मरिचमानको गुणगान गाउँदा राजा वीरेन्द्रको उपेक्षा
पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठ बिते ७१ वर्षको उमेरमा । रोगले थलिएर गए । पूर्व प्रधानमन्त्रीका रुपमा पनि धेरैले संझना गरे । नेपालीहरुको बानी, पराक्रम नै हो, देह त्याग गरिसकेपछि खुब प्रशंसा गाउने । उनकोपनि धेरैले गाए । तर एउटा विषयामा उनको प्रशंसा धेरै गाइयो । त्यो हो, भारतले सन् १९९० मा नाकाबन्दि लगाउँदापनि मरिचमानले तेस्रो मुलुकबाट नुन, तेल मगाएर खुवाए । इन्धन झिकाए । भारतसित झुकेनन् । तर के यो सत्य हो ? आलोचना गर्न, मरिचमानको अपहेलना गर्न खोजिएको त होइन नै । तर त्यो कर्म गर्ने साँच्चै तत्कालिन प्रधानमन्त्री मरिचमान हुन् कि उनले आदेश मात्रै शिरोपर गरेका हुन् ?
सन् १९९० मा भारतले सायद के के हात पार्न खोजेको थियो । नदीनाला आफ्नो बनाउने । हिमालहरु आफ्ना नाममा गराउने । आर्थिक र सामाजिक गोलचक्करमा नेपाललाई फसाउने । सुरक्षाका मामिलामा आफ्नो कब्जामा पार्ने । नेपाललाई आर्थिक रुपमापनि शोस्ने । त्यो बेला पञ्चायती ब्यवस्था थियो । राजा थिए, वीरेन्द्र । उनका विश्वाशिला प्रधानमन्त्री थिए, मरिचमान सिं श्रेष्ठ । भारतले अनेक शर्त राख्यो । नेपालसित पारबहन सन्धी गर्ने भन्ने त उसको बहाना मात्रै न थियो । प्रजातान्त्रको बहाली हुनुपर्ने भन्ने त उसको मुकुण्डो न थियो । चाहेको त नेपाल र नेपालीलाई आफ्नो कब्जामा पार्ने । लुट्ने । दबाउने । काबुमा राख्ने थियो । आफ्नो देशलाई पराईको कब्जामा पर्न दिनु भन्दा झुक्दिन भन्ने निर्णय गर्ने राजा थिए, वीरेन्द्र । त्यो निर्णय राजा वीरेन्द्रले पो गरेका हुन् । कसरि मरिचमानले गरे ?
किनभने त्यो बेला राज्यको शासन पद्दतीमा सर्वेसर्वा भनेको राजा थिए । हुन्थे । राजालेनै सबै नियुक्त गर्थे । बर्खास्त उनैले गर्थे । निर्देशन र सुझाव सबै राजाको हुन्थ्यो । राजालाई नसोधी, राजाको आज्ञा बेगर ति सिंहदरबारबाट बाहिर निस्किनपनि पाउँदैनथिए । जिउ हजुरी त्यो बेलाका प्रधानमन्त्री, मन्त्रीको हुन्थ्यो । झन भारतले आर्थिक नाकाबन्दि गर्दा त्यत्रो विषयमा राजाको निर्देशन बिना कसले निर्णय गर्न पाउनु ? त्यो निर्णय गर्ने राजा वीरेन्द्र थिए । उनैले आफ्ना प्रधानमन्त्री मरिचमान सिं श्रेष्ठलाई भारतसित नझुक्न, बरु पौंठेजोरी खेलेरै बाँच्ने कोसिस गर्न निर्देशन दिएका थिए । त्यसैले, आफ्नो मुलुकलाई पराधिन बनाउनबाट बरु दुख कस्टनै ब्यहोर्नु किन नपरोस् भनेर त्यो निर्णयकर्ता राजा वीरेन्द्र हुन् । मरिचमान त राजाको आदेशलाई शिरोपर गर्ने एक माध्यम, राजा वीरेन्द्रका अशल कार्यकर्ता न हुन् ।
हुन त यसो भन्दा मरिचमान श्रेष्ठमाथि अनादार गरेको भनेर बुझ्नेपनि निस्किएलान । तर त्यो होइन । किनभने योगदान जसको हो उसैको प्रशंसित हुनुपर्छ । जस उसैले पाउनुपर्छ । पक्कैपनि भारतले नाकाबन्दि गर्दा मरिचमान सिं प्रधानमन्त्री भएकाले त्यसको कुनै न कुनै जस उनलाइपनि जान्छ । उनले पक्कैपनि राजा वीरेन्द्रलाई त्यसमा अडिग रहन सल्लाह र सुझाव दिए होलान् । आफ्नो तर्फबाट पनि उनले नेपाली जनतालाई भारतका सामु झुक्न नदिएर स्वतन्त्र राख्ने भरमग्दुर कोसिस गरेका हुन् ।
पक्कैपनि उनी अहिलेका नेता झैं हात चुठ्नपनि भारतीय नेताको दैलो चहार्थेनन् । भारतीय दुतावास धाउँथेनन् । स्वार्थ नमिल्दा सुरुङ खन्ने गफ र सत्तामा पुग्ने भर्याङ बनाउने बेला भारतीय नेताको कट्टी धुन पुग्थेन पछिला प्रधानमन्त्री भट्टराई, प्रचण्ड, माधव नेपाल र अरुले झैं । यो मानेमा उनी राष्ट्रवादी नेत हुन् । डकैतहरुको जमातले राष्ट्रिय सम्मान देओस् वा नदेओस् राष्ट्रियताका विषयमा उनको सदा संझना गरिने छ नै ।बिदेशमा उपचार गर्न जाँदापनि अन्तिम अवस्थामा आफ्नै देशको माटोमा फर्किएर मर्ने उनको इच्क्षालेपनि उनी राष्ट्रबादी नेता हुन् भन्ने बुझिन्छ नै । तर जसरि भारतको नाकाबन्दिमा मरिचमानलेनै सबै गरेका हुन् भनेर चर्चा गरिएको छ । त्यसले राजा वीरेन्द्रको योगदानलाई पो उपेक्षा गर्छ कि ?





