एउटा उछिट्टएिको सिक्का
बागलुङ नगरपालिका–९ तीनतलेका शिव सापकोटा अहिले अस्टि्रयाको राजधानी भियना सहरमा छन् । इजरायलबाट गैरकानुनी रुपमा उनी त्यहाँ पुगेका थिए । केही समयदेखि फ्रान्स बस्दै आएका नेपाली पत्रकार दधि सापकोटाले यसरी विदेश पुगेका केही मानिसहरुसँग कुराकानी गरेर पुस्तक तयार गरेका छन् । त्यही प्रकाशोन्मुख पुस्तकमा समेटिइएको शिवको कथा ।
एक वर्षको विद्यार्थी भिसा लगाएर २०६५ साल भदौमा इजरायल पुगेको थिएँ । पढ्नेभन्दा पनि पैसा कमाउने मेरो उद्देश्य थियो । हप्ताको एक दिन कलेज जान्थें । दस वर्ष अगाडिदेखि पढाइ छोडेर बसेको मान्छे, पढ्न त केको मन लाग्थ्यो र ? कताबाट धेरै पैसो फल्छ भन्दाभन्दै इजरायलको एक वर्षको भिसा सकियो । अनि कलेजले नेपाल पठाउने कुरो गरेपछि फर्किनुपर्छ भनेर त्यहाँबाट भागें ।
नेपालबाट ४५ जनाको टोली आएका थियौं । हामीलाई कलेजले नै काम दिएको थियो । काम गाह्रो थियो । कतिजना त काम गर्न नसकेको नेपालै पनि फर्किए । २४ घन्टा पानीको थोपा चुहाएर खेती गरिन्थ्यो । त्यो पनि प्लास्टिकको घर गि्रन हाउस (हरितगृह) बनाएर । त्यो घरभित्रको तापक्रम पचास डिग्रीभन्दा माथि हुन्थ्यो । त्यस्तो तातोमा हामी १२ घन्टा काम गथ्र्यौं । हावा नखेल्ने भएकाले सास फेर्न नपाएर उकुसमुकुस हुन्थ्यो । तीन-तीन मिनेटमा कपडा निचोथ्र्यौं पसिनाले निथु्रक्कै भिजेर । पानी त खाएको खायै गर्नुपर्ने ।
त्यसरी एक वर्ष काम गर्दा पनि खासै पैसा कमाउन सकिएन । खाली हात फर्किन मन लागेन । अनि लुकेर बसियो । एउटा फार्मिङमा तीन महिना लुकेर काम गरियो । फूलको जरा उखेल्ने, खन्ने, बूढो झार उखेल्ने नयाँ बाली लगाउने काम थियो । यो काम झन् गाह्रो थियो । पछि एउटा रेस्टुरेन्टमा अलि सजिलो काम पाइयो । दाल, भात, रोटी, सब्जी पकाउनुपथ्र्यो । एउटा इजरायलीको रेस्टुरेन्ट थियो । मैले वेटरको पनि काम गरें । तर, दुई महिना काम गरेपछि तलब दिएन । त्यहाँ हामी दुई नेपाली थियौं । पैसा दिन किचकिच गरेपछि भिसा पनि नभएको यो देशमा धेरै बस्न हुन्न अलि पैसा कमाउने ठाउँमा जानुपर्छ भन्ने सल्लाह गर्यौं ।
एउटा नेपाली दलाल फेला पर्यो । ५५ सय अमेरिकी डलरमा रसिया लगेर त्यहाँबाट युरोप छिराउँछु भन्यो । मैले मानें । त्यही साँझ पासपोर्ट लिएर गएको त्यो दलाल भोलिपल्टै भिसा लगाएर आयो । म इजरायलमा अवैधानिक भइसकेकाले नेपाल फर्किनका लागि तेलअभिभबाट सजिलै टिकट पाइन्थ्यो । दलालले रसियाबाट टुक्रेको प्रान्त कालिङग्राद पुर्याएर दिल्ली हुँदै नेपाल जाने भनेर बोडिङपास ल्यायो । तर उसले रुट कस्तो बनायो भने, तेलअभिभबाट भियना, भियनाबाट पोल्यान्डको वार्सा । वार्साबाट कालिङग्राद र त्यहाँबाट दिल्ली भएर काठमाडौं ।
त्यसरी जान तयार हुने हामी १३ जना थियौं । उसले कहाँ जाने भनेर सोधे भने नेपाल भन भनेर सिकाएको थियो । हामी एक हप्ता तेलअभिभ पुगेर बस्यौं । भोलिपल्ट बिहान हामी पाँच बजे एयरपोर्टमा भेला भयौं । दलाल पनि हामीसँगै थियो । साढे पाँच छ बजेतिर तेलअभिभबाट प्लेन चढ्यौं । दलालले लेनदेनको हिसाबकिताब सबै प्लेनभित्रै मिलायो ।
९ बजे भियना ओर्लियौं । त्यहाँ हाम्रो ४ घन्टाको ट्रान्जिट थियो । २ बजे पोल्यान्ड उड्ने टिकट थियो । तर, पासपोर्टचाहिँ दलाले भने अनुसार च्यातेर फालिसकेका थियौं । भियना ओर्लिंदासम्म दलाल पनि सँगै थियो । जब प्लेन उड्ने बेला भयो तब थाहा भयो, ऊ त हामीलाई केही नभनी टाप ठोकेछ पोल्यान्ड हुँदै तेलअभिभतिर । अब हामीसँग न पासपोर्ट थियो, न भिसा न दलाल ।
प्लेनबाट हामीलाई माइकिङ गरेर बोलायो । तर, हामी गएनौं, प्लेन उड्यो । बिहान ९ बजेदेखि बसेको । तिर्खाले आकुल व्याकुल पारेको छ । भोकले आगो बलेको छ । पुलिसले पनि सोधखोज गर्दैनन् । आउँछन् यसो वरिपरि घुमेर जान्छन् । त्यो दिन त्यसै बित्यो । रात कुर्सीमा बसेर बिताइयो । पुलिस आएर समाएर लैजाला भनेको आउँदैन । मान्छेले खोस्देलान् भनेपछि भएको तीन सय डलर पनि त्यही दलाललाई दिएको थिएँ । छ हजार डलर त पहिले नै । अब निकै पिर पर्न थाल्यो । यत्तिकै नेपाल फर्काइदिने हो कि भन्ने पनि डर भयो ।
केही सीप नलागेपछि ज्यान जोगाइदेऊ भन्दै पुलिसकोमा म र एकजना साथी गइयो । १३ जना एयरपोर्टमा झोला बोकेर यताउता हिँडिरहँदा लाजमर्नु भएको थियो । हामीले भनेपछि पुलिसले आएर घेरा हाल्यो । सोधखोज गर्यो । हामीसँग वार्साको टिकट थियो, अरू केही कागजपत्र थिएन । टिकट भए पनि भिसा नभई पठाउन मिल्थेन । हामीले अस्टि्रयामा ज्यान जोगिन्छ भनेर आएको भन्दै जिद्दी गर्न थाल्यौं । दुई घन्टासम्म सोधपुछ गर्दा केही नलागेपछि हाम्रो केस बनायो, फोटो खिच्यो र औंलाको छाप पनि लियो ।
यो दिन पनि केही नखाई बित्यो । मुख च्यापच्याप भएर सुकेको छ । हामीलाई एउटा गाडीमा हाल्यो । गाडीमा एउटा फ्रिजजस्तो डब्बा थियो । त्यसैमा हामीलाई राख्यो । बाहिर केही देखिँदैन । अन्धकार छ । कहाँ लगेको हो केही अत्तोपत्तो छैन । डर लागिरहेको थियो । पछि थाहा भयो, एयरपोर्टको शरणार्थी क्याम्पमा लगेको रैछ । खानेकुरा पनि दियो । कपडा दियो । सुत्ने ठाउँ दियो । सोधपुछ गरेर कम्प्युटरमा दर्ता गर्यो ।
भोलिपल्ट गाडीमा हालेर अस्टि्रयाको ठूलो शरणार्थी क्याम्पमा लग्यो । क्यामको कार्ड बनाइदियो, खाना बस्न पाउने सुविधाका लागि । हामी १३ जनालाई एउटा कोठा दिएको थियो ।
हुन त क्याम्प पनि एक किसिमको जेल नै हो । बाहिर निक्लिन पाइँदैन । तर पनि पुलिस चौकीभन्दा त स्वतन्त्र हुन्छ । केही दिनपछि अस्टि्रयामा शरण दिने कि नदिने भन्ने विषयमा अन्तर्वार्ता गर्न भनेर बोलायो । हामी १३ जना नै गयौं । बाख्राको खोरजस्तो एउटा कोठामा हाल्यो । हामी सबैलाई पोल्यान्ड जान हिँडेका मान्छेसँग त्यहाँको भिसा हुनुपर्छ, तिमीहरू उतै जानुपर्छ भन्ने निर्णय गर्यो ।
हामीलाई एक हप्तामात्र बस्न मिल्ने कागज दिएको थियो । हामी फेरि गैरकानुनी भयौं । त्यसपछि दिनभरि थुनेर राख्यो । खान पनि दिएन । अब फेरि पुलिसको कब्जामा परिँदै थियो । अब फेरि कता लैजाने हो भन्ने डरले मुटुमा ढ्यांग्रो ठोकेको छ । बेलुका सात बजेपछि पुलिसका तीन चारवटा भ्यानमा हालेर लग्यो । कहाँ लग्यो भने त्रास फैलिएको थियो, आखिरमा जेल लगेको रैछ ।
त्यो दिनबाट साथीहरू तितरबितर भयौं । हामीलाई एउटै जेल नहाली बाँडेर राख्यो । जेलमा कपडा खोलेर जाँच गरेपछि रडको ढोका र वरिपरि भित्तो भएको भैंसी बाँध्ने गोठजस्तो कोठामा लगेर थुन्यो । हामीसँग केही महिला थिए, केही जोडाजोडी थिए । हामी चारजना केटालाई एउटा कोठामा राख्यो । दुइटी महिलालाई अर्को खोरमा हाल्यो र बाहिरबाट ताला लगाइदियो ।
मलाई निकै ग्लानि र पछुतो भयो । यसरी पनि के पैसा कमाउनु ? बरु नेपालै जानुपर्ने रैछ भनेजस्तो भयो । न खान दिन्छ न पानी पिउन दिन्छ । मान्छेलाई गर्ने व्यवहार गरेन । रिस थाम्न नसकेर मैले पुलिसकै सामु त्यो ताला ठोकेको रडमा तीन चारचोटि लात्ती बजारें । परिवारसँग भेट नभई विछोडिएरै मर्नुपर्ने हो कि जस्तो लाग्यो । सोच्दासोच्दै आत्तिएर खरो भयो । पुलिससँग पानी मागेको नदिईकन गयो ।
३२ दिन जेलमा राखेर अन्तर्वार्ता गर्ने ठाउँमा पुर्यायो । जसोतसो जेलमा जीवन बिताइयो । भोलिपल्ट सेतो कार्ड दियो । सेतो कार्ड पाएपछि जेलबाट पनि निस्कियौं । त्यसबीचमा पुलिसले सबै खोजेछ । त्यो दलाललाई पनि समाएछ । बाहिर निस्किन पाउँदा निकै खुसी लाग्यो । भात खान नपाएको धेरै दिन भएको थियो । एउटा इन्डियनको रेस्टुरेन्टमा गएर मजाले दाल, भात, तरकारी खायौं । मन प्रफुल्ल भयो । साथीहरूले बियर पनि ल्याएछन् । क्याम्पमा दुई चार दिन थकाइ मारेपछि पैसा कमाउन काम खोज्नलाई भियना सहर डुल्न थाल्यौं ।
१८ दिन त्यहाँ बसेपछि हामीलाई पिरोल भन्ने हिउँ पर्ने ठाउँको क्याम्पमा सार्ने भयो । डाँडामा भएको अलिकति मैदानमा यो क्याम्प थियो । तल घना जंगल । जाँदै गर्दा बुर्लुक बुर्लुक उफ्रिँदै हिँडेका बाघ-भालुजस्ता जनावर पनि देखिए । हामी चारजना थियौं । यो क्याम्पमा बस्दा महिनाको २ सय ८० युरो दिन्थ्यो, शरणार्थी भनेर ।
लाखौं कमाउन हिँडेको मान्छे कहाँ आएर फसियो भन्ने भयो । इजरायलबाट यता आएको चार महिना भइसकेको थियो । सबै मिलेर भियना नै जाने निर्णय गर्यौं । भियना आएर कोठा खोजेर बस्यौं । संघर्ष सुरु गर्यौं ।
काम के गर्ने भनेर सल्लाह गर्दा राति पत्रिका फाल्नेबाहेक अरू काम पाउन गाह्रो देखियो । अस्टि्रयनहरुले पत्रिका डेलिभरी गर्ने कामलाई गेवित भन्दो रैछ । अनि, रातको दुई बजे आँखा मिच्दै उठेर गेवित गर्न जाने भइयो । ४० युरोमा मैले बल्लबल्ल एउटा थोत्रो साइकल किनें । त्यसकै पछाडिको टोक्रोमा पत्रिमा राख्यो, पुर्याउन गयो । एकजना नेपालीले पहिल्यै यहाँ यो काम गर्ने गरेको पाइयो । उनकै पछि लागेर हप्ता दस दिनमा काम सिकियो । पछि काम पनि पाइयो ।
सुरुमा यो काम गरेर महिनामा चानचुन २ सय युरो आयो । पुरानो हुँदै गएपछि ५ सय आउने काम खोजेर गरियो । जस्तो पाए पनि काम गरियो । भारतीयको पसलमा भारी बोकियो । यो उ काम, सानो काम भनेर छोडिएन । एक घन्टाको ४ युरो आउने काम पनि गरियो । कसैले बगैंचा गोड्ने, कसैले खन्ने कसैले माटो फ्याँक्ने, मेसिनले भित्तो भत्काउने काम पनि गरियो ।
एउटा काम खानलाई ठिक्क हुन्छ । पैसा जोगाउनलाई अर्को काम पनि गर्नुपर्छ । रातभरि मरिन्जेल काम गर्यो, दिउँसो आएर सुत्यो । भियनामा यसरी काम गर्न थालेको तीन वर्ष पुग्दै छ । घर जाउँ भने कागज छैन । जान त पाइन्छ तर गयो भने फेरि आउन पाइँदैन । यो तीन वर्षमा म कुनै रात पनि मस्त निदाएको छैन । अहिले दिनको ६ घन्टा काम गर्छु, ३० युरो कमाउँछु । अहिले त राम्ररी उभिन पनि गाह्रो हुन्छ । राम्राेसँग सुत्न नपाएकोले आँखा कमजोर भए, चस्मा लगाउनुपर्छ । कुनै रात मजाले सुत्न पाए कति आनन्द हुन्छ होलाजस्तो लाग्छ । मन एकदमै आत्तिएको छ ।
तैपनि, पैसा कमाउन आएको हो । अहिले पनि त्यसकै ध्यान छ । भोलि के हुन्छ थाहा छैन । संघर्ष ठूलै गरियो । धेरै कुरा देखियो, जानियो, भोगियो । म अहिले जीवनदेखि सन्तुष्ट छु ।
कहिलेकाहीँ पुराना कुरा, साथीभाइ र गाउँघर सम्झिँदा उदेक लाग्छ, आँखा भरिन्छन् । नमीठो लाग्छ । म आपmनै देशमा केही गरेर देखाउनुपर्छ भन्ने भावनाको मानिस थिएँ । तर, समय परिस्थितिले गर्दा आज यहाँ छु । गरेको काम सफल नभएपछि कसको के लाग्छ ? व्यवहार लथालिंग भएर बिगि्रयो । बाध्यताबस बिदेसिन कर लाग्यो । म मिहिनेत र परिश्रम गरेर सम्पत्ति कमाउन एक्लो ज्यान बोकेर यहाँ आएको हुँ । मेरो परिवार उहाँ नेपालमा छन् । म त एउटा सिक्का न हुँ उछिट्टएिको ।
२०६९ भाद्र ३ अर्थात् १८ अगस्ट २०१२ का दिन कान्तिपुर कोशेलीमा प्रकाशित मेरो आगामी पुस्तकको एक अंश ।





