पार्टीको झण्डा ओढाएर बिदेशमा दाह संस्कार

congress-flag-on-bodyयो पहिलो पटकनै त हो वा होइन थाह छैन । तर नौलो भने हो, सात समुद्र पारी कुनै नेपालीको दुखद निधन हुँदा पार्टीको झण्डा ओढाएर संस्कार चलाउने । स्पेनमा एक नेपालीको दुख निधन भयो । उनी पार्टीकै झण्ड ओढाउनुपर्ने नेपाली होइनन् । थिएनन् । देशमा अवशर नपाएर । राज्यले दिन नसकेर । आफ्नै रहर । आफ्नै बाध्यता र परिबन्धले बिदेश हानिएका थिए, रामलाल कँडेल । सन् २००२ मा स्पेन मा आएपछि उनले त्यहिँ बसेर गुजारा चलाउँदै आएका रहेछन् । उनी त्यतै रमाए । हात पाखुरि खियाए । घर परिवारको गर्जो टारे होलान् । देश र जनातको, समाजकोलागि केहि गरिपनि होलान् सानोतिनो काम । तर उनी न त पूर्णरुपले पार्टीका कार्यकर्ता हुन् । न सिंगो जिवन सामाजिक काम र पार्टीमा बिताएका हुन् । भन्नलाई नेपाली जनसंपर्क समितिको संस्थापक सल्लाहकार भनिएको छ । स्पेनको  बार्सिलोना शहरमा बस्दै आएका रहेछन् उनी । नेपाली जनसंपर्क समितिको सदस्य भएकाले त्यहिँ बैदिक परम्परा अनुसार हार्दिक श्रदान्जली दिदै जनसम्पर्क समितिका सभापति चिन्तामणि सापकोटाले नेपाली कांग्रेसको चार तारे झन्डा ओढाएर दाह सस्कार गरिएछ ।

ramlal-kandelत्यसो त उनी गैह्र आवाशिय नेपाली संघ स्पेनका आइसिसि सदस्यपनि रहेछन् । उनको दाह संस्कार गर्दा त्यहि चिनारीबाट गरेको भएपनि हुँदो हो । अर्थात् उनले अस्पत्तालबाट आफुमाथि चार तारे राजनितिक झण्डानै ओढ्ने रहर पो गरेका थिए कि ? नत्र किन राजनितिक पार्टीको झण्डा यतिबिघ्न सस्तो जस्तो देखियो ? देशको राजनितिक थिति सुधार्न, देश र जनताकालागि ज्यान दिन, सिंगो जिवन आफ्नोलागि भन्दा जनताको सेवामा, समर्पणमा बिताउने ब्यक्तिकालागि ओढाउने गरिनुपर्ने हो पार्टीको झण्डा । आफ्नै समस्या टार्न बिदेश हानिएर सामान्य तहको सांगठनिक सदस्यका रुपमा रहेकालाई पार्टीको झण्डाले अन्तिम संस्कार गरिनु कति जायज होला ? त्यो कति न्यायोचित हो ? कति ब्यवहारिक हो यो ? हाम्रा सबै जसो राजनितिक पार्टीले आ आफ्ना भात्री संगठन खोलेकै छन् बिदेशमा । अब बाँकीलेपनि यसै त गर्ने होलान् ?

हाम्रो सिंगो देशनै यतिखेर अनेक रुप, माग र तहमा बिभाजित छ । त्यसैको असर र प्रभावले बिदेशका नेपालीपनि बिभाजित छन् । तर हाम्रा सामाजिक संस्कार, आस्था र रितिथितिमा, अर्दापर्दा नेपालीहरु बिभाजित हुनै पर्छ भन्ने छैन । हाम्रा सामाजिक संस्कारहरुमा हामी एकजूट कुनै दल, पार्टी, समूहबिनापनि हुन सक्छौं । पराईको मुलुकमा ठ्याक्कै नेपालकै जस्तो गर्नुपनि न संभव छ न जायज हुन्छ । राजनितिक गतिबिधी भन्दा बाहिर हरेक क्षेत्र र सहभागितामा राजनिति मिसाउनै पर्छ भनेर हेर्नु साँघुरो सोच हो ।

बिदेशमा नेपाली यसैपनि छरिएर रहेका छौं । अन्य देशका नागरिकको जस्तो बलियो, सथापित र ठूलो जमात छैन । त्यसैले कम्तिमा यस्ता नितान्त गैह्र राजनितिक काममा राजनितिलाई नमिसाई एक हुनुनै जाति हुन्छ । नत्र नेपालीहरु अब ब्रतबन्ध, न्वारन र पास्नीमापनि पार्टीको झण्डा बोकेर जाने । आफुलाई मन पर्ने पार्टीको भए सहभागि हुने । साथ दिने । नत्र बेवास्था गर्ने प्रचलन बढ्दै जाने छ । यो समग्र नेपाली समूदायकालागि सायद हितकर होइन । उनीप्रति नेपालप्लस हार्दिक श्रद्दानजली ब्यक्त गर्दछ ।

(पहिलो फोटो स्पेनबाट जगन्नाथ डाँडा कटारीले पठाएका हुन्  र दोस्रो ईश्वर नास्तिक शर्माको फेसबुकबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया