एक सय ७० रुपैयाँको लगानीबाट सफल उद्दमी बनिन् शोभा

  • गोपाल पोखरेल / उदयपुर

shova

धेरै लगानी गरेर उद्दमी बनेकाहरु त प्रशस्त पाउन सकिएला । तर दुई सय रुपैयाँ पनि लगानी नगरी छोटो समयमै सफल उद्दमी बन्नेहरु पाउन मुस्किल पर्छ । त्रियुगा नगरपालिका – ११ जलजलेकी ४० बर्षीया शोभादेवि दनुवार यस्ता थोरै उद्दमी मध्येकी एक हुन, जो एक सय ७० रुपैयाँको लगानीबाट छोटो समयमै लाखकी मालिक बनेकी छिन् । 

दनुवारले चार बर्ष अघि एक सय ७० रुपैयाँ लगानी गरेर दालमोठ बनाउन शुरु गरेकी हुन । दुइ किलोग्राम दालमोठ उत्पादन गरेर सुरु भएको उनको उद्दोगको मूल पूँजि अहिले एक लाख रुपैयाँको हाराहारीमा छ । चार जना बेरोजगार महिलालाई मासिक रोजगारी दिइरहेकी उनले दालमोठ उद्द्योगकै आम्दानीबाट घर घडेरीसमेत जोडेकी छिन् ।

शुरुका दिन सम्झँदै उनले भनिन् ‘पतिको अकस्मात मृत्यु भएपछि करिव पाँच बर्ष स–साना छोरीसँगै भोक भोकै दिन विताएँ ’। भोक भोकै बसेर विलाप गर्नु भन्दा केहि गर्नुपर्छ भन्ने अठोट लिएर एक सय ७० रुपैयाँ लगानी गरेर पहिलो पटक दुइ किलो दालमोठ बनाएर बेचेँ, उनले भनिन्‘ त्यहीबाट सुरु भएको मेरो उद्द्योग यो अवस्थामा आइपुग्यो ’ । अहिले दैनिक १ हजार रुपैयाँ वचत गर्दै आएकी दनुवारले आफ्नो बिगत सम्झँदा सपना झैं लाग्ने बताइन् ।

जिल्लाकै गाईघाट, मुर्कुची, देउरी र सिरहाको लहानसम्म बजार विस्तार गरेकी दुनुवारले चार जना महिलालाई रोजगारी समेत उपलव्ध गराएकी छन् । उद्दम सुरु गर्नु अघिसम्म सुकुम्वासी रहेकी उनले अहिले एक लाख २० हजार रुपैयाँमा एक कठ्ठा जग्गा किनेर त्यतिकै लागतमा घर समेत बनाएको वताइन् । निरक्षर भएपनि थोरै लगानीमा राम्रो आम्दानी गर्न पाउँदा खुशी छु’ उनले भनिन् ‘ पढेलेखेका ठूला उद्दमीले झैं मैले बजार पाइन भनेर टाउकोमा हात लगाउनु परेको छैन ’।

अरुले बनाएको हेरेकै भरमा दालमोठ उत्पादन गर्न थालेकी दनुवारलाई चार महिनापछि जिल्लास्थित लघु उद्दम विकास कार्यक्रमले तालीम दिएको थियो । तालीमपछि उनको दालमोठको गुणस्तर अझ बढेका कारण दनुवारलाई बिक्रीका लागि बजारको अभाव नभएको हो । बाहिरी बजारबाट आयात गरिएको भन्दा गुणस्तरीय भएकाले गाईघाट बजारका अधिकांस ब्यापारीले स्थानीयस्तरमा उत्पादित दालमोठ बिक्री गर्ने गरेको ब्यापारी रंगीलाल साहले बताए । बाहिरबाट ल्याएको कतिपय दालमोठ डिब्बा भित्रै बिग्रिसकेको हुन्छ उनले भने ‘बिग्रिएको दालमोठ कम्पनीले फिर्ता लिने भएपनि अनावश्यक झन्झट हुने हुनाले हामी यहीकै बिक्री गर्छौ ’ ।

छोटो समयमै सफल उद्दमी भएकाले हिँजो आज जिल्लामा हुने उद्द्योगसँग सम्बन्धित अधिकांस गोष्ठीहरुमा उनलाई निम्ता हुने गर्छ ।  अहिले उनका चारजना छोरी हुर्किसकेकाले आफू बाहिर गएको समयमा समेत उत्पादन नरोकिने भएकाले चिन्ता गर्नु नपर्ने दनुवारले बताइन् । स्नातक तह प्रथम बर्षमा अध्ययनरत जेठी छोरी अनिताले आफू नभएको बेला सम्पूर्ण कारोबार सम्हाल्ने उनले बताइन् ।

कार्यक्रममा बोलाएर सहभागीलाई भत्ता दिनुभन्दा त्यो भत्ता रकम द्दम गर्न चाहने कुनै ब्यक्तिलाई दिनुपर्ने उनले बताइन् । ‘उद्दम नगर्नेलाई कार्यक्रममा बोलाएर भत्ता दिने रकमले केही सिकाउँदैन ’ दनुवारले भनिन् ।

तपाइँको प्रतिक्रिया