सोझो नेपाली, यता न उता झ्याप्पै
(रामजिवी पन्थ र पाउलो छेउ छेउमा)
रोम ओर्लेको पहिलो रात पहिलो पटक रोममै चिनिएका मित्र रामजिवी पन्थासित बसियो । रात झ्याम्मै परेको थियो । बिमानस्थलबाट रोम शहरभित्र छिर्न चढेको बसका सिसाबाट जति आँखा तन्काएपनि खासै देखिँदैनथ्यो । इटालियालीहरु असाध्यै चिमिकझिमिक रुचाउँछन् भन्ने भ्वन, घर र पसलका बत्ती, रङले बुझाउँथ्यो । पहिलो दिन घरमा पुग्नासाथ रामजिवीजी र उहाँको परिवारसित कुरो सुन्दै बित्यो । अर्को दिन रामजिवी पन्थले नेपालका लागि अबैतनिक महावाणिज्यदूत पाउलो निगुरे कहाँ लगे । उनीसित राम्रो संवन्ध, निकटता रहेछ उनको । ओहो यस्तो पो हुनुपर्छ नेपालकालागि काम गर्ने मान्छे त ! यस्तै लाग्थ्यो उनको कार्यालयमा पुग्दा । रोम शहरको पायकपर्ने ठाउँमा उनको कार्यालय विशाल थियो । कर्माचारी दर्जनौं पालेका । उनको निजि कार्यकक्षमा लगे । नेपालको झण्डालाई पछाडी साक्षी राखे झैं बसे ।
आफ्ना कुरा सुनाउन लागे । तिस वर्ष भन्दा बढि भएको उनको नेपालसितको संलग्नता । विशेष खाले पर्यटक लैजाने । उनका प्रतिस्पर्धीनै कोहि नभएका । किनभने उनले पैसो दिँदै सालको पात सोरेझैं पर्यटक सोहोर्दा रहेनछन् । बरु उनको कंपनीबाट नेपाल जानको लागि पर्यटकपनि हुनुपर्दो रहेछ । उनी सांस्क्रितिक रुपमा चासो राख्ने, स्थानिय भाषा, संस्क्रिति र समाजका भित्रि कुरो जान्न, देख्न र सुन्न चाहने पर्यटक मात्रै लैजाँदा रहेछन् । खहरे भेल माथि माथि सलल्ल बगे झैं गर्ने । माथि माथि झल्याक झुलुक्क हेर्ने खाले लैजाँदा रहेनछन् ।
तर पाउलोको ध्यान यतिबेला कसरि इटालीका नेपालीलाई सहयोग गर्ने भन्नेमा केन्द्रित थियो । हरेक दिन केहि न केहि नेपालीको भिड लाग्थ्यो, उनको कार्यालयमा अनेक खाले झम्लेला लिएर, समस्या बोकेर जाने नेपालीको ।
नेपालीका समस्या केलाउँदै जाँदा उनले अनेक कहानी सुनाए । नेपालीहरु असाध्यै सोझा । ईमान्दार । अति खट्ने । कर्मशिल । मेहनती र सोझा हुन्छन् भन्ने उनमा मात्रै होइन, ईटालीको प्रशासनमापनि परेको रहेछ । मुखले ट्याउँ ट्याउँ गरेपनि । हात र कम्मर मर्काएर बाठो देखिन खोजेपनि नेपाली बास्तवमा लाटो लाटो जात नै हो । सोझो जिव हो । त्यो सोझोपनले गर्दा नेपालीलाई समस्या परेका घटनापनि छन् ।
ईटालीमा त्यस्तै घटना छन् । एक पटक एक जना नेपाली (पाउलोले नाम उल्लेख नगर्न अनुरोध गरेकाले मैले उनको नाम राखिन) केहि काला, अरबी र अन्य नागरिकसित बसेर जाँडपानी खाए । रक्सीको एक्सिलेटर हुन्छ । ब्रेक हुन्न भन्छन् । त्यसैले एक्सिलेटर दबाउँदै लगे । ब्रेक छैन । अलि बढि गतिमा गयो होला जाँडको कुदाई । झ्यापझुप लाग्यो सबैलाई । कुनै निहुँमा झगडा गरे । कुटाकुट भयो । कसैले प्रहरीलाई खबर गरिदियो । अरु बाठा । चतुर । सबै भागे । नेपाली सोझो आकाश नियाल्दै, सडकको बत्तीमा एकोहोरिँदै बस्यो । प्रहरी आएर उसलाई झ्याल्टुङ पार्यो । लग्यो । ईटालीमा ‘ओ ए त्यो मेरो भतिज, उ मेरो भाई । मेरो मान्छे । उ अखिलको नेतो । उ गाविसको सदस्य । कांग्रेस जिल्ला समितिको परिवारको नातो । त्यसलाई किन समात्या ?’ भनेर चल्दैन । प्रहरीले जेलमा हाल्यो । मुद्दा चलाउन थाल्यो । पाउलो अहिले त्यहि नेपालीको मुद्दा लडिरहेका छन् ।
(नेपालीलाई घोडाले हानेको यसैको नजिक हो)
अर्को घटना सुन्दा झन मनै भरङ्ग हुने । रोमबाट भितेर्बो आएँ म । ईटालीका एक कूटनितिज्ञसित दशक भन्दा बढि काम गरेका अर्घाखाँचीका दाई राम केसीसित । भितेर्बोमा मैले यस अघि कहिल्यै नचिनेका, मेरो स्वार्थले म इटाली आउनु केहिदिन अघि मात्रै चितवनका मित्र क्रिष्ण सुबेदीले फेसबुकको गाँठोमा जोडिदिएका । गोरखाका देबेन्द्र अधिकारी । मलाई तार्किनिया भन्ने ठाउँबाट पिसा भन्ने ठाउँको रेल चढाउन जान लागेका थिए । उनले गाडी सुइँक्याएर लैजाँदापनि १० मिनेटको ढिलाईले गर्दा रेल छुट्यो । आइतवार परेका बिदाको दिन रेल धेरै नगुड्ने । अर्को रेल चढ्न डेढ घण्टा कुर्नुपर्नेभो । अनि उनले भने ‘ददिजी यत्रा समय कहाँ बिताउने ? जाउँ समुद्र हेर्न ।’ आहा समुद्र ? गयौं । देबेन्द्रले त्यहि किनारको मन कटक्क खाने घटना सुनाए । एक जना नेपाली त्यहिँ तार्किनियामा काम गर्दा रहेछन् । घोडाको स्याहार गर्ने ।
देबेन्द्र घोडाको बारेमा ज्ञान राख्दा रहेछन् । घोडा यस्तो जिव हो, उसको बानी जान्नुपर्छ । खुशि राख्नुपर्छ । घोडासित रिसाउनुहुन्न । उसले रिसाएको अनुहार अलग्गै छुट्ट्याउँछ । माया दिनुपर्छ । वैशालु प्रेमीकालाई झैं फकाउनुपर्छ यदाकदा त । बटारियो, उ रिसायो भने गोदेर तह लगाउँछु भनेर चल्दैन । उपायनै फकाउने हो । नयाँ रेखदेख कर्ता आएपछि उसले जान्नुपर्छ ‘घोडासित नजिकिन केहि दिन लाग्छ । त्यो समयमा उ अलि सतर्क हुनुपर्छ ।
तर यो सबै ज्ञान कहाँ पाउने नेपालीले ? काम नगरि बस्नै नसक्ने जात । काम खोज्यो । पायो, घोडाको सुसारे । घोडाको आनीबानी नजानेकाले त्यो नबुझी ऊ सुसारमा खटियो । घोडा कुनै कारणले रिसाएको बेला परेछ । एक लात्तो हान्यो । छातीमा लाग्यो । ऊ ढल्यो । ईटालीको समुद्री किनारमा सधैंका लागि ढल्यो । नेपालीहरुका बिचमा हावासरि फैलियो यो खबर। नेपालीका मन भाँचिए । ह्रिदय कुँडिए । मुटु डरले हल्लियो । तर कसैले केहि गर्न सकेन ।
नेपालीहरु कति सजिला फेरि । ऊ ढल्यो । केहि क्षतीपूर्ती दिनु नपर्ने । सजिला जात । ‘कठै काम दिएको थियो साहुले, उ मर्योल त के गर्ने ?’ भन्दै चित्त बुझाए । ईटालियाली नागरिक परेको भए त्यहि घटनामा ? हजारौं युरोको क्षतीपूर्ती दिनुपर्थ्यो । सुरक्षा नमिलाएको, ज्ञान नभएकालाई काम लगाएको, सामाजिक बिमा नगरेको, काममा शोषण गरेको भनेर ठूलो रकम तिर्नुपर्थ्यो । तर नेपालीलाई सुकोपनि दिनु परेन । बरु ईटालीका नेपालीले चन्दा उठाएर बाक्सामा लास पोको पारे । क्रिया गर्न नेपाल पठाए । क्षतीपूर्ती पाउनुपर्नेमा नेपाली सोझा हुनाले उल्टो लास पठाउनपनि नेपालीकै धन खर्च भयो । यस्ता सोझा ब्यवहार, स्थानिय ज्ञान, कानुनम भएका सुबिधा र सहुलियत लिन नजानेरपनि सोझा नेपालीले दुख पाएका छन् युरोपमा ।
(ईटालीमा भेटेका अनेक कहानी छन् मसित । ईटालीको पहाडी क्षेत्रमा जमेका नेपाली, डन नेपाली, विश्वबिध्यालयमा जमेका नेपाली, इटालीमा गुमनाम तरिकाले मरेका नेपाली, ईटालीबाट केसिक्न सकिन्छ, पत्नी साटफेर गर्ने नेपालीको प्रस्ताव आदि यस्ता प्रसंगका बारेमा फेरि लेखहरु आउनेछन्, हेर्दै गर्नुहोला)






