भक्कु सताए नी बेलायती सिमामा
(दायाँबाट बीबीसी नेपाली सेवाका भगिरथ योगीजी, डाक्टर गोपाल पौडेल, एस ओ ए एस विश्वबिध्यालय, लण्डनका नेपाली बिभागका प्रमुख, प्राध्यापक माईकल हट र म)
सोमबार तोकिएको भन्दा चाँडै चल्यो बस । मौसम ठिकै थियो । चालक जोक्कर रहेछ । खुब हँसाएर ल्यायो सिमासम्म । भनिहाल्यो ‘ आइ एम योर पाईलोट ज्याक । दिस इज ९ नंबर एयर बस अफ युरोलाईन कंपनी, वि ह्याभ फोर हुइल्स टु फ्लाई ।’ शुरुमै यस्तै जोक्कर कुरा गरेर हँसायो । अनि जब फ्रान्स र बेलायतको समुद्री सिमा क्षेत्र जसलाई काले भन्छन्, त्यहाँ आएपछि सबै यात्रु ओर्लिनु पर्ने । फ्रान्सेली र बेलायती सिमा नियन्त्रक, जाँचबुझ सुरक्षा अधिकारीको अलग अलग जाँच पास गर्नुपर्ने । फ्रान्सेलीले फटाफट हेरेर छोडे । त्यसपछि बेलायतीको पालो । ओहोहो कति नाटक गर्न जानेका । साँच्चै अनावश्यक दुखनै दिने रहेछन् ।
युरोपतिर बस्नेकोलागि त अलि सहज । तर कालो अनुहार देख्यो र अरु देशमा बस्नेको त पासपोर्ट खोस्टोनै ठानेर दुख दिने । ओल्टाईपल्टाई हेर्ने । अनुहार माथि उचालेर यता हेर्नुस्, टाउको उचाल्नुस् भन्ने । हाम्रो बसमा भएका प्राय सबै जस्तो उत्रिए । तिन जना अफ्रिकी परेछन्, अलिबेर जाँच गरे । तर एक बेलायती परिवारलाई बेलायतीलेनै हैरान पारे। करिब एक घण्टा रोके अध्यागमन अधिकारीले । बच्चाको पासपोर्टमा नामको एउटा हिज्जे फरक भएछ रे । फ्रान्स जाँदा चाहिँ दुबैतिरका सुरक्षाकर्मीले दिने । फर्किँदा लफडा ?
तिनलाई दुख दिएकाले बस एक घण्टा पर्खेर बस्यो । उता बेलायततिर मान्छे, बस, ट्रक, जिप, कार सामान सबै कोचेर लैजाने पानी जहाज (उनीहरु फेरी भन्छन्) छुट्यो । त्यसपछि अर्कोलाई पर्खिँदा त निकै समय लाग्यो । त्यो फेरीले एक पटकमा सयौं गाडी लैजाने रहेछ । यताबाट लग्यो । उताबाट त्यसैले फर्केर अरुलाई ल्याउने रहेछ । खोलाको घाटमा मान्छे तार्ने डुंदा जस्तो । लाने र ल्याउने एउटै । पारी कट्दा त उसले बेलायतको भिक्टोरिया स्टेशनमा पुग्छौं भनेकै समय भयो । त्यहाँ कहिले पुग्ने ? फेरी अगाडिको जाममा फस्यो । अलि पर पुगेपछि फेरी भन्सारमा सबै सामान बोकेर लैजानु पर्ने । लाईन लागेर उभियो । कुकुर आएर सुँघ्छ र छोडिदिन्छ । फेरी सामान बोक । बसमा लगेर हाल । ओहो कतिकति दुख दिने । दुख भन्दापनि झन्झट । त्यहाँ भन्सार कट्दै साँझको ६ बज्यो । डाक्टर गोपाल पौडेललाई सम्पर्क गरें । उहाँ स्टेशनमा आइसक्नु भएछ लिन । आपत । ड्राईभरलाई सोध्यो, कति बेरमा पुग्छौ ? उसले जवाफ दिनै नसक्ने ।
उहाँ पर्खेको पर्खियै । आपत पर्यो । बिचमा सात आठ पटक फोन भो । पाँच बजे पुर्याउने भनेको बसले राति १०.३० कि ११ बजे पुर्यायो । सबै चौपट । थाकेर उस्तै । लखतरान परियो । तर झन लखतरान पारियो डा गोपाल पौडेलका परिवारलाई । उहाँ चार पाँच घण्टा पर्खिँदै हैरान । मेडम खाना पर्खेर हैरान । आएर सुत्नै हतार भैगो । नेट खोज्ने कुरै भएन । बिहान यस्सो नेट जोडेको । हिँड्नै हतार भैहाल्यो । भगिरथ योगीजीले ‘लौ ११. ३० बजे फलानो स्टेशनमा जसरिपनि आउनु पर्छ भनेर फेसबुकमा खबर छोड्नु भएको रहेछ । हतारमा गइयो । बेलायतको एस ओ ए एस विश्वबिध्यालयमा नेपाली कक्षका प्रमुख माईकल हटसित भेट्न । खरर बोल्ने नेपाली उनले । हामी भन्दापनि शुद्द र प्रस्ट । उनले नेपाली भाषा साहित्य, अनुसन्धानका क्षेत्रमा गरेको योगदान बयान गरिसाध्यनै छैन । कत्रो माया । कत्रो चासो । हिँड्ने बेलामा उहाँले हामीलाई नेपालका बारेमा केहि मन छुने कुरा गरेर चस्स, आँशु खस्ला झैं बनाउनु भो । म अलि केहि दिनमा साझेदारि गरौंला त्यसबारे ।
अनि भगिरथजी र गोपाल पौडेल म र हाम्रो फुच्चे आमोद दिनभरि घुम्यौं । बिबिसीको कार्यालय, बकिङहम दरबार, लण्डन गेट । भगिरथजी भएपछि हाँसो त यसै छुट्छ नै । यता उति घुम्दा साँझ पर्यो । न साथीहरुको मेल हेर्न पाउनु । न कसैलाई फोन नंबर दिन पाएको हो । हुटहुटी त भएको हो । किनभने केहि साथीहरुले भेट्न, बस्न र केहि साझेदारी गर्न खोज्नु भएको हो । तरपनि सकिएन । युकेमा फेरि मोबाईलको सिम लियो । फ्रान्समा झैं तत्कालै नचल्ने रहेछ । दुई तिन घण्टा कुर्नु पर्ने । त्यसैले गर्दा बिहान नंबर दिनै पाइएन । साँझा आएर फोन हान्दा धेरै साथीहरुको म्यासेजमा गयो । साथीहरुसित सम्पर्क हुन नसकेपनि अफ्नो यात्रा सफल र रोमाञ्च भो । बीबीसी नेपाली सेवाको कार्यालय कस्तो ठाउँमा रहेछ, के कसरि चल्दो रहेछ यो बीबीसी ? यो यात्रामा यस्ता धेरै चाखलाग्दा कुरा भेटिएका छन् । अब बिस्तारै लेख्नुपर्ला !!






