एन आर एन केन्द्रिय नेतासित संयोजकले मागे हारगुहार

nepalplus-logo1एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठले एन आर एनका केन्द्रिय नेताहरुसित हार गुहार मागेका छन् । आफ्नो चरित्र हत्या भएको भन्दै नेपालप्लस डटकको नाम उल्लेख नगरि बुझिने शैलीमा उनले आफू चोखिन खोजेका छन् । तर एन आर एनका केन्द्रिय नेताहरुलाई आफूमाथि लागेका आरोप किन लागेको हो भन्ने उल्लेख नगरि बच्ने प्रयास गरेका उनैको मेलबाट बुझिन्छ । आफूमाथि लागेका आरोप र यस अघि संचर माध्यममा मानव तस्करिको संलग्नता बारे उनले केहिपनि बोलेका छैनन् । आफू गतिलो देखिने प्रयास स्वरुप उनले एन आर एनका केन्द्रिय नेताहरुलाई मेल लेखेर ईमान्दार देखिने प्रयास गरेको मेल एन आर एन उच्च स्रोतबाट नेपालप्लसले फेला पारेको हो ।

अर्जुन श्रेष्ठले लेखेका छन् “नेपाल बाहिरको ‘सदैव विवादित र पूर्वाग्रहपूर्ण समाचार सम्प्रेषण गर्न रूचि राख्ने’ एक अनलाइन संचारमाध्यममा सम्पूर्ण गैर-आवासीय नेपाली समुदाय र गैर-आवासीय नेपाली संघको छविमा नकारात्मक प्रभाव पर्नेगरी आधारहीन समाचारहरु प्रकाशित भयो । ती समाचारहरुमा कपोलकल्पित, नकारात्मक सोच र पूर्वाग्रहले मेरो चरित्र हत्या गर्ने सस्तो प्रयास भएको मेरो बुझाई छ । यस सम्वन्धमा यहाँहरु सचेत हुनुहुन्छ भन्ने कुरामा मेरो अटल बिश्वास छ । यस्ता मनोगत एवं अव्यवसायिक नकारात्मक प्रचारबाजीले मेरो एनआरएन अभियानमा तपाइँहरुसँगै अगाडि बढ्ने चाहना एवं सोचमा कुनै कमी आउने छैन । संस्थाको हित र विकासमा सधैँ लागी पर्नेछु ।” 

बेल्जियममा उनैको मुख्य नेत्रित्वमा भएको एसेन्टा मेलामा उनले प्रति ब्यक्ति दश लाख भन्दा बढि रकम भिसाकालागि लिएर भित्र्याएका थिए । ति नेपालीले चर्को रकम तिरेको भन्दै गुनासो गरेका थिए । पछि एसेन्टा मेला आयोजनाको समितिमा उनैले राखेका केहि सदस्यलेपनि मानव ओसारपसार भएको भन्दै बिरोध गरेका थिए । तर उनले त्यसको अहिलेसम्म छानबिन गरेका छैनन् । एन आर एन उच्च ब्यक्तिहरुलाई उनले आफूमाथि शंका नगर्न हारगुहार मागेको मेलमा मानव ओसारपसारको कुनै प्रसंग उल्लेख गरेका छैनन् । न त नेपालप्लसका सञ्चालकमाथि गुण्डागर्दी र आक्रमण प्रयासको योजना गरेकोमा कुनै उल्लेख गर्ने हिम्मत गरेका छन् ।

लेखिएका समाचारमा के कपोल्कल्पित हो ? उल्लेख गरिएका स्रोत ब्यक्तिका नाम र एसेन्टा मेला आयोजना गर्दा उनैले राखेका सदस्य समेतको अडियो र स्रोत उल्लेख हुँदा कसरि कपोलकल्पित भयो भन्ने उनले न खण्डन गर्न सकेका छन् न त्यसका बारेमा कतै उल्लेखनै गरेका छन् ।

आफू मानव ओसार पसार र ब्यक्ति आक्रमणको योजनामा संलग्न भएको आरोपमा उनले आफूमाथिको आरोपलाई समग्र एन आर एनमाथिको आरोप भनेर एन आर एनलाईनै मुछ्न, आफूमाथि सद्भाव तान्न र यो मुद्दालाई समगग्र एन आर एनको समस्याका रुपमा बुझ्नुपर्ने गरि ब्याख्या गरेका छन् । तर एन आर एनको चौतारीमा बसेर एन आर एनकै अर्को सदस्यमथि कुटपिटको योजना बनाउने र मानव ओसारपसारमा संलग्न भएकाले उनीमाथि केहि कारवाही हुने कि नहुने, एन आर एनले छानबिन गर्ने कि नगर्ने भन्ने प्रश्न उठाएका छैनन् । एन आर एन संस्थाभित्रै रहेका बेला एसेन्टा मेला मार्फत मानव ओसारपसार गरेकाले त्यसको कुनै उल्लेख नगरि खाली एन आर एन युरोपेली सम्मेलन आयोजना बारेमा मात्रै किन छानबिनको प्रसंग उठाए ?

अर्जुन श्रेष्ठले एन आर एन केन्द्रिय नेतालाई मेल लेखेर गुमराहमा पार्न खोजेको मेल हेर्नुस्

arjun-kumar-shrestha-belgium-1श्रीमान शेष घलेज्यू,

अध्यक्ष, गैर-आवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्यव समिति

आईसिसिका पदाधिकारी ज्यूहरु,

गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यव समिति

आदरणीय अध्यक्षज्यू एवं आसीसीका पदाधिकारी मित्रहरु,

सर्वप्रथमत: सातौँ एनआरएनए युरोपेली क्षेत्रीय बैठक तथा पाचौं एनआरएनए युरोपेली क्षेत्रीय महिला भेलाका क्रममा यहाँहरुबाट प्राप्त सल्लाह, सहयोग र विश्वासकालागि कृतज्ञता ज्ञापन गर्न चाहन्छु । साथै उक्त भेलाका निर्णयहरुले संस्थाको विकाशमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको छु ।

सदा झैँ यस पटकको भेलाका समाचारहरु नेपालभित्र र बाहिरका समाचारपत्रहरुमा महत्वका साथ प्रकाशित भएका छन । बार्सिलोना भेलाका सन्दर्भमा संचार जगतबाट भएको समाचार सम्प्रेषणले हाम्रो अभियानमा सहयोगी भूमिका खेलेको मैले विश्वास गरेको छु । तर नेपाल बाहिरको ‘सदैव विवादित र पूर्वाग्रहपूर्ण समाचार सम्प्रेषण गर्न रूचि राख्ने’ एक अनलाइन संचारमाध्यममा सम्पूर्ण गैर-आवासीय नेपाली समुदाय र गैर-आवासीय नेपाली संघको छविमा नकारात्मक प्रभाव पर्ने गरी आधारहीन समाचारहरु प्रकाशित भयो । ती समाचारहरुमा कपोलकल्पित, नकारात्मक सोच र पूर्वाग्रहले मेरो चरित्र हत्या गर्ने सस्तो प्रयास भएको मेरो बुझाई छ । यस सम्वन्धमा यहाँहरु सचेत हुनुहुन्छ भन्ने कुरामा मेरो अटल बिश्वास छ । यस्ता मनोगत एवं अव्यवसायिक नकारात्मक प्रचारबाजीले मेरो एनआरएन अभियानमा तपाइँहरुसँगै अगाडि बढ्ने चाहना एवं सोचमा कुनै कमी आउने छैन । संस्थाको हित र विकासमा सधैँ लागी पर्नेछु ।

श्रीमान अध्यक्षज्यू, सातौँ युरोपेली क्षेत्रीय बैठक तथा पाचौं युरोपेली क्षेत्रीय महिला भेला आयोजना गर्ने क्रममा आयोजक समितिबाट संस्थाको छबीमा आँच आउने तथा संस्थाको हितविपरित कुनै पनि काम नभएको यहाँलाई पूर्ण विश्वास दिलाउन चाहन्छु । र, यसै पत्रका साथ आईसीसी कार्यसमितिले आवश्यकता महशुस गरेमा यस बिषयमा अनुसन्धान गरी सत्य-तथ्य सार्वजनिक गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै यस अनुसन्धानको लागि मेरो पूर्ण सहयोग रहने बिनम्र जानकारी गराउन चाहन्छु ।

अन्त्यमा, तपाईंहरुको सहयोग र सल्लाह निरन्तर प्राप्त हुनेछ भन्ने विश्वास लिँदै एनआरएन अभियान प्रतिको मेरो प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छु ।

भवदीय,

अर्जुनकुमार श्रेष्ठ

क्षेत्रीय संयोजक

गैर-आवासीय नेपाली संघ- युरोप

मिति : २०१४ जुन ११

तपाइँको प्रतिक्रिया