एन आर एन डेनमार्कको निर्वाचनमा जाली हस्ताक्षरबाट सदस्यता, नक्कली मत खस्ने संकेत
● पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क
डेनमार्कमा एनआरएनको चूनावी चहलपहल बढेको छ । सन २००९ मा स्थापना भएको गैर आवाशीय नेपाली संघ डेनमार्क यस अघि सहमतिका भरमा गठन भएर गएको भएपनि यस पटक भने चुनावी प्रतिस्पर्धामै जाने अवस्था देखिएको छ ।
सन २००९ मा स्थापना हुँदा हालका आईसिसि सदस्य सोम सापकोटाको अध्यक्षतामा कार्य समिती बनेको थियो । २०११ मा पनि मोहन राज मिश्रको अध्यक्षतामा सर्वसम्मतीले कार्य समिति बनेको थियो । तर यस पटक माहोल फरक भएर जाने अवस्था सिर्जना भएको छ । डेनमार्कमा अहिले देखिएको चुनावी बहस र तयारिलाई हेर्दा हाल पाँच, छ जना अध्यक्षका दावेदार हुनसक्ने देखिएको छ । विभिन्न राजनैतिक दलप्रति आस्था राख्ने तिनका भातृ संगठनहरुका प्रतिनिधी लगायत केही ब्यक्तिहरु स्वतन्त्र रुपमा अध्यक्ष पदका दावेदारका रुपमा चुनावी मैदानमा ओर्लन सक्ने सुनिन्छ । यद्यपी निर्वाचन समितीले निर्धारण गरेको उम्मेदारी दिने र नाम फिर्ता लिने म्याद भने तोकिएसकेको छैन । वर्तमान निर्वाचन समिती नै विवादमा परेकोले उक्त म्याद सार्वजनिक हुन सकेको छैन ।
वर्तमान कार्य समितिले समिती भित्रकै व्यक्तिलाई निर्वाचन समितीको संयोजक तोकी समिती बनाएको थियो । उक्त समिती सम्बन्धी असन्तुष्ट समूहले, त्यसमा आफ्नो संगठनको व्यक्ति नपारी पक्षपात गरेको गुनासो गरिरहेकामा जुलाई १४ मा बसेको कार्य समितीले केहि व्यक्तिहरु थपेर लैजाने निर्णय गरेपनि कस्लाई थप्ने कुराको निधो गरेको छैन ।
विभिन्न राजनैतिक दलमा आस्था भएका संघसंगठनका प्रतिनिधी लगायत दुई जना स्वतन्त्र उम्मेदवार रहन सक्ने आगामी एनआरएनको चुनाव निश्पक्ष नहोला कि भन्ने चिन्ता एकातिर बढेको छ भने अर्कातिर राजनैतिक दलका भातृसंगठनहरु मध्ये केहिले आफै पैशा हालिदिएर, आफै जाली हस्ताक्षर गरेर सदस्यता फारम बुझाएको कुरा श्रोतले जानकारी गराएको छ । आआफ्नो प्यानल बनाएर र नक्कली मतदाताका नाममा समेत भोट जान सक्ने सम्भावना रहेको गुनासो आएको छ ।
चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सामाजिक सञ्जाल मार्फत जनचेतना जगाउने काममा विभिन्न व्यक्तिहरु सक्रिय रहेको देख्न पाईन्छ । यसका अतिरिक्त अत्यधिक सर्वसाधारणको सहभागितामा असल व्यक्ति पहिचान गरी आगामी एनआरएन डेनमार्कको कार्य समिति बनोस् भन्ने उद्देश्यका साथ पंक्तिकारले, आफ्नो निजी ब्लग www.atmabilap.com र फेसबुक व्दारा पहल गरिरहेको छ । जनचेतना फैलाउने क्रममा “राजनिती देशका नीति नियम बनाउनका लागि आवश्यक नीति हो, त्यसको आफ्नै ठाउँमा ठूलो महत्व छ । तर एनआरएन देशका नीति नियम बनाउनका लागि स्थापना भएको संस्था होईन । बरु विदेशमा बस्ने नेपालीहरुका पिरमर्कामा हातेमालो गर्ने, भै परिआएका समस्या तथा दैवी प्रकोपहरुमा सहयोग गर्ने, सम्भव भएसम्म स्वदेशमा विकास निर्माणका काममा हातेमालो गर्ने र नेपाली चाडपर्वमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरेर नेपालीलाई एक्लोपन महशुस हुन नदिने र विदेशीबीच नेपाली सँस्कृति चिनाउने ईत्यादि अवधारणाका साथ स्थापना भएको निकाय हो । आउनुहोस् मिलेर एनआरएनलाई यी कामहरु गर्नका लागि बढि सक्षम र सवल बनाऊँ” भन्ने सन्देशहरु पंक्तिकारले बेलाबखतमा सार्वजनिक गर्ने गरेको छ ।
एन आर एन डेनमार्कको निर्वाचनमा यावत धाँधली हुन सक्ने सम्भावनालाई मध्यनजर गरी अनलाईन निवेदन लिने र अनलाईन नै मत दिन पाउने सफ्टवेयरको आवश्यकता महशुस भैरहेको छ । धेरै खर्चिलो नभएको खण्डमा यसै चुनाव देखि अनलाईन भोटिंगको व्यवस्था हुनसक्ने विषयमा केही नेपाली सफ्टवेयर बनाउन सक्ने प्रावधिकहरुसंग परामर्श लिने काम भैरहेको एनआरएनका वर्तमान अध्यक्ष मोहनराज मिश्रले वताउनु भएको छ ।




