स्विजरल्याण्डको यात्राभरि आतंकै आतंक
स्विजरल्याण्ड यात्रा तय हुनासाथै आतंकका बाछिटाहरुले मान्छेका मन प्रबेश गरिसकेका रहेछन् । त्यो कुरो जेनेभा पुगेपछि थाह पाइयो । पुगेको दिन त फूर्सदै भएन । किनकि साँझ पुग्नासाथै अन्तर्वार्ता गर्न थाल्यौं, नेपाललाइ माया गर्ने, नजिकबाट चिनेजाने, बुझेका स्विसहरुको । केहि नेपालीको जसले मन चस्स चर्काउने बिदेशको भोगाई सुनाउँथे । साँझ पत्रकार भाइ दीपक शर्मा (खतिवडा) ले सुनाए ‘दाई यहाँ त मान्छे पुरै आतंकित छन् नी । त्यो फिलिम बनाउने, ददि सापकोटा र यि स्विस नेपाल डटकमा तिन जना भेटेर के गर्न लागे ? किन ल्याको त्यत्रो लामो मुभी क्यामरा ? किन आएका ? ककसकाई भेट्दै छन् ?’ उनले मुर्छा पर्नेगरि हँसाए । खासगरि संघ संस्थामा बसेर पद हत्याउने, लठ्याउनेहरुको मन बढि आतंकित हुने रहेछ । अलि अलि पैसो, कपाल फुलेर सेता सेता भएपछि पाइने अनुभवीको विशेषण, दुई चार वर्ष अरु भन्दा पुरानो, राजशी शैली, पञ्चेका कालका धमास हुनेहरुलाई बढि पोज देखाउन र जान्ने सुन्ने हुनुपर्ने । सधैं र सबैतिर त यो होइन नै । तर धेरै देशमा यो रोग जस्तै रहेछ ।
(छ वटा भालेहरुले एउटा पोथीलाई पिछा गर्दै । मौका कुरेर कहिलेकाहिँ पालै पालो बलात्कार गर्ने गर्छन् । चित्रमा सबैभन्दा पल्लो छेउको पोथी र बाँकि भाले हुन् )
भोलि पल्ट बिहान स्विस नेपाल डट कमका अर्का भाई निराजन र साथी गुणराज पौडेल तालमा आए । दीपक खतिवडा र म तालमा आफ्नै बेतालमा थियौं । सँगै थिए उज्ज्वल केसी । त्यतिबेला तालमा आतंक थियो । र थियो, भागाभाग । थियो, बेदना । लखेटा लखेट । एकले अर्काका जगेल्टा उखल्दै । कोहि भाग्दै । कोहि नजिक बसेर दाउ छोप्दै । उज्ज्वलजी र दीपकलाई त्यसैको बयान गर्दै थिएँ म । अर्थात निलसर चराहरुको बलात्कार गर्ने शैली । ‘यि चरा जगतका संभवत सबैभन्दा खप्पिस हुन् बलात्कारमा ।’
निराजनले छड्के आँखा लगाए ‘हो र दाई ? चराले नि बलात्कार गर्ने ?’
‘हो त, यि त माहिर हुन्छन् बलात्कारमा ।’
‘चराको बलात्कार कस्तो हुन्छ र?’
‘वरिपरि बस्छन् ढुकेर । यो जातिमा पोथी कम र भाले बढि हुन्छन् । अनि यस्सो आँखा झिमिक्क पार्दा बलात्कार गरिभ्याउँछन् ।’
‘त्यसो भए त यिनीहरु त मान्छे भन्दा ड्यान्जर हुने रैछन् है ?’
मान्छेले बरु एक पटक मा एक जनालाई गर्ला, यि चराका भालेले त दिनमा कहिलेकाहिं गोडा चार पाँचेकलाई नै सताउँछन् ।’
हाहाहाहाहाहाहा मुर्छा पर्नेगरि हाँसे ठिटाहरु । यि चराले बलात्कार गरिरहेको तस्विरनै पठाउँला है त ? यति भनेर हामी बलात्कारीका घटना बाट उम्कियौं । यो एकाबिहान कति सुन्ने है बलात्कारका कुरापनि ? निराजन आफैंले छेउ लगाए ।
(लक्कीजी स्विजरल्याण्ड बसाईका दुख सुखका कहानी बिन्दास भएर सुनाउँदै ।)
स्विजरल्याण्ड पुग्नासाथ हामी पाँच छ जनाको जोडी बन्यो । हामी सामान्य नेपाली भेट्थ्यौं । अर्थात् ठूलाबडा स्वघोषितले चिन्ने, जान्ने, बुझ्ने, मान्ने र नाम सुन्ने बाहेकका नेपाली । जो रेलका डिब्बा मुनि सुतेका कहानी सुनाउँथे । जसको बस्ने ठाउँ थिएन । जसको कमाई थिएन । जो दुखका मुटु चर्किने कहानी सुनाउँथे । हामा आदर्णिय पात्र, खोजिका चाख र चाहना त्यस्तै थिए । जसलाई स्विजल्याण्डका बडे बडे कार्यक्रममापनि कमैले चिन्थे । तिनको चर्चा कम हुन्थ्यो । आफूलाई ठूला बडा हौं भन्नेहरु बिच चर्चा भएछ ‘हैन हाम्लाई नी नभेट्ने, उल्लाई नी नभेट्ने, फलानोलाई नी थाह छैन रे । ति अल्लारे केटाहरुलाई भेटेर गर्न खोजेको के हो ? के लिन आएको हो ? अर्कोले झन मुभी क्यामरा बोकेर आको छ रे । के खिच्न आएको हो त्यो ?’
दोस्रो दिन सम्ममा दर्जन भन्दा बढि फोन, केहि एस एम एस र केहि फेसबुकमा खबर आइसकेका रहेछन् । तर हाम्रा चाख ति ठूला भनिएका संस्था थिएनन् । न थिए ठूला बडा बस्ने घर । न थिए तिनले स्वागत गर्ने उच्च कोटीका होटेल र रेस्टुरेन्ट । न थिए ह्रामा आकर्षण भैंसीका दाम्ला जत्रा सुनका सिक्रि बाँधेका मान्छे । न हामीलाई भेट्नु थियो, मन्त्री र प्रहरी अफिशरका आफन्त र सुन्नुथियो तिनका ‘म त यस्तो र त्यस्तो’ भन्ने गफ । हाम्रो आफ्नै दुनियाँ थियो ।
‘लौ न दाई भेटौं के छ ? के छ खबर ? यस्सो खबर सबर आदान प्रदान गर्दा त क्यै हुन्न नी’ भनेर निकटता देखाउँदापनि ‘मेरो त समय नै हुन्न, छैन, म त सारै ब्यस्त नी’ भन्दै पन्छिनेहरुलेपनि खबर पठाउन थालेछन् ‘के छ भाइ ? कता हो ? धेरै भो नी यस्सो भेटघाट गर्ने होइन र ?” भन्दै । निराजनले हाँस्दै उडाए “अझै ससपेन्समा राख्नु पर्छ ।”
(लामो समयसम्म नेपालको भौगोलिक मापनमा काम गरेका एडि मुलेमान, उनकी पत्नी माया दिदी र बाँकि स्विस यात्राका मेरा सहकर्मी, सहयोगी साथीहरु । यसमा निराजन चाहिँ यहि फोटो खिच्दै होलान्)
“दाइ तिन दिनसम्म चरो मुसो सित भेट गरिएन स्विजरल्याण्डमा । खाली हामी पाँच जना । बाँकि तिनले झारपात ठानेका नेपाली । कि त तिनले नभेटेका राम्रोसित नजानेका स्विस नागरिक । यहाँ एक खाले आतंक नै छ । हामीलाई आएका एस एम एस र फोनलेपनि त्यहि संकेत गर्छन्। ” निराजन सुनाउँदै मुर्छा परि परि हाँस्थे ।
“ससपेन्स क्या ससपेन्स, पुरै रहस्यमय, हाहाहाहाहाहा” संगित सुन्न कानमा कोचेको सानो घिरौंलाको भेट्नो जस्तो बाहिर निकाल्दै दीपक खित्का छोड्थे । उति साह्रो नबोल्ने, बोलेका कुरा अलि भरपक्का र गम्भिर तरिकाले अगाडि सार्ने म्रिदुभाषी स्वभावका गुणराजजी फिस्स फिस्स मुस्काउँथे ‘हो मान्छे जिल परेका छन्’ भन्दै ।









