लेख गर्यो । सूर्य हमाल पोर्चुगलकालागी नेपालका अबैतनिक बाणिज्यदूत मकर हमालका आफ्नै भतिजा हुन् । त्यसमा पोर्चुगलमा चल्तापूर्जा भनिएका अन्य नेपालीकोपनी साझेदारी छ । पोर्चुगल बस्ने निराजन सुबेदीको काठमाडौंमा मेरिडीयन मेन पावर कंपनी छ । त्यहि कंपनीको नामबाट रोनीसित मिलेर उनी दलाली गरिरहेका छन् । यहि कंपनीमार्फत् नेपालीलाई प्रलोभन देखाएर फेरि एक सय जना ओसार्ने तयारि गरेका छन् । पोर्चुगलमा रहेका नेपालीले नेपालका श्रममन्त्री, दुतावासका कर्मचारी लगायत अन्य उच्च पदस्त प्रशासकसित निकट संवन्ध बनाउने र काम फत्ते गरिदिने गर्छन् ।
आफूलाई समस्यामा परेपछि सुब्रत रिमालले पोर्चुगलकालागी नेपालका अबैतनिक राजदूत मकर हमाल, एन आर एन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ लगायत अन्य नेपाली संघसंस्था, त्यहाँका नेपाली मेडिया र नेपालीसमक्ष सहयोग मागेका थिए । गुरुङले आफ्नो 920217109 नंबरको टेलिफोननै उठाएनन भने अबैतनिक राजदूत हमालले त हकाहाकी आफूले यसमा कुनै सहयोग गर्न नसक्ने बताए । “मैले यसमा केही सहयोग गर्न सक्दिन” मकर हमालको यो जवाफ पाएपछि ‘तपाईले नेपालीलाई मर्का पर्दा केही गर्न नसक्ने भए के काम लाग्यो त कन्सुलर भएको ?’ भन्दै सोधेपछि हमलाले फोननै काटिदिएको रिमालले सुनाए ।
त्यसो त पिडित सुब्रत रिमालले परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसितपनि दलालहरूको ठगीबारे जानकारि दिएर तिनमाथी कारवाही गर्न सहयोग मागेका थिए । पाण्डेले पेरिसस्थित नेपाली दुतावासमा फोन गरेर सहयोग गर्न निर्देशन दिए । दुतावासले फोन गरेर रिमाललाई इच्क्षा भएमा नेपाल फर्काउन सहयोग गर्ने बतायो । नेपालीहरुमाथि अन्याय अत्याचार, यातना , थिचोमिचो र शोषण गर्नेमाथी सजायँ गर्नुपर्नेमा नेपाली दुतावास र परराष्ट्र मन्त्री पाण्डेलेसमेत पन्छिने प्रस्ताव गरेको आरोप रिमालले लगाए । ‘म एक जना फर्किएर समस्या समाधान हुन्छ ? यहाँ नेपाली कुटपिटमा परे भनेर सहयोग मागेको उहाँहरुसित । यदि दुतावासले यहाँ मासिक ४८५ युरोको कोटा मनासिव छ भनेर सदर नगरिदिएको भए नेपालीहरू यहाँ दु:ख गर्न आउनेनै थिएनन् नी । म एक जना फर्केर अरु नेपालीमाथीको शोषण, कुटपिट र थिचोमिचोको समाधान भयो त ?’ रिमालले दुतावासलाई यहि भनिदिएको सुनाए ।
कोटा सदर गर्दापनी दुतावासले दलालहरुसित पैसा खाने गरेको दलाललेनै हाकाहाकी बताउने गरेका छन् । ‘मार्च महिनामा फ्रान्सका नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठ पोर्चुगल आएका थिए । त्योबेला दु:ख पाएका ४० जना नेपालीले आफूहरूलाई ठग्ने कपनीको नाम र क्रियाकलापबारे हस्तलिखित उजुरी दिएका थिए । उनले “म प्रोसेस गर्छु” भनेर हिँडे । त्यहि साँझ तिनै दलालहरूको भोजमा पुगेर राजदूत मोहन कृष्ण श्रेष्ठले सामुहिक तस्विर खिचाउँदै सामाजिक सञ्जालहरुमा हालेका थिए । ‘जेम्सलेनै मलाई हाकाहाकी नेपाली दुतावासले कोटा सदर गर्दा पाँच सय युरो खाने गरेको बतायो’ सुब्रत रिमालले भने ।
यस घटनाका बारेमा पेरिसस्थित नेपाली दूतावासपनि जानकार छ । रिमालको घटनामा परराष्ट्र मन्त्री पाण्डेमार्फत समस्यामा परेको जानकारि आएको र उनका परिवारले नेपाल फिर्ता ल्याइदिन आग्रह गरेकाले दुतावासले नेपाल फिर्ता पठाउन प्रस्ताव गरेको पेरिसस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत रामबाबु ढकालले बताए । उनका अनुसार श्रम संझौता अनुसार पोर्चुगलका कंपनीहरुकै नाममा मागपत्र आउने गर्छ । त्यहाँ कुनै ब्यक्तिको संपर्क हुन्न । अन्य देशमा जस्तै दुतावासको काम कंपनीले कानुनसम्मत हिसाबले प्रस्ताव गरेको मागपत्रमा सहि गरिदिने मात्रै हो ।
“पोर्चुगलमा नेपालीहरूलाई अन्याय भएको खाबर आउने गरेको साँचो हो । मेरो कार्यकालमा नाजायज फाइदाकालागि कुनै कसैसित संलग्न्ता भएको छैन, बरु नेपालीलाई दुखदिनेमाथी निगरानी र सहयोग गरिएको छ । पहिलेका कार्यकालमा कमिशन खाने वा कुनै संलग्नता भए त्यसको जानकारि मलाई छैन” ढकालले भने ‘कामदारनै रोकिदिन खोजेपनि रोजगारदाता, नेपाली कामदार र ब्यापारिक संस्था मिलेर मन्त्री कहाँ जान्छन् । हाम्रो जागिर दुतावासले रोकिदियो भन्दै गुनासो गर्छन्, हामीले के गर्ने ? सकेसम्म सहयोग गर्ने हो रोक्नै भने सकिन्न । नेपालीहरूले श्रम संझौता अनुसार लिखित उजुरीदिए दुतावासले सहयोग गर्न सक्छ ।” यो घटनाका बारेमा श्रम मन्त्री पेरिस आएका बेला आफूले श्रममन्त्री समक्ष राखिदिएको जानकारिपनि कार्यवाहक राजदूत ढकालले दिए ।
(नेपालप्लस हेर्दै गर्नुहोला, नेपाली मानव तस्करको हर्कत र पोर्चुगलमा नेपालीले पाएको सास्तिबारे फेरि अर्को सामाग्रीपनि आउने छ)






