सुशीलदाको अन्तरङ्ग

आनन्दराम पौडेल  

anandaram-paudel-33434नेका वाँकेले बैशाख ९ गते आयोजना गरेको क्षेत्रीय कार्यक्रममा भाग लिएर काठमाडौं फिरेको राती सुशिलदा एक्लै घोत्लिए । उनले सोचे, “९ गते प्रचण्डले लिफ्ट नदिएका भए किमार्थ नेपालगञ्ज पुग्नसक्ने थिइन । नेपाली कांग्रेस कतिसम्म अव्यवस्थित पार्टी रहेछ भनेर दुनियाँले सोच्ने ठाउँ बन्यो । आखिर १०-११ दिन अघि नै वाँकेमा कार्यक्रम राखेर मलाइ खबर गरेका हुन् । केन्द्रीय सभापति जाने भएपछि टिकटको व्यवस्था गरिदिनु पर्दैन ? केन्द्रीय कार्यालयले गर्न नभ्याएको भए वाँके जिल्ला कमिटीले गरेपनि हुन्थ्यो । मैले सोद्धा ‘टिकटको लागि फोन गरिसकिएको छ’ भने । त्रिभुवन एयरपोर्टमा आएर त्यत्तिकै भौंतारिनुपर्‍यो । 

सबै एयरलाइन्सको काउण्टरमा गएँ । कुनैमा पनि टिकट बुक थिएन । काउण्टर-काउण्टर सोद्धै हिंडेको । प्रचण्डले देखिरहेका रहेछन्, बोलाउन पठाए । उनले त रु.३ लाख वुझाएर पूरै प्लेन चार्टर गरेका रहेछन् । ‘हामीले चार्टर गरेकै प्लेनमा जाउँ’ भनेर प्रस्ताव गरे । वाँकेमा कार्यक्रम ११ वजे शुरु हुने भनिएको थियो । टिकट नपाएको अवस्था र जाने हतारले गर्दा दायाँबायाँ सोच्नैसकिन । प्रचण्डको प्रस्तावलाइ तत्कालै स्वीकार गरें । मलाइ मात्रै हैन, मसँगै सुवास र निजी सचिव लक्ष्मण ढकाललाइ समेत सिट मिलाइदिए ।”

पलङमा बसेर सोच्दै थिएँ, ढाड दुखेको महसुस गरें । एकछिन कौसीतिर टहले । आरामकुर्सीमा जिउ अलि तेर्सो पारेर बसे । र पुन सोच्नथालें, “नेपालगञ्ज एयरपोर्टमा प्रचण्डको सुरक्षाका लागि भनेर १ बटालियन नै प्रहरी खटिएका र मेरो सुरक्षाको लागि भनेर ३ जना प्रहरी खटिएका रहेछन् । यो फरक-फरक सुरक्षाव्यवस्थालाइ हाम्रा कार्यकर्ताले निकै मार्क गरेछन् । मलाइ सुनाउँदै थिए। प्रचण्डलाइ बढी नै सुरक्षा-थ्रेट छ भनेर सम्झाएँ । हुनपनि उनलाइ धेरै र अजङ्गका प्रश्नहरुले लखेटिरहेछन् । द्वन्दकालका ज्यादतीहरुको सवाल छ । आफू सरकारमा आएपछि एकातिर द्वन्दकालका दमनकारी सेना र प्रहरीका अधिकृतहरुलाइ काखी च्यापेको, र अर्कोतिर भत्ता रकम लुटी लडाकुलाइ पीडा दिएको सवाल छ । द्वन्दोत्तरकालका पक्षपातका सवाल छ । द्वन्दको औचित्य सावित गर्नुपर्ने सवाल छ । वर्गसङ्घर्ष छाडेर जातीय र साम्प्रदायिक राजनीति गर्नुपर्नाको कारण प्रष्ट्याउनु छ । सवाल त नेकाप्रति पनि नभएको होईन । २०१२ सालको अधिवेशनले पारीत गरेको राजनीतिक दस्तावेज बराबर आजसम्म कुनैपनि पार्टीका दस्तावेज देखिएको छैन । तर, बहुदल आएपछि गिरिजाबाबुले विचार छाडिदिनुभयो । र सङ्गठनलाइ मात्र मजवुत बनाउनुभयो । जसलेगर्दा पार्टीले समाजवादलाइ बिर्स्यो ।”

आरामकुर्सीमा बस्दाबस्दै पट्यार लाग्यो । कोठामा दुईपल्ट ओहोरदोहोर गरें । आरामकुर्सीमै थोरै पछाडी झुकेर बसें । र पुन सोचें, “त्यही दिन बर्दियाको आमसभामा प्रचण्डले, ‘नेकपा एमाले भन्ने पार्टीको अस्तित्व नै छैन’ भनिदिएँ । अन्तर्विरोध चर्काउन र अन्तर्विरोधमा खेल्न प्रचण्ड चौपट्टै शिपालु छन् । २ दिन अघिमात्र एमालेले सहकार्यको प्रस्ताव गरेको थियो । एमालेको प्रस्ताव आएपछि गोर्खा, रोल्पा जस्ता कांग्रेस र एमालेको स्थिति कमजोर भएको निर्वाचनक्षेत्रमा तालमेल गर्न सकिन्छकि भनेर मैलेपनि सोच्दैथिएँ । यही सहकार्यको सम्भावना बुझेर नै हुनुपर्छ । नेकालाइ राजनीतिक उँचाईमा र एमालेलाइ रसातलमा पु-याइदिएँ ।

पार्टी-पार्टी वीचको अन्तर्विरोध मात्र हैन, पार्टीभित्रैको अन्तर्विरोधमा समेत प्रचण्डले बेस्सरी खेले । पार्टी नफुटुञ्जेल किरण र बाबुराम वीचको अन्तर्विरोधमा प्रचण्डले खेलेकै हुन् । जात-जातमा विभाजित गरेर भिडाउने खेलमा पनि प्रचण्ड धेरै हदसम्म सफल भएकै हुन् । जनतालाइ भेडा बनाए भनेर के भन्नु ? हामी प्रतिपक्षीहरु बेवकुफ भएकैले नौटङ्कीबाहेक केही गर्न नजान्ने प्रचण्डले यत्रो फाइदा उठाएका हुन् ।” यो निस्कर्षमा पुगेपछि सुशिलदालाइ भित्रैदेखि सञ्चो भयो । आँखा लोलाउन थाले । नजिकैको पलङ्मा गएर पल्टिए, र भुसुक्क निदाए ।

तपाइँको प्रतिक्रिया