मारमुंग्रीको अग्र मोर्चामा यी महिला

ददि सापकोटा 

journalist-writer-dadi-sapkota-1212आज बुधवार फागुन २३ गते २०६९ का दिन जन आस्था साप्ताहिकमा प्रकाशित लेख केहि प्रसंग अघिल्लोसित दोहोरिएका हुन सक्छन् आफ्नो लेख भएकाले भण्डारकालागिपनि राखेको हुँ) 

गत मार्च २४ का दिन नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा राजनीतिक अन्तरक्रिया थियो, लुभेन सहरमा । प्रमुख अतिथि थिए, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा । म थिएँ, अतिथिका रूपमा आमन्त्रित । राजनीतिक बहस भयो । विभिन्न संघसंस्थाका व्यक्तिले बोले । आङकाजी र अशोक राईले राजनीतिक भनाइ राखे । अन्तरक्रियापछि विभिन्न जनजातिको झाँकी निकाल्ने कार्यक्रम थियो । म हलबाट बाहिर निस्कन खोज्दा एक महिलाले एक्कासि बाटो छेकिन् ‘तपाई पत्रकार ददि सापकोटा हो ? पत्रकारले जे पायो त्यही लेख्न पाउँछ ?’ मैले भनें– ‘पाउँदैन ।’ किन लेख्या त तपाईले जे पायो त्यही ?’ मैले भने“, ‘जे पायो त्यही कहाँ के लेख्या छ र ? त्यस्तो लेख्दा खण्डन गर्नुपर्थ्यो नि !’ 

त्यसपछि मैले के लेखेर, कस्तो, कहिले नाजायज भएको हो भन्ने नखुलाई उनी चर्कन थालिन्, ‘अर्काको मानहानी गर्ने ? बेइज्जत गर्ने ? ल एनआरएनले अनियमितता गरेको समाचार, लेख कहाँबाट कसले दियो ? स्रोत के हो ? त्यो मान्छेको स्रोत दिनुस् । हामी त्यसै छाड्दैनौ“ ।’ 

उनीहरूको बाटो छेकेर आक्रमण गर्ने योजना रहेछ । त्यसपछि एनआरएन बेल्जियमकी सचिव अनुजा प्रधान आएर बाटो छेकिन् । उनले पनि पत्रकारले लेखेका समाचार र लेखको स्रोत खोल्न जबर्जस्ती गरिन् । मैले पत्रकारले केके कहिले नचाहिँदो वा झुटो लेख्यो खण्डन गर्न आग्रह गरें । त्यतिले नपुगे विधिसम्मत कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने जवाफ दिएँ । तर, उनीहरूले बाटो छेकेर स्रोत खोल्न जबरजस्ती गरे । त्यसमा थपिइन् प्रमुख योजनाकार एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ । 

उनले पनि अहिले भर्खरै त्यो समाचार र एनआरएनभित्र भएका बेथितिको समाचार लेख्ने, दिने स्रोत खोल्नै पर्ने भन्दै तत्कालै हल बाहिर निस्कन भनिन् । तर, त्यही दिन बिहान कार्यक्रम सुरु नहुँदै एनआरएनए बेल्जियमका आइसिसी सदस्य अर्जुन श्रेष्ठ र सल्लाहकार युवराज गुरुङलगायत तिनका अन्य केही टोलीबीच भोलिपल्ट जनजाति महासंघ बेल्जियमका कुल मगरको जापानी रेस्टुरेन्टमा बसेर छलफल गर्ने, हार्दिकतापूर्वक कुरा गर्ने र स्रोत खोल्ने नभई सम्बन्ध सुधार्ने सहमति गरेर टुंग्याइएको थियो । अर्को दिन बिहान भेट्ने सहमति गरिसकेपछि आआफ्नो काममा लागियो । आइसिसी सदस्य अर्जुनको सांगठनिक हैसियत जानकी गुरुङको भन्दा माथि मानिन्छ । एनआरएनको सर्वश्रेष्ठ व्यक्तिसितै सहमति गरेपछि त लागू हुनुपर्ने हो ! हामीले त्यही विश्वास लियौं र हिँड्यौं ।

 लेखेका विषयमा स्रोत खोल्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने भनेको भए त्यहिँ अस्वीकार गर्ने थिएँ । तर, हार्दिकतासाथ छलफल भनेर स्वीकार गरें । हलमा तिनले जबरजस्ती अहिल्यै बाहिर हिँड भनेर हुटहुटी लगाउँदा बिहान यस्तो सहमति भएको छ । भोलि भेटौंला, अहिले थाकेको छु । मेरो अन्य काम पनि छ भनेर हलबाहिर निस्कन खोजें । तर, उनीहरू झन् चर्किंदै गए ।

 बाहिर पानी परिरहेको थियो । हिउँ परेकाले जाडो उत्तिकै थियो । तर, उनीहरू ‘ल यहाँ कार्यक्रम भाँडिन्छ भने हलबाहिर जाऊँ, दशै मिनेटलाई जाऊँ “’ भनेर जबरजस्ती गर्दै थिए । बाटो छाड्न नमानेपछि केही साथीले ‘बाटो छेक्ने नै भए के बाटो फाँडौं त  ?’ भनेर जवाफ दिए । कसैले ददि सापकोटामाथि छिस्रिक्क भो भने छाडिन्न’ भन्न थाले । तैपनि, उनीहरूले आक्रमणको तयारी गरेर ढोका थुने । अगाडि आक्रमण गर्न खोज्नेमा जानकी उभिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी सल्लाहकार पनि हुन् । साथमा लागिन्, एनआरएन बेल्जियमकी सचिव र पासापुचः संस्थाको कार्यकारी समिति सदस्य अनुजा प्रधान । सुरुमै बाटो छेकेर हुलमुल बोलाउने थिइन् एनआरएन बेल्जियमकी उपाध्यक्ष अनिता लामा ।  पछाडि बसेर महिलालाई कुटपिट गर्न उकास्नेमा एनआरएन लगानी कोष बेल्जियमका प्रमुख पदम गुरुङ प्रमुख थिए । अझ कलाकार संघ, बेल्जियमको पनि पूर्व अध्यक्ष । जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार नन्द घले पनि उसैगरी उकास्ने र जोरी खोज्ने थिए । कुटपिट गर्न उक्साउने र त्यसको भिडियो खिच्ने थिए, चिनियाँ दुवाल । बाँकि केहीको नाम चिन्न सकिएन । 

परिस्थिति असामान्य देखेपछि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पिजी शेर्पा र महासचिव कुल मगर आएर कार्यक्रममा आफूले अतिथिका रूपमा अर्को देशबाट बोलाएको पाहुनालाई दुःख नदिन र लेख, रचनामा असहमति भए विधिसम्मत तरिकाले जान आग्रह गरे । तैपनि, उनीहरू मानेनन् । हलबाहिर निस्किन खोज्दा ठेलमठेल गरेर बाटो थुनिराखे । 

वास्तवमा त्यसदिन उनीहरूको योजना आफ्ना हुलदंगाबाजहरूको बल पुगेको भए त्यहिँ कुटपिट गर्ने रहेछ । तर, आयोजक पक्ष बलियो देखेपछि उनीहरूले महिलालाई अगाडि सारे । महिलालाई कुटपिट गर्न लगाउने र यदि पुरुषले हात हाले ‘महिलालाई हात हाल्न पाइन्छ ?’ भन्ने निहुँ “ बनाएर कार्यक्रम बिथोल्ने योजना बनाएका रहेछन् । त्यसका लागि भिडियो र स्टिल क्यामेराले कुटेको फोटो खिच्ने, अगाडि महिला डनहरूले आक्रमण गर्ने र तिनलाई पछाडिबाट पुरुष डनहरूले सुरक्षा दिने योजनासहित हलमा प्रवेश गरेका रहेछन् । दोस्रो दिन म एकजना नेपाली महिलाको घरमा अन्तर्वार्ता गर्न जाने पत्ता लगाएर जानकी गुरुङले त्यहाँ पनि फोन गरिछन् र आफूहरूले कुटपिट गर्ने योजना बनाएको बताइछन् । 

मैले विभिन्न समयमा एनआरएनभित्र भएको आर्थिक हिनामिना, बेथिति र अनियमितताबारे जनआस्था र नेपाल प्लस डट कममा लेख र समाचार लेख्दै आएको छु । एनआरएन बेल्जियमले अहिलेसम्म करिब ६० हजार युरोको हिसाब स्पष्टसित देखाउन सकेको छैन । रकम उठे पनि विभिन्न व्यक्तिले निजी स्वार्थका लागि खर्च गरेकाले एनआरएन बेल्जियमको खातामा छैन । 

त्यसैगरी, एनआरएन बेल्जियमले नेपाल हाउस बनाउने भन्दै नेपालबाट पण्डित दीनबन्धु पोखरेललाई ल्याएर महायज्ञ लगायो । ठूलो रकम दान दिन्छु भनेर बोल्नेले दिएनन् । तर, नगद दिनेहरूको रकमले दीनबन्धु पोखरेललाई हीराको औंठी र करिब १३ हजार युरो नगद दिएका थिए । हो, यिनै प्रसंगबारे एनआरएन बेल्जियमकै सर्कुलर र माइन्युट फेला पारेपछि मैले जनआस्था र नेपाल प्लसमा समाचार लेख्दै आएको थिएँ । यसपछि एनआरएन बेल्जियमका पदाधिकारी रुष्ट बनेका हुन् । जानकी गुरुङले मलाई पटक–पटक विभिन्न मञ्चबाट कारबाहीको धम्की दिँदै आएकी थिइन् । त्यसो त यस्ता समाचार लेखेकामा विगतमा पत्रकार सन्तोष न्यौपाने, महेन्द्र पौडेल, शेरबहादुर छन्त्याल, दिल्ली अम्गाई, तेजबहादुर नेपालीलगायतलाई पनि धम्की दिँदै आएका थिए ।

तपाइँको प्रतिक्रिया