एन आर एन बेल्जियमको निर्वाचनमा झडप, निर्वाचन बिथोलिन सक्ने संकेत
एन आर एन बेल्जियमको मतदान सकियो । एन आर एन बेल्जियमको निर्वाचन आयोगको निर्णयलाई उल्लंघन गर्दै केहिबेर अघिदेखि मत गणना शुरु भएको छ । तर मत गणनाका क्रममा डाङडुङ र हानहान भए, मत पेटिका लुटिए, मिल्काइए, मत पत्र च्यातिए र यो निर्वाचननै बदर भयो भन्ने खबर भोली बिहानसम्म सार्वजनिक भएमा कुनै अनौठो नमाने हुन्छ । किन त ?
एन आर एन बेल्जियममा आज भैरहेको निर्वाचनका लागि करिब दुई साता अघिनै निर्वाचनका नियम र आचार संहिता बनाएर बाँडिएको थियो । तर निर्वाचन प्रक्रियामा तिनलाई भने संबोधन गरिएन । भोली गन्ने भनेर सहमति गरिएपनि आजै राती मतदान गणना हुनै पर्छ भन्ने र पूर्व सहमति अनुसार भोली बिहान मात्रै मत गणना हुनुपर्छ भनेर दुई पक्षबिच निकै बेर गलफत्ती परेको थियो । यसले रात भरमा कि त मतदानलाई नै अबैध बनाउने वा झैझगडा हुन सक्ने संकेत देखिएको हो । मतदान निर्वाचन समितिले बनाएका बिधि बिधानलाई मिचेर सम्पन्न भएपनि खासै बिमति भने देखाएनन् । तर निर्वाचनका क्रममा लुभेनमा दुई पक्ष बिच सामान्य झडप भयो । अप्रिय घटना भने हुन पाएन ।
बिहानबाट शुरु भएको निर्वाचनका क्रममा केहि स्थानमा धाँधली भएको भन्दै गुनासाहरु गरिएको थियो । निर्वाचन आयोगले आज अपरान्ह पाँच बजेसम्म मतदान गर्ने । त्यसपछि प्राप्त मतहरु एकै थलोमा जम्मा पारेर भोलि आठ तारिख बिहानबाट गणना गर्ने सार्वजनिक गरेको थियो । तर त्यसलाई उल्लंघन गर्दै आज साँझ छ बजेसम्मपनि मतदान गरिएको थियो । त्यसै गरि, बेल्जियमका चार निर्वाचन क्षेत्र क्रमसस्वोएस्ट् भलान्दर बुर्गे, ब्रसेल्स, लुभेन र आन्तर्पेन गरि चार निर्वाचन क्षेत्र तोकिएको थियो । जुन निर्वाचन क्षेत्रका मतदाता हुन् तिनले आफ्नै मतदान केन्द्रमा मत दिनुपर्ने र अलग मतदान केन्द्रमा मत दिन नपाइने नियम बनाएको थियो । तर त्यसलाईपनि उल्लंघन गर्दै मतदाताहरुले आफ्नो क्षेत्र बाहिरका मतदान केन्द्रमापनि मतदान गरेका थिए ।
त्यसैगरि नेपालप्लस स्रोतका अनुसार कतिपय मतदाताहरुले अनुपस्थित सदस्यका नामबाटपनि मतदान गरेका थिए । कतिपयले दोर्याएर मतदान गरेको भन्ने आरोपपनि लागेको छ । नेपालप्लसकै स्रोतलाई थप पुष्टी गर्नेगरि “एनआरएन बेल्जियमका केही व्यक्तिहरु अझमाथी पदमा पुग्नका लागि विभिन्न तिकडम अपनाउदै गरेको र यसैबीच एकल व्यक्तिका नाममा बारम्बार मतदानगरी धाँधलीयुक्त मतदान सम्पन्न भएको” बेल्जियमस्थित पत्रकार महेन्द्र पौडेलले उल्लेख गरेका छन् । त्यसैगरि पार्टीका व्यक्तिलाई निर्वाचन आयुक्त बनाएकोले पार्टीका नाममा छुटेको व्यक्ति भन्दै मतदान गराएको, एउटा व्यक्तिले अरुको नाममा मतदान गरेपनि उनले जनाए । पौडेलले भने “यस्तो निर्वाचन त गाविसमा पनि देखिएको थिएन । स्वच्छ र निष्पक्ष हुनुपर्नेमा गलत भो । आइसीसीमा त कुरै नगरौं केन्द्रले कसरी त्यस्तो व्यक्तिलाई पर्यवेक्षक तोकेछ ? एकजना व्यक्तिले ३ पल्ट र पाँच पल्ट भोट हाल्यो । अचम्म लाग्यो । साथीहरुलाई बिरोध गर्दा हाम्रो मान्छे भने । त्यसकारण यो धाँधली निर्वाचनको औचित्य छैन । बक्सहरु तोडिदिए हुन्छ ।”
मतदानमा सहभागि नहुने नेपालीहरुलाई मत गणना स्थलमा बस्न पाइन्न भन्दै उर्दी जारि गरेपछि अहिले मतगणना केन्द्रको बाहिर ठूलो संख्यामा नेपालीहरु बसिरहेका छन् । त्यहाँ दुबै पक्षका समर्थक, शुभ चिन्तक र अन्य स्थानिय नेपालीको ठूलो संख्या उपस्थित छ ।
अहिले राति ११. ५० बजे यो समाचार लेख्ने बेलासम्म निर्वाचन आयोगले जारि गरेको आचार संहितालाई पालन गर्दै भोली बिहान मात्रै मत गणना गर्नुपर्छ भन्ने प्रेम गुरुङ समूह र हैन आजै मत गणना गर्नुपर्छ भन्दै दबाब दिने गंगाधर गौतम समूहबिच बादप्रतिबाद भैरहेको थियो । तर गंगाधर गौतमले चर्को बादबिबाद र दबाब दिएपछि अहिले मत गणना शुरु भएको छ । बादबिबाद बढ्दै जाँदा प्रेम गुरुङ पक्षकि जानकि गुरुङ (एन आर एन बेल्जियमकि अहिलेकि अध्यक्ष) ले यदि आजै राति मतगणना गर्ने हो भने कुनै झैझगडा र डाङडुङ भएमा त्यसको जिम्मेवारी लिन गंगाधर गौतमलाई चुनौति दिएकि थिईन् । गौतमले त्यसको जिम्मेवारी आफुले लिने स्विकार गरेपछि मतगणना शुरु गरिएको हो । जानकि गुरुङ केहि साता अघि देउवा खेमा बदलेर यता कोइराला खेमा (बेल्जियममा ईन्द्र क्षेत्री पक्ष) तिर आएकि हुन् । उनी पहिले गंगाघर गौतमकै समूहमा थिईन् ।
निर्वाचन आयोगको आचार संहितालाई एकाएक उल्लंघन गरेर किन आजै राती मत गणना गर्न गंघाधर गौतम पक्षले दबाब दिएको हो ? यसलाई शंकास्पदरुपमा लिइएको छ । प्रेम गुरुङ पक्षले भने यसरि निर्वाचन आयोगको आचार संहिता बिपरित आजै राति मत गणना गर्न दबाब दिनु भनेको आफुले हार्ने स्थिति भएपछि कि त मत पेटिका मिल्काउने कि त केहि मत पत्र च्यातेर निर्वाचननै बदर गराउने षडयन्त्र गर्न हुनसक्छ भन्दै शंका गरेको नेपालप्लस स्रोतले उल्लेख गरेको छ । उता गंघाधर पक्षको भनाई भने ‘आज मतदान भएपछि किन भोलीसम्म बस्ने ? आजै गन्ने नी’ भन्दै दबाब दिएका थिए ।
मतदानको बिवरण अनुसार आज बेल्जियमभरिमा जम्मा १०३७ मत खसेको छ । यस अघि एन आर एन बेल्जियममा करिब सात हजार सदस्य थिए । एन आर एन बेल्जियमको अहिलेको कार्यकार्य सर्वाधिक बदनाम भएपछि यसमा बेल्जियमबासी नेपालीको चासो हराएको हो । यो निर्वाचन प्रक्रियामा असहमती जनाउँदै नेपाली जनप्रगतिशिल मञ्च त निर्वाचनमा सहभागिनै भएन । यस पटक धेरै नेपालीहरु सदस्यनै बनेनन् । बनेकापनि अधिकांश पार्टीगत आधारमा बनेका हुन् । तिनै सदस्य बनेका मध्येपनि धेरै त मतदान गर्नै गएनन् ।
एन आर एन मेडिया टास्कफोर्सका सदस्य क्रिष्णप्रसाद रेग्मीले एन आर एन बेल्जियमको निर्वाचन अवलोकन गरेपछि उल्लेख गरेका छन् “वेल्जियमका दुइ काग्रेसहरु अस्तित्वका लागि लडिरहेका छन । संस्थापक काग्रेसका कार्यकर्ताहरु दिलो ज्यान दिएर लागेका छन गंगाधर गौतमलाइ विजय वनाउन भने विपक्ष कांग्रेसका प्रेम गुरुङका पक्षमा गतिलो लविङ गर्नेहरुको अभाव देखियो यो शहरमा । वरु एमालेका साथीहरुको सक्रीयता यो शहरमा गज्वव देखिएको छ । नतिजा जे आउला आउला तर आज हुने निर्वाचनवाट वन्ने एनआरएन वेल्जियम अधिल्लो कार्यसमिति भन्दा झनै पंगु र स्तरहीन हुनेमा कुनै विवाद छैन ।”
मतदानको प्रक्रिति अनुसार लुभेन क्षेत्रबाट अध्यक्ष पदका उम्मेदवार गंगाधर गौतमलाई आशा र अड्कल गरिए अनुसार मत खसेको छैन । त्यहाँ प्रेम गुरुङका पक्षमा बढि मत खसेको स्रोतले उल्लेख गरेको छ । तर आन्तर्पेनबाट भने उनका पक्षमा राम्रो मत खसेको बताइएको छ । समग्रमा यो पटक गंगाधर पक्षकोमा भन्दा प्रेम गुरुङ पक्षकोमा बढि मत परेको अनुमान धेरैले गरेका छन् । गंगाधर पक्षले जितिहालेपनि अध्यक्षमा गंगाधरले जित्ने तर बाँकि पदहरु प्रेम गुरुङ पक्षले जित्ने संभावना रहेको बताइएको छ । तर लुभेन शहरबाट खसेको मतको प्रक्रिति हेर्दा गंगाधर गौतमको बिजयपनि शंकाकै घेरामा छ । र गौतमले अध्यक्ष पदमै जितेपनि एक्लैले केहि गर्न सक्ने अवस्था रहन्न । किनकि कुनै पनि निर्णय प्रक्रियामा बहुमतको कदर हुने गर्छ ।
त्यसैगरि नेपालप्लसको अर्को एक विशेष स्रोतका अनुसार हिजो राती गंघाधर गौतमले नेपाली कांग्रेसका केहि विशेष ब्यक्तिहरुसित बैठक गरेका थिए । त्यहाँ ‘सिता पक्ष (ईन्द्र क्षेत्री पक्षकि एक खम्बा र एक योजनाकार भनेरपनि चिनिने) हरु जनजातितिर लागे । अब जनजातिलाई छोड्दिदिउँ, मत हामीलाई दिउँ’ भन्दै गोप्य छलफल गरेका थिए । तर यसलाई अति गोप्य राखेको बताइएको छ । त्यसैको कारणले आन्तर्पेन शहरबाट जनजाति बिरोधी भनिनेहरुको मत गंगाधर गौतमलाई बढि परेको अड्कल गरिएको छ । गोप्य छलफलमा जनजाति पक्षका पिजी शेर्पा, प्रेम गुरुङ र जित लामा (महासचिवका उम्मेदवार) लाई हराउनुपर्छ भन्ने गोप्य वार्ता भएकोपनि नेपालप्लस स्रोतले उल्लेख गर्यो ।
एकातिर संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पासित गठबन्धन गर्ने, एकिक्रित नेकपा माओवादीसित गठबन्धन गर्ने तर अर्कोतिर जनजातिका जित लामा (लामा एकिक्रित नेकपा माओवादीका हुन्), नेपाली कांग्रेस कोइराला खेमाका (बेल्जियममा ईन्द्र क्षेत्री पक्ष भनेर चिनिन्छन्) प्रेम गुरुङ र पिजी शेर्पालाईनै हराउने खेलमा लागेको स्रोतले उल्लेख गरेको छ ।
तर यस अघि नेपाली जन संपर्क समिति बेल्जियमको निर्वाचनमा राति भएको धाँधली र डाङडुङलाई मध्यनजर गरेर सुरक्षा ब्यवस्थालाई अलि कडापनि पारिएको छ ।
उता आइसिसी पदका उमेदवार पिजी शेर्पालाई भने ठूलो घाटा लागेको छ । मगर समाज, तमु समाज र जन प्रगतिशिल मोर्चाबाट पहिचान पक्षकाको मत झरेको भए उनको जित्ने संभावना बढि हुने थियो । तर जनप्रगतिल मोर्चाले निर्वाचन प्रक्रियाप्रति असहमती जनाएर निर्वाचनमा भाग नलिनु, विश्व मगर संघ बेल्जियम र तमु समाज बेल्जियमकापनि धेरै सदस्यले मतदान गर्नै नजानुले पिजी शेर्पालाई ठूलो घाटा लागेको बताइन्छ । निर्वाचनको मत गणना सहि किसिमले भयो भने गंगाधर पक्षबाट गंघाधर गौतमले बाहेक अरुले जित्ने संभावना क्षिण छ ।
किनकि नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन संपर्क समिति बेल्जियमको गत निर्वाचनमापनि देउवा पक्षका गंगाधर गौतमले मत गणना भैरहेका बेला राति मारमुंग्री गरेर र फर्जी मत हालेर जितेको भन्दै कोइराला पक्षले त्यसलाई नमान्ने बताउँदै आएको छ । अहिले एन आर एन बेल्जियमको निर्वाचनमापनि कोइराला पक्षका प्रेम गुरुङ र उता देउवा पक्षका गंगाधर गौतम प्रतिस्पर्धी छन् ।
एन आर एन बेल्जियमका दुबै पक्षले बेल्जियममा बिबाद रहँदै आएको इपेरमा गोर्खा स्मारक, एन आर एन बेल्जियमको आर्थिक अनियमितता, बसाईका क्रममा दुख पाएका नेपालीकालागि बैधानिकताको निति, नेपाल हाउस बनाउने भन्दै ल्याइएको योजना तुहाउनेहरु प्रति के गर्ने भन्ने योजना, धार्मिक महायज्ञ लगाएर कबुलेको दान नदिनेहरु लगायतका विषयमा स्पष्ठ निति र योजना केहिपनि सार्वजनिक गरेका छैनन् । त्यसैले पार्टीका झण्डा बोकेर, मतदातालाई सदस्य बनाउन पैसा हालेर र यो मारपिट तानातान, मारमुङ्री गरेर एन आर एन बेल्जियम केकालागि भन्ने प्रश्न खडा भएको छ । कुनै निति, योजना र आदर्शबिना र बिचारनै नमिल्नेहरुबिच भएको अपर्झट गठबन्धनले खाली पदकालागि, नेता बन्नकालागि मात्रै हो भन्ने देखिएको छ ।




