मारमुंग्रीको अग्र मोर्चामा यी महिला
– ददि सापकोटा
आज बुधवार फागुन २३ गते २०६९ का दिन जन आस्था साप्ताहिकमा प्रकाशित लेख । केहि प्रसंग अघिल्लोसित दोहोरिएका हुन सक्छन् । आफ्नो लेख भएकाले भण्डारकालागिपनि राखेको हुँ)
गत मार्च २४ का दिन नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा राजनीतिक अन्तरक्रिया थियो, लुभेन सहरमा । प्रमुख अतिथि थिए, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा । म थिएँ, अतिथिका रूपमा आमन्त्रित । राजनीतिक बहस भयो । विभिन्न संघसंस्थाका व्यक्तिले बोले । आङकाजी र अशोक राईले राजनीतिक भनाइ राखे । अन्तरक्रियापछि विभिन्न जनजातिको झाँकी निकाल्ने कार्यक्रम थियो । म हलबाट बाहिर निस्कन खोज्दा एक महिलाले एक्कासि बाटो छेकिन् ‘तपाई पत्रकार ददि सापकोटा हो ? पत्रकारले जे पायो त्यही लेख्न पाउँछ ?’ मैले भनें– ‘पाउँदैन ।’ किन लेख्या त तपाईले जे पायो त्यही ?’ मैले भने“, ‘जे पायो त्यही कहाँ के लेख्या छ र ? त्यस्तो लेख्दा खण्डन गर्नुपर्थ्यो नि !’
त्यसपछि मैले के लेखेर, कस्तो, कहिले नाजायज भएको हो भन्ने नखुलाई उनी चर्कन थालिन्, ‘अर्काको मानहानी गर्ने ? बेइज्जत गर्ने ? ल एनआरएनले अनियमितता गरेको समाचार, लेख कहाँबाट कसले दियो ? स्रोत के हो ? त्यो मान्छेको स्रोत दिनुस् । हामी त्यसै छाड्दैनौ“ ।’
उनीहरूको बाटो छेकेर आक्रमण गर्ने योजना रहेछ । त्यसपछि एनआरएन बेल्जियमकी सचिव अनुजा प्रधान आएर बाटो छेकिन् । उनले पनि पत्रकारले लेखेका समाचार र लेखको स्रोत खोल्न जबर्जस्ती गरिन् । मैले पत्रकारले केके कहिले नचाहिँदो वा झुटो लेख्यो खण्डन गर्न आग्रह गरें । त्यतिले नपुगे विधिसम्मत कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने जवाफ दिएँ । तर, उनीहरूले बाटो छेकेर स्रोत खोल्न जबरजस्ती गरे । त्यसमा थपिइन् प्रमुख योजनाकार एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ ।
उनले पनि अहिले भर्खरै त्यो समाचार र एनआरएनभित्र भएका बेथितिको समाचार लेख्ने, दिने स्रोत खोल्नै पर्ने भन्दै तत्कालै हल बाहिर निस्कन भनिन् । तर, त्यही दिन बिहान कार्यक्रम सुरु नहुँदै एनआरएनए बेल्जियमका आइसिसी सदस्य अर्जुन श्रेष्ठ र सल्लाहकार युवराज गुरुङलगायत तिनका अन्य केही टोलीबीच भोलिपल्ट जनजाति महासंघ बेल्जियमका कुल मगरको जापानी रेस्टुरेन्टमा बसेर छलफल गर्ने, हार्दिकतापूर्वक कुरा गर्ने र स्रोत खोल्ने नभई सम्बन्ध सुधार्ने सहमति गरेर टुंग्याइएको थियो । अर्को दिन बिहान भेट्ने सहमति गरिसकेपछि आआफ्नो काममा लागियो । आइसिसी सदस्य अर्जुनको सांगठनिक हैसियत जानकी गुरुङको भन्दा माथि मानिन्छ । एनआरएनको सर्वश्रेष्ठ व्यक्तिसितै सहमति गरेपछि त लागू हुनुपर्ने हो ! हामीले त्यही विश्वास लियौं र हिँड्यौं ।
लेखेका विषयमा स्रोत खोल्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने भनेको भए त्यहिँ अस्वीकार गर्ने थिएँ । तर, हार्दिकतासाथ छलफल भनेर स्वीकार गरें । हलमा तिनले जबरजस्ती अहिल्यै बाहिर हिँड भनेर हुटहुटी लगाउँदा बिहान यस्तो सहमति भएको छ । भोलि भेटौंला, अहिले थाकेको छु । मेरो अन्य काम पनि छ भनेर हलबाहिर निस्कन खोजें । तर, उनीहरू झन् चर्किंदै गए ।
बाहिर पानी परिरहेको थियो । हिउँ परेकाले जाडो उत्तिकै थियो । तर, उनीहरू ‘ल यहाँ कार्यक्रम भाँडिन्छ भने हलबाहिर जाऊँ, दशै मिनेटलाई जाऊँ “’ भनेर जबरजस्ती गर्दै थिए । बाटो छाड्न नमानेपछि केही साथीले ‘बाटो छेक्ने नै भए के बाटो फाँडौं त ?’ भनेर जवाफ दिए । कसैले ददि सापकोटामाथि छिस्रिक्क भो भने छाडिन्न’ भन्न थाले । तैपनि, उनीहरूले आक्रमणको तयारी गरेर ढोका थुने । अगाडि आक्रमण गर्न खोज्नेमा जानकी उभिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी सल्लाहकार पनि हुन् । साथमा लागिन्, एनआरएन बेल्जियमकी सचिव र पासापुचः संस्थाको कार्यकारी समिति सदस्य अनुजा प्रधान । सुरुमै बाटो छेकेर हुलमुल बोलाउने थिइन् एनआरएन बेल्जियमकी उपाध्यक्ष अनिता लामा । पछाडि बसेर महिलालाई कुटपिट गर्न उकास्नेमा एनआरएन लगानी कोष बेल्जियमका प्रमुख पदम गुरुङ प्रमुख थिए । अझ कलाकार संघ, बेल्जियमको पनि पूर्व अध्यक्ष । जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार नन्द घले पनि उसैगरी उकास्ने र जोरी खोज्ने थिए । कुटपिट गर्न उक्साउने र त्यसको भिडियो खिच्ने थिए, चिनियाँ दुवाल । बाँकि केहीको नाम चिन्न सकिएन ।
परिस्थिति असामान्य देखेपछि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पिजी शेर्पा र महासचिव कुल मगर आएर कार्यक्रममा आफूले अतिथिका रूपमा अर्को देशबाट बोलाएको पाहुनालाई दुःख नदिन र लेख, रचनामा असहमति भए विधिसम्मत तरिकाले जान आग्रह गरे । तैपनि, उनीहरू मानेनन् । हलबाहिर निस्किन खोज्दा ठेलमठेल गरेर बाटो थुनिराखे ।
वास्तवमा त्यसदिन उनीहरूको योजना आफ्ना हुलदंगाबाजहरूको बल पुगेको भए त्यहिँ कुटपिट गर्ने रहेछ । तर, आयोजक पक्ष बलियो देखेपछि उनीहरूले महिलालाई अगाडि सारे । महिलालाई कुटपिट गर्न लगाउने र यदि पुरुषले हात हाले ‘महिलालाई हात हाल्न पाइन्छ ?’ भन्ने निहुँ “ बनाएर कार्यक्रम बिथोल्ने योजना बनाएका रहेछन् । त्यसका लागि भिडियो र स्टिल क्यामेराले कुटेको फोटो खिच्ने, अगाडि महिला डनहरूले आक्रमण गर्ने र तिनलाई पछाडिबाट पुरुष डनहरूले सुरक्षा दिने योजनासहित हलमा प्रवेश गरेका रहेछन् । दोस्रो दिन म एकजना नेपाली महिलाको घरमा अन्तर्वार्ता गर्न जाने पत्ता लगाएर जानकी गुरुङले त्यहाँ पनि फोन गरिछन् र आफूहरूले कुटपिट गर्ने योजना बनाएको बताइछन् ।
मैले विभिन्न समयमा एनआरएनभित्र भएको आर्थिक हिनामिना, बेथिति र अनियमितताबारे जनआस्था र नेपाल प्लस डट कममा लेख र समाचार लेख्दै आएको छु । एनआरएन बेल्जियमले अहिलेसम्म करिब ६० हजार युरोको हिसाब स्पष्टसित देखाउन सकेको छैन । रकम उठे पनि विभिन्न व्यक्तिले निजी स्वार्थका लागि खर्च गरेकाले एनआरएन बेल्जियमको खातामा छैन ।
त्यसैगरी, एनआरएन बेल्जियमले नेपाल हाउस बनाउने भन्दै नेपालबाट पण्डित दीनबन्धु पोखरेललाई ल्याएर महायज्ञ लगायो । ठूलो रकम दान दिन्छु भनेर बोल्नेले दिएनन् । तर, नगद दिनेहरूको रकमले दीनबन्धु पोखरेललाई हीराको औंठी र करिब १३ हजार युरो नगद दिएका थिए । हो, यिनै प्रसंगबारे एनआरएन बेल्जियमकै सर्कुलर र माइन्युट फेला पारेपछि मैले जनआस्था र नेपाल प्लसमा समाचार लेख्दै आएको थिएँ । यसपछि एनआरएन बेल्जियमका पदाधिकारी रुष्ट बनेका हुन् । जानकी गुरुङले मलाई पटक–पटक विभिन्न मञ्चबाट कारबाहीको धम्की दिँदै आएकी थिइन् । त्यसो त यस्ता समाचार लेखेकामा विगतमा पत्रकार सन्तोष न्यौपाने, महेन्द्र पौडेल, शेरबहादुर छन्त्याल, दिल्ली अम्गाई, तेजबहादुर नेपालीलगायतलाई पनि धम्की दिँदै आएका थिए ।




